मोहनप्रकाश
एउटा बाल्टीभित्रको रातो रङमा दुईवटा पैताला बिस्तारै चल्मलाउन लागे । दुवै खुट्टाका गोलीगाँठा निकट फलामे सिक्रीले बाँधिएको छ । टाउकोदेखि कम्मरसम्म डोरीले जेलिएको एक महिला र उनकै सामुन्ने अर्की एक महिला शरीरभरि पत्रिका बेरिएको हालतमा छिन् । यी दुवै डर, त्रास र बेचैनीमा छट्पटाइरहेका छन् ।
समय दिउँसोको ३ः३० बजेको हुनुपर्छ । पाटन दरबार क्षेत्रमा दर्शक वरिपरि छरिएका छन् । कोरोनाबाट सबैजसो सचेत देखिन्छन् । त्यसैले पनि होला यहाँ प्रायः सबैका मुखमा मास्क छन् । प्रायः सबै नै एकअर्काबाट दूरी कायम गरेर उभिएका छन् दर्शकका रूपमा ।
ती दुवै महिला शिल्पी थिएटरका कलाकार सङ्गीता उरावँ र पवित्रा खड्का हुन् । पछाडिबाट मास्क लगाएको एउटा पुरुष पवित्रा खड्काको डोरीले जेलिएको शरीरलाई डोरीले नै कम्मरमा बाँधेर तानिरहेछ । उक्त पुरुष अरू कोही नभएर शिल्पी थिएटरकै कला निर्देशक घिमिरे युवराज हुन् । उद्घोषकका भूमिकामा छन् अधिकारकर्मी युग पाठक । सामुन्नेमा छ हातका बूढीऔँलाका दुई चक्र अङ्कित श्यामश्वेत ठूलो चित्रकला, जसलाई सिर्जना गरेका छन् कलाकार रवीन्द्र श्रेष्ठले । डबलीभरि छरिएका छन् अविनका कार्टुन चित्र ।
कलाकार पवित्रा खड्काका रगताम्मे पैतालाहरू कडा सङ्घर्षका साथ सेतो कपडामा टेक्दै अघि बढ्दै छन् । उक्त कपडामा परेका रक्तिम पाइलारूपी छापले सायद कोरोना महामारीको कठोर यात्रा पनि प्रतीत गर्दो हो । पृष्ठभूमिमा क्याजन (एक प्रकारको बाजा)मा सङ्गीतको ताल भर्दैछन् शिल्पीकै कलाकार गोविन्द ओली– टाङ्...टाङ्, टिङ्..ढिङ्... । उपस्थित दर्शकलाई सायद यो धुनले होशियारी र खबरदारी गरिरहेको आभास हुन्छ ।
हुटिट्याउँको आकाशमाथि आकाश खस्तछ
मलाई हिँड्ने हिम्मत देऊ म फर्सीको मन्टा हुँ
मलाई घस्रिन क्षितिज देऊ म तोरियाको जरा हुँ
मलाई उभिन दिशा देऊ म पारिजातको थुतुनु हँु
(मोहन कोइराला ः फर्सीको जराबाट)
सायद यो प्रयोगवादी कविताको भाव ती कलाकारको शब्दविहीन कलाले पोख्दै छ । कोरोनाको महामारी आकाश भएर खस्ने तरखरमा छ । फर्सीको मुन्टा निमोठिएको छ अर्थात् मार्गमा अवरोध छ । तोरियाको जरा काटिएको छ, त्यसैले त होला खुट्टामा जन्जिर छ । पारिजातको थुतुनोमा मास्क भिराइएको छ, या कोरोना महामारीले आवाज वा मानवीय संवेदना पनि खोसेर लाने त होइन ? न आवज न कुनै गति न स्वास्थको चाँजोपाँजो न रोजीरोटी । केही उत्साहित कलाकार र केही सरोकारवालाको ‘अभिभावकविहीन जनता’ शीर्षकको यस्तो थियो पाटन दरबार क्षेत्रमा विम्बात्मक प्रस्तुति । जेठ २३ गते शिल्पीले नै बत्तीसपुतली सडकमा कोरोना र रुकुम काण्डबारे नागरिक खबरदारी पनि गरेको थियो ।
पाटन दरबार क्षेत्रमा असार १६ गते कथाघेराले नि
‘हाच्छिउँ साच्छिउँ’ शीर्षकमा कोरोना महामारी र सरकारको काम कारबाहीमाथि कलाकारिता प्रस्तुत गरेको थियो । कोरोना र बन्दाबन्दीमा पनि रङ्गमञ्च खासै झकाएन । निरन्तर सक्रियता र खबरदारीमा भर्चुअल माध्यमले पनि लागिरह्यो । प्रायः देशभरका नाटकघर र समूहहरू आगामी दिनमा कसरी अघि बढ्ने भन्दै सामूहिक छलफल र सरकारसँगको सहकार्यलाई कसरी आत्मसात् गर्ने भनेर लागिरहेकै छन् । भर्चुअल माध्यमबाटै
‘थिएटर हब’ काठमाडौँको संयोजकत्वमा देशभरमा सक्रिय ४८ वटा नाट्य संस्थाले असार ११ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र पनि बुझाए । सरकारको जिम्मेवार निकाय भएर पनि उक्त ध्यानाकर्षण पत्रको कुनै प्रतिक्रिया नआएपछि साउन १७ गते पुनः भौतिक दूरी कायम गर्दै उपत्यकाका रङ्गकर्मीहरू शिल्पी थिएटरमा जम्मा भए । रङ्गकर्मी र नाटकघरको अवस्थाबारे छलफल गरे । छलफलको निचोडमा चाँडै नै इच्छुक रङ्गकर्मीलाई विभिन्न विधामा प्रशिक्षणको तयारी गर्ने र नेपाल सङ्गीत तथा नाट्य
प्रज्ञा–प्रतिष्ठानलाई घच्घच्याइरहने निष्कर्ष निकाल्यो ।
भर्चुअल नै बाध्यता
दिनभरि फेसबुक, चलचित्र, च्याट, भाइभर कल, अनि फेरि भर्चुअल बैठक, कक्षा, अनलाइन समाचार । सायद कोरोना समयावधिमा सबैको दैनिकी यस्तै नै रह्यो । बालबालिका मोबाइलमा सबैभन्दा अगाडि देखिए । पढाइ शून्य, मोबाइल १६ घण्टा । यसरी नै घरभित्र उकुसमुसमा परेका कलाकारहरू कविता, मुक्तक, भिडियो, गजल आदि मार्फत भर्चुअल माध्यममा जोडिए । जोडिँदैछन् ।
भौतिक पक्षको अभाव यसरी खट्कियो कोरोना काल । रङ्गकला वास्तवमा भर्चुअल माध्यम नै होइन । यो त सिर्फ परिस्थितिवशको बाध्यता मात्र हो । भर्चुअल माध्यमबाटै एक्टर स्टुडियोका अनुप बरालले रङ्गमञ्चबारे पूर्व प्रशिक्षार्थीहरूलाई ‘ब्रेनस्टोर्मिङ’ गराउनुभयो, जसमा ‘स्टोरिटेलर’का रूपमा लेखक तथा कविहरू अविनाश श्रेष्ठ, कुमार नगरकोटी, बुद्धिसागर, नयनराज पाण्डेले साथ दिनुभयो । नाटकहरू युट्युबमा पनि आए । थिएटर मल कीर्तिपुरका केदार श्रेष्ठले भर्चुअल नाटक महोत्सव नै आयोजना गर्नुभयो । स्कुल थिएटर, काठमाडौँका रङ्गकर्मी टङ्क चौलागाईंले भर्चुअल माध्यमबाटै बालबालिकालाई अभिनयमा सामेल गराउनुभयो । असार २० गते रङ्गकर्मी सुरज मल्लले पाटनमा जातीय व्यवस्थामाथि कवितात्मक एकालाप प्रस्तुत गर्नुभयो । यही प्रस्तुतिलाई वसन्तपुर र कीर्तिपुरमा पनि उहाँले निरन्तरता दिनुभयो । उता शब्द थिएटर पथरीले जेठ ३२ गते भानु जयन्तीका अवसर पारेर भर्चुअल माध्यमबाटै अन्तर्राष्ट्रिय नाटक प्रतियोगिता र असार २४ गते ‘कोरोना’ शीर्षकमा जनचेतनमलक कचहरी नाटक पनि प्रस्तुत ग¥यो । साउन ७ गते बिर्तामोडमा क्रिएटिभ नेपलिज युथले पत्रपत्रिकाका हेड लाइनलाई मध्यनजर गर्दै आत्महत्यामाथि नाटक मञ्चन ग¥यो । त्यस्तै काठमाडौँको रातो पुलमा अवस्थित शैली थिएटरले भर्चुअल माध्यममा गीत तथा निबन्ध प्रतियोगिता आयोजना ग¥यो भने साउन १० गतेबाट लगातार रङ्गकर्मी र विविध पेसामा आबद्ध व्यक्तित्वसँग भर्चुअल माध्यममै शैली संवादको शृङ्खला चलाइरहेको छ ।
पहिले मानिसहरू नाटकघरमा जान्थे । त्यहीँ टिकट काट्थे । हातमा टिकट र ब्रोसर्स लिएर टहलिन्थे । नाटकघरभित्रका गतिविधि निहाल्थे । नयाँ र नौला दर्शकलाई त नाटकघर अर्कै संसारजस्तो पनि लाग्थ्यो सायद । आँखाअगाडि रङ्कर्मीको जीवन्त अभिनयमा दर्शकको प्रत्यक्ष सान्निध्यताले दुवै पक्षको आत्मीयता गाँसिन्थ्यो । मानवीय भावना एकीकृत भएर आँखैसामु पोखिन्थे । यही भएर पनि होला पूर्वीय र पाश्चात्य साहित्यका केही विद्वान्ले साहित्यकै उत्कृष्ट विधाका रूपमा नाटकलाई स्वीकारेका छन् ।
आत्मीयतामा ह्रास आएको, मानवीय दूरी झन्–झन् बढ्दै गएको, प्रविधिले मानवीय स्थान खोस्दै गएको, बन्द कोठामा विचार सङ्कुचनमा परेको, उकुसमुकुस, तनाव र छटपटीले मानव समुदायलाई नै गाँजेका बेला कलाकारको मानसिकतालाई पनि अछूत राख्ने कुरै भएन । अनि भर्चुअल माध्यम बाध्यता र आवश्यकता दुवै ठहरियो ।
कोराना कालमा एउटा दुःखद घटना घट्यो रङ्गमञ्चमा । राष्ट्रिय नाचघरमा सक्रिय दुई रङ्गकर्मी तिलक राई र गोरन चौधरी मोटरसाइकल दुर्घटनामा पर्नुभयो । श्रद्धाञ्जलिका दुई थुँगा फूल अर्पण गर्ने कुरामा राष्ट्रिय संस्था नै अलमलमा प¥यो । मौनतालाई चिर्दै साउन १ गते शिल्पी थिएटरले श्रद्धाञ्जलि कार्यक्रम राख्यो । यस्ता आकस्मिक घटनामा कलाकर्मीको जिम्मेवारी कसले लिने हो ? प्रश्नहरू छँदैछन् ।
कोरोनापूर्वका केही स्मृति
प्रायः काठमाडौँको एउटा नाटकघरमा वर्षमा चारदेखि छ वटासम्म नाटक मञ्चन हुन्थे । एउटा नाटकको रिहर्सल कम्तीमा एक महिना चल्थ्यो । नाटकघरमा पुस्तक विमोचन, साहित्यिक छलफल, विचार गोष्ठी, राष्ट्रिय÷अन्तर्राष्ट्रिय नाटक महोत्सव भइरहन्थे । यस्ता जमघटमा कवि, साहित्यकार, कलाकार, पत्रकार, नेतादेखि विद्यार्थी, शिक्षक, अभिभावकको भेटघाट र विचार आदानप्रदान भइरहन्थे । जसले एउटा ‘ब्रिदिङस्पेस’ पनि बनाएको थियो नाटकघरलाई ।
कोरोना महामारीको बन्दाबन्दी हुनुपूर्व प्रायः नाटकघरले नयाँ वर्षसँगै नयाँ नाटक मञ्चन गर्ने योजना बुन्दै थिए । एक हप्ताको बन्दाबन्दी लम्बिएर तीन महिना र दोस्रोपटक पुनः करिब एक महिना नाघेपछि अब विकल्पका खोजी हुन थाले । अभैm दशैँ–तिहारयता सार्वजनिक ठाउँमा जमघट हुने अवस्था पनि देखिँदैन । यो बीचको समयलाई सकारात्मक ऊर्जामा बदल्नुपर्ने छ तर रङ्गमञ्चको अर्को महामारी छ आर्थिक सङ्कट । टिकट बिक्रीले जेनतेन धानेको नाटकघरको खर्च र कलाकारको जीवनलाई कसरी धान्न सक्ला ? उनीहरूलाई कसरी साथ सहयोग या भरथेग गर्न सक्ला ? रङ्गकर्मतिर पनि थोरै दृष्टि सरकारले दिन सक्ला कि नसक्ला ? प्रश्न र सन्देह पनि छँदैछन् ।
कोरोनापछिको रङ्गमञ्च
कोरोना महामारीले पूरै विश्वको समयलाई दुई भागमा विभाजित गरिदिएको विषयविज्ञ तथा वैज्ञानिकहरूले बताएका छन् । कोरोना महामारीले किन चर्चा र महŒव पायो भने यो कुनै प्राकृतिक प्रकोप थिएन । विगतमा मानिसले नै गरेका गल्ती कमजोरीका कारण सल्किएको महामारी थियो ।
एक्काइसौँ शताब्दीको मानिस भौतिकवादसँगै उदाएको पँुजीवादमा यसरी जकडियो कि उसको सबैभन्दा मुख्य लक्ष्य नै पैसा कमाउनु रह्यो । शिक्षा र वैज्ञानिक आविष्कार पनि अन्ततोगत्वा पैसा कमाउनकै लागि प्रयोग भएको देखियो । मानिसले स्वास्थ्य, शिक्षा, आविष्कार, कला र आत्मसन्तुष्टिको स्तरलाई बेवास्ता ग¥यो । कोरोना कालपछि मानिसको पहिलो प्राथमिकता स्वास्थ्य, ज्ञानविज्ञान, चेतना, कला र आत्मसन्तुष्टि पो रहेछ, पैसा या सम्पत्ति त जीवनको सानो हिस्सा ओगटेको साधन मात्र रहेछ भन्ने अनुभूत भएको देखियो । युरोप र अमेरिकी देशका सडकमा यो महामारीका बेला फ्याँकिएका नोटले पनि यो कुरालाई जोड दिन्छ ।
आममानवीय आवेग, उत्तेजना, भाव, विचार, छटपटी आक्रोश, विरक्तिपन, निराशा, संसय, विकार, विकृति, उद्दीपन, उठान, पतन, अहङ्कार, ढोँग, भ्रष्टता, आत्महत्या जस्ता विषय कारोनासँगै झन् शक्तिशाली भएर उदाएका देखिन्छन् । केही सिर्जनशीलले यसलाई अवसरका रूपमा निर्माण, सरसफाइ, अध्ययन, शिक्षण÷प्रशिक्षण÷सही सूचना (भर्चुअल), भ्रमण, लेखन, चित्रकारी, ध्यान आदिको साधना गरेर आफूभित्र सिर्जना र ऊर्जा पनि भरेका छन् तर यो समूह न्यून छ÷हुन्छ । यही चेतनशील नागरिक समाजले नै आममानिसलाई एउटा गन्तव्यसम्म पु¥याउने नेतृत्वदायी भूमिका खेल्न सक्छ । रङ्गकर्मीहरू यही चेतनशील नागरिक समाजको एउटा अङ्ग हुन् । त्यसैले उनीहरूको भूमिका र कर्तव्य पनि छ समाजमा ।
अबका दिनमा कवि, लेखकहरूले यी विषयवस्तुलाई कसरी उठान गर्लान् र कलाकार, सङ्गीतकार र निर्देशकहरूले यिनलाई कस्तो रङ्गमञ्चीय कलाले प्रस्तुत गर्ने हुन् ? यो भने हेर्न बाँकी छ । मानव जातिको यो अस्तित्वको लडाइँमा पुनः यहाँ मोहन कोइरालालाई नै सम्झनु उपयुक्त होला ः
हामी अनन्त हाँगा अनन्त जरा हामी अनन्त लहरा
मलाई हिँड्न देऊ हुटिट्याउँको आकाश खसालेर
म फर्सीको मन्टा हँु आफैँ समय हँु म आफैँ अनन्त हुँ
प्रुफ रिडर मेरो कानको कानेगुजीको पाप्रा
मेरो कानको कानेगुजी
पेपरवेटको पहाडमा लुकामारी
विचारमाथि विचार अभियान
मसीको ओरालोउकालो
कागते कारखानाको स्वर
टाइपराइटरको पदचाप ध्वनि... ।