हिरण्यकुमारी पाठक
जीवनका अनेक खुड्किला पार गर्दै
अनुभव र अनेक अनुभूतिलाई
आत्मसात् गर्दै गर्दै
उत्तराध्र्द जीवनमा अकस्मात् आइपरेका
निरीह हुनुको आत्मानुभूति
आत्मसात् गर्दैछु
कहिले कोरोनाको सन्त्रास
कोलाहल जीवन बाँच्न विवश मान्छे
यत्रतत्र छरिएका निर्जीव मानव शरीर
गाउँ सहर भित्रभित्रै फैलिँदो कोरोनाको त्रास
आफन्त र पराइमा, गरिब र धनीको
भेदभाव नगरी
सबैलाई एकै सासमा गाँज्ने कोरोनाको कहर
लगत्तै आइपर्छ अर्को विपत्ति
यत्रतत्र सर्वत्र हुल बाँधी
पस्छन् सलहका डफ्फा
एकै गाँसमा स्वाहा पार्छन्
गाउँ ठाउँका उपज
किन र कहाँबाट आयो यो विपत्ति
एकपछि अर्को दुःख
मान्छे यतिखेर
दुःख निवारणको खोजीमा लागेका छन् ।