विमल भौकाजी
सरर... तानियो कोठाको बुट्टेदार बाक्लो पर्दा ।
चराचुरुङ्गीको चिर्बिर–चिर्बिरले नयाँ बिहानीको सङ्केत गरिसकेको थियो । टाढा कतै कुकुर भुकिरहेको आवाज पनि सुनिन्थ्यो । त्यति उज्यालो नभइसकेको वातावरण, झिसमिसे नै थियो । बिजुलीका खम्बामा बत्ती निभिसकेका थिएनन् ।
त्यसै पनि रातभर चर्को गर्मीले कोठा उकुसमुकुसिएको थियो । एक किसिमले अस्तव्यस्त थियो कोठा ।
पर्दा खोल्नेबित्तिकै थोरै हावाका साथ कोठामा उज्यालोले प्रवेश ग¥यो । उज्यालोसँगै कोठाले अलिक शीतलताको महसुस ग¥यो । अलिकति नयाँ तरङ्ग आएभैmँ नै भयो त्यहाँ ।
खाटको पातलो ओढ्ने पट्टियो । किचिएको तकिया सम्मियो । कच्याककुचुक परेको तन्ना तानियो । अर्थात् कोठाले सभ्य बन्न खोज्यो । अब कोठाका झ्यालका खापा पनि खुल्दै गए ।
नयाँ दिनको थालनी भएको थियो तर कोठाको रूपरङ उही पुरानो थियो । उही थियो कोठाको वातावरण, जुन हिजोका दिनमा थियो । नौलोपन केही थिएन कोठामा; सबै उस्तै, पुराना यथारूप–यथास्थानमै थिए । कतिसम्म भने नयाँ वर्ष लागेर सुरुका केही महिना समाप्त भइसक्दा पनि एउटा भित्तामा अघिल्लो वर्षकै क्यालेन्डर झुण्डिरहेको थियो । चहक हराएको क्यालेन्डर सम्भवतः भनिरहेको थियो– ‘मलाई किन नसाटेको हँ ?’
छेउमै, पुछेर पनि सफा हुन नसक्ने भएको पुरानो एउटा ठूलो ऐना थियो । ऐनाको ठीक माथितिर पहेँलो भित्तेघडी टाँगिएको थियो, त्यसमा टिकटिक–टिकटिक एउटा गतिमा सेकेन्डको सुई घुमिरहेको देखिन्थ्यो ।
भित्तामा यत्रतत्र टाँसिएका थिए देवीदेवता र फिल्मी नायक–नायिकाका पोस्टरहरू र झुण्डिरहेका थिए केही फोटा भएका फ्रेमहरू । ‘आहा ! क्या उज्यालो !’ झ्यालबाट उज्यालो पस्नु के थियो कोठामा, एउटा फ्रेमभित्रको फोटोले खुसीको भावमा ठूलो स्वरले बोल्यो ।
‘अलिक छिट्टै आएको भए हुन्थ्यो नि ! ...तर केही छैन, ढिलै भए पनि उज्यालो आउन त आयो ।’ एकसाथ सबै पे्रmमका फोटा अगिल्लो फोटोको समर्थनमा उज्यालोको स्वागत गर्दै रमाए, मानौँ रातभर गुम्सिएका ती सबै फोटा त्यही उज्यालोको प्रतीक्षामा थिए ।
कोठामा आफ्नो भव्य स्वागत भएको मान्दै गर्वपूर्वक मजाले मुस्कुरायो उज्यालो । स्वयं उज्यालोले आफूलाई अझै उज्यालिएको अनुभूत ग¥यो । साँच्चिकै सुन्दर थियो उज्यालोको आगमन । कोठाको उज्यालोपनले त्यसलाई प्रष्ट्याइरहेको थियो ।
‘हामीलाई यो अन्धकारले मार्न लागिसकेको थियो । उज्यालो तिमी आयौ । तिमीप्रति हामी धेरै आभारी छौँ । तिमीलाई धेरै–धेरै धन्यवाद !’ फेरि तिनै फोटाहरूको सामूहिक आवाज गुञ्जियो कोठामा ।
उज्यालोको अनुहारमा अझ आभा थपियो, झन् मख्ख प¥यो उज्यालो । ‘सधैँ यस्तै । कता–कता अब त अन्धकार नै हाम्रो साथी हुने हो कि भन्ने भइसक्यो हामीलाई त ! जहिले पनि अँध्यारैले छोपिरहेभैmँ लाग्छ ।’ ऐनाको आवाजमा स्पष्ट गुनासो पोखियो ।
क्यालेन्डर यतिञ्जेल केही बोलिरहेको थिएन, बल्ल बोल्यो– ‘हो त, यसरी नै पूरै जिन्दगी बित्ने पो हो कि जस्तो, हैन ?’ ‘हो हो, हामीलाई पनि यस्तै लागिराथ्यो ।’ एकसाथ भित्ताका सबै पोस्टरको स्वर गुञ्जियो ।
‘मलाई त साँच्चै भन्ने हो भने समय चल्दै नचली यत्तिकै अडिरहन्छ कि क्या हो जस्तो पो लागिसकेको थियो रातभर !’ घडीले अलिक गम्भीर मुद्रामा भन्यो ।
उज्यालोले सबैको कुरा मन्द मुस्कानका साथ चुपचाप सुनिरहेको थियो । अब भने मुस्कानको आयतन पैmलाउँदै भन्यो– ‘क्यालेन्डरको पाना नफर्कंदैमा वा कदाचित् घडीको सुई रोकियो नै भने पनि समय कहाँ–रोकिन्छ र ?’
सबैले उज्यालोको मुख ताके, मानौँ कुनै नयाँ कुरो थाहा पाउँदैछन् उनीहरू । उज्यालो चुपचाप बसेन, कुनै महात्माले गर्ने प्रवचनझैँ भटभटाउँदै गयो– ‘समय त निरन्तरताको अर्को नाम हो । नदीको पानीझैँ सदा बगिरहन्छ यो । सबैलाई थाहा छ, समय आफू त कहिल्यै रोकिँदै रोकिन्न, यसको प्रवाहलाई अरू कसैले रोक्न सत्तैmन । सूर्य दिनहुँ उदाइरहन्छ, अस्ताइरहन्छ, कहिले बादलभित्र पस्छ, कहिले त्यसमा ग्रहण लाग्छ । चन्द्रमाको पनि आफ्नै पारा, परिवर्तन गरिरहन्छ आफ्नो रूप । रातमा कहिले पूरै गोलो, कहिले आधा, कहिले त्यही आकाशबाटै रातमै पनि पलायन । दिनमा त कुरै भएन । ताराहरू पनि रातभर त्यही आकाशमा चम्किरहन्छन् र दिनमा बेपत्ता । यति ठूलो ब्रह्माण्डमा सबैलाई समयले चलाइरहेछ । किन चलाइस् भनेर प्रकृतिलाई सोध्न सक्ने ताकत कसको ? पृथ्वी घुमिरहन्छ । कसले रोक्न सक्छ यिनको गतिलाई ?’
उज्यालोको कुरा बुझेनन् सायद, सबैले एक–आपसमा मुखामुख गरे । केही बोल्नैसकेन घडीले । केही बोल्नैसकेन क्यालेन्डरले पनि । न त कुनै फोटाले केही बोल्न सके, न कुनै पोस्टरले नै एक शब्द बोल्न सके ।
क्रमशः उज्यालो निकै फैलिसकेको थियो कोठामा । यसरी फैलिएको उज्यालोका कारण कोठाभित्र रौनक छाएको थियो । अब कुनै गुनासो थिएन त्यहाँ, कुनै जिज्ञासा–प्रश्न थिएन । वास्तवमा एकक्षणअघिसम्म त्यहाँ कोठामा वार्तालाप भएको थियो भनेर पत्याउन सकिने स्थिति नै थिएन । एउटा शून्यता छाइसकेको थियो त्यहाँ । कुनै पनि कसैको आवाज शेष थिएन, सबै आवाज विलीन हुन पुगिसकेका थिए ।
प...र क्षितिजमा घाम झुल्कियो । त्यसका सुमधुर किरणले कोठाभित्र प्रवेश गरे । जति–जति ती किरणको विस्तार हुँदै गयो, कोठा त्यत्तिकै उज्यालिँदै गयो तर उज्यालो भएर के ? जसरी दिन अगाडि बढ्दै गयो त्यसरी नै उराठ–उराठ बन्दै गयो वातावरण र दिनको तापक्रम उच्च बिन्दुमा पुग्दा चर्को घामले कोठामा खपिनसक्नुको गर्मी बढाइसकेको थियो । समयक्रममा क्रमशः दिन ढल्दै जाँदा तातेको कोठा सेलाउँदै गयो, गर्मीपन घट्दै गयो ।
साँझमा अर्को दिशाको क्षितिजमा सूर्य डुब्यो । तर गोधूलिको रोमाञ्चक दृश्य पनि एकतमासको, यस्तो नरमाइलो देखियो कि मानौँ अब संसारमा फेरि कहिल्यै उज्यालो फर्कंदैन ।
साँझ ढलेर अलिक समय बितिसकेपछि पूर्वको डाँडामाथि टुप्लुक्क देखाप¥यो ठूलो चन्द्रमा । अत्यन्त मनमोहक ! सम्भवतः पूर्णिमाको रात हुनुपर्छ तर अँध्यारिइसकेको वातावरणलाई पूर्णिमाको त्यो टाढाको उज्यालोले कसरी हटाउन सक्थ्यो ? त्यसमाथि कोठाभित्रको अन्धकारको त झन् के कुरो भो र ? अँध्यारोले पूरै ढाकिसकेको थियो पूरै कोठा ।
कोठाको पर्दा जसरी खुलेको थियो त्यसरी नै फेरि तानिएर बन्द भयो । सँगसँगै कोठाको ढोकाको छेउमै रहेको बिजुलीको स्विच थिचियो र कोठा झलमल्ल भयो । खुसीले कोठा फुरुक्क फुर्कियो । एक प्रकारले मुजुरीनृत्य नै ग¥यो कोठाले । नृत्य मात्रै गरेन, गीत नै गायो–
‘आहा उज्यालो !
कति राम्रो उज्यालो !’
वर्षायामको मौसम त्यो ।
आकाशभरि बादल जम्मा हुँदै गयो । क्रमशः बादलले रूपरङ परिवर्तन गर्दै कालो बनेर मडारिन लाग्यो । अर्को क्षणमा, झल्याकझुलुक बिजुलीको चम्काइसँगै मेघ गर्जन थाल्यो, जुन गर्जनले कोठा बार–बार थर्किरह्यो ।
एकैछिनमा हावा चल्यो । हावा मात्रै होइन, ठूलै हुण्डरी चल्यो र देख्ख्दादेख्दै असिनासहितको मुसलधारे बर्सात् भयो ।
अनि झ्याप्प बत्ती गयो । निस्पट्ट ! वातावरणभरि अन्धकारको साम्राज्य फैलियो । अन्धकार हुनु के थियो, कोठा कहाल्लियो । कहाल्लियो मात्रै होइन, क्वाँक्वाँ रोयो । रोएकै स्थितिमा कोठाको आवाज सुनियो– ‘खोइ, खोइ मेरो उज्यालो ?’
जवाफ आएन । कहीँ–कतैबाट आएन । कोठाको प्रश्न कोठामै गुञ्जिरह्यो, घुमिरह्यो । खोई, कसले दिने कोठाको प्रश्नको जवाफ ?
तैपनि आशा थियो, केहीबेरमा बिजुली फर्किनेछ । किनकि यो नियोजित लोडसेडिङ होइन भन्ने थाहा थियो । लामो–लामो समयको लोडसेडिङको प्रणालीको त करिब–करिब उन्मूलनको घोषणा भइसकेको थियो देशमा ।
बाहिर हावा–हुण्डरी रोकिएको थिएन, बर्सात्को रूप उत्तिकै चर्को थियो, तर विडम्बना ! यसरी बाहिर जतिसुकै ठूलो हलचल भए पनि कोठाको अन्धकारमा एक किसिमको सन्नाटा छाइरहेको थियो । त्यहाँ केवल शून्यता व्याप्त थियो । हुन पनि शून्यताका अतिरिक्त अरू के हुनु त्यहाँ, एक्लो रित्तो कोठा न थियो ।
रात अलिकबेर बितिसक्दा पनि बिजुली आएन । कोठा पूर्ण अन्धकारमै डुबिरह्यो ।
धेरैबेर यस्तो रहिरहने अवस्था थिएन । उज्यालोको आवश्यकता त पक्कै थियो त्यहाँ तर त्यहाँको अवस्थाले बोलिरहन सकेको थिएन । एकदम मौन थियो वातावरण ।
बिजुलीबत्ती त थिएन नै । ‘म आउँछु, आइहाल्छु’ भन्ने कुनै जानकारी दिएर आफू हिँडेको थिएन त्यसले । यस्तो स्थितिमा कोठाबाहिरको आकाशको चन्द्रमाको के कुरा ? पर्दाको चेपबाट पसेको त्यसको सानो उज्यालोमा कोठा उज्यालो पार्ने सामथ्र्य थिएन । साना–साना ताराहरू केवल आकाशबाट आउन सक्ने कुरै थिएन, ती आकाशमै चम्किरहेका थिए, तिनका के कुरो भो र ? त्यति टाढाबाट ती ताराले कसरी उज्यालो पार्नु कोठा ? र, रातमा घामको के कुरा ? त्यसको सम्भावनै भएन । कुन देशमा पुगिसकेको होला घाम ! यसर्थ त्यसका लागि त भोलिको उज्यालै पर्खनुपर्ने थियो ।
भोलिसम्म अन्धकारमा बसेर उज्यालोको आश गरिरहने धैर्य कसको ? को बसिरहन सक्ला यत्तिकै अँध्यारोको सजाय भोगेर ? अत्यन्तै गम्भीर थियो कोठा । एकदमै ठूलो मौनतामा घेरिइरहेको थियो तर त्यो मौनता भन्नु मात्रै, केवल बाहिर देखिएको मात्रै । साँच्चो अर्थमा ठूलो छटपटी थियो त्यो मौनतामा । बाहिर देखाउन नसकिने, प्रदर्शन गर्न नमिल्ने उकुसमुकुस थियो ।
‘अब खोइ को लड्छ यो अन्धकारसँग ? रातभर को लडिरहन्छ ?’ कोठाभरि प्रश्न रङ्मङियो ।
बिजुलीबत्ती मौन ।
चन्द्रमा मौन ।
ताराहरू सबै मौन ।
अन्धकारमा नदेखिएर धुम्धुम्ती बसिरहेका कोठाका हरेक एक वस्तु सबै चुपचाप । कसैसँग थिएन यो प्रश्नको जवाफ– ‘को लड्छ यो अन्धकारसँग ? रातभर को लडिरहन्छ ?’
अचानक, अन्धकारबीच स्वार्र सलाई कोरियो र एउटा दियोलाई सल्काउने कोसिस ग¥यो । देखियो त्यो सानो दियोमा तेल भरिएको थियो ।
दियोले एकपटक चारैतर्पm आफ्ना आँखा नचायो ।
नेपथ्यबाट फेरि उही प्रश्नको प्रतिध्वनि आयो– ‘खोइ को लड्छ यो अन्धकारसँग ? रातभर को लडिरहन्छ ?’ दियो झलक्क सल्कियो ।
आहा ! अन्धकारमा रुमल्लिरहेको कोठा, कुनै अन्तिम सास फेरिरहेको बिरामीका शरीरमा ठूलो प्राण भरिएजस्तो– दियोको उज्यालोले पूरै तङ्ग्रियो । दियो मुसुक्क मुस्कायो र त्यही मुस्कानका साथ गह्रौँ आवाजमा बोल्यो– ‘म लड्छु । रातभर, अन्धकारको साम्राज्यसँग म लडिरन्हछु ।’
बिहानीपख, रातभर अन्धकारसँग युद्ध गरेर दियो निभिसकेको थियो । टाढा कतैबाट अम्बर गुरुङ गीत गाइरहेका थिए–
रातभरि हुरी चली नै रह्यो
तर मेरो दियो जली नै रह्यो... ।