श्रीरामसिंह बस्नेत
नेपाली साहित्यिक क्षेत्रमा कुशेऔँसीको बेग्लै महिमा छ, युवक कवि मोतीराम भट्टको जन्म र निधन भएको एउटै विशेष तिथि भएकाले । विक्रम संवत् १९२३ को कुशेऔँसीका दिन जन्मिएर ३० वर्षको युवावस्थामै विसं १९५३ को सोही तिथिका दिन चोला बिसाएका मोतीरामले नेपाली भाषा, सहित्य, सङ्गीत, कला, पत्रकारिता, मुद्रण व्यवसाय आदि क्षेत्रमा जे–जति काम गरेर गए, त्यति काम गर्न अरू मानिसले ९० वर्षको जीवनमा पनि सायद भ्याउँदैनन् ।
नेपालमा एकतन्त्रीय जहानियाँ राणा शासन चलिरहेका समयमा मोतीरामको जन्म काठमाडौँको भोँसिको टोल (वीर अस्पतालपछाडि) मा एक मध्यमवर्गीय परिवारमा भएको हो । नेपालमा शिक्षादीक्षाको राम्रो व्यवस्था नभएको अवस्था भएकाले त्यसका लागि उनलाई छ वर्षकै बाल्यकालमा दक्षिण एसियामै ज्ञानको केन्द्रका रूपमा रहेको वनारसमा पढ्न पठाइयो । उनले वनारसमा पिता दयाराम भट्टका साथमा रही त्यहाँ उपलब्ध शिक्षा, विभिन्न भाषा, सङ्गीत, चित्रकारिता आदि सिके । एक प्रतिभाशाली छात्र भएका कारण उनको सिकाइ र बुझाइ गहन थियो । उनी वनारस र केही समय कलकत्तामा रहे पनि बेलाबेलामा काठमाडौँ आउने जाने गर्थे । अहिलेको जस्तो अत्याधुनिक र दु्रत गतिका यातायातका साधन त्यतिखेर उपलब्ध नभए पनि उनको काठमाडौँसँगको सम्पर्क टुटेको थिएन । यद्यपि, मोतीरामको प्रवास जीवनका धेरै तथ्य अज्ञात नै छन्, गहन अनुसन्धानको अभावमा । उनी दरबार हाइस्कुलका पनि एक मेधावी छात्र थिए । राणा परिवारका देवशमशेर, चन्द्रशमशेर उनका सहपाठी मित्र थिए । विसं १९४८ मा बेलायतबाट आएका अति विशिष्ट अतिथि लर्ड रबर्ट दरबार हाइस्कुल निरीक्षणमा आउँदा मोतीरामलाई स्कुलकै सबैभन्दा प्रतिभाशाली छात्र भनी परिचय गराउँदा विशिष्ट अतिथि रबर्टले उनलाई आफ्नै लहरमा मेचमा बस्न लगाई पुस्तकहरू उपहारसमेत दिएका थिए ।
मोतीरामकै अथक प्रयासका कारण भानुभक्त आचार्यलाई नेपालीले चिन्न पाएका हुन् । यो पनि एक संयोगको मात्र प्रतिफल थियो । सामान्य व्यक्तिको मात्र होइन, राष्ट्रकै जीवनमा समेत एउटा सानो र सामान्य संयोगले पनि कति ठूलो भूमिका खेल्न सक्छ भन्ने कुरा मोतीराम र भानुभक्तको यथार्थबाट बुझ्न सकिन्छ । भानुभक्तको चर्चा हुनासाथ मोतीरामको चर्चा पनि सँगै जोडिएर आउने र त्यसैगरी मोतीरामको नामसँगै भानुभक्तको नाम पनि गाँसिएर आउने गरेकाले कतिपय मानिसमा भानु र मोती समकालीन हुन् भन्ने भ्रमसमेत रहेको पाइन्छ । तर, यथार्थमा भने भानुभक्तको निधन हुँदा मोतीराममात्र दुई वर्षका शिशु थिए । भानु विसं १८७१ मा जन्मिएर १९२५ मा दिवङ्गत भए भने मोतीराम विसं १९२३ मा जन्मिएका हुन् । भानुको जन्म र मृत्यु तनहुँमै भयो भने मोतीको काठमाडौँमा । यी दुई राष्ट्रिय विभूतिबीच कहिल्यै देखभेट भएको थिएन । तर, केही मानिसमा ‘भानुभक्तले आफ्ना रचना मोतीरामलाई जिम्मा लगाएका थिए । त्यसैबाट पछि मोतीरामले ती रचना छपाइदिए’ भन्ने भ्रम रहेको पनि पाइन्छ ।
वास्तवमा एउटा सानो संयोगले मात्र भानुभक्तसँग मोतीराम जोडिन पुगेका हुन् । मोतीराम वनारसबाट १९३७ सालमा काठमाडौँ आएको बेलामा कुनै आफन्तको बिहेमा जन्ती गएका थिए । त्यस बिहेमा कसैले रामायणका केही नेपाली श्लोक भाका हालेर सुनाएछ । त्यो सुनेर मोतीराम आश्चर्य–चकित भएछन् । अनि त्यो श्लोकबारे उनले सोधिखोजी गरेपछि त्यो त भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणको अंश रहेछ भन्ने पत्ता लगाए । त्यसपछि मोतीरामले को रहेछन् त यी भानुभक्त भनेर उनको गहन खोज गरेपछि भानुका पाण्डुलिपिको दर्शन गर्ने शौभाग्य मोतीरामले पाएका हुन् । एकक्षण कल्पना गरौँ, यदि त्यो विवाहमा मोतीराम जन्ती नगएका भए वा विवाह समारोहमा कसैले रामायणको श्लोक नेपालीमा नसुनाएको भए सायद भानुभक्तलाई नेपाली समाजले चिन्न अझ कति धेरै समय लाग्दो हो वा अझसम्म अज्ञात नै रहन्थे कि । किनकि त्यसरी साहित्य लेखेर थन्क्याएर राख्ने तर कहिल्यै प्रकाशित गर्ने शौभाग्य नपाउने गुमनाम स्रष्टाहरू धेरै छन् भने कतिले आफूले लेखेको साहित्यले पुस्तकको रूप लिएको आफ्नै जीवनकालमा देख्ने शौभाग्य नपाएका पनि छन, भानुभक्तले जस्तै । भानुभक्तका बारेमा यथासम्भव प्राप्त जानकारी बटुलेपछि मोतीरामले पहिला भानुभक्त रामायणको बालकाण्डको सानो पुस्तक छपाए, त्यसपछि भानुभक्तको जीवनी लेखे ।
त्यतिमात्र होइन, भानुभक्तलाई देखेका, चिनेका मानिससँग सोघपुछ गरी पाएको हुलियाका आधारमा मोतीरामले भानुभक्तको सम्भावित मुहारचित्रसमेत आफैँले बनाएर उनको जीवनीको आवरणमा छपाए । त्यसकै आधारमा नेपाल सरकारले विसं २०१९ मा भानुभक्तको चित्र अङ्कित हुलाक टिकटसमेत जारी ग¥यो भने दार्जिलिङलगायत विभिन्न स्थानमा भानुभक्तका जति पनि सालिक बनेका छन्, त्यसको आधार मोतीरामले कोरेका भानुभक्तको चित्र नै हो । जसले नेपाली जनमानसमा भानुभक्तको अमिट छवि स्थापित गरिदिएको छ । मोतीरामले भानुभक्तबारे गरेका गहन खोज र प्रकाशनकै आधारमा पछि भानुभक्तलाई प्रधानमन्त्री जुद्धशमशेर जबराको सरकारद्वारा ‘आदिकवि’ को उपाधि दिइयो भने मोतीरामको योगदानको कदरस्वरूप ‘युवाकवि’ को उपाधि दिइयो । यी दुवैलाई पछि राष्ट्रिय विभूतिको सम्मान दिइयो । यसरी मोतीराम नभइदिएको भए भानुभक्त आदिकविका रूपमा चिनिने थिएनन् भन्ने कुरामा द्विविधा रहँदैन ।
मोतीरामको योगदान भानुभक्तलाई चिनाउने कामका मात्र सीमित छैन । उनको योगदान र कीर्तिमान विभिन्न क्षेत्रमा रहेको पाइन्छ । त्यसमध्ये एउटा प्रमुख हो– नेपाली भाषामा पत्रकारिताको श्रीगणेश गर्ने ऐतिहासिक कार्य । विश्वका कतिपय भाषामा पत्रपत्रिका प्रकाशित भइसक्दा पनि नेपाली भाषामा नेपालभित्र वा बाहिर कुनै पत्रिका प्रकाशित भएको थिएन । नेपालमा राणा शासनको अन्धकार युग भएकाले पत्रिका प्रकाशित गरेर राणालाई रिस उठाउने काम गर्न कसैले आँट गर्न सकिरहेको थिएन भने अर्कोतर्फ शिक्षित एवम् बौद्धिक जनसमुदायको पनि ठूलो खडेरी थियो । हिन्दी, उर्दू, फारसी, बङ्गाली, मराठी, अङ्ग्रेजी आदि विभिन्न भाषामा पत्रपत्रिका निस्कने लहर भारतमा तीव्र गतिमा चलिरहेको थियो । वनारसमा रहेका मोतीराम भट्टलाई आफ्नो नेपाली भाषामा भने अहिलेसम्म कतैबाट पनि कुनै पत्रिका ननिस्केकोमा निकै हुट्हुटी लाग्यो र उनले वनारसमै प्रेस सञ्चालन गरिबसेका मित्र रामकृष्ण बर्माको सहयोग लिई उनकै प्रेसबाट ‘गोर्खा भारत जीवन’ नामक साहित्यिक मासिक पत्रिका निकाले । यो नै नेपाली भाषाको पहिलो पत्रिका बन्न गयो । त्यस पत्रिकाबारे धेरै तथ्य अझै अस्पष्ट र अज्ञात नै छन् ।
तर, ‘गोर्खाभारत जीवन’को प्रकाशनले दुईवटा महŒवपूर्ण काम गरेको थियो । ती हुन्– त्यतिखेर यस भारतीय उपमहाद्वीपमा विभिन्न्न भाषाको प्रभुत्व भएको अवस्थामा हाम्रो गोर्खा भाषा (नेपाली) को अस्तित्व स्थापित गर्नु र नेपाली भाषामा पनि पत्रिका प्रकशित गर्न सकिँदोरहेछ भनेर नेपालका युवामा आत्मविश्वास र प्रेरणा जगाउनु । यसैको परिणामस्वरूप विसं १९५५ मा काठमाडौँबाट नेपालको पहिलो पत्रिका ‘सुधासागर’ साहित्यिक मासिक प्रकाशित भयो । त्यसपछि विसं १९५८ मा पहिलो नेपाली अखबार ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित भयो । यसरी मोतीरामले वनारसबाट पत्रिका निकालेर नेपाली पत्रकारिताको विजारोपण गरेका थिए । त्यसैले नेपाली साहित्यमा मात्र होइन, पत्रकारितामा पनि मोतीरामको ऐतिहासिक योगदान रहेको छ ।
मोतीराम आफैँ साहित्य स्रष्टा थिए । उनले आफ्नो छोटो जीवनको १५ वर्षे सक्रियकालमा ‘पिकदूत’, ‘गजेन्द्र मोक्ष’, ‘कमल–भ्रमर संवाद’, ‘मनोद्वेग प्रवाह’, ‘पञ्चक प्रपञ्च’, ‘शकुन्तला’, ‘प्रियदर्शिका’ लगायत करिब एक दर्जन कृति रचेका छन् भने सङ्कलन, सम्पादन आदि सबै गरी उनले दुई दर्जन कृति नेपाली साहित्य भण्डारलाई दिएका छन् । नेपालीमा गजल भिœयाउने र लोकप्रिय बनाउने श्रेय पनि उनैलाई जान्छ । उनले कतिपय भक्तिरसका गजल रचेका छन् भने कतिपय शृङ्गार रसका । उनले रचना गरेको ‘जता हे¥यो उतै मेरा नजरमा राम प्यारा छन्’ बोलको गजलको विशेष ऐतिहासिक महŒव छ । किनकि नेपाली भाषामा रेकर्ड भएको पुरुष स्वरको पहिलो गीत त्यही नै हो, जसलाई उस्ताद साहिलाले गाएका थिए । महिला स्वरमा गीत रेकर्ड गराउने प्रथम नेपाली गायिका भने मेलवादेवी हुन् । यसरी रेकर्ड भएको पहिलो नेपाली गीतको पहिलो गीतकारसमेत मोतीराम बन्न पुगेका छन् भने उनले वनारस बस्दा सितारवादनसमेत सिकेका हुनाले उनको सङ्गीतप्रेम पनि स्पष्ट हुन्छ । उनले शृङ्गार रसमा लेखेका गजल पनि निकै रोचक छन्– जस्तै ‘दुवै आँखीभौँ त कतार छन्, तरवार किन चाहियो, तिमी आफैँ मालिक भैगयौ, सरकार किन चाहियो’ आदि । त्यसैले उनलाई नेपाली गजलका पिता मानिन्छ । गजलका अतिरिक्त भारतमा प्रचलित ठुमरी, परज आदि शैलीका गीत, गजल, सायरी पनि उनले रचेका छन् । उनले संस्कृत भाषामा रहेको ‘समस्या पूर्ति’ काव्य शैलीलाई नेपाली साहित्यमा पनि प्रवेश गराए । जसमा कविताको पङ्तिमा कुनै एउटा समस्याको विषय दिइन्छ, कवितामै त्यसको समाधान पनि लेखिन्छ । यसको अभ्यास अहिले पनि नेपाली साहित्यमा कायमै छ । मोतीरामलाई नेपाली साहित्यका अग्रज गद्य लेखक पनि मानिन्छ । त्यो युगमा अधिकांश साहित्यकारहरूले पद्यमै आफ्ना अभिव्यक्ति व्यक्त गर्ने चलन थियो । साहित्यकारहरू व्यक्तिगत चिट्ठीसमेत पद्यमा आदान–प्रदान गर्दथे । त्यस अवस्थामा उनले भानुभक्तको जीवनी गद्यमा लेखे ।
अत्यन्तै सिर्जनशील युवक मोतीरामको करिब सात महिनासम्म रोगले ग्रस्त भएर ३० वर्षकै कलिलो उमेरमै १९५३ साल कुशेऔँसीकै दिन निधन भयो । बाँच्ने आस मरेपछि उनलाई केही दिन पशुपतिको घाटमा राखिएको थियो । त्यतिखेर देवशमशेर स्वयम् उनलाई भेट्न घाटमै गएका थिए । सुधारवादी सोच भएका देवशमशेर आफ्नो अत्यन्तै प्रतिभाशाली मित्रको अवस्था देखेर ज्यादै दुःखित थिए । उनी आफू प्रधानमन्त्री भएपछि मोतीरामसँग मिलेर राष्ट्रकै लागि धेरै महŒवपूर्ण काम गर्ने सोचमा थिए । मोतीरामको अल्पायुमै निधन हुनु राष्ट्रिय सन्दर्भमा युगयुगकै लागि अपूरणीय क्षति थियो ।