प्रा.डा. मोतीलाल शर्मा
विश्वलाई नै आक्रान्त पारेको कोरोनाको प्रकोप यतिखेर नेपालमा बढिरहेको छ । कोरोनासँगै प्राकृतिक विपत्तिहरू पनि विश्वले बेहोरिरहेको छ । प्राकृतिक र जैविक विपत्ति भोगिरहेकै बेला एसियाली मुलुक लेबनानको राजधानी बेरुतमा भएको विस्फोटले थप पीडा दिएकोे छ । २०७७ साल साउन २० गते मङ्गलबार तदनुसार सन् २०२० अगस्त ४ का दिन अपराह्न योे विस्फोट भएको थियो । शृङ्खलाबद्ध भएको यो विस्फोटलगत्तै संसारभरिबाट विभिन्न किसिमका प्रतिक्रिया ओइरिए । प्रतिक्रियाले थुप्रै आशङ्का जन्मायो । नाभिकीय अर्थात् परमाणु बम विस्फोटको झझल्को दिने गरी भएको यो विस्फोट कसले, किन र कसरी गरायो भन्नेसम्मका प्रश्न अगाडि तेर्सिए । विस्फोट गराउन लेबनानको शक्तिशाली मानिने हिजबुल्लाह समूहलाई पनि शङ्काको घेरामा राखियो । समूहका प्रमुख हसन नसरल्लाहले त घटनामा आफ्नो समूहको कुनै संलग्नता नरहेको भनाइ सार्वजनिक गरे । छिमेकी मुलुक इजरायलतिर पनि शङ्काको सुई घुमाइयो । दिन बित्दै जाँदा प्रारम्भिक अनुमानविपरीत ‘अमोनियम नाइट्रेट’ नामक एक अकार्बनिक रसायनका कारण विस्फोट भएको छर्लङ्ग भयो ।
के हो अमोनियम नाइट्रेड ?
अमोनियम नाइट्रेड कस्तो खालको रसायन हो त ? यो रसायन आफँैमा विस्फोटक पदार्थ भने होइन तर यसलाई दुरुपयोग वा असावधानीवश चलाउने गरियो भने विस्फोटक बन्न सक्छ । यो एउटा सेतो रङको मणिभीय रसायन हो । भौतिक तथा रासायनिक गुणको कुरा गर्ने हो भने यसको पग्लने तापक्रम १६९.६ र उम्लने तापक्रम २१० डिग्री सेल्सियस हो । यो रसायन प्राकृतिक रूपमा मरुभूमि क्षेत्रमा बढी पाइएको छ । औद्योगिक तथा वाणिज्य प्रयोजनले प्रयोगशाला वा उद्योगमा संश्लेषण पनि गर्न सकिन्छ । पग्लिएको अवस्थाको अमोनियम नाइट्रेटमा कुनै ज्वलनशील पदार्थको सानोभन्दा सानो अंश पनि मिसिएको वा सम्पर्कमा रहेको वा अप्रत्याशित रूपमा झट्कामा हल्लाइयो भने र केही गरी क्लोराइड, सल्फर धातु र धातुमिश्रित यौगिक, अँगार (चारकोल), काठको धुलो वा सलाईको काँटीमा प्रयोग हुने पोटासियम क्लोरेटको मात्रा मिसिन गयो भने विस्फोटक बन्न सक्छ । ठूलो परिमाणमा भण्डारण गरेर राखिएको यो रसायन त्यसै पनि जोखिमयुक्त हुन्छ । यो रसायनको विस्फोट हुने गुणमा तापक्रमको ठूलो भूमिका हुने हुँदा भण्डारणमा उचित ध्यान पु¥याउनु पनि अति आवश्यक छ । यो रासायनिक पदार्थको अपघटन भएमा यसबाट अक्सिजन, नाइट्रोजन र जलवाष्प बन्न जान्छ । करिब ३०० डिग्री सेल्सियसको हाराहारीमा हुने यसको अपघटनले नाइट्रसअक्साइड र जलवाष्प जन्माउँछ भने यो रासायनिक प्रतिक्रिया विस्फोटक हुन्छ । विभिन्न तापक्रममा र कुनै बाहिरी पदार्थ मिसिएको अवस्थामा त्यसले उत्प्रेरक (क्याटलिस्ट) को भूमिका खेलेको हुन्छ र त्यो रासायनिक प्रतिक्रिया दुवै तापप्रदायक प्रकृतिका हुने हुँदा अधिक मात्रामा ताप उत्पन्न हुन्छ । कुनै पनि वस्तु विस्फोटक बन्नका लागि त्यो वस्तुभित्र रहेको स्थिर ऊर्जा नै मुख्य कारक हो भने त्यसमा झट्कासहित एक्कासि प्रकाश, ताप वा दबाब र कुनै अवस्थामा ध्वनि ऊर्जाले पनि विस्फोटक बनाउँछ । अहिले लेबनानको बेरुतमा भएको अमोनियम नाइट्रेटको विस्फोटन यिनै कारणले भएको कुरामा कुनै शङ्का छैन । भण्डारणमा गरिएको हेल्चेत्र्mयाइँ कुन हदसम्म थियो र कुन बढी कारक थियो भन्ने प्रश्न भने अनुसन्धानपछि आँकलन हुने विषय हो । सामान्य अवस्थामा पनि अमोनियम नाइट्रेटको सम्पर्कमा रहँदा वा आउँदा स्वास्थ्यसम्बन्धी थुप्रै नकारात्मक प्रभाव पर्ने हुन्छ । यो रसायन आफँैमा गम्भीर किसिमको विषादिभित्र नपरे पनि यसबाट मानव स्वास्थ्यमा सामान्यतया टाउको दुख्ने, मनमस्तिष्कलाई चिटचिट बनाउने, पेट दुख्ने, वान्ता हुने, कमजोरी महसुस हुने, श्वासप्रश्वासमा गाह्रो हुने र घाँटीमा सुक्खापन पैदा गर्नेजस्ता असर देखिन्छन् ।
यति भयानक विस्फोटनको कारक बनेको अमोनियम नाइट्रेट नामक रसायनको अर्को पाटोबाट हेर्दा यो अति नै उपयोगी रासायनिक मल पनि हो भन्ने कुरा बिर्सन मिल्दैन । विश्वको बढ्दो जनसङ्ख्यासँगै खाद्यवस्तुको उत्पादनको सवाल महत्वपूर्ण छ । यो रसायन पानीमा राम्ररी घुल्न सक्ने भएको हुँदा यसमा भएको नाइट्रोजनलाई बोटबिरुवाले सजिलै ग्रहण गर्न सक्छन् । राम्रो रासायनिक मल ठानिएको यो पदार्थमा नाइट्रोजनको मात्रा ३५ प्रतिशत हुन्छ । अमोनियम नाइट्रेट मिसिएको अर्को महत्वपूर्ण रासायनिक मल क्याल्सियम अमोनियम नाइटे«ट हो । यो पनि सजिलै पानीमा घुलनशील हुने हुँदा वनस्पतिले राम्ररी ग्रहण गर्न सक्छ र बोटबिरुवाको वृद्धिमा अति नै सहयोगी हुन्छ । रासायनिक मलका रूपमा प्रयोग गर्ने उद्देश्यले नै दुई हजार ७५० टन अमोनियम नाइट्रेट त्यहाँ राखिएको एक पक्षको अनुमान छ ।
कसरी आइपुग्यो ?
सारा विश्वको ध्यान आफूतिर खिचेको यो विस्फोटनको कुरा गर्दा यति धेरै अमोनियम नाइट्रेट कसरी त्यहाँ आइपुग्यो त ? कसरी भण्डारण गरिएको थियो ? यसमा को जिम्मेवार थियो ? भन्ने प्रश्न यतिखेर टड्कारो बनेको छ । विस्फोट बन्दरगाहनजिकै आवासीय इलाकाको सेरोफेरोमा असुरक्षित हिसाबले गरिएको भण्डारणको नतिजा हो र यस घटनाले लेबनानी जनतालाई चिढ्याएको मात्र नभई अति नै दुःखी तुल्याएको छ । जोखिमपूर्ण रसायन हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि वर्षौंदेखि बेरुतको बन्दरगाहनजिक यो रसायन किन भण्डारण गरिएको थियो त ? यो रसायन आइपुग्दा कुन कुराले समयमै व्यवस्थापन गर्न दिएन र भएको के थियो भन्नेबारे चर्चा गर्नु वाञ्छनीय हुन्छ किनकि यसले भविष्यमा यस्तो घटना दोहोरिन नदिन अवश्य पनि सहयोग पु¥याउँछ ।
विस्फोट भएको यो रसायन सन् २०१३ मा नै बेरुत बन्दरगाहमा आइपुगेको थियो । एउटा अनुमान के छ भने यो रसायन रुसको जर्जिया राज्यबाट पानीजहाजमा मोजाम्बिक लगिँदै थियो । बेरुत नजिक आइपुगेपछि पानीजहाज यान्त्रिक गडबडीका कारण रोकिनुप¥यो । ‘रोसस्’ नाम गरेको यस पानीजहाजका मुख्य नाविक (कप्तान) रुसी नागरिक रहेको बताइएको छ । रासायनिक पदार्थ बोकेको जहाजमा मोल्डोवाको झण्डा भएको हुनाले लेबनानी अधिकारीहरूले जाँचबुझका लागि भनेर अधीनमा राखेको भनाइ पनि सार्वजनिक भएकोे छ । यान्त्रिक गडबडी भएर बेरुत बन्दरगाहमा पु¥याइएको ‘रोसस्’ पानीजहाजलाई छानबिन गरिसकेपछि त्यसलाई पुनः सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो । ‘रोसस्’ पानीजहाजका मालिक साइप्रसमा रहेर काम गर्ने रुसी नागरिक इगोर ग्रेचुस्किन थिए । जहाजका कप्तान र चार जना युक्रेनी टोली सदस्यलाई लामो समयसम्म जहाजमै बस्नुपरेको थियो । प्रशासनिक र करसम्बन्धी कुरा नमिल्दा बन्धक बनेका सदस्यलाई २०१५ मा छोडिएको थियो । अनि ‘रोसस्’ जहाज र त्यसमा भएको अमोनियम नाइट्रेट त्यत्तिकै राखियो र धेरैपछि असुरक्षित तरिकाले नजिकै भण्डारण गरियो ।
विस्फोटपछिको अवस्था
घटनामा अहिलेसम्म करिब १८० जनाले मृत्युवरण गर्नुपरेको र सयभन्दा बढी मानिस हराइरहेको बताइएको छ । करिब ५५० जनाभन्दा बढी घाइते भएका छन् । अर्बांै सम्पत्तिको नोक्सानी भएको छ । पाँचलाख जति मानिस घरबारविहीन बनेको अनुमान छ । मनोसामाजिक विकारले हजारौँ मानिस विक्षिप्त बनेको बताइएको छ । दुई हजार ७५० टन अमोनियम नाइट्रेटको तुलना करिब ११५५ टन ट्राइनाइट्रो ग्लिसरिन (टी.एन.टी) को बराबर हुन आउँछ । यो विस्फोट हुँदा सम्पूर्ण लेबनान र वरपरका देशमा भुइँचालोको कम्पन महसुस गरिएको बताइन्छ । यो कम्पन टापुदेश साइप्रससम्म पनि पुगेको
थियो भनिन्छ ।
लामो समयसम्म आन्तरिक कलहमा र एक प्रकारले भन्नुपर्दा गृहयुद्धको अनुभव सँगालेको लेबनानमा सुशासन नहुँदा देश र जनताप्रति उत्तरदायित्व लिने अधिकारीहरूको उदासीनताका कारण यति ठूलो दुर्घटना भयो र क्षति बेहोर्नुप¥यो । समयमा नै जोखिमपूर्ण भण्डारणको ख्याल गर्न सकेको भए यस्तो घटना हुनबाट साँच्चै नै जोगाउन सकिन्थ्यो ।
अहिले बेरुत सहरमा गभर्नर मारवान अब्बौदले बन्दरगाहका अधिकारीलाई घरमै नजरबन्द गरेका छन् । राष्ट्रपति मिचेल एउनबाट दुई साताका लागि सङ्कटकाल घोषणा गरिएको छ । त्यहाँका आन्तरिक मामिलामन्त्री मोहम्मद फाइमीले यस घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । लेबनानका प्रधानमन्त्री हसन डियबले लेबनान चरम सङ्कटबाट गुज्रिरहेको हुनाले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गरेका छन् । बेरुतमा दिनदिनैजसो प्रदर्शन भइरहेका छ । यसै क्रममा लेबनानी प्रधानमन्त्री हसन डियबले दिएको राजिनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । हसन डियब नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत भएको छ ।
बेरुत विस्फोटपछि यहाँ मानवीय सङ्कट उत्पन्न भएको छ । करिब बीस लाख जनसङ्ख्या यहाँ बसोबास गर्छन् । घरबारविहीन भएका मानिसका समस्या, घाइतेको उपचार हुन नसक्नु र आफन्तजनको असामयिक मृत्युले यहाँका नागरिक नकारात्मक मनोदशाबाट गुज्रिरहेका छन् । विक्षिप्त अवस्थामा पुगेका छन् । त्यसमाथि विश्वव्यापी कोरोनाले सताइरहेको छ । यी सबै कुरालाई व्यवस्थित गर्न लेबनानलाई अति नै गाह्रो परेको छ । छिमेकी मुलुक सिरियाको गृहयुद्धबाट त्रसित बनेर लेबनान पुगेका शरणार्थीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्या त पहिलेदेखि छँदै थियो ।
विगतका विस्फोट
अमोनियम नाइट्रेटको भण्डारण र आपूर्तिका बीचमा अपनाउनुपर्ने सावधानी नअपनाउँदा हजारौँ मानिसले बीसौँ शताब्दीको पूर्वाद्र्धमा पनि ज्यान गुमाउनुपरेको थियो । सन् १९१६ मा बेलायत र अमेरिकाको पेन्सिलभेनियामा, १९२१ मा जर्मनीको क्रिवाल्ड र ओप्पाउ, १९४० मा फ्रान्समा, १९४२ मा बेल्जियममा पनि यही रसायन विस्फोट भएको थियो । अमोनियम नाइट्रेट विस्फोटका घटना पटकपटक दोहोरिएकै छन् र त्यसबाट कमै मात्र पाठ सिकिएको जस्तो लाग्छ । हालको दशकमा २०१३ मा अमेरिकाको टेक्सासमा, २०१४ मा अस्ट्रेलियाको क्विन्सल्यान्डमा, २०१५ मा चीनको तियन्जीनमा पनि विस्फोटका घटना भएका थिए ।
रासायनिक मलका रूपमा नाइट्रोजनको महत्वपूर्ण स्रोत भनेर प्रयोग गरिने यो रसायनलाई विस्फोटकको रूपमा पनि प्रयोग गर्न सकिने देखियो । यसैले व्यावहारिक र कानुनी हिसाबले पनि होसियारी अपनाउन अत्यन्त जरुरी छ । यही कुरालाई ध्यान दिई पाकिस्तानी सरकारले अमोनियम नाइट्रेटसँगै मलको रूपमा प्रयोग गरिने अमोनियम सल्फेट, क्याल्सियम अमोनियम नाइट्रेटजस्ता रासायनिक मलमा पनि कडा नियन्त्रण गरेको छ ।
सन् १९४७ मा अमेरिकाको टेक्सास राज्यमा रासायनिक मल बनाउने कारखानामा विस्फोट हुँदा कैयौँ हताहत भएका थिए । त्यसैगरी अमेरिकाकै विस्कन्सिन विश्वविद्यालयमा अगस्त २४, १९७० मा एउटा विस्फोटको घटना भएको थियो । जसलाई ‘स्टरलिङ हल बम्बिङ’ भनेर चिनिन्छ । यस दुर्घटनाको अनुसन्धान कार्यमा लागेका वैज्ञानिकहरू मारिएका थिए । त्यसैगरी अक्लोहमा सहरको नगर भवनमा पनि विस्फोट गराइएको थियो । सन् २०११ मा भारतको नयाँदिल्लीमा र सोही वर्ष नर्वेको ओस्लोमा पनि ७७ जनाको ज्यान जानेगरी गराइएको विस्फोटमा अमोनियम नाइट्रेटको प्रयोग गरिएको थियो ।
संसारका विकसित मुलुकहरू जस्तै फ्रान्स, नर्वे, डेनमार्क, बेलायत, अमेरिका र एसिया महादेशका चीन, जापान, कोरिया, भारतलगायतका तमाम देशहरूमा जोखिमपूर्ण तथा घातक रसायनहरूको व्यवस्थापनका लागि ऐनकानुन बनेका छन् । तिनको सुरक्षित ढुवानी तथा भण्डारणका बारे पनि थुप्रै कार्यविधि बनेका छन् । तिनको कडाइका साथ पालना पनि गर्ने गराउने गरिएको छ ।
नेपालमा पनि रासायनिक पदार्थको ओसारपसार र भण्डारण यत्रतत्र भएको पाइन्छ । जोखिम हुनसक्ने यस्ता रासायनिक पदार्थको नियमन गर्नका लागि ऐनकानुनको आवश्यकता पर्न जानेमा द्विविधा छैन । विस्फोटक पदार्थको ओसारपसार तथा भण्डारणमा विज्ञहरूको सल्लाह र सुझाव लिनुपर्छ । यही सुझावका आधारमा रासायनिक पदार्थको जोखिमको मूल्याङ्कन र वर्गीकरण हुनुपर्छ । जसबाट नेपालमा जोखिमपूर्ण रसायनको प्रयोग र पहुँच नियन्त्रण हुनसकोस् । अमोनियम नाइट्रेट पठनपाठनका रूपमा नेपालका विद्यालय तथा विश्वविद्यालयका प्रयोगशालामा उपयोगमा ल्याइने रसायन पनि हो ।
रसायनहरूको जथाभावी प्रयोग गर्दा यसले मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका विकार उत्पन्न गर्न सक्छ । यी रसायनमा कृषिकार्यमा प्रयोग हुने कीटनाशक औषधिदेखि घरको भुइँ सफा गर्ने वा शौचालय सफा गर्न सकिने नाममा पसलहरूमा बेच्न राखिने तेजाब (एसिड) लाई लिँदा पनि हुन्छ । हाल ती रसायनको अवैज्ञानिक प्रयोगले श्वासप्रश्वास, रक्तचाप, मधुमेहलगायतका रोग बढाउने कार्य गरेको छ । अनि आवेगमा आएर प्रयोग गर्दा गम्भीर किसिमका सामाजिक तथा पारिवारिक अपराधका घटना पनि भएका छन् । यी सबै रसायनको प्रयोगमा नियमन तथा नियन्त्रण गर्न सम्बन्धित पक्षले समयमै ध्यान पु¥याउनु आवश्यक छ ।
कर्तव्य निर्वाहका क्रममा एकपटक चुक्नाले राष्ट्र र निर्दोष जनताले कतिसम्म मूल्य चुकाउनुपर्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, बेरुत विस्फोटको घटना । यस घटनाबाट हामी सबैले पाठ सिक्नु आवश्यक छ । यस बीभत्स घटनाबाट उठेर वर्तमानका कहरहरूलाई सम्बोधन गर्दै लेबनानको पुरातात्त्विक र ऐतिहासिक महत्व बोकेको बेरुत सहर छिट्टै आफ्नो रङ्गीन भावमा फर्किन सकोस् यही शुभेच्छा !