कुनै व्यक्तिको नाम नै यति प्यारो लाग्ने गर्छ कि जीवनभर भुल्नै सकिँदैन । आत्मीय भएर हृदयमा बसेको हुन्छ । यस्तै एउटा नाम हो विनय कसजू । उहाँसँग त्यति धेरै नजिक नभए पनि त्यति टाढा पनि थिइनँ म । उहाँका सिर्जनासँग भने निकै नजिक थिएँ । नेपाली बालसाहित्यमा उहाँको योगदान उच्च छ । यस्ता सुपात्रबारे पु्स्तक लेखिनु पनि अझै ठूलो योगदान हो । यो कार्य नेपाली बालसाहित्यका अर्का व्यक्तित्व प्रमोद प्रधानले गर्नुभएको छ । उहाँको हालै ‘बालसाहित्यमा विनय कसजू योगदान र मूल्याङ्कन’ पुस्तक प्रकाशित भएको छ ।
विनय कसजूले लेख्नुभएको बालसाहित्यबारे समीक्षात्मक अध्ययन गरेर लेखिएको एउटा महत्वपूर्ण ग्रन्थको रूपमा यस पुस्तकलाई लिन सकिन्छ । यसमा कसजूका बालसाहित्यका विभिन्न आयामबारे मिहिन चर्चा गरिएको छ । हुन त लेखक प्रमोद प्रधान आफैँमा बह्ुआयामिक व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तिद्वारा लेखिएको कृतिले व्यक्तित्वलाई न्याय नगर्ने प्रश्न नै उठ्दैन । साथै व्यक्तित्वका विविध आयामलाई विभिन्न दृष्टिकोणबाट उठाएर यस कृतिले कसजूलाई युगाँैसम्म जीवित बनाउन मद्दत गरेको छ ।
जन्म, बाल्यकाल, शिक्षा, जोगीसँगको सङ्गत र विवाह, साहित्य, पत्रकारिता र राजनीतिसँगै, साहित्यमा सक्रिय र तिनको परिचय, बालकथाको विश्लेषण, चित्रपुस्तकको विश्लेषण, अनुवाद कृतिहरूको विश्लेषण, बालपत्रकारिताको विश्लेषण, यात्रा किशोर साहित्यतर्फको, सम्पादकका रूपमा विनय कसजू, बालसाहित्य सम्बद्ध विभिन्न गतिविधिमा सक्रियता, विनय कसजूका विचारहरू र विभिन्न लेखकका दृष्टिमा विनय कसजूलगायत चौध शीर्षकमा उहाँका विभिन्न आयामलाई कृतिकार प्रधानले विश्लेषण गर्नुभएको छ । कसजू बालसाहित्यकार मात्र होइनन्, बाल साहित्यबारे जानकारी राख्ने चिन्तक पनि भएकोले उहाँका विचार र चिन्तनले नेपाली बालसाहित्यका नयाँ पुस्तालाई मार्गनिर्देशन पनि गरिरहेको छ । त्यसैले पनि ‘बालसाहित्यमा विनय कसजू योगदान र मूल्याङ्कन’ पुस्तकको महत्व रहने कुरा निर्विवाद नै छ । बालसाहित्य लेखनबारे कसजूका विचार यस्ता छन्– ‘झट्ट हेर्दा बालसाहित्य लेख्नु सजिलोजस्तो देखिन्छ । केटाकेटी र पशुपक्षीलाई पात्र बनाएर लेख्यो भने बालसाहित्य बन्छ भन्ने सोच धेरैको छ । तर लेख्दै जाँदा थाहा हुन्छ बालबालिकाका लागि लेख्नु भनेको सजिलो काम होइन रहेछ । अर्को शब्दमा भन्नुपर्दा केटाकेटीका लागि लेख्नु केटाकेटी काम हैन । असल बालसाहित्यले अबोध बालबालिकालाई रमाइलोसँग समाज संस्कृति र सामाजिक व्यवहार, बोलीचाली आदि सिकाउँदै एउटा असल नागरिक बनाउने काम गर्छ । यो चानचुने कुरा होइन । यो लेख्नका लागि विभिन्न प्रकारको सीप र विशेषता चाहिन्छ । तसर्थ यो जिम्मेवारी लेखन हो ।’
यसरी नै बालसाहित्य लेखनमा लाग्ने सर्जकलाई जिम्मेवार भएर सिर्जना पस्कनुपर्छ भनेर सधैँ झक्झकाइरहनु हुने कसजूका आफ्नै बाल्यकालका पाटाहरू पनि यस कृतिमा प्रधानले समेट्नुभएको छ । यो जन्म, बाल्यकाल, शिक्षा, जोगीसँगको सङ्गत र विवाह शीर्षकको पहिलो अध्यायमा पढ्न सकिन्छ । बालबालिका मुछेका काँचो माटो जस्तै हुन्, उनीहरूका लागि कस्तो मार्गको निर्माण गर्ने हो भन्ने अभिभावकको हात हुन्छ । त्यसैले कसजू पनि सानोमा जोगी सन्न्यासीको संगतले झण्डै जोगी बनिसकेका रहेछन् । तर समयको क्रमसँगै उहाँको चेतना जोगी सन्न्यासीमा गएन र त आज नेपाली साहित्यमा चम्किला तारा भएर चम्किरहेका छन् ।
अध्याय चौधमा कसजूका बारेमा विभिन्न सर्जकका विचार प्रस्तुत भएका छन् । त्यसमध्ये कवि अनन्त वाग्लेका विचार हेरौँ– ‘विनय कसजू नेपाली आमसञ्चार र बालसाहित्यको क्षेत्रमा एक चमकदार नाम हो । लामो समय ग्रामीण पत्रकारिता, सञ्चार तालिम र प्रशिक्षणमा बित(ाउनुभएका उहाँ जीवनको पछिल्लो समयमा बालसाहित्यमा दत्तचित्त भई समर्पित हुनुहुन्छ । बालसाहित्यमा सिर्जनात्मक लेखनका साथै लेखन तालिम र प्रशिक्षणमा उहाँ अनवरत लागि रहनुभएको छ । अहोरात्र अध्ययन र आफ्नो विधामा विश्वमा के कसरी नयाँ प्रयोग भइरहेछ, त्यसमा ‘अपडेट’ भइरहनु र लेखनमा नयाँ नयाँ विषयवस्तु तथा प्रयोग उहाँका विशेषता हुन् । हास्यका साथै प्रविधिका विषयलाई समेटिएका उहाँका रचना बालबालिकाले औधि रुचाउँछन् ।’
यस कृतिमा प्रमोद प्रधानले उहाँका बालसाहित्यमा योगदान र मूल्याङ्कनका बारेमा बढी चर्चा गर्नुभएको छ । आगामी दिनमा उहाँका साहित्य, पत्रकारिता र राजनीतिका बारेमा पनि गहिरो विश्लेषण भएर नयाँ कृति आउनेछ भन्ने आशा गर्न सकिन्छ । उहाँको योगदान नेपाली साहित्यले भुल्नै सक्दैन । यस्ता व्यक्तिका योगदानको कदर गरेर बालवाङ्मय तथा अनुसन्धान केन्द्रले प्रकाशन गनर््ु झनै मननयोग्य कुरा हो । अहिले भौतिक रूपमा विनय कसजू हामी माझ हुनुहुन्न तर उहाँका करिब पाँच दर्जन कृति हामीसँग छन् । यिनै कृतिले उहाँलाई युगौँसम्म जीवित राख्नेछ ।