logo
२०८१ मंसिर १० सोमवार



पृथक् बाटो

शनिवार |


पृथक् बाटो


कथाकार युवराज मैनालीले लघुकथामा पनि कलम चलाउँदै आउनुभएको छ । उहाँको २०३७ सालमै ‘मुर्दा बोल्यो’ कथासङ्ग्रह प्रकाशित भएको थियो । हालै उहाँको ‘पृथक् बाटो’ लघुकथा सङ्ग्रह प्रकाशित भएको छ । यस सङ्ग्रहमा २३३ वटा विविध सन्दर्भका लघुकथा छन् । राजनीतिक क्षेत्रका अनेकन विसङ्गति, सामाजिक जीवनमा आइपर्ने समस्या र अप्ठ्यारा, वैदेशिक रोजगारले समाजमा ल्याएको परिवर्तन, प्रतिभा पलायन, नैतिक मूल्यको ह्रास, कर्मचारीतन्त्रको बोलवाला, अभाव र महँगीको मार यहाँ प्रस्तुत लघुकथाका विषय बनेका छन् । यसैगरी अनेकथरीका विभेदले मान्छेबीच पैदा भएको दूरी, आधुनिक सोच र शैलीले मान्छेको जीवनमा हराउँदै गएको आत्मीयता, सद्भाव र इमानदारी, युवा पुस्तामा आएको अराजकता र उच्छृङ्खलता तथा प्रेम र यौनका सन्दर्भ आदि समसामयिक जीवनका अपेक्षित अनपेक्षित थुप्रै सन्दर्भ पनि लघुकथाका विषय बनेका छन् ।
कुरै कुरामा, के छ के छैन, कस्तो कस्तो, बढुवा, गन्थन, बाटो खुलेपछि, सत्ता आदि राजनीतिक विषयका लघुकथा हुन् । राजनीति कमाउ धन्धा भएको, स्वार्थ र भ्रष्टाचार मौलाएको, चुनाव केवल देखाउने दाँत भएको, जनताको आशा, आवश्यकताप्रति उपेक्षा आदि सन्दर्भलाई यी लघुकथामा चित्रण गरिएका छन् । विकासको नाममा खुट्टा तानातान, व्यक्तिकेन्द्रित विकासलाई बढावा र मोजमज्जालाई प्राथमिकता दिइएको सन्दर्भलाई गन्थन लघुकथामा प्रभावकारी रूपले चित्रण गरिएको छ । कर्मचारीको मानसिकता र कमजोर व्यवस्थापनले तिनीहरूलाई गलत बाटोतर्फ कसरी उत्प्रेरित गरिरहेको हुन्छ भन्ने विषयको सेरोफेरोमा बुनिएका लघुकथाहरू हुन् ईष्र्या र कोल्टो । ईष्र्यामा इमानदार बन्न खोज्नेलाई छेउछाउकै सहकर्मीले कसरी फसाउँछन् भन्ने विषय छ । कोल्टोमा पनि त्यस्तै विषय छ तर अलि फरक । ईष्र्यामा इमानदार कर्मचारीलाई शौचालय गएको मौका पारी घर्रामा पैसा राखेर फसाइन्छ भने कोल्टोमा जेलबाट छुटेर आएपछि भ्रष्टाचारीको रूपमा कोल्टो फेरेको विषय छ । यसैगरी दैनिकी, नैतिकता, लघुकथामा पनि कर्मचारीको मानसिकता, तिनीहरूमा आएको संवेदनहीनता, भ्रष्टाचारलाई बढावा, काम नगर्ने प्रवृत्ति तर सुविधापूर्ण जीवनको लालसा आदि विषय आएका छन् ।
प्रस्तुत सङ्ग्रहमा सामाजिक, राजनीतिक, तथा आर्थिक क्षेत्रबाहेक साहित्यिक क्षेत्रमा व्याप्त विसङ्गति, पुरस्कारमा मनपरी, सम्मानमा धाँधली, ठगी जस्ता विषयमा पनि लेखक मैनालीले कलम चलाउनुभएको छ । पुरस्कारमा आफ्नै पैसा पुरस्कारका रूपमा थापेको, रूपान्तरणमा एउटा स्रष्टाको कृति अरूको नाउँमा छाप्ने ठगीधन्धाको खुलासा, पाखण्डमा प्रकाशकको बेइमानी जस्ता विसङ्गतिलाई उजागर गरिएको छ । यसैगरी पाठक, साहित्यकार, सापटी, रौद्ररूप आदि रचनामा पनि यस्तै सन्दर्भका विषय छन् ।
फल, सत्ता, ज्ञान, गन्थन, रूपान्तरण, विद्रोह, सम्पर्क, समाधि, सपना, पलायन, आदि लघुकथा सङ्ग्रहका प्रभावकारी रचना हुन् । यी रचना विषय र नयाँ सोचका कारण पठनीय छन् । लेखक मैनालीले सामाजिक जीवनका दैनन्दिन र कहिलेकाहीँ अनुभूत गरिने अन्य सन्दर्भ र कुनै पनि प्रसङ्गलाई मजासँग प्रस्तुत गर्नुभएको छ । उहाँका यी लघुकथा पढेपछि पाठकले एउटै कृतिमा समसामयिक जीवनका सानातिना धेरैथरीका सन्दर्भसित साक्षात्कार गर्नेछन् ।
कुनै पनि विषय, प्रसङ्ग, दृश्य वा अनुभूति कथा हुन्छ नै भन्ने छैन । लेखकले त्यसलाई कथाको स्वरूपमा प्रस्तुत गर्न सक्छ कि सक्दैन भन्ने पक्ष नै महत्वपूर्ण हुन्छ । यसमा भएका कतिपय लघुकथामा कथात्मक विषय छन् । वर्तमान समाज र समयको चित्रलाई टड्कारो रूपमा देखाउने प्रयास छ । केही रचना भने विषयको अस्पष्टता, सतही सोच र शिल्प संरचनाको अभावले कथा बन्न सकेका छैनन् । पुस्ता, पोखाइ, प्रवृत्ति, फूलको आँखामा, जोहो, फेसन, बाटो, यो पनि कथै हो कि !, विरोधाभास, शुद्धीकरण, सङ्गत आदि कथामा विषयले राम्ररी सम्प्रेषणको बाटो पाएका छैनन् ।
छोटोमा जीवनको कुनै एउटा सन्दर्भ वा प्रसङ्गलाई विना भूमिका र विश्लेषण अभिव्यक्त गर्नसक्नु लघुकथाको विशेषता हो । कम समय र शब्दमा जीवनको एउटा सत्यलाई सन्दर्भलाई टिप्नु आफँैमा चुनौती हो । लेखक मैनालीले यहाँ त्यस्ता विशेष घटना, सन्दर्भ र सत्यलाई सुन्दर ढङ्गले लघुकथाको बान्कीमा प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । संख्यात्मक परिणामले केही लघुकथाको विषयमा पुनरुक्ति भेटिन्छ भने स्रष्टा मैनाली समालोचक र व्यङ्ग्य निबन्धकार भएका कारण उहाँका केही लघुकथामा त्यसको छनक र छाप पनि परिलक्ष्यित छ । त्यतातर्फ लेखकको सचेतता आवश्यक छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?