logo
२०८१ मंसिर १० सोमवार



समय अनुरूपको तीज !

शनिवार |


समय अनुरूपको तीज !


ज्ञानु अधिकारी

समय र परिस्थितिसँगै मान्छेको जीवनशैली परिवर्तन हुँदै जानु स्वाभाविक प्रक्रिया हो । परम्परादेखि चल्दै आएका कतिपय धार्मिक तथा साँस्कृतिक चाड र तिनले निर्माण गरेका मूल्य र मान्यता परिवर्तित समयमा असान्दर्भिक पनि हुन पुग्छन् । यस्तो अवस्थामा ती चाडको स्वरूपमा स्वभावतः परिवर्तन आउँछ, जसको उदाहरण तीज चाडलाई लिन सक्छौँ । पछिल्लो समय तीजको आगमनसँगै यसको महŒव, सान्दर्भिकता र औचित्यमाथि बहस हुन थालेका छन् । यसरी बहस हुनु राम्रो हो । तर, यसको नकारात्मकतालाई मात्र देखाएर खारेजीकै कुरा गर्नु चाहिँ उपयुक्त होइन । हाम्रा मूर्त र अमूर्त सांस्कृतिक सम्पदा हामीले हाम्रा पुर्खाबाट पाएको अमूल्य विरासत हुन् । यिनले हाम्रो मौलिकता, पूर्वजहरूप्रति सम्मान र हाम्रो पहिचानलाई जीवन्त राख्न मद्दत गर्छ । यस्ता संस्कृतिसँग हाम्रा भावना जोडिएका हुन्छन् । यी चाडले एक–अर्कालाई जोड्ने र आपसमा रमाउने माध्यम पनि हुन् । यस्ता चाडलाई समयअनुसार र समाजसापेक्ष सजिलो र सद्भावपूर्ण बनाउँदै लैजानुपर्छ । तर, कसैको आस्था र विश्वासमाथि चोट पुग्नेगरी प्रहार गर्नुलाई भने राम्रो मान्न सकिँदैन । पछिल्लो समय तीजको सान्दर्भिकतालाई लिएर विभिन्न विवाद र बहसहरू चलेका छन् । तिनै सन्दर्भलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

विवादमा तानिएको तीज
विशेषतः हिन्दु नारीले मनाउँदै आएको तीज चाड पछिल्लो समय विवादतर्फ तानिएको छ । नेपालको ठूलो जनसङ्ख्या ओगटेको ग्रामीण भेगलाई छाडेर सहरी क्षेत्रलाई हेर्ने हो भने यहाँका कतिपयले तीज मनाउन छाडेको र मनाइहाले पनि परम्परागत रूपमा मनाएको पाइँदैन । परम्परागत रूपमा मनाउँदै आएको तीज चाडको औचित्य र महŒवमाथि यतिबेला थुप्रै प्रश्न उब्जिएका छन् । धार्मिक तथा साँस्कृतिक दृष्टिले तीज, एउटा महŒवपूर्ण चाड हो भने यसले जन्माएका विरोधाभासले यस चाडमाथि प्रश्नचिह्न खडा गरेको छ । एकातिर पुरुष र महिला बराबर हुन्, यिनीहरूका बीचमा कुनै विभेद छैन र गर्न पनि पाइँदैन भन्दै गर्ने र अर्कोतिर श्रीमान्को लामो आयुका लागि निराहार व्रत बसेर पुरुषपूजालाई बढावा दिने यसप्रकारको विरोधाभास अवस्थाले नै तीज चाडलाई बहसतर्फ धकेलेको हो । महिनावारी महिलाको प्राकृतिक नियम हो । यसलाई सामान्य रूपमा लिनुपर्छ र मर्यादित बनाउनपर्छ भन्ने अभियान चलिरहेको र छाउपडी प्रथाको उन्मूलनमा जुटिरहेको समयमा महिनावारीलाई पाप मानेर पाममोचनका पञ्चमीपूजा गर्नुजस्ता बाझिएको कुराले पनि तीजको औचित्य कति भन्ने सवाल खडा गर्छ । यस्ता विरोेधाभास कुरालाई कसरी सँगै लैजान सकिन्छ भन्ने कुरा पनि महŒवपूर्ण हुन आउँछ । खासगरी महिला पुरुष बराबरी हो भन्ने कुरा पढ्दै आएका र आफ्नो अभिभावकबाट पनि त्यस्तै व्यवहार देख्दै आएकाहरूले पछिल्लो पुस्ताका छोरीहरूमाथि तीजले बोकेका पुरुष सत्तावादी धारणालाई लाद्न खोज्दा उनीहरूमाथि मनोवैज्ञानिक प्रभाव के–कस्तो पर्ला भन्नेबारे सोच्नुपर्छ । राम्रो श्रीमान् पाउन व्रत बस्नुपर्छ, शिवजीको पूजा गर्नुपर्छ, श्रीमान् भनेको स्वामी हो, उसको लामो आयुका लागि निराहार व्रत राख्नुपर्छ जस्ता कुरा सिकाउँदा उनीहरूभित्रको आत्मस्वाभिमानमा ठेस पुग्नुका साथै उनीहरूले आफूबराबर हैसियतको पुरुषको पूजा किन गर्नुपर्ने ? उसले पनि आफ्नी श्रीमतीका लागि यसैगरी व्रत बस्छ ? पूजा गर्छ ? यस्ता धेरै प्रश्नको सामना उनीहरूले गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता लैङ्गिक विभेदमाथि उभिएका र पुरुषलाई देवत्वकरण गरी नारीलाई निरीह पात्र बनाइने यस्ता प्रचलनहरू वर्तमान समयमा औचित्यहीन बन्दै गएको सन्दर्भकै कारण तीज पछिल्लो समय बहसको विषय बनेको हो ।
आजको समयमा गीत गाउन, वेदना पोख्न र दिदीबहिनीका बीच खुलेर रमाउन तीज नै पर्खनुपर्ने अवस्था छ त ? माइत जान, राम्रो सारी, चोलो लगाउन र मीठो खान आजका नारीलाई तीज नै पर्खनुपर्छ र ? परम्परित चाडचाड, संस्कार र संस्कृतिलाई जोगाउन व्रत बस्ने, मन्दिर जाने, पूजा गर्ने आदि काम नारीले मात्र गर्नुपर्छ भन्ने छ र ? नारीले महिनावारी भएर पाप गरेकै हुन् ? के त्यो पाप सप्तऋषिको पूजा लगाएपछि पखालिने हो ? अहिले बिलौना र गुनासो सुनाएर अनि आफ्नो कर्मलाई दोष दिएर बसिरहने अवस्था छ नारीहरूको ? जस्ता प्रश्न तीजको विषयलाई लिएर उठेका जल्दोबल्दो प्रश्न हुन् । यी प्रश्नका आधारमा हेर्दा तीज अबको समयमा औचित्यहीन र असान्दर्भिक देखिए पनि यसका केही महŒवपूर्ण र राम्रा पक्ष पनि छन् । त्यसैले यसका नराम्रा पक्षलाई पन्छाएर राम्रा र सकारात्मक पक्षलाई लिनु आवश्यक छ ।

बढ्दै गएको विसङ्गति
कुनै समय थियो, जहाँ चेलीहरू तीज आउने दिन गनेर बस्थे । तीजले एउटा तरङ्ग बोकेर आउँथ्यो र जाँदा तृप्ति दिएर जान्थ्यो । यस चाडको अन्धविश्वासको एउटा पाटो त छँदै थियो, त्यसबाहेक यसले एउटा छुट्टै रौनकता ल्याउँथ्यो । माइती–चेलीको सम्बन्ध, आफन्त र छरछिमेकीसँगको आत्मीय मिलन र सुख–दुुःख बाँड्ने अवसरका कारण तीज एउटा संवेदनात्मक चाड बन्थ्यो । तर, तीजका नाममा पछिल्लो समय केही संवेदनाहीन र भड्किला गतिविधि बढ्दै गएका छन् । यसकारण पनि तीज आलोचित भएको छ । तीज भड्किलो भयो या भएन भन्ने विषयमा पनि आ–आफ्नै तर्क र दृष्टिकोण होलान् । सहमति असहमति पनि होलान् । आम रूपमा हेर्दा तीज केही भड्किलो, खर्चिलो र विसङ्गत बन्दै गइरहेको कुरालाई नकार्न मिल्दैन । यस चाडलाई आत्मीयता, सद्भाव र मेलमिलापका रूपमा भन्दा पनि खाने, लाउने र सिँगारिने चाडका रूपमा मात्र प्रयोग गरिएको पाइन्छ । तीजको सबैभन्दा महŒवपूर्ण र विशिष्ट पक्ष भनेको गीत र सङ्गीत पक्ष हो । चाडगीतका रूपमा गाइने तीजका गीत पनि सस्तो मनोरञ्जन र व्यावसायिक किसिमका देखिन्छन् र यस्ता गीत अधिकांशतः विसङ्गत पक्षमा नै केन्द्रित देखिन्छन् ।
आफ्नो इच्छाअनुसार लगाउनु र खानु व्यक्तिको स्वतन्त्रताको कुरा भए पनि संस्कृतिका नाममा गरिने भद्दा क्रियाकलापले यस्ता चाडको औचित्यमाथि नै प्रश्न उठाउँछ । शरीरले धान्न पनि गाह्रो हुनेगरी लगाइएका गहना, महँगा साडी, भद्दा शृङ्गार, भड्किला गीत, नाच आदिका कारण तीज चाड सर्वसाधरण नारीको पहुँचभन्दा बाहिर पुग्ने अवस्था देखिन्छ । यस्ता गतिविधि र क्रियाकलापले तीजलाई नकारात्मकतातर्फ धकेलिरहेको छ । यसले समाजलाई राम्रो सन्देश दिन सकेको छैन । पार्टी प्यालेसमा निकै ठूलो तामझामसाथ मनाउन थालिएको तीज र टोल नै थर्कनेगरी घन्किने गीतले न त मौलिक संस्कृतिको जगेर्ना गर्न सकेको छ न त आमनेपाली नारीको आवाज बोक्न सकेको छ । पछिल्लो समय तीजलाई हुनेखानेहरूले यसरी प्रस्तुत गरिरहेका छन् कि यो चाड भनेकै मनोरञ्जनको एउटा बहाना हो । यी सबै विसङ्गत पक्षहरूबाट टाढा रहेर आफ्ना परिवार, आफन्तहरूसँग बसी सद्भाव र प्रेम साटासाट गर्ने एउटा राम्रो अवसरका रूपमा तीजलाई लिने हो भने मात्र आजको सन्दर्भमा तीजको औचित्य र महŒव रहनेछ ।

तीज चाडको औचित्य
कतिपय अवस्थामा कुनै पनि धार्मिक साँस्कृतिक चाडहरू केवल चाडबाडमात्र रहँदैनन्, ती बोझमात्र पनि हुँदैनन्, यिनले दिने खुसी पनि अवर्णित हुन्छन् । साँस्कृतिक चाडका क्रियाकलाप र गतिविधिलाई समाजशास्त्रको गणितीय आधारमा मात्र हेर्नुहुँदैन । हाम्रा यी साँस्कृतिक परम्परासँग हाम्रो आस्था, श्रद्धा र लोकविश्वास जोडिएका हुन्छन् । यसले हाम्रो मनोविज्ञानमा पनि ठूलो प्रभाव पारेको हुन्छ । यस्ता चाडलाई खारेज नै गर्नुपर्छ भन्ने कुरा जायज हुँदैन । यो सम्भव हुने कुरा पनि होइन । समयले दिएको चेतनाको स्तरसँगै यस्ता पुराना सामाजिक, साँस्कृतिक मूल्य–मान्यता भत्कँदै जान्छन् र आफ्नो स्वरूप बदलेर नयाँ स्वरूपमा पनि आउन सक्छन् । तीज चाडबारे बनेका कतिपय सङ्कथन र यसका कतिपय मूल्य–मान्यता आजको परिस्थितिमा असान्दर्भिक र औचित्यहीन पनि लाग्न सक्छन् । तर, यसको अर्थ यो होइन कि, यो चाड नै खराब छ र यसलाई मनाउनु नै हुँदैन अर्थात् खारेजी नै गर्नुपर्छ । हामीले यसरी विभिन्न बहानामा सबै चाडबाडलाई मिल्काउँदै र त्याग्दै जाने हो भने हामीसँग हाम्रा मौलिक परम्परा र चाडका रूपमा के नै बाँकी रहन्छन् र ? अनि हामीले भोलिका पुस्तालाई आफ्नो संस्कृति र पहिचानका रूपमा हस्तान्तरण गर्ने कुरा नै के बाँकी रहन्छ र ! हामीसँग केही नहुनु भनेको अरूको संस्कृति अपनाउन बाध्य हुनु हो । आफ्नो संस्कृतिलाई घृणा गर्नुको अर्थ अरूको संस्कृतिलाई मन पराउनु पनि हुन सक्छ । के अग्रगमनका नाममा हाम्रा लोकसंस्कृतिको खारेजी माग गर्नु उचित हुन सक्ला र ? हामीले हाम्रा साँस्कृतिक चाड मनाउनुपर्छ, जोगाउनुपर्छ तर आजको समयअनुरूप अनि आजको चेतनाको स्तरअनुसार । कुनै पनि चाडबाडले पारिवारिक एकता र सद्भाव बढाउने काम गर्छ । आफन्तबीच परिचित हुने मौका दिन्छ । आफ्ना अग्रज र पुर्खालाई स्मरण गर्ने वातावरण बनाउँछ । यस्ता गतिविधिले एक्लो हुँदै गएको आजको मान्छेलाई सामुदायिक र साझा भावनाको विकास गराउँछ । कतिपय कुरा भावनात्मक हुन्छन् र यस्ता भावनात्मक कुरा मानवीय जीवनमा नभई नहुने पक्ष हुन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?