नगेन्द्रराज रेग्मी
संस्कृत मनीषिहरूको परिभाषा सापट लिएर भन्ने हो भने जसमार्फत हितकारक भावनाको प्रसार हुन्छ, त्यसैलाई साहित्य भनिन्छ । कुनै पनि भाषाको कलात्मक लालित्यले परिपूर्ण लिखित वा मौखिक अभिव्यक्रि साहित्यको कोटिमा पर्छ । नेपाली बृहत् शब्दकोशका अनुसार कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि वाङ्मयलाई साहित्य भनिन्छ । अर्को शब्दमा जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि नै साहित्य हुन् । साहित्यको सम्बन्ध मान्छेको मन र हृदयसँग रहन्छ । मनको भूमिका प्रधान हुने हुँदा साहित्य र साहित्यकार अलिक स्वच्छन्द प्रकृतिका हुन्छन् । राजनीति, समाज, धर्मजस्ता अनेकौँ सीमा, बन्धन र बारहरू साहित्यकारलाई मन पर्दैन । यस्ता सीमा र बन्धनको अतिक्रमण गर्नसमेत उनीहरू बेर लगाउँदैनन् । त्यसैले पाश्चात्य दार्शनिक प्लेटोले आफ्नो युटोपिया (काल्पनिक गणराज्य) मा कवि लेखकलाई प्रवेश निषेध गरेका थिए । प्रसिद्ध चिन्तक बीपी कोइरालाले भनेका थिए– ‘राजनीतिमा म समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।’ उनले बताएको अराजकताको अर्थ कुनै अनुशासन नभएको वितण्डावादी भनेको होइन, बरु स्वच्छन्द र स्वतन्त्र चिन्तनमा विश्वास गर्ने स्वयं अनुशासित व्यक्ति भनेको हो ।
उता राजनीति भनेको चाहिँ जनसमाजमा शान्तिसुरक्षा कायम गर्ने, जनतालाई अनुशासित, सुखी र समृद्ध बनाउने, मौलिक अधिकारको कदर गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिमा उपयुक्त सन्तुलन स्थापित गर्ने र राज्यव्यवस्थालाई सुचारु तुल्याउने नीति हो । यसरी झट्ट हेर्दा साहित्य र राजनीति यी दुवै कुरा जनसमुदायसँगै सम्बन्धित छन् । मान्छे र ऊ बाँचिरहेको समाजको उन्नति, प्रगति र समृद्धिका बारेमा चिन्तन र प्रयास गर्नु नै राजनीति र साहित्य दुवैको मूल प्रयोजन हो तर शैली, विषय र व्यवहारका दृष्टिले चाहिँ साहित्य र राजनीति भिन्नाभिन्नै विषय हुन् भन्न सकिन्छ । साहित्य भावनात्मक उपज हो र यसले मस्तिष्कमा होइन, भावनामा गएर आफ्नो स्थान सुरक्षित गराउँछ । मस्तिष्कको अपेक्षा भावना अत्यन्त पूर्वाग्रहरहित संवेदनशील मानवीय चेतनस्थल हो । साहित्यको सिधा सम्पर्क मानवको आन्तरिक संवेदनासँग हुन्छ । मान्छेको शरीरमा संवेदनाका दुई केन्द्र छन् ः मस्तिष्क र हृदय (मन) । यीमध्ये साहित्य मन वा हृदयसँग सम्बन्धित हुन्छ भने राजनीति मस्तिष्कसँग सम्बन्धित हुन्छ । साहित्यको तुलनामा राजनीतिको शैली, विषय र व्यवहार अलिक रुखो, कठोर र यथार्थपरक हुने गर्छ ।
राजनीति बाह्य पद्धति हो, जसको अन्तरात्मासँग प्रत्यक्ष सम्बन्ध हुँदैन । राजनीतिको स्वरूप परिवर्तनशील हुन्छ भने सच्चा र उत्कृष्ट साहित्य शाश्वत र कालजयी हुन्छ । त्यसैले हाम्रा प्राचीन मनीषिहरू वाङ्मयका दुई भेद बताउँछन् ः शास्त्र र काव्य । शास्त्रको सम्बन्ध मस्तिष्कसँग रहन्छ र काव्यको सम्बन्ध मनसँग । जसले शासन गर्छ, त्यो शास्त्र हो र जसले भावनात्मक परिवर्तन ल्याइदिन्छ, त्यो काव्य हो । राजनीति शास्त्र हो भने साहित्य काव्य हो । हो कतिपय अवस्थामा साहित्य र राजनीति एकार्कासँग एकाकार हुन्छन् र परिपूरक बन्छन्् तर पनि यिनीहरूको ठाउँ र भूमिका छुट्टाछुट्टै छ । एउटाको घरको मानाचामल अर्काेले ऐँचोपैँचो चलाउन सक्छन्, सक्लान् तर चियोचर्चाे गरेर वा कुरा काटेर बसेको भने दुवैलाई सुहाउँदैन । यिनीहरूको लक्ष्य र उद्देश्य भनेको यावत् सांसारिक विषयवस्तुमा आआफूलाई सहायक बनाउनु र मानव विकास गर्नु नै हो– समग्रमा । यस उद्देश्यले हेर्दा यिनीहरू फेरि एकार्कासँग अत्यन्त निकट पनि मानिन्छन् ।
हाम्रा प्राचीन ग्रन्थहरूमा सबैखाले क्रान्तदर्शी, समाजलाई बाटो देखाउने र अग्रगामी चिन्तनका व्यक्तिहरूलाई ‘कवि’ भनिएको छ । यस आधारमा राजनीतिज्ञ पनि एकखालका कवि साहित्यकार नै हुन् तर सबै बौद्धिक क्रान्तदर्शी राजनीतिक व्यक्तिहरू कवि या साहित्यिक हुन्छन् भन्नु गलत हुन्छ । हाम्रो देशमा साहित्यको व्याख्या, विश्लेषण गर्न राजनीतिक व्यक्तिहरूलाई निम्ता गरिन्छ भने साहित्यकारहरू पनि एकएकवटा राजनीतिक दलको फेर समातेर सक्रिय देखिन्छन् । आफ्नो साहित्यिक सिर्जनालाई त्यही राजनीतिक भेलमा प्रवाहित वा समाहित गराइदिनाले दुवै खोलाहरू प्रदूषित हुँदैछन्, धमिलिएका छन् । यस स्थितिमा दुवैले दुवैको अर्थ र अस्तित्व खोज्न अलमलिनुपर्ने परिस्थिति देखिएको छ, जुन सकारात्मक होइन ।
उत्तम कुँवरले तत्कालीन राजा महेन्द्रप्रति लक्ष्यित गर्दै कवि म.वी.वि. शाहका रूपमा आफूलाई दिएको अन्तर्वार्तामा ‘....बीपी कोइराला, बालकृष्ण सम...आदि आदिले नेपाली साहित्यरूपी वृक्षलाई मलजल हाल्दै झारपात उखेली निकै स्याहारसुसार गरी आजको अवस्थामा ल्याइपु¥याए’ भनेर साहित्यकारको सम्मान गरेको तर त्यतिखेरै बीपी कोइराला सुन्दरीजलको कठोर बन्दीगृहमा थुनिएको स्मरण गर्दै लेखेका छन्– ‘साहित्यलाई राजनीतिबाट पृथक् राखिएको योभन्दा ठूलो उदाहरण अरू के हुनसक्छ ?(रूपरेखा अङ्क १०, पूर्णाङ्क २३८ फागुन २०३७)।’ कुँवरको भनाइ सापट लिएर भन्ने हो भने साहित्य राजनीतिक नेताको भाषण पुष्ट गर्ने या तिनको नारालाई आकर्षक बनाउने साधनका रूपमा मात्र उपयोग हुनथाल्यो भने त्यसको वाञ्छनीय विकास कदापि हुनसक्दैन ।
कुनै पनि देशको राजनीतिक अवस्थाले त्यस देशको साहित्यलाई केही न केही प्रभाव पारिरहेको हुन्छ तर त्यसले त्यहाँको साहित्यलाई निय(िन्त्रत वा निर्देशित गर्नु हुँदैन । यसो भयो भने साहित्यको त विकास हुन्न हुन्न, देशको राजनीतिले पनि आशातीत प्रगति गर्न सक्दैन । हाम्रो देशमा अझै पनि यस परम्पराको विकास भइसकेको पाइँदैन । पञ्चायतकाल र अझ राणाकालदेखि नै आफ्नो शासनसत्ता टिकाइराख्न शासकहरूले साहित्यकारहरूलाई विभिन्न रूपमा प्रयोग गरिरहे । कहिले माया गरेजस्तो गरेर, कहिले लोभ र लालच दिएर, त कहिले पदप्रतिष्ठा त कहिले डर, त्रास, यातना वा बन्दीगृहमा पठाएर पनि ।
यसै सन्दर्भमा पुरानो र रमाइलो प्रसङ्ग साहित्यकार पिटर जे. कार्थकले (हिमाल, २०६०) एउटा लेखमार्फत व्यक्त गर्नुभएको थियो । जसमा भनिएको छ– ‘इन्द्र सरको अन्तिम लेक्चर सुरु भयो केटा हो ! नेपाल भन्ने एउटा देश छ है सुन, त्यहाँ हिजोआज अचम्मैको कुरा हुँदैछ । त्यो देशको प्रधानमन्त्री चाहिँ विश्वेश्वरप्रसाद कोइराला भन्ने एकजना मान्छे छ, राजा चाहिँ महेन्द्र भन्ने छ । विश्वेश्वरले कथा, उपन्यास लेख्छ, महेन्द्रले गीत र कविता लेख्छ । दुवै राजनीति पनि गर्ने साहित्य पनि लेख्ने । कस्तो अमिल्दो कुरा ! त्यसैले केटा हो, नेपालमा चाहिँ केही न केही हुने, नराम्रो हुने पो म ता देख्छु है । अर्कातिर यो कोइराला दाजुभाइ पनि नमिल्दो रहेछ । भाइले कथा लेख्यो भन्ने आरिसमा मातृकाप्रसादले पनि ‘ढुङ्गाको आत्मकहानी’ भन्ने कविता लेखिटोपल्यो । त्यो कविता तिमीहरूको पाठ्यक्रममा छ, त्यो मैले तिमीहरूलाई अस्तिको महिना पढाइसकेँ । यसरी नेपाल त झगडालुहरूले पो भरिएको छ है, याद गरिराख....।’ त्यतिखेर पनि राजनीति र साहित्यबारे यसरी दार्जिलिङतिरका कलेजमा प्राध्यापकहरूले बहस, विश्लेषण र अध्यापन गराउँदारहेछन् भन्ने कुराको यो सानो अभिलेखलाई प्रस्तुत गर्न सकिन्छ ।
हाम्रो देशमा राजनीतिमा संलग्न भएर अर्थात् शासकीय पदमा बसेर पनि साहित्यमा लाग्ने व्यक्तित्वहरू थुप्रै देखिन्छन् । स्वयं हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा डा.के.आई.सिंहको प्रधानमन्त्रित्वकालमा केही समय शिक्षामन्त्री जस्तो शासकीय पदमा आसीन बनेका थिए । २००२ सालतिर प्रधानमन्त्री पद्मशम्शेर जबरालाई स्वागत अभिनन्दन गर्दै तत्कालीन शारदामा संस्कृत, नेपाली, हिन्दी, बङ्गाली, उर्दू, अङ्ग्रेजी, फ्रेन्च, चिनियाँ र जर्मन गरी नौ भाषामा देवकोटाले कविता प्रकाशित गराएका थिए । यसरी हाम्रा महाकविले शासकको स्वागत गरे पनि २००४ सालमा बनारस गएर युगवाणी पत्रिकाको सम्पादक भई राणाशासनको विरोध गर्दै जनतामा जागरण र चेतनाको शङ्खघोष पनि नगरेका होइनन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेपाली आख्यान क्षेत्रका सुपरिचित उच्चकोटिका स्रष्टा हुन् । उनका थुप्रै कथा र उपन्यासका अतिरिक्त साहित्यिक र राजनीतिक जीवनबारे अनगन्ती रचना प्रकाशित भएका छन् । साहित्य र राजनीतिलाई ढुङ्गा र कलाको संज्ञा दिँदै ढुङ्गामा कला भर्न सकिए पनि ढुङ्गा नै कला हुन नसक्ने धारणा बी.पी. कोइरालाको थियो (डा.नारायण चालिसे, पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास, पृ.११६) । त्यस्तै ‘बाह्रौँ खेलाडी’, ‘हिउँको तन्ना’, बिसर्जन लगायत थुप्रै कृति प्रकाशित गरेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि साहित्यिक क्षेत्रमा सम्मानित अर्का स्रष्टा हुनुहुन्छ । प्रधानमन्त्रीकै कुरा गर्नुपर्दा मातृकाप्रसाद कोइराला पनि एक सिद्धहस्त लेखक थिए । उनले हरेक विधामा कलम चलाएको देखिन्छ । ईश्वर बरालद्वारा सम्पादित ‘झ्यालबाट’ भन्ने कथा सङ्कलनको प्रथम संस्करणमा उनको ‘पिपाको हवल्दार’ भन्ने उत्कृष्ट कथा छापिएको छ । उनका रचना गोर्खा संसार (१९८३) देखि देखिन थालेका हुन् । २००४ सालमा बनारसबाट प्रकाशन प्रारम्भ भएको ‘युगवाणी’ मूलरूपमा राजनीतिक पत्रिका भए पनि त्यसमा साहित्यिक रचनाले पनि राम्रो स्थान पाउने गरेको थाहा हुन्छ । सो पत्रिकामा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, बालचन्द्र शर्मा आदिका लेखरचना प्रकाशित भएका देखिन्छन् । यसैमा गणेशमान सिंहको ‘श्री ३ मोहनको स्वर्गारोहण’ शीर्षकको उत्कृष्ट हास्यव्यङ्ग्य प्रकाशित छ ।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित रहेको पञ्चायतकालमा थुप्रै राजनीतिज्ञले आफ्ना विचार सम्प्रेषणका लागि साहित्यलाई माध्यम बनाएको देखिन्छ । प्रजातन्त्रवादी र वाम खेमाका थुप्रै राजनीतिकर्मीको नाम साहित्यकारका रूपमा चर्चित रहेको र राजनीतिले भन्दा साहित्यले नै उनीहरूलाई चर्चित बनाएको यहाँ स्मरणीय छ । बीपी कोइरालाकै बारेमा कुरा गर्दा उनको राजनीतिक पाटोलाई वामपक्षीहरूले आलोचना गर्दै आएका भए पनि उनको साहित्यिक पाटो सर्वस्वीकार्य र वन्दनीय रहेको तथ्य बिर्सिन मिल्दैन । वाम खेमाका अनेकौँ राजनीतिज्ञ साहित्यिक फाँटबाटै अधिक चर्चित रहेको पनि उल्लेख गर्न लायक छ । साहित्यक्षेत्रमा क्रियाशील नेपालका राजनीतिक व्यक्तित्वहरूमा केदारमान व्यथित, डी.पी. अधिकारी, क्षेत्रप्रताप अधिकारी, राजेश्वर देवकोटा, मोदनाथ प्रश्रित, प्रदीप नेपाल (सञ्जय थापा), मोहन वैद्य किरण, राधाकृष्ण मैनाली, प्रदीप ज्ञवाली (शीतबिन्दु), मदन भण्डारी आदि अनगन्ती छन् । वर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनि केही गीत र कविता लेख्नुभएको हामी पढ्न पाउँछौँ । उहाँले २०६२ साल वैशाखमा ‘मेरो जून हरायो’ नामक कविता नगेन्द्रराज शर्माद्वारा सम्पादित अभिव्यक्ति पत्रिकामा प्रकाशित गराउनुभएको थियो । स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास...जस्ता गीत पनि उहाँका कलमबाट सृजित नवीन कृति हुन् । त्यस्तै अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालको पनि साहित्यप्रति झुकाव रहेको थाहा पाइन्छ । वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल कविता विधामा राम्रो दखल राख्ने स्रष्टा हुनुहुन्छ । यस्ता नामको सूची खोज्दै जाने हो भने यो विवरण निकै लामो हुनसक्छ ।
२००७ सालको क्रान्ति सफल भएपछि भारतका ख्यातिप्राप्त स्रष्टा रामवृक्ष बेनीपुरी नेपाल आएका थिए । त्यतिखेर नाट्यसम्राट् बालकृष्ण समले उनको सम्मानमा एउटा चियापान कार्यक्रम आयोजना गरेका थिए । समारोहको अग्रभागमा टङ्कप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथितलगायतका राजनीतिक व्यक्तिको उपस्थितिले उक्त समारोहलाई अझ गौरवान्वित बनाएको महसुस हुन्थ्यो । साहित्यिक व्यक्तिप्रति यत्रो सम्मान प्रकट गर्नु यो एउटा दुर्लभ संयोग नै बन्न पुग्यो । राजनीतिक स्थिति बसाल्नका लागि साहित्यिक व्यक्तिहरूले योगदान दिएका उदाहरण पनि हाम्रो देशमा निकै छन् । एकतन्त्रीय राणाशासनविरुद्ध जनक्रान्तिमा, निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा, ऐतिहासिक जनआन्दोलन वा गणतान्त्रिक आन्दोलनमा लेखक, कवि, कलाकारले दिएको योगदान निकै महनीय बन्न पुगेको इतिहासमा सुरक्षित छ । अगाडिकै कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको हालत चिन्ताग्रस्त अवस्थामा पुगेको थियो । त्यसबखतका निर्माण तथा सञ्चारमन्त्री गणेशमान सिंह थिए । तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका तर्फबाट गणेशमान सिंह महाकविको अवस्था बुझ्न र भेट्न पुगेका थिए । सो अवसरमा सिंहले महाकविज्यूसित अन्तिम इच्छा सोधेका थिए । यसको जवाफमा महाकविले भनेका थिए– ‘आएको प्रजातन्त्रलाई हरप्रकारबाट फलाई फुलाई बचाइयोस्’ (नयाँ समाज २०१६ भदौ २९) । अन्तिम अवस्थामा पनि देवकोटाले साहित्यको कुनै कुरा नगरी प्रजातन्त्र बचाइयोस् भनेर राजनीतिक व्यवस्थाप्रति चिन्ता जाहेर गरेको यहाँ उल्लेख्य छ । यसले राजनीति र साहित्यबीचको अन्तर्सम्बन्धतर्फ सङ्केत गर्छ ।
राजनीति र साहित्यबीचको एउटा चोटिलो प्रसङ्ग भारतमा पनि यदाकदा सुन्नमा आउने गर्छ । एकताका भारतको लालकिल्लामा देशकै ठूलो कवि सम्मेलन भएको थियो । उक्त सम्मेलनको अध्यक्षता महाकवि दिनकरले गरेका थिए भने मुख्य अतिथि पण्डित जवाहरलाल नेहरू थिए । कार्यक्रमस्थलमा आउँदै गर्दा मञ्चको सिंढी उक्लने क्रममा नेहरूको खुट्टा अनियन्त्रित भई लर्बराउँदै लड्न मात्र के लागेका थिए, सँगै हिँडिरहेका महाकवि दिनकरले उनलाई सम्हाल्दै लड्नबाट जोगाए । नेहरूले यो जोखिमीबाट बचाएकोमा महाकविलाई धन्यवाद दिन्छन् । प्रत्युत्तरमा महाकवि दिनकर भन्छन्– ‘महामहिम, भारतमा राजनीति यसैगरी लर्बराउँदा साहित्यले नै त सदैव जोगाइरहेको छ । यसमा धन्यवादको के कुरा !’ गौर गरेर हेर्ने हो भने नेपालका सन्दर्भमा पनि यो कुरा सान्दर्भिक हुनसक्छ । साहित्य र राजनीतिको लक्ष्मणरेखा के हुन्छ या हुनुपर्छ ? अथवा साहित्य र राजनीति एकार्कासँग कति घुलमिल छन् या हुनुपर्छ ? कि अलग्याउँदा राम्रो हुन्छ या जोड्दा ? यी र यस्ता विषय धेरै अगाडिदेखि चल्दै र चलाइँदै आएका बहस र विवाद हुन् । यसको निक्र्याेल राम्रोसँग गरेर त्यसै अनुकूल यी दुवै विषय हिँडे भने निश्चय नै त्यसले राष्ट्रविकासमा एउटा गतिशील ऊर्जाशक्ति प्रदान गर्ने निर्विवाद त छ नै, सर्वाधिक महत्त्वपूर्ण काम पनि हुन जान्छ, यसमा शङ्का छैन ।
मेरो जून हरायो
केपी शर्मा ओली
आज मेरो आफ्नै आकाशमा
मेरो प्यारो जून हरायो ।
आकाशको बार्दलीमा निस्किएर मुस्कान दिने
सौम्य, शान्त पाराले अँगालो मार्ने
प्यारो मधुर प्रकाश दिने
मेरो प्यारो जून हरायो ।
कोही भन्छन् कृष्णपक्ष हो
अब पालो रातको आयो
कोही भन्छन् बादल छायो
सदाका लागि अब कालो छायो ।
कोही भन्छन् ग्रहणले खायो
तर यी सब हुन् क्षणका लागि
हैन, हैन जून फेरि छाउँछ
प्यारो जून फेरि उदाउँछ ।
कृष्णपक्ष भए शुक्ल आउँछ
बादल, ग्रहण भए फेरि हट्छ
मेरो आकाश फेरि खुल्छ
प्यारो जून फेरि उदाउँछ ।।
(अभिव्यक्ति, २०६२ वैशाख)