प्रकाश ए. राज नेपाली साहित्य आकाशमा चिनाइरहनुपर्ने नाम होइन । समानताको पक्षमा उभिन चाहने उहाँको सरल स्वभाव, सौम्य व्यक्तित्व जो कोहीका लागि अनुकरणीय छ । उहाँका नियात्रा, संस्मरण आदि लेखनीमा समयका विभिन्न आयामलाई कसिलो ढङ्गले लेखिएको हुन्छ जस्ताको तस्तै । यो नै उहाँको लेखकीय विशेषता हो । उहाँ लेखनीमा इमानदार भएर छाउनुहुन्छ जहिल्यै पनि । समाजकै वरिपरि उहाँको लेखनी झुम्मिन्छ । उहाँले समाजका हर क्षेत्रमा कलम चलाउनुभएको छ । कथा, संस्मरण, पर्यटन, उपन्यासलगायत विविध विधामा उहाँको कलम चलेको छ ।
पछिल्लो पटक प्रकाश ए. राज संस्मरण–माला भाग–३ लिएर पाठकसामु आउनुभएको छ । यस पुस्तकमा साहित्यलगायत अन्य क्षेत्रमा अद्वितीय योगदान पु¥याउनुहुने नेपाली तथा विदेशी विभिन्न ४५ जना जीवित तथा दिवंगत महानुभावसँगका भलाकुसारी, भेटघाटका प्रसङ्गसहितका संस्मरणले स्थान पाएका छन् । जसमा साहित्य, राजनीतिलगायत विभिन्न विषयमा चासो राख्ने हरकोही नेपालीले चिनेका व्यक्तित्व हुनुहुन्छ ।
२०७२ को महाभूकम्पको डरले कार्यक्रम बीचमै छाडेर भाग्नुपरेको प्रसङ्गसहित साहित्यकार अभि सुवेदीबारेमा उहाँले लेख्नुभएको छ । काठमाडौँको झोंछेँको नाम कसरी ‘फ्रिक स्ट्रिट’ रह्यो र स्वयम्भूको नाम ‘मङ्की टेम्पल’ कहिले र कसरी रह्यो भन्ने जानकारी दिनुभएको छ । सन् १९७३ मा नेपाल आउनुभएका कवि आइरा कोहेन, अङ्ग्रेजी साहित्यका अमेरिकी प्रोेफेसर जन टाइटेलसँग अभि सुवेदीले भेट गरेको प्रसङ्ग पनि यसमा छ । अभि सुवेदीले लेख्नुभएको एकाइ कावागुचीको जीवनी विश्वका २५ वटा चर्चित पुस्तकालयमा राखिएको, सुवेदीले नै लेख्नुभएको अन्य १० अङ्ग्रेजी भाषाका पुस्तक अमेरिका र युरोपका विभिन्न विश्वविद्यालयका पुस्तकालयमा रहेको कुरा पनि यहाँ उल्लेख छन् । अभिलाई नेवारी र लिम्बू भाषा, बङ्गाली लिपिको समेत ज्ञान भएको बताउनुभएको छ । यसमा सुवेदीसँग गरिएको कुराकानी पनि समावेश गरिएको छ ।
‘दी राइजिङ नेपाल’मा १७ वर्षसम्म काम गर्नुभएका नेपालका वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठबारे पनि स्पष्ट जानकारी पुस्तकमा पाइन्छ । श्रेष्ठद्वारा लिखित पुस्तकहरू विश्वका धेरै विश्वविद्यालयमा रहेको, दरबार हत्याकाण्डबारे पनि अङ्ग्रेजीमा पुस्तक प्रकाशन गरिएको, जर्मनी भाषाको पनि अध्ययन गरिएको उल्लेख छन् । यस्तै प्रकाश ए. राजले आफ्ना अमेरिका पढ्दाका पाकिस्तानी मित्र आरिफसँग बिताएका पलको मीठो स्मरण पनि गर्नुभएको छ । सफल पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्य संस्मरणकारका बालशखा रहेछन् । यहाँ लेखकले कर्ण शाक्यसँगको विद्यालय जीवनको बडो रमाइलो सम्झना गर्नुभएको छ । शाक्य कसरी पर्यटन क्षेत्रमा प्रवेश गर्नुभयो भन्ने कुरा पनि यसले पाठकलाई जानकारी दिन्छ ।
केशव चौलागाईंसँगको लेखकको भेटबारे डायरीमा उल्लेख कुरासमेत यहाँ उद्धृत भएका छन् । उहाँसँग विभिन्न सेमिनारमा सहभागी भएको, तत्कालीन अनमिनका नेपाल प्रमुख आइन मार्टिन, यूएनडीपीका संयोजक रोबर्ट पिपर लगायतसँगका बैठकको चर्चा पनि यहाँ छ । चौलागाईंका कृतिहरूको बारेमा पनि यहाँ जानकारी दिइएको छ । चर्चित समाजशास्त्री कृष्ण भट्टचनबारे उहाँका स्मरण उल्लेख गर्दै उहाँसँगको सम्पर्क स्रोत गोपालसिंह नेपाली भएको उल्लेख छ ।
नेपाली भाषामा विद्यावारिधि गर्नुहुने डा. गार्गी शर्मासँगको परिचय, गार्गीको अध्ययन, अध्यापन र लेखन आदिबारे पुस्तकमा संक्षिप्त प्रकाश पारिएको छ । गार्गीलाई नेपाली समालोचनामा परम्परागत तथा प्रभावकारी ढाँचामा कृतिको समालोचना गर्न सक्षम समालोचकका रूपमा हेर्नुभएको छ लेखकले । बनारस हिन्दु विश्वविद्यालयमा प्राध्यापन गर्नुहुने समाजशास्त्री तथा प्राध्यापक गोपालसिंह नेपालीलाई पनि पुस्तकले समेटेको छ । नेपालीले विद्यावारिधि नेपालका नेवारबारे गर्नुभएकोे हो । अभिव्यक्ति स्वतन्त्रता र साहित्यलाई मुख्य उद्देश्य बनाएको अन्तर्राष्ट्रिय पेन जो लेखकहरूको विश्वव्यापी सङ्गठन हो, यसबारे समेत पुस्तकमा जानकारी पाइन्छ । नेपालमा पनि यसको शाखा रहेको र यसको स्थापनामा ग्रेटा राणाको योगदान ठूलो रहेको बताउनुभएको छ । राणाको पारिवारिक पृष्ठभूमिको जानकारीसमेत यहाँ छ । डायमन शमशेरको सेतो बाघको अङ्ग्रेजी अनुवाद ग्रेटा राणाले गर्नुभएकोले अङ्ग्रेजी साहित्यमा यो कृति बढी चर्चित भएको दाबी पनि यहाँ गरिएको छ । जगदीश शमशेरको संक्षिप्त जीवनीका साथमा बहुदलीय व्यवस्था स्थापनाका लागि उहाँको योगदान र उहाँसँगका भेटघाटलाई पनि कृतिले समेटेको छ ।
नियात्राकार घनश्याम राजकर्णिकार, व्याकरणाचार्य जगन्नाथ त्रिपाठी, संस्कृतिविद् डा. जगमान गुरुङ, रजबन्धकीका लेखक टुकराज मिश्र, नेपाललाई विश्वसामु चिनाउने स्विस भूगर्भवेत्ता टोनी हेगन, बुद्धधर्म र नेवार जातिबारे अध्येता बेलायती विद्वान् डेभिड गेलनर आदिसँगको भेट र उहाँहरूका योगदानको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । तेजेश्वर बाबु ग्वंगः नेवारी, नेपाली र अङ्ग्रेजी भाषामा उत्तिकै कलम चलाउनुहुन्छ । उहाँसँगका भेटका प्रसङ्गमा तत्कालीन राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप रानाले दरबार हत्याकाण्डका बारेमा बताएको कुरासमेत उल्लेख गरिएको छ । लेखकले राष्ट्रिय योजना आयोगमा सँगै काम गरेका तुलसी न्यौपाने, २०५४ सालमा भेटेका तुलसी भट्टराई, वी.पी. कोइरालासँग निकट सम्बन्ध भएकी दुर्गा पोखरेलसँगका भेट, सहकार्यलगायत विषयमा समेत चर्चा गर्नुभएको छ ।
चर्चित पत्रकार दुर्गानाथ शर्मासँगको चिनापर्ची, उहाँको भूमिका सहितका कुरा पुस्तकमा समेटिएको छ । पत्रकार ध्रुवहरि अधिकारीलाई गोरखापत्रमा काम गर्दै चिनेको र उहाँसँगको सहकार्यसमेत उल्लेख गरेका छन् । यस्तै नगेन्द्र शर्मा, नवलकिशोर राई, रामचन्द्र मल्होत्रा, निरञ्जन भट्टराईसहित कथाकार भागीरथी श्रेष्ठ, साहित्यकार भुवन ढुङ्गाना, तिब्बती भाषाका ज्ञाता रमेश ढुङ्गेल, प्रशासक रवीन्द्र शाक्य, ऐतिहासिक उपन्यासकार एस.पी.आशा, जनगायक तथा साहित्यकार मन्जुल, साहित्यकार पारिजात, राजनीतिज्ञ प्रदीप गिरी, राजनीतिक विश्लेषक तथा लेखक सिके लाल, उपन्यासकार रुद्रराज पाण्डे, इतिहासकार सूर्यविक्रम ज्ञवाली, पाकिस्तानी सायर सइद अहमद अख्तर, महिला साहित्यकार हिरण्यकुमारी पाठक, उपन्यासकार सुन्दरप्रसाद शाह, पत्रकार तथा लेखक हरिहरराज जोशी, राहुल सांकृत्यायन, गजलकार ज्ञानुवाकर पौडेलसँगका भेटघाट र विभिन्न सन्दर्भबारे संस्मरण मालामा बडो रोचक ढङ्गले समावेश गरिएको छ ।
यसरी प्रकाश ए. राजले संस्मरण माला भाग–३ लाई प्राध्यापक, लेखक, साहित्यकार, प्रशासक, समाजशास्त्री, विश्लेषक, भाषाविद्, राजनीतिज्ञ, पत्रकारलगायत ४५ जना फूलका थुँगाहरूलाई एउटै मालामा समेट्न सक्नु उल्लेख्य कुरा हो । समाजमा कुनै न कुनै योगदान छाडेकाहरूबाट धेरै कुरा सिक्न सकिन्छ । यस्ता व्यक्तित्वका बारेमा नै पुस्तकले समेटेको छ । त्यसैले पाठकका लागि प्रेरणादायी छन् । ज्ञानवद्र्धक छन् । सूचनामूलक छन् । ऐतिहासिक जानकारी दिने खालका छन् ।
प्रदीप सापकोटा