जीवनाथ धमला
छायाँमा लेखिने अक्षरहरू देखिँदैनन्, आँखाहरूमा
उज्यालो चाहिन्छ अक्षरका रूपहरू टल्किनलाई
उज्यालोलाई छोपियो भने अक्षरको सौन्दर्य छोपिन्छ
उज्यालोका सौन्दर्य हुन् अक्षरहरू
अक्षरको सौन्दर्यलाई छायाँले डस्नु हुँदैन ।
छायाँमा लेखिने अक्षरहरू हाँस्दैनन्, ओठहरूमा
उज्यालो चाहिन्छ अक्षरका मुस्कानहरू देखिनलाई
अक्षरका मुस्कानमा छायाँ परेमा ओइलाउँछन् अक्षरहरू
चेतनाका मुस्कान हुन् अक्षरहरू
अक्षरका मुस्कानमा छायाँको रोदन बग्नु हुँँदैन ।
छायाँमा लेखिने अक्षरहरू उम्रन सक्दैनन्, सतहमा
उज्यालो चाहिन्छ अक्षरका जराहरू फैलिनलाई
अक्षरहरू नफैलिए सृष्टि अवरुद्ध हुन्छ
सृष्टिका सारथि हुन् अक्षरहरू
अक्षरको गतिमा छायाँको अंकुश लाग्नु हुँदैन ।
छायाँमा लेखिने अक्षरहरू सुनिँदैनन्, ध्वनिहरूमा
उज्यालो चाहिन्छ अक्षरको ध्वनि सुनिनलाई
अक्षरको ध्वनिमा छायाँ प¥यो भने अक्षर ‘विद्रोह’ बन्छ
उज्यालोकै ध्वनिहरू हुन् अक्षरहरू
अक्षरको ध्वनिलाई छायाँको गर्जनले ढाक्नु हँुदैन ।
छायाँमा लेखिने अक्षरहरू फुल्दैनन्, रङ्गहरूमा
उज्यालो चाहिन्छ अक्षरका रङ्गहरू फुल्नलाई
अक्षरका उद्यानमा छायाँ प¥यो भने चिसिन्छन् अक्षरहरू
अक्षरका रङ्गहरूले न्यानोमा मात्र गीत गाउँछन्
अक्षरका रङ्गहरू माथि छायाँको लेदोले पोत्नु हुँदैन ।