logo
२०८१ मंसिर १० सोमवार



आफ्नै बलबुतामा ‘राष्ट्रकवि’

शनिवार |


आफ्नै बलबुतामा ‘राष्ट्रकवि’


तुलसीहरि कोइराला

राष्ट्रकवि माधवप्रसाद घिमिरे ९९ वर्ष पूरा गरी सय वर्षमा प्रवेश गर्नुहुने अघिल्लो दिन प्रकाशित गोरखापत्रको शनिबारको परिशिष्टाङ्कमा उहाँको लामो अन्तर्वार्ता लिने अवसर मलाई प्राप्त भएथ्यो । ‘आयुको पूर्ण सदुपयोग गरेँ’ भन्दै उहाँले आफूले व्यतीत गरेको स्वस्थ जीवन र दीर्घायुप्रति सन्तुष्टि व्यक्त गर्नुभएथ्यो । यसको एक वर्षपछि पुनः उसरी नै अर्को अन्तर्वार्ता लिने अवसर पनि प्राप्त भयो । लामो समयसम्म गम्भीर बिमारी भएर नेपाल सरकारले ‘हवाई एम्बुलेन्स’ नै प्रयोग गरी दुई–दुईपटक दिल्लीस्थित अस्पतालमा गराएको उपचार सफल भएपछिको अन्तर्वार्तामा उहाँले ‘अझै लेख्ने आँट छँदै छ’ भन्नुभएथ्यो । यो भनाइमा जोश भरिएको थियो र दृढनिश्चयीभाव पनि झल्किन्थ्यो । सरकारले आफूउपर यत्रो चिन्ता र चासो राखेर बँचाएको छ भने मैले पनि देशका लागि अझै केही दिनैपर्छ भन्ने उहाँको विचार थियो ।
सय वर्ष काटेको व्यक्तिले देशलाई अरू के दिन सक्छ ? त्यो पनि एउटा कविले ! कविले दिने भनेको कविता नै हो । उहाँले दुई दर्जनभन्दा बढी काव्यकृति त दिई नै सक्नुभएको छ । अब के दिने त यो उमेरमा ? उहाँलाई सरकारले ‘राष्ट्रकवि’को सम्मान दियो । यो सम्मानले उहाँको सुषुप्त हुँदै गएको कविमनलाई थप जागृत गराइदियो । त्यसैले उहाँले ‘राष्ट्रकवि’को सम्मान प्रदान गर्ने राष्ट्रलाई आफ्नोतर्फबाट एक महाकाव्यको भेट चढाउने अठोटसाथ ‘ऋतम्भरा’ महाकाव्यको लेखनमा तल्लीन रहनुभएथ्यो ।
त्यसो त महाकाव्य सिर्जना गर्ने उहाँको चाहना यो उमेरमा आएरमात्रै जागृत भएको होइन । शास्त्री पास गरिसकेपछि उहाँ नेपाली भाषानुवाद परिषद्मा जागिरे भएपछि मौलिक काव्य लेख्ने काममा लाग्नुभएको थियो । लक्ष्मीप्रसाद देवकोटा पनि त्यतिबेलै परिषद्मा जागिरे हुनुभएथ्यो र देवकोटाले मौलिक लेखनअन्तर्गतको ‘शाकुन्तल’ महाकाव्य पूरा गर्नुभएथ्यो । घिमिरेले लेख्न थाल्नुभएको ‘गोविन्द’ महाकाव्य भने अधुरै रहेथ्यो । (उत्तम कुँवर, स्रष्टा र साहित्य– प्रकाशन ः २०२३÷ घटराज भट्टराई, प्रतिभै प्रतिभा र नेपाली साहित्य– प्रकाशन–२०४०) । यसै प्रसङ्गलाई कोट्याउँदा उहाँले भन्नुभएथ्यो, ‘लेखिएको हो, यसका विभिन्न छुट्टाछुट्टै खण्ड तयार छन् तर आफैँलाई चित्त नबुझेकाले थन्क्याएको छु । सम्भवतः त्यो प्रकाशित हुने छैन ।’
पछिल्लो चरणमा आएर शताब्दी पुगेको उमेरमा लेखिरहेको महाकाव्य लगभग पूरा भएको छ । उहाँ आफैँलाई चित्त नबुझेका केही सर्गका श्लोक परिमार्जन गर्न चाहनुहुन्थो । उहाँ परिमार्जन गर्न कत्ति पनि असजिलो र भिँझट मान्नुहुन्नथ्यो । सय वर्ष पूरा भइसकेपछिको अन्तर्वार्तामै पनि उहाँले कुनै पनि सिर्जना सार्वजनिक गर्नलाई हतारो गर्न नहुने र आफ्नो पहिलेको स्तरभन्दा माथि उठेको छैन भने बरु सार्वजनिक नै नगर्ने आफ्नो बानी भएको खुलासा गर्नुभएको थियो । उहाँको ‘गोविन्द’ (श्रीकृष्णको पावन चरित्रमा आधारित) महाकाव्य यसै भनाइको बन्धनमा बा(ँधिएको स्पष्ट हुन्छ । अहिलेको ‘ऋतम्भरा’को हकमा भने लेखिसकेका सर्गजति परिमार्जन गरिसकेको र चित्त नबुझेको बाह्रौँ सर्ग र लेख्नै बाँकी रहेको अन्तिम एक सर्गलाई पूरा गर्न लागिरहेको बताउनुभएको थियो । यो महाकाव्यलाई कुनै पनि हालतमा ‘गोविन्द’ हुन नदिने र कदाचित श्लोकमा पूरा गर्न नसके सोचिएको कथावस्तु गद्यमै भए पनि अरूलाई टिपाएर पूरा गरेरैमात्र विश्राम लिन्छु भन्नुभएथ्यो ।
मूर्धन्य कविका लागि एउटा महाकाव्य सिर्जना गर्नु उति ठूलो कुरा होइन । धेरै कविले महाकाव्य सिर्जना गरेका छन् । एउटामात्रै नभएर दर्जन, दुई दर्जन महाकाव्य पनि सिर्जना गरेका छन् । तर, राष्ट्रकविको हकमा उमेर महŒवपूर्ण भएको छ । जतिबेला लेखनकै जागिरमा नियुक्त हुनुभएथ्यो, भावलहरी विशृङ्खलित हुँदैनथे र पनि अधुरै रह्यो । त्यसो त त्यसरी अधुरो रहेको महाकाव्य उहाँको मात्रै होइन । कविशिरोमणि लेखनाथ पौड्यालले लेख्दै गर्नुभएको ‘गङ्गा–गौरी’ महाकाव्य पनि अधुरै रहेथ्यो । त्यस्तै अरू धेरैका पनि अधुरो छोडिएका छन् । कृष्णप्रसाद पराजुलीको ‘मनमाया’ महाकाव्य उहाँको निधनपश्चात्मात्रै प्रकाशित भएथ्यो । राष्ट्रकविको महाकाव्य पनि सम्भवतः प्रकाशनमा आउला नै । मूल कुरा त उहाँको चित्त बुझे–नबुझेकोमै भर पर्दछ । वास्तवमा भन्नुपर्दा उहाँले दबाबमै महाकाव्यको साधना गर्नुभएको हो । सरकारले दिएको उपाधिको खातिर दर्बिलो मान राख्नकै लागि अठोट गर्नुभएको थियो । यदि जीवनकालमै यो सार्वजनिक हुन सकेको भए नेपाली साहित्यमा त ‘अमिट रेकर्ड’ रहन्थ्यो नै । विश्वसाहित्यमा पनि सम्भवतः १०२ वर्षको उमेरमा महाकाव्य लेखेर आफ्नै हातले विमोचन गर्ने कविका रूपमा उहाँको नाम स्वर्णाक्षरमा लेखिने थियो । आफ्नो लेखनको पहिलो समीक्षक आफैँ हुने भएकाले उहाँले आफूलाई चित्त नबुझेका धेरै सिर्जनाका पाण्डुलिपिलाई ‘गोविन्द’सँगै थन्क्याउनुभएको हुन सक्छ । जीवनकालमा आफैँलाई चित्त नबुझेर थन्क्याएका सिर्जनालाई निधनपश्चात् परिवार वा संस्थाले सार्वजनिक गरिदिँदा सर्जकको सम्मान हुन्छ कि अपमान भन्ने हेक्का राख्नु पनि उत्तिकै आवश्यक छ ।
राष्ट्रकविले नेपालमा स्थापित राम्रा भनेका प्रायः सबै पुरस्कार र सम्मान प्राप्त गर्नुभयो । पुरस्कार पाएर उहाँको उचाइ थपिने नभई, उहाँलाई पुरस्कृत र सम्मानित गरेर स्वयम् संस्थाहरूले हामीले उहाँजस्तो व्यक्तित्वलाई पनि सम्मानित गरेका छौँ भन्ने पहिचान बनाउने अवस्था सिर्जना भइरह्यो । गोरखापत्र संस्थानले साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’मा प्रारम्भिक अङ्कहरूमा सिर्जना प्रकाशित भएका सष्ट्राहरूमध्ये गद्य र पद्यमा गरी दुईजना स्रष्टालाई विक्रम संवत् २०५९ देखि बर्सेनि ‘मधुपर्क सम्मान’ प्रदान गर्दै आएको छ । उहाँद्वारा अनुवाद गरिएको ऋग्वेदका ऋचा मधुपर्कको पहिलो अङ्कमै प्रकाशित भएका भए पनि सम्मान प्रारम्भ गरेको दस वर्षपछि मात्रै विसं २०६९ मा उहाँलाई ‘मधुपर्क सम्मान’ प्रदान गरियो । निर्णय गर्नुभन्दा पहिले उहाँको स्वीकृति लिनका लागि फोन सम्पर्क गर्दा उहाँले पहिले त खुसी प्रकट गर्नुभयो । जब यसअघि क–कसले पाइसकेका छन् भनेर सोध्नुभयो र मैले सम्मानितको नाम सुनाइसकेपछि भने उहाँले सम्मान स्वीकार नगर्ने भन्नुभयो । आफ्नो रचना मधुपर्कको पहिलो अङ्कमै प्रकाशित भएकाले आफूभन्दा पछि प्रकाशित भएकाहरूले पनि सम्मान पाइसकेकाले यति पछि आएर निर्णय गर्नुका कारण सोध्नुभयो । कारण त अनेक थिए । हरेक वर्षको सम्मान छनोट समितिमा उहाँको नाम आउँथ्यो तर तर्क–वितर्क धेरै उठ्थे । स्वाभाविक पनि उठ्थे, अस्वाभाविक पनि उठ्थे । सबैभन्दा दर्बिलो तर्कचाहिँ उहाँको पहिलो अङ्कमा प्रकाशित रचना मौलिक नभएर अनुवाद थियो । अरू एकाध अङ्कमा यस्तै रचना प्रकाशित भएका थिए र पहिलो मौलिक रचना चाहिँ मधुपर्कको ११औँ अङ्कमा आएरमात्रै प्रकाशित भएको थियो । ‘आफ्नै रुप हेरी’ शीर्षकको त्यो प्रकाशित कविताको स्मरण गराएपछि भने उहाँ केही नरम हुनुभयो । त्यतिबेला उहाँले आफ्नो पहिलोपटक गोरखापत्रमा विसं १९९० मा ‘वैराग्य पुष्प’ शीर्षकमा कविता प्रकाशित भएको पनि त्यस क्षणमा स्मरण गर्नुभयो । आफूले गोरखापत्रमा सहसम्पादकका रूपमा भाषा सम्पादनमा जागिरे भएको पनि स्मरण गर्नुभयो । गोरखापत्रसँगको पुरानो सम्बन्धलाई नकार्न नसक्ने भन्दै सम्मान स्वीकार गर्न बाध्य भएको बताउनुभएपछि उहाँलाई पद्यतर्फको सम्मान प्रदान गरिएको थियो । त्यो वर्ष सम्मानको संयोग पनि राम्रै बनेको थियो । गद्यतर्फको सम्मान प्राप्त गर्नुहुनेमा घिमिरेले नै पढाउनुभएका उहाँका विद्यार्थी डा. कुमारबहादुर जोशी हुनुहुन्थ्यो । गुरुचेलालाई एकैपटक सम्मान गर्दाको क्षण निकै स्मरणीय बनेको थियो ।
राष्ट्रकवि घिमिरेको पहिलो प्रकाशित कविताको सन्दर्भलाई लिएर थोरै उल्लेख गर्नैपर्छ । उहाँको ‘वैराग्य पुष्प’ शीर्षकको कविता विसं १९९० मा १४ वर्षको उमेरमा गोरखापत्रमा प्रकाशित भएको उहाँ स्वयम्ले बताउनुभएको थियो । यदाकदा पत्रपत्रिकामा उहाँको पहिलो कविताको सन्दर्भलाई लिएर टिप्पणीहरू आउने गरेका छन् । उहाँले मौखिक रूपमा बताउनुभएकै कुराको पुष्टि ‘रूपरेखा’का सम्पादक÷प्रकाशक उत्तम कुँवरद्वारा लिखित ‘स्रष्टा र साहित्य’ (मदन पुरस्कार प्राप्त, २०२३) कृति र समालोचक तथा साहित्यिक अन्वेषक घटराज भट्टराईको कृति ‘प्रतिभै प्रतिभा र नेपाली साहित्य’
(प्रकाशन–२०४०) मा पनि उल्लेख छ । यी त भए अरूद्वारा लेखिएका कुरा, उहाँ स्वयम्को हस्ताक्षरमा उल्लेख भएको साहित्यिक पत्रकार मोहन दुवालद्वारा सङ्कलित÷सम्पादित र जनमत प्रकाशनद्वारा प्रकाशित ‘अक्षरभित्र स्रष्टाहरू’ (प्रकाशन–२०६७) मा पनि स्पष्ट विवरण सार्वजनिक भएको छ । विसं २०५५ कात्तिक २२ गतेको मितिमा घिमिरेद्वारा लिखित विवरणमा पहिलो कविता ‘वैराग्य पुष्प’ शीर्षकमा गोरखापत्रमा प्रकाशित भएको उल्लेख छ । यी सबै विवरणलाई हेर्दा कुनै पनि द्विविधा हुनुपर्ने अवस्था देखिँदैन ।
उहाँलाई कार्यक्रमहरूमा अतिथि÷प्रमुख अतिथि बनिदिन आग्रह गर्न जाँदा होस् वा अनेक सन्दर्भमा कुराकानी गर्न जाँदा होस्, जहिल्यै पनि सफा चिटिक्क परेरै मात्र ‘ल अब गफ गरौँ’ भन्नुहुन्थ्योे । उहाँको व्यक्तित्व र कृतित्वका सन्दर्भमा पटक–पटक कुरा गर्ने र पत्रपत्रिकामा प्रकाशन गर्ने अवसर प्राप्त भइरह्यो । उहाँ अन्तर्वार्ताका लागि जति सजिलो व्यक्तित्व हुनुहुन्थ्यो, चित्त नबुझ्दा उति नै झ्वाँकी पनि हुनुहुन्थ्यो । ‘तपाईंलाई अन्तर्वार्ता दिन मलाई के कर छ, म नदिन पनि सक्छु ?’ भन्नेसम्मको बिन्दुमा पुगेर पनि निकै मिहिनेतपछि सहज वातावरण बनेर कुराकानी अघि बढाएको पनि छु । वास्तवमा मैले उहाँलाई रिस उठाउने प्रश्न गरेको थिएँ । मेरो मनले गरेकोभन्दा पनि बाहिर धेरैले उहाँप्रति गर्ने गरेको टिप्पणीलाई मैले प्रश्न बनाएको थिएँ ‘गौरी’ खण्डकाव्यको विषयलाई लिएर । मेरो ईष्र्या गरेर अनेक कुरा गर्दै हिँड्नेहरूको ‘जेलोसी’ बोकेर आउनुभयो तपाईं भन्दै उहाँ रिसाउँदा कुराकानी अघि बढाउन हम्मेहम्मे नै परेथ्यो । तर, केहीबेरमै उहाँ नरम हुनुभयो र वातावरण सहज बनेथ्यो । कसैले लगाइदिएको भ¥याङ नचढी आफ्नै बलबुताले यो अवस्थामा आइपुगेको भन्दै उहाँले धेरै पुराना कुरा पनि स्मरण गर्नुभएथ्यो ।
बाल्यकालमै आमा द्रौपदीदेवीको निधन भएकाले पिताजी गौरीशङ्कर घिमिरेसँग बस्तुगोठमा लेक–बेँसी गर्दै हुर्किनुभएका घिमिरेमा शिक्षाको भोक जागृत हुन थालेपछि घरमा राखिएका सात मोहोर जिप्ट्याएर नेपाल आउँदै गरेका भरियाको साथ लागी दसौँ दिन लगाएर काठमाडौँ भि(ित्रएपछि आफ्नै सङ्घर्ष र कठिन परिश्रमले, आफ्नै बलबुतामा अहिलेको ‘माधव घिमिरे’ आर्जन गरेको हुँ भन्नुहुन्थ्यो । परिश्रम त धेरैले गर्छन् तर त्यसमा धेर–थोर भाग्यले पनि साथ दिनुपर्ने उहाँको विचार थियो । आफूलाई पछिल्लो चरणमा आएर केही हदसम्म भाग्यले पनि साथ दिएको उहाँले स्वीकार्नुभए पनि भन्नुहुन्थ्यो– म परिश्रममा विश्वास गर्ने व्यक्ति भएकाले भाग्यवादीचाहिँ होइन है ।
उहाँको भौतिक अवसानले नेपाली पद्य साहित्यको एक युगकै समाप्ति भएको छ । उहाँजस्तो परिष्कारवादी स्रष्टा नेपाली साहित्यमा कमै होलान् । उहाँको विसं २०१० मा लिखित ‘गाउँछ गीत नेपाली’ गीति कवितामा ‘सुन्दर शान्त विशाल’ भन्ने लाइन महाकवि लक्ष्मीप्रसाद देवकोटाले परिमार्जन गरिदिनुभएको सन्दर्भ ‘किन्नर–किन्नरी’ सँगालोमा उल्लेख भएको पाइन्छ । महान् स्रष्टा ‘राष्ट्रकवि’ माधव घिमिरेलाई हार्दिक श्रद्धा–सुमन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?