logo
२०८१ मंसिर १० सोमवार



ऐतिहासिक दस्तावेज

शनिवार |


ऐतिहासिक दस्तावेज


कहीँ कतै ठूला आकारका पुस्तक देखिए भने ती पुस्तक हरि गौतमले नै लेख्नुभएको त होइन ? भनेर एकछिन अडिनुपर्छ । उहाँले पछिल्लो समयमा यस्तैयस्तै भीमकाय पुस्तक सार्वजनिक गर्नुभएको छ । ‘झापा दिग्दर्शन’, ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ तथा ‘अन्तर्राष्ट्रिय रेडियो आवाजमा नेपालको प्रजातान्त्रिक आन्दोलन’ यस्तै भीमकाय कृति हुन् । यी कृतिहरू ठूलो साइजमा करिब सात सय पृष्ठदेखि करिब एक हजार पृष्ठसम्मका छन् । उहाँको पछिल्लो कृति ‘अन्तर्राष्ट्रिय रेडियो आवाजमा नेपालको प्रजातान्त्रिक आन्दोलन’ (२०७६) कृति पत्रकारिता जगत्को महत्वपूर्ण उपलब्धिमात्र होइन अद्भुत र ऐतिहासिक दस्तावेज हो भन्ने कुरा यस कृतिभित्रका विषयवस्तुले स्पष्ट पार्छन् र कृतिमा समावेश गरिएका तथ्यले पनि त्यसलाई पुष्टि गर्छन् ।
नेपाली राजनीतिको इतिहासमा २०४६ को आन्दोलनले विशेष अर्थ राख्छ । पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाका लागि नेपाली काँग्रेस र संयुक्त वाममोर्चाले गणेशमान सिंहको नेतृत्वमा आन्दोलन ग¥यो र त्यो सफल भयो । त्यतिबेला त्यस आन्दोलनप्रति राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो निकै थियो । अन्तर्राष्ट्रिय समाचार संस्था वा सञ्चार जगत्ले निकै महत्वका साथ जनआन्दोलनसम्बन्धी समाचार प्रसारण गर्थे । बीबीसी नेपाली सेवा, भ्वाइस अफ अमेरिका, अल इन्डिया नेपाली सेवा, हिन्दी बीबीसी सेवा, अल इन्डिया हिन्दी आदि त्यतिबेलाका सबैभन्दा बढी सुनिने रेडियो सञ्चारहरू थिए र तिनले २०४६ को जनआन्दोलनको सन्दर्भका समाचारलाई प्राथमिकताका साथ प्रसारण गर्थे । हरि गौतमद्वारा तयार पारिएको प्रस्तुत ‘अन्तर्राष्ट्रिय रेडियो आवाजमा नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकमा यही आन्दोलनसम्बन्धी प्रसारित रेडियो सामग्रीहरू सङ्कलन गरिएको छ । दुर्लभ सामग्रीको सङ्कलन, संयोजन, लेखन र सम्पादनजस्तो जटिल काम सामान्य परिश्रमले सम्पन्न हुने कुरा होइन भन्ने कुरा यो ग्रन्थ पढ्दा थाहा हुन्छ ।
यस ग्रन्थको अध्याय एकमा बीबीसी नेपाली खण्ड र अल इन्डिया नेपाली खण्ड गरी दुईवटा खण्ड छन् । अध्याय दुई हिन्दी खण्डका रूपमा छ र यसअन्तर्गत बीबीसी हिन्दी, अल इन्डिया (हिन्दी) र भ्वाइस अफ अमेरिकाको हिन्दीमा प्रसारित हुने नेपाल डायरीअन्तर्गतका समाचार समावेश छन् । परिशिष्ट खण्डमा नेपाल–भारतका विभिन्न विषयक सन्धि सम्झौताका ऐतिहासिक दस्तावेज, ऐतिहासिक चित्र आदि छन् । यसरी दुई अध्याय र परिशिष्ट खण्डले करिब साढे पाँचसय पृष्ठ ओगटेका छन् भने भूमिका र सम्पादकीयले ५६ पृष्ठ ओगटेका छन् । २०४६ को जनआन्दोलनमा अन्तर्राष्ट्रिय सञ्चार जगत्को भूमिका ग्रन्थ लेखन–सम्पादनका सम्पूर्ण सन्दर्भलाई ‘नेपाली रेडियो र सामाजिक आन्दोलन’ शीर्षकको सम्पादकीयमा देख्न सकिन्छ । १८ पृष्ठको आयाममा विस्तारित सम्पादकीय पनि गहन र पठनीय छ भने यो पनि स्वयंमा एउटा अनुसन्धानका रूपमा देखिन्छ ।
पुस्तकको प्रारम्भमा रहेका भूमिका र मन्तव्यले पनि पुस्तकको औचित्य, आवश्यकता र महत्वलाई देखाएका छन् । यसमा राधाकृष्ण मैनाली, डा. जयराज आचार्य, डा. गोविन्दराज भट्टराई (अङ्ग्रेजीमा), युवराज घिमिरे, आनन्द आदित्य, प्रकाशप्रसाद उपाध्याय, शान्ता श्रेष्ठ, डा. रबिन श्रेष्ठ, डा. दीपेन्द्र रोकाया आदिका भूमिका छन् र यी भूमिका कृतिको गुणगानमा भन्दा विमर्शमा केन्द्रित देखिन्छन् । कृतिको परिच्छेद एकमा १९ मे, १९८९ (६ जेठ, २०४६) देखि ४ जुन १९९० (२२ जेठ २०४७) सम्मका बीबीसी नेपाली सेवाका समाचार तथा चौतारी कार्यक्रममार्पmत प्रसारित समाचार, सामयिक लेख, अन्तर्वार्ता आदिसमेत गरी एक सय तीनवटा सामग्री जस्ताको तस्तै समावेश गरिएको छ । यसै अध्यायको अर्को खण्डमा अल इन्डिया नेपाली सेवाका १० मे १९८९ देखि १९ मे १९९० (२८ वैशाख २०४६ देखि १९ मे १९९० (६ जेठ २०४७) सम्मका समाचार, टिप्पणी, समसामयिक आलेख र अन्तर्वार्तासमेत गरी १९३ वटा सामग्री प्रस्तुत गरिएको छ । यस्तै पुस्तकको अध्याय दुईका सामग्री सबै १४ मे १९८९ देखि ७ जुन १९९० को मितिभित्रका छन् । यी सामग्रीमध्ये बीबीसीका १२६ वटा, अल इन्डिया रेडियोका तेत्तीसवटा र भ्वाइस अफ अमेरिकाका तेत्तीसवटा छन् ।
प्रत्येक दिनका तिथिमिति र साँझबिहान प्रसारणका समयलाई समेत तिथिमिति र तथ्यलाई स्पष्टरूपमा राखी समाचार, विश्लेषण, सम्पादकीय, विचार, विशिष्ट व्यक्तित्वसँगका अन्तर्वार्तालाई निकै व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ । यसरी अन्तर्राष्ट्रिय रेडियो जगत्का पाँचसय सामग्रीलाई तथ्यपरक रूपमा प्रत्येक दिनाङ्कको कालक्रमानुसार व्यवस्थित तरिकाले राख्नु श्रमसाध्य कुरा हो । यस कृतिका लेखक÷सम्पादक÷सङ्कलक हरि गौतमले गम्भीर अध्ययन र अनुसन्धान गरी महत्वपूर्ण कृति तयार पार्नुभएको छ । यो कृति एकातिर पत्रकारिता जगत्का लागि गुरुग्रन्थ र ऐतिहासिक दस्तावेजको सङ्ग्रह हुन पुगेको छ भने अर्कातिर २०४६ को जनआन्दोलनको सन्दर्भलाई अन्तर्राष्ट्रिय रेडियो सञ्चारले दिएको स्थान र महत्वबारेमा अध्ययन गर्न र जान्न चाहनेहरूका लागि इन्साइक्लोपेडियाकै रूपमा छ ।
‘अन्तर्राष्ट्रिय रेडियो आवाजमा नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक यो भीमकाय ग्रन्थ नेपाली पत्रकारिता जगत्का लागि अमूल्य ऐतिहासिक दस्तावेज हो भने इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र आदि विषयका अध्येता र पाठकका लागि समेत यो कृति उपयोगी देखिन्छ । यस कृतिको परिशिष्ट खण्डमा सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि सम्झौता आदिका दस्तावेज, भारतीय दूतावासले पठाएको पत्र, २०३६÷०३७ को आन्दोलन तथा जनमत सङ्ग्रहको सन्दर्भ र जनमतसङ्ग्रहको घोषणा, २०४६ को भारतद्वारा प्रस्तावित सन्धि, नेपाली काँग्रेस र वाममोर्चा बहुदल घोषणा आदिका ऐतिहासिक दस्तावेजका पूर्णपाठ पनि यसमा समावेश गरिएका छन् । यसै गरी १९५० को सन्धिमा मोहन समशेरले हस्ताक्षर गर्दादेखि तारिणीप्रसाद कोइरालाद्वारा पहिलो रेडियो प्रसारणलगायतको ऐतिहासिक ७५ वटा फोटासमेत समावेश भएकाले यो कृति बढी विश्वसनीय पनि भएको छ । थप एकसय जना ऐतिहासिक व्यक्तित्वका फोटा पनि यसमा समावेश छन् । यस्तो ऐतिहासिक ग्रन्थ सबै किसिमका पाठकले पढ्नैपर्छ भन्ने कुरा यहाँका सामग्रीले देखाउँछन् र पाठकलाई तीन दशकअघिको इतिहासमा पु¥याउँछन् ।
ज्ञानु अधिकारी
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?