वसन्त लोहनी
एउटा त्यस्तो कृष्ण
जसले निराश भएको अर्जुनलाई
विश्वास देखाउन खोजिरहेको हुन्छ
कर्ममा विश्वास दिलाउने अर्थमा
जिन्दगी समेटिएको हुन्छ
लाग्छ
त्यसले उज्यालो छर्न सक्छ
विवेक बचाउन सक्छ
यसरी मृत्युसँग लयबद्ध भएको जिन्दगानीको गीत
अनि टाढा–टाढासम्म गुञ्जिन सक्छ
समय रोकिन सक्तैन
तर जिन्दगी रोकिने निश्चित छ
त्यो बेलामा
जब मान्छेको मृत्यु नहुने हुन्छ
अनि आफैँले कल्पना गरे पनि हुन्छ
मृत्यु विनाको जिन्दगी कस्तो हुन्छ भनेर
नपत्याए ती अष्ट चिरञ्जीवीलाई सोधे हुन्छ
मलाई त लाग्छ त्यो जिन्दगी
हजार बिच्छीले टोके जस्तो हुनेछ
आजको विश्वमा चिरञ्जीवी त कोही पनि छैन
कलिमा बलि चढाएर सधैँ को बाँचेको छ र ?
त्यसैले म बाँचेको प्रत्येक नयाँ दिनलाई
आफ्नो जन्म दिन ठान्छु
किनकि म प्रत्येक दिन
मृत्युलाई अँगालेर मात्र बाँचेको छु
यसरी बाँच्दा
मैले जिन्दगी पाएको छु
एउटा यस्तो जिन्दगी
जसलाई म माया गर्दछु
अनि सिर्जनाका बुँदहरू
हराउलान् भनेर
यत्नसँगै समेट्न खोज्छु
जुन बुँदहरूमा
मैले सप्तरङ्गी इन्द्रेनी देखेको छु ।