हरिकुमार श्रेष्ठ
चारमहिने बन्दाबन्दीको कुरा गर्दैछु । यस्तो दिन पनि आउँदोरहेछ, जुनबेला आफ्नै घरको आँगन पनि बिरानो हुँदोरहेछ । जिन्दगी त्यसरी साँघुरिएला जस्तो मैले कहिल्यै सोचेको थिइनँ । जागिरपछिको जिन्दगीमा केही सङ्कुचन त आएको थियो, तर घरभित्रै नजरबन्द हुनुपर्ने बाध्यता थिएन । बिहानबेलुकी सुस्त सुस्त भए पनि नियमित हिँडिन्थ्यो, बेलाबेलामा साथीभाइसँग भेटघाट गरिन्थ्यो, किनमेलको बहानामा बजार पनि डुलिन्थ्यो । बिहे, व्रतबन्धको मौसममा त्यसै पनि व्यस्त भइन्थ्यो । उच्चाट लागेको बेला मन बहलाउन दुईचार दिन यसो बाहिरफेर घुम्न गए पनि भयो । अवकाशको जिन्दगी एक हिसाबले बिन्दास नै थियो ।
तर ‘उडायो सपना सबै हुरीले’ भनेझैँ अप्रत्याशित आएको कोरोना महामारीका कारण हाम्रो दैनिकी एकाएक उलटपुलट हुन पुग्यो । हामीले नसोचे पनि, नचिताए पनि घरभित्र थुनिन बाध्य हुनुप¥यो । घरभित्रै चुकुल लाएर बसे पनि त्यो नदेखिने र नचिनिने भाइरसको चिन्ताले हामीलाई आतङ्कित बनाइरह्यो तर बन्दाबन्दीमा पनि गृहस्थी त चलाउनैपथ्र्यो, चुलो त बाल्नैपथ्र्यो । त्यसको सोझो मार भने गृहिणीलाई पथ्र्यो । दूध, चिनी, नुन, तेल, तरकारी, सागसब्जी, चामल, पिठोको जोहो त गर्नैपर्ने हुन्थ्यो । त्यसउसले पनि म्याडमलाई घरबाट बाहिर ननिस्की हुन्थेन । हुन त ती काम मैले गर्दा पनि जात जाँदैनथ्यो तर नानीदेखि लागेको बानी, मलाई त्यसको अनुभव नै थिएन ।
आफू त लाटसाहब पल्टेर बिहान अबेरसम्म सुतिरहन्थेँ । त्यसमाथि बन्दाबन्दी, चाँडै उठेर पनि के नै पो छोप्नु थियो र ? कहाँ नै जानु थियो र ? सधैँ जाने भने पनि, दिनहुँ नाप्ने भने पनि त्यही घरको सानो छत न हो । जसलाई जति नापे पनि तन्किने होइन । त्यहाँ जति हिँडे पनि कहीँ पुगिने पनि त होइन । हिँडेर कुनै गन्तव्यमा नपुगिने, कुनै लक्ष्य नभेटिने, त्यस्तो हिँडाइ पनि हुँदोरहेछ, जो प्रत्येक दिन म आफ्नै घरको साँघुरो छतमा दिनहुँ हिँडिरहेको हुन्छु । त्यो निरुद्देश्य हिँडाइमा कुनै दम छैन, कुनै रङ छैन र कुनै उमङ्ग पनि छैन, केवल पाइला गन्ने कामबाहेक, फगत दिन गन्ने कामबाहेक ।
यसो आङ तन्काउन घरबाहिर निस्कूँ भने पनि हाम्रो असामाजिक बानी बेहोराको पिरलो । रिङरोड छेवैमा भएर के गर्नु, साँघुरो गल्लीमा घर छ । त्यो गल्लीमा हिँड्ने मान्छेले के सामाजिक दूरी कायम गर्नु ? यसो गल्लीसम्म पुग्यो, कवि भूपि शेरचनको उही कालजयी कविता याद आइहाल्छ । उनी भन्थे ः
‘साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असङ्ख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ ।’
त्यस्तै छ, मैले हिँड्ने साँघुरो गल्ली पनि । हिँड्दा पनि तर्कीतर्की हिँड्नुपर्ने । नाक ठोस्सिएला भन्ने डर । मान्छेदेखि मान्छे डराउनुपर्ने कस्तो दिन आयो ? त्यसैले पनि मलाई सकभर घरबाहिर निस्कन मन लाग्दैन ।
घरभित्रै कोचिएर बसे पनि दिन त आखिर कटाउनैपथ्र्याे । घरको छत नापेर होस् वा ओछ्यानमा गुट्मुटिएर अथवा मेचमा छट्पटिएर होस्, क्यालेण्डरका पन्ना त पल्टाउनैपथ्र्यो । हैट, त्यस्तो पनि हुन्छ ? समयको सदुपयोग गर्नुपर्छ, समय त्यसै खेर फाल्नुहुँदैन भनी हामीले सानैदेखि रटान लाएको पनि के काम ? पहिले व्यस्त जीवन बिताउँदा समय थाहै नदिई फुत्त फुत्त भागिरहन्थ्यो, बन्दाबन्दीमा बामे सर्नसमेत अल्छी गर्छ । आफैँले भोगिरहेको यो अल्छे समयले मलाई च्वास्स बिझाउँछ, भतभती पोल्छ ।
समयको महत्व हाम्रा साथी पारस घिमिरेले जति अरू कसले बुझेका होलान् ? उनलाई चौबीस घण्टाको दिन पनि छोटो लाग्छ । भन्छन् ‘कम्तीमा छत्तीस घण्टाको दिन हुनुपथ्र्यो ।’ उनी कतिसम्म अध्ययनशील छन् भने मध्यरातसम्म त पढेरै बस्छन् । उनको दैनिकी पनि अनौठो छ । अरू सुतेको बेला आफू उठ्ने, अरू उठेको बेला आफू सुत्ने । समयको सदुपयोग गर्ने त्यो उनको अचुक तरिका हो ।
त्यस्तै अध्ययनशीलमध्येमा पर्छन् साथी रुद्र नेपाल । किताब सङ्कलनमा डा. हरि शर्मा अग्रणीमा आउँछन् भन्ने हामी धेरैलाई थाहा छ तर किताब सङ्कलन र गहिरो अध्ययनमा रुद्रजीको झुकाउ धेरै कमलाई थाहा होला किनकि उनी चर्चामा आउन रुचाउँदैनन् । उनको सङ्ग्रह मैले देख्ने मौका त पाएको छैन तर धेरै वर्षको सङ्गतले मलाई थाहा छ उनको सङ्कलनमा शब्दकोश र विश्वकोशको ठेलीदेखि लिएर धर्म, दर्शन, इतिहास, साहित्य, अन्तर्राष्ट्रिय सम्बन्धका सबैखाले उत्कृष्ट किताब छन् । बन्दाबन्दीको समयलाई उनले भरपुर सदुपयोग गरे होलान् । अर्का विद्वान् मित्र डा. दिनेश भट्टराई त हिजोआज झनै बेफुर्सदी छन् । उनी गहिरो अध्येता त हुँदैहुन्, समसामयिक राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयका कुशल विश्लेषक पनि हुन् । बन्दाबन्दीको बेला पनि उनका विश्लेषणात्मक लेख विभिन्न पत्रपत्रिकामा पढ्न पाइरहन्छौँ । अर्का अग्रज मित्र मधुरमण आचार्यको त झन् कुरै भएन, उनी त झनै बेफुर्सदी छन् हिजोआज । सामाजिक सञ्जाल उनको रुचिको विषय भएकोले त्यहाँ उनी धेरै छाइरहेका भेटिन्छन् ।
त्यस्तै व्यस्त रहनेमध्येका हुन् डा. मदन भट्टराई । सबेरै प्रातः भ्रमणमा निस्कने उनको धेरै पहिलेदेखिको दैनिकीलाई लकडाउनको तीन महिनाले थला नै पा¥यो । उनी पनि मजस्तै घरको छत नाप्न बाध्य भए तर त्यतिमा उनी कहाँ खुम्चिन सक्दाहुन् र ! उनको गहन अध्ययनले भरिपूर्ण कलम हिजोआज झन् तीव्रगतिमा दौडिरहेको छ । ‘परराष्ट्रका पात्र’जस्तो ऐतिहासिक विवेचनाले भरिपूर्ण पुस्तकपछि त्यही शृङ्खलाको उनको दोस्रो पुस्तक पनि प्रकाशोन्मुख छ । कथाकार मित्र मधुवन पौडेलको आफ्नै बेफुर्सदिलो दैनिकी छ । बन्दाबन्दीको बेला पनि उनका बान्किला कथा पत्रपत्रिकामा पढ्न पाइन्छन् । उनी पनि सामाजिक सञ्जालमा असाध्यै रमाउनेमा पर्छन् । फुर्सदको समयमा आफ्नै घर कम्पाउण्ड र घरमाथि कौसीमा रङ्गीबिरङ्गी फूल हुर्काइरहेका हुन्छन् । तिनकै स्याहार गोडमेल गरिरहेका हुन्छन् ।
यी त भए केही प्रतिनिधि पात्र जो बन्दाबन्दीलाई चिर्दै आफ्ने हिसाबले जिन्दगीमा रमाइरहेका छन् । आफू भने न त सामाजिक सञ्जालसँग नै अभ्यस्त, न त लेखपढमा नै व्यस्त, न फलफूल, तरकारी बारीमा नै रमाउने, न त घर व्यवहारमा गृहिणीलाई नै सघाउने । त्यस्तोले दुःख नपाए कस्तोले पाओस् । लेखपढ गरेर बिताऊँ भने पनि त्यति साह्रो बानी छैन । जागिर खाउन्जेल बरु यसो दुई अक्षर पढिन्थ्यो, दुईचार हरफ लेखिन्थ्यो, अब ती पनि बिस्तारै छुट्दै गए । यसो कनिकुथी लेखूँ भने पनि अध्ययनको कमीले गर्दा गम्भीर विषयमा म प्रवेश गर्दिनँ । कहिलेकाहीँ यसो हल्काफुल्का लेख्ने हो । परराष्ट्रमा जागिरे जीवन बिताए पनि मलाई मातृभाषा नेपालीमै लेख्न मन लाग्छ ।
त्यसो त साँझबिहान मैले सधैँ नबिराई नाप्ने गरेको घरको छतको सुस्तसुस्त हिँडाइ पनि त्यसै खेर गयो जस्तो लाग्दैन । पैताला बिस्तारै सरे पनि मनको वेगलाई त कसैले रोक्न सक्दैन । सुस्तरी सुस्तरी हिँड्छु, तर मन भने सुपरसोनिक गतिमा दौडिरहेको हुन्छ । आकाशमा स्वच्छन्द उडिरहेको चरासँग उड्न मन लाग्छ । मनसुनको पानीको ग¥हुँगो भारी बोकेका कालो बादलसँग लुकामारी खेल्न मन लाग्छ । त्यस्तै साउनको दर्के झरीमा निथु्रक्क भिजेर रुझ्न पनि मन लाग्छ । आखिर मनै त हो ।
यहीबेला मलाई भर्चुअल घुमघाममा पनि निस्कन मन लाग्छ । नगरकोट जाऊँ कि सराङकोट, फेवाताल घुमूँ कि रारा, सौराहा जाऊँ कि बर्दिया, मलाई रोक्ने को ? भर्चुअल घुमघाममा निस्कने भनेकै यही बन्दाबन्दीमा हो, सिड्नीदेखि सियाटल, लन्डनदेखि लस एन्जलस, टोक्योदेखि टोरन्टो, पेकिङदेखि पेरिस, यही बेला हो घुम्ने । न भिसा, न हवाई टिकट, न त होटेलकै झन्झट । घरमा नै श्रीमतीले बनाइदिएको तात्तातो कफीको मग लिएर ल्यापटपमा बस्यो अनि त्यसको स्वादचाहिँ पेरिसको साँजलिजेको क्याफेमा बसेर खाएको कल्पना ग¥यो । साँच्ची नै, त्यसरी भर्चुअल घुमघाममा निस्कँदा समय गएको पत्तै हुँदोरहेनछ । घरको छतमा सुस्तरी सुस्तरी हिँड्दा भर्चुअल संसारमा मात्र हैन आफैँभित्रको संसारमा पनि हराउन सकिन्छ । त्यसरी आफ्नै सुरमा हिँड्दा बाहिर सडकमा जस्तो बाटो काट्न डर पनि हुँदैन, कहीँ ठेस लाग्ला भन्ने पीर पनि हुँदैन, पाकेट मार्ला भन्ने चिन्ता पनि हुँदैन । आफैँमा हराउँदै आफैँसँग रमाउँदै हिँड्न पाउनु पनि त ठूलै कुरा हो । त्यसरी हिँड्दा आफ्नै बालापन सम्झेर रमाए पनि भयो, घोर्ले बैँसको दिन सम्झेर मख्ख भए पनि भयो अनि वर्तमानमा ओर्लेर गम खाए पनि भयो । भविष्य त कसलाई थाहा छ र ?
त्यसरी आफैँमा हराउँदै, आफूसँगै रमाउँदै, घरको छतमा हिँड्न थालेको पनि चार महिना बितेछ । त्यसमाथि कानमा हेडफोन लाएर सङ्गीतको मधुर धुनसँगै सुस्तरी सुस्तरी हिँड्नुको झन् अर्कै मजा । हिजोआज त्यसरी हिँड्ने त मेरो बानी नै बसिसकेको छ । मलाई जस्तो सङ्गीत पनि मन पर्छ, पूर्वीय, पाश्चात्य, पप, जाज, लोक सङ्गीत, सुगम सङ्गीत सबै उत्तिकै श्रुतिमधुर लाग्छन् । खाली कुन बेला के सुन्ने भन्ने मात्र हो । नारायणगोपाल, प्रेमध्वज, बच्चुकैलाश, तारादेवी, अरुणा लामाका गीत सुनेर हुर्किएको पुस्ताको मलाई अहिलेको नवोदित कलाकारका गीत र स्वर पनि उत्तिकै मीठा लाग्छन् । पछिल्ला समयमा केही राम्रा म्युजिक भिडियो बनेका छन् जसलाई सुन्दै र हेर्दैगर्दा समय गएको पत्तै हुँदैन ।
टेलिभिजन चाहिँ खासै हेर्न मन लाग्दैन । समाचार हे¥यो डिप्रेसिङ बनाउँछ । जहिले र जहाँ पनि उही कोरोनाको महामारी, नभए राष्ट्रपति ट्रम्पको उट्पट्याङ । नेपालको समाचारमा पनि नेताहरूको सधैँको ङ्यारङ्यार ङुरङुर मात्रै । त्यसमाथि बाढीपहिरो, डुबान कटानको समाचारका दृश्यले बन्दाबन्दीले गालेको मनमस्तिष्कलाई झनै थिलथिलो बनाउँछ । भारतीय टीभी च्यानलको त झन् के कुरा गर्नु ? समाचार च्यानल खोल्न पाएको छैन, कान खाने गरी आपसमा झगडा गरिरहेका हुन्छन् । त्यसैले मैले हेर्ने भनेको म्युजिक च्यानल हुन् । त्यसमा पनि मलाई हाम्रै नेपाली म्युजिक च्यानल मन पर्छन् । अब त तीजको मौसम पनि लाग्यो । सधैँझैँ तीजको गीतको बहार छाउने बेला भयो । बन्दाबन्दीको कारण यस वर्षको तीजको म्युजिक भिडियोमा अलि फरक प्रस्तुति देख्न पाइन्छ ।
यी सबै बेलिबिस्तार लाउनुको एउटै तात्पर्य, बन्दाबन्दीको बेला म पनि त्यसै कहाँ सुतेर बसेको छु र भन्ने प्रमाणित गर्नु हो । त्यो सबैको श्रेय भने मेरो त्यही सानो छतलाई जान्छ । जसले मलाई बन्दाबन्दीको चार महिनासम्म भरथेग गरिरह्यो । थाहा छैन, उसले अझै कति समय मेरो गरुङ्गोे पैतालाको पदचाप सहनुपर्ने हो ? किनकि बन्दाबन्दी खुले पनि पाइलाहरू खुल्न सकेका छैनन् । किलोमा बाँधेको भैँसीको खुट्टा लुलो भएजस्तै लुलिएका छन् मेरा खुट्टाहरू । अघि बढूँ भन्छु, तर पैताला यान्त्रिक रूपमा घरको त्यही सानो छततर्फ नै फर्कन मन गर्छन् । त्यसैले मलाई पनि भूपिकै लयमा भन्न मन लाग्छ ः
साँघुरो गल्लीमा मेरो घर छ ।
घरमाथि सानो छत छ ।
त्यहाँ के छैन ? सबथोक छ ।
त्याँ मेरा सपना छन्, विपना छन्,
त्यहाँ मेरा विगत र वर्तमान छन्,
सायद त्यहाँ मेरा भविष्य पनि छन् ।
मेरो सानो छत, मेरो संसार ।