logo
२०८१ मंसिर १० सोमवार



असहायका सारथि

शनिवार |


असहायका सारथि


देवी सापकोटा

कोरोनाको त्रास यतिबेला सर्वत्र छ । यसको सङ्क्रमण तीव्र रूपमा बढेसँगै जनजीवन कठिन हुँदै गएको छ । झन् ज्यालादारी गर्नेहरूको जीवन त कष्टकर नै भएको छ । यस्तोमा चैत महिनामै बन्दाबन्दी हुँदा केही युवाले खाद्यान्न वितरणको अभियान चलाएका थिए । अहिले पनि केही समूहले यस्ता कार्य गर्दै आएका छन् । बाल सारथि नेपाल, देउराली समूह, हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ अभियान, हन्डेड्र समूह, मिर्मिरे युवा समाज, मिनाज फाउन्डेसनलगायतले पटक–पटक थपिएको बन्दबन्दी र निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिलाई निःशुल्क खाना र अन्य अति आवश्यक सामग्री वितरण गर्दै आएका छन् । काठमाडौँ उपत्यकाका खुलामञ्च, कोटेश्वरको महादेवस्थान, गौशालास्थित पशुपति क्षेत्र, सिनामङ्गलनजिकैको खुलाचौरमा अप्ठ्यारोमा परेका व्यक्तिलाई खाना खुवाइने गरिएको छ ।
कोरोनाको प्रभावसँगै धेरैको रोजीरोटी गुम्यो । उपत्यकामा मात्रै पाँच लाखभन्दा बढी अनौपचारिक क्षेत्रमा काम गर्दै आएका श्रमिकको काम गुम्योे । यसले दैनिक ज्यालादारी गरेर खाने र सीमित खर्चमा गुजारा चलाउनेहरू ठूलो मर्कामा परे । सञ्चय गरिएको खाद्यान्न र बचत नगद बन्दाबन्दी र निषेधाज्ञामै सकियो । समस्यामा परेका यस्ता व्यक्तिलाई मानवीय भावनाले सहयोग गर्नु कर्तव्य ठानी केही युवाले हात बढाए । सहयोग जुटाउँदै खाना खुवाउने र अतिआवश्यक सामग्री पनि वितरण गर्न थाले ।
गौशालास्थित विजयचोकमा रहेको विजयचोक युवा क्लब चैत १८ गतेदेखि बटुवा र मजदुरको सहगोगमा जुट्यो । बन्दाबन्दी सुरु भएको दिनदेखि लगातार ७५ दिनसम्म क्लबका सदस्यले त्यस क्षेत्रका बटुवा र मजदुरलाई दैनिक खाना खुवाए । एकपटकमा २५० देखि चार सय जनासम्मलाई उनीहरूले खाना खुवाए । बन्दबान्दीको तेस्रो महिनापछि भने क्लबलाई पनि आर्थिक समस्या प¥यो । क्लबका सचिव सन्तोषकुमार नेपालले अभियानबारे भन्नुभयोे, ‘फेरि स्थानीयस्तरमा सहयोग जुटाउन थाल्यौँ । अहिले हाम्रो अभियानमा गौशाला क्षेत्रका अन्य समूह पनि आबद्ध छन् ।’ सचिव नेपाललगायत युवाले स्थानीय इम्यानुयल क्याटरिङलाई सहगोगका लागि आग्रह गरे । बन्दाबन्दीका कारण क्याटरिङ पनि सञ्चालन नभएकाले उनीहरूलाई खाद्यान्न पकाउने भाँडा उपलब्ध भयो । शिक्षा संस्कार स्कुलले खाना पकाउने ठाउँ उपलब्ध गराइदियो ।
यस्तै, शुभारम्भ युवा क्लबका संयोजक गुणराज प्याकुरेललगायत केही युवाले धरानबाट सुरु गरेको ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ अभियान अहिले काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा विस्तार भएको छ । अभावको समयमा सबै एक भएर एकले अर्कोलाई साथ दिनुपर्छ भन्ने भावनाका कारण यो अभियानले आफूहरूमा हौसला थपेको उहाँको अनुभव छ । कोरोना कहरमा सबैले सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले नै अभियान यो अवस्थामा आइपुगेको संयोजक प्याकुरेल बताउनुहुन्छ ।
अभियानबारे उहाँले भन्नुभयो, ‘बन्दाबन्दी घोषणा भएको केही दिनमै हामीले अलपत्र परेका श्रमिक, बटुवालाई खाना पकाएर खुवाउँदै आयौँ । ‘लन्च बक्स’ बनाएरै वितरण ग¥यौँ । भीडभाडले थप जोखिम बढ्न सक्ने भनेर प्रशासनले सचेत गराएपछि अहिले पाँचजनाको परिवारलाई पकाएर खान पुग्ने हिसाबले सार्वजनिक स्थलमा ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने अभियान सुरु ग¥यौँ ।’ गाँस खोसिएका, बासको टुङ्गो नभएका दैनिक ज्यालादारी गर्नेहरूलाई सक्दो सहयोग गर्नु कर्तव्य भएको प्याकुरेलको भनाइ छ ।
आह्वान युथ सञ्जालका उर्गेन लामाले आफ्नो समूहले मानव धर्म सेवा आश्रमसँग मिलेर काम गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अवस्था सहज छैन, आर्थिक सहयोग कम भएपछि केही समय थोरैलाई खाद्यान्न बाँड्यौँ । स्थानीयले दिनुभएको चामल, तरकारी हामीले सङ्कलन गरेर स्कुलको प्राङ्गणमा पकाएर वितरण गर्दै आएका छौँ, मनकारीहरूले हाम्रो काम देखेर सहयोग गर्दै आउनुभएको छ ।’
पशुपति क्षेत्रका युवा क्लबले हाल बिहानको समयमा पशुपति क्षेत्रमा अलपत्र श्रमिक र बटुवालाई र दिउँसो ४ बजेपछि बागमती पुलको खुलाचौरमा भेला भएका रोजगारविहीन मजदुरलाई खाना खुवाउँदै आएका छन् ।
मिन्हाज खान पेसाले होटेल व्यवसायी हुनुहुन्छ । ठमेलमा होटेल चलाउँदै आउनुभएका खानको महिनौँदेखि बन्द भएको होटेलको भान्सामा हिजोआज भेज बिरयानी पाक्ने गरेको छ । ठमेल, वसन्तपुर क्षेत्रमा अलपत्र परेका बटुवालाई खानाको बक्स वितरण गर्दै उहाँको दिनचर्या बित्छ । चैतबाट बन्दाबन्दी सुरु भएलगत्तै खानले व्यक्तिगत रूपमा ठमेलमा रहेको बटुवालाई बिरयानी खुवाउने अभियान सुरु गर्नुभयो । स्वदेशीमात्र होइन, अलपत्र परेका धेरै विदेशीलाई पनि उहाँले खाना वितरण गर्नुभयो । अहिलेसम्म २० हजारभन्दा बढीलाई खानले ‘लन्च बक्स’ वितरण गरिसक्नुभएको छ । सुरुवातका दुई महिना व्यक्तिगत प्रयासले नै उहाँले खाना खुवाउनुभयो । अहिले मिन्हाजको अभियानमा धेरैले साथ र सहयोग दिएका छन् ।
यस्तै, बाल सारथि नेपाल र देउराली समूहले पनि मिलेर शान्ति बालगृहलगायतका बालगृहलाई खाद्यान्न र आवश्यक सामग्री वितरण गर्दै आएका छन् । देउराली समूहकी संयोजक सुचित्रा श्रेष्ठले बालगृहमा बसोवास गर्ने बालबालिकाका अभिभावकलाई खाद्यान्न वितरण गरेको जानकारी गराउँदै भन्नुभयो, ‘यस्ता अभियान कुनै एकजनाले मात्रै गरेर सम्भव हुँदैन, यहाँ सयौँ, हजारौँ सहयोगीको हात छ ।’ कोरोनाको प्रभाव लम्बिँदै जाँदा यो अभियानलाई कसरी प्रभावकारी बनाउने भन्नेमा चुनौती रहेको बताउनुहुन्छ बाल सारथि नेपालका संयोजक माला खरेल । श्रेष्ठ र खरेलको यो संयुक्त अभियान बन्दाबन्दी सुरु भएको केही दिनपछि नै सुरु भएको थियो । दैनिक दुई हजार जनासम्मलाई यो समूहले खाना वितरण गर्दै आएको छ । बिहानको समय कोटेश्वर महादेवस्थान र बेलुका नैकापमा यो समूहले खाना वितरण गर्दै आएको छ । लगातार ७१ दिनसम्म खाना वितरण गरेको यो समूह अभियानलाई अझै प्रभावकारी कसरी बनाउने भनेर जुटिरहेको छ ।
सरकारको काममा अभियान्ताहरूले सहयोग गर्नु सकारात्मक भएको बताउँदै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो, ‘प्रशासनलाई सहयोग गर्नु राम्रो हो । तर, कतिपय समूहको खानाको गुणस्तर राम्रो नहुँदा र सङ्क्रमण बढाउनेखालको भीडभाड हुँदा सचेत पनि गराएका छौँ ।’
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?