इन्दिरा दीक्षित
कविता वाचन प्रतियोगितामा आफ्नो कविता उत्कृष्ट भएपछि आश्चर्य मान्दै प्रीति पुरस्कार लिन गई । हातमा पुरस्कारबापत ठूलो तस्बिरको फ्रेम र नगदराशिको चेक परिसक्दा पनि उनलाई अझै विश्वास भएन कि साँच्चै मेरो कविता उत्कृष्ट भएकै हो त ?
सधँै उनले लेखेका कविता रामप्रसाद गुरुले सच्याएका हुन्थे, ‘त्यो खुट्टा काट्न भएन नानी ! त्यसले गर्दा छन्द मिलेन, अझै अनुप्रास मिल्या छैन, कविता जीवन्त हुनुपर्छ, यसमा प्रकृति वर्णन चाहिन्छ, अझ सके ऋतु वर्णन पनि घुसाउँदा हुन्छ, त्यो रुख लेख्ने हैन त्यसको सट्टामा वृक्ष लेख तब न कविताको स्वाद हुन्छ, भावभन्दा भङ्गी निकाल, छन्द मिलेपछि आफैँ भाव आउँछ, छन्दमा नलेखिएका कविता पनि के कविता हुन्छ ?’
‘हवस् गुरुवर ! म मिलाउँछु’, गुरुका प्रत्येक वाक्य प्रीतिका लागि ब्रह्मवाक्य बन्थ्यो । नहोस् पनि के र साहित्यमा आचार्य गरेका गुरु ! फेरि रातभर घोट्टिएर बिहान गुरुबाट पास गराएपछि मात्रै प्रतियोगितामा ऊ सामेल हुन जान्थी तर आजसम्म त्यस्तो कष्टले कहिल्यै सान्त्वना पुरस्कार पनि पाउन सकेको थिएन ।
आज गुरुसँग भेट भएन । गुरुद्वारा पास गरिएका कविता वाचन गर्दा कति आनन्द आउँथ्यो । सबैले कति मीठो स्वर भनेर तारिफ गर्थे । झन् आज त वाचन गर्दा पनि डर लागिरहेको थियो ! कसोगरी उत्कृष्ट भएछ ! निर्णायक मण्डलीबाट पो गल्ती भयो कि !
यस्तै सोचेर हिँड्दा प्रीतिको दिमाग अचानक फनक्क घुम्यो, निर्णायक मण्डलीमा त चारजना थिए, सबैको दिमागले काम नगरेको कसरी हुन्छ ? उसले कताकता सुनेकी थिई कविता भनेको आफ्नै मौलिकता हुनुपर्छ, साँच्चै आफूले लेखेका कतिपय शब्द गुरुको आज्ञामा मन लागी नलागी मेटेर अर्को शब्द हालेको झल्झली सम्झन थाली । आफूले आफैँलाई विश्वास नगर्दा अनि अन्ध बनेर नामको पछि लाग्दाको परिणाम र पाठ आज प्रीतिले राम्रोसँग जानी ।