logo
२०८१ मंसिर १० सोमवार



‘ज्ञानपुष्प’देखि ‘ऋतम्भरा’सम्म

शनिवार |


‘ज्ञानपुष्प’देखि ‘ऋतम्भरा’सम्म


उदय पोखरेल

राष्ट्रकवि माधवप्रसाद घिमिरे १९९० सालमा ‘ज्ञानपुष्प’ रचना गोरखापत्रमा छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएको हो । उहाँको १०१ वर्षको उमेरमा भदौ २ गते आफ्नै निवास काठमाडौँको लैनचौरमा निधन भयो । एक शताब्दीसम्मको काव्ययात्रामा उहाँले थुप्रै खण्डकाव्य, गीतिकाव्य, बालकविता रचना गर्नुभएको छ ।
राष्ट्रकवि घिमिरेको खण्डकाव्य यात्रा भने १९९५ बाट सुरु भयो तर त्यस समयमा उहाँका खण्डकाव्यहरू प्रकाशन भएको देखिँदैन । केही कृति हराएको र कतिपयमा उहाँ सन्तुष्ट नभएको कारण प्रकाशन नभएको भनिन्छ । मुनामदन जस्तो खण्डकाव्य प्रकाशित भइसकेको अवस्थामा चानचुने काव्य लेखेर प्रसिद्धि कमाउने अवस्था त्यो बेला कमै थियो । त्यसैले पनि लेखेका काव्यहरू प्रकाशित भएनन् । उहाँले लेखेका तर हराएका र अप्रकाशित कृतिहरू रामविलास, कृष्णभक्ति, उषाचरित्र, जीवन सङ्गीत, सुदामा चरित्रलगायत थिए भनिन्छ ।
राष्ट्रकवि घिमिरेको काव्ययात्रा लेखनाथ पौड्यालको परिष्कारवादी धारालाई अँगाल्दै लक्ष्मीप्रसाद देवकोटाले सुरु गरेको स्वच्छन्दतावादी धारातर्फ उन्मुख भएकोे पाइन्छ । वि.सं. १९९५ देखि २००३ सम्ममा रचना गरिएका कृतिहरूमा भने उहाँ पूर्ण सन्तुष्ट नभएकाले प्रकाशन नगरिएको भनिन्छ । शास्त्रीय छन्द रुचाउनुहुने राष्ट्रकवि घिमिरे ‘जीवन सङ्गीत’ खण्डकाव्यमा लोकछन्दको प्रयोग गर्दै स्वच्छन्दतावादतर्फ अग्रसर भएको र लक्ष्मीप्रसाद देवकोटालाई पछ्याइरहेको अनुभव हुन्छ । ‘राष्ट्रिय झण्डा’ नामक कविता २००४ सालको कवि सम्मेलनमा प्रथम भएपछि यस क्षेत्रमा लाग्न उहाँलाई थप हौसला मिल्यो । त्यही बेला श्रीमती गौरीको मृत्यु भयो । यो घटनापछि उहाँको खण्डकाव्य यात्रा भने अर्को चरणमा प्रवेश गर्यो । उहाँको कवित्व करुण रसमा परिणत भयो । राष्ट्रिय भावभन्दा करुण र विरहभाव ज्यादा अभिव्यक्त हुन थाल्यो । पत्नी वियोगको शोकाकुल मनलाई शान्त पार्न लमजुङको प्रकृतिमा मन भुलाउँदै ‘गौरी’ खण्डकाव्यका केही छाल लेख्नुभयो ।
फर्कन्छन् वन शैलबाट बचरा सम्झेर पन्छीहरू
फर्कन्छन् परबाट प्यार घरको सम्झेर यात्रीहरू ।
हे रानी ! अझ फर्किनौ किन यहाँ अल्प्यौ अँध्यारातिर
हेर्छे झ्यालमहाँ बसेर टुहुरी यो शान्ति धारातिर ।।
उहाँले गौरी खण्डकाव्य २००५ सालमा पूरा गर्नुभयो तर २०१५ मा त्यसले प्रकाशित हुने मौका पायो । २०१० सालमा ‘पापिनी आमा’ खण्डकाव्य लेख्नुभयो र २०१३ सालमा इन्द्रेणीमा प्रकाशित भयो । पापिनी आमा खण्डकाव्यमा युगबोध र विश्व मानवबोधको चेतना आएको देखिन्छ । प्रकृतिलाई मानवीकृत गरी मानिसलाई सुखदुःख पर्दा प्रकृति पनि त्यस्तै रूपमा उपस्थित हुने चेतनाको अभिव्यक्ति उहाँका काव्यले दिएका छन् । सुरुमा भक्तिभावबाट प्रारम्भ भएको उहाँको लेखन विस्तारै विरहभाव र राष्ट्रिय भावले प्रभाव पार्यो । गौरी खण्डकाव्य निजी शोकको अभिव्यक्ति हो तर कविले करुण रसको भावमा प्रेम र प्रीतिभावका सुन्दर छाल उचालेर अत्यन्त मार्मिक काव्य प्रस्तुत गर्नुभयो । निजी घटनाले शोकाकुल भावलाई करुण रसमा मिसाउनुभएका कविले विस्तारै ऐतिहासिक विषयवस्तु र विश्व मानवताको पक्षमा अभिव्यक्ति प्रस्तुत गर्नुभयो । २०१७ सालमा ‘राजेश्वरी’ खण्डकाव्य प्रकाशन गर्नुभयो । राजेश्वरी खण्डकाव्यमा जीवनवादी स्वरको प्रस्तुति पाइन्छ । यस खण्डकाव्यमा मान्छे महान् र पापी दुवै छ । उसको आधा हृदय जाग्रत र आधा मूच्र्छित छ, आधा उज्यालो र आधा अँध्यारो छ भन्ने भाव प्रस्तुत गरिएको छ । राजेश्वरीका जिजीविषामा मानवीय मूल्य र अर्थ दिएको पाइन्छ । राजेश्वरीलाई समग्र मानवताको प्रतीकका रूपमा कविले उठाउनुभएको छ ।
‘यस सुन्दर संसारमा मानिस सधैँ बाँच्न चाहन्छ । जीवन कर्मको निम्ति हो, प्रेमको निम्ति हो र आखिर जीवनकै निम्ति हो । जीवनबाहिर हामी केही पनि सोच्न सक्तैनौँ । जीवनलाई जसले दियो, उसलाई मात्र लिने अधिकार छ,’ राष्ट्रकवि घिमिरेले राजेश्वरी खण्डकाव्यको भूमिकामा यस प्रकारको मानवतावादी महान् सन्देश दिनुभएको छ । २०२२ सालसम्म आइपुग्दा उहाँमा पत्नीवियोग विस्तारै कम हुँदै गएको पाइन्छ तर करुण भावमा उहाँ पारखी नै हुनुहुन्छ । २०२५ मा ‘मेघदूत’ खण्डकाव्य लेख्न थाल्नुभयो तर त्यो पूर्ण हुन पाएन । नेपाली साहित्यको कविता विधामा सङ्ख्या र गुण दुवै दृष्टिले हेर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटापछि स्वच्छन्दतावादी कविका रूपमा उहाँ देखापर्नुभयो । पाश्चात्य कविहरूको भावधारालाई पूर्वीय कविहरूका शैली र शिल्पले सजाउन सक्ने विशिष्ट प्रतिभा पनि हुनुहुन्थ्यो उहाँ । परिष्कृत शैली, स्पष्ट अभिव्यक्ति, प्रकृति चित्रण, राष्ट्रियता, विषयगत विविधतालगायत विशेषता उहाँका कृतिमा पाइन्छन् । उहाँ खण्डकाव्यकारका रूपमा परिचित हुनुहुन्छ । अन्य पक्षलाई थाती राख्दै कारुणिक रसको परिपाकमा देवकोटा र लेखनाथलाई पनि उछिन्ने एक व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । २०३३ सालमा ‘राष्ट्रनिर्माता’ खण्डकाव्य प्रकाशन भएपछि उहाँको काव्य यात्रा अर्को चरणमा प्रवेश गर्यो । यो समयमा उहाँमा राष्ट्रवादी चेत निकै प्रखर बनेको पाइन्छ । खण्डकाव्यमा पाएको सफलता महाकाव्यमा पनि प्राप्त गर्ने प्रयास उहाँमा देखिन्छ । जीवनको उत्तरार्धमा पनि उहाँले ‘ऋतम्भरा’ महाकाव्य लेख्नुभयो तर प्रकाशन भने हुन पाएन । यो कृतिका केही सर्ग उहाँलाई चित्त बुझेको थिएन । यही कारण प्रकाशित हुन नसकेको जानकारी सार्वजनिक भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?