जानु धिताल
मेरो आँगनीलाई मिच्दैमिच्दै
मैलाई खोक्रो बनाएर
मेरै गिट्टी र मेरै बालुवाले
तिमीले महल ठड्याएपछि
म बाध्य भएँ – मेरै आँगनीमा पस्न
अझ विलापका साथ
तिमी भन्छौ, सबै बाढी पहिरो
मेरा घरमा छि¥यो ।
तिमीले जबरजस्ती मिचेर
रोएका मेरा किनाराहरू,
के मचाहिँ कहिलेकाहीँ
निदरीबाट जागी गडगडाएर
आफ्ना आँगनीमा रमाउँदै
लडीबुडी खेल्न पाउँदिनँ ?
मलाई अधिकार दिलाउने
खै कहाँ छ, मेरो अदालत ?
खै मैले खेल्ने बगरहरू
बालुवा थुपार्ने र
मुढा फाल्ने किनाराहरू ?
घरका भित्तामा ठोकिनु मात्र
मेरा छालको नियति हो र ?
मानवको न्याय
मानवकै लागि त बराबर छैन
अनि तिमी कसरी
मलाई न्याय गर्न सक्छौ ?
भन्न सक्छौ ? हे मानव !
को कहाँ पसेको ?
तिमी मेरा आँगनीमा
कि म तिम्रो घरमा ?