logo
२०८१ मंसिर १० सोमवार



माफ गर्नोस् राष्ट्रकवि ! खोजी गर्नै प¥यो, ‘ज्ञानपुष्प’ कि ‘वैराग्य पुष्प’ ?

शनिवार |


माफ गर्नोस् राष्ट्रकवि ! खोजी गर्नै प¥यो, ‘ज्ञानपुष्प’ कि ‘वैराग्य पुष्प’ ?


केदार वाशिष्ठ / प्रकृति अधिकारी

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको ४५ दिन नाघेको छ । २०७७ भदौ २ गते निधन भएपछि उहाँको जीवनवृत्त र योगदानबारे धेरै चर्चा परिचर्चा भए । त्यसै मेसोमा केही विवादित विषय पनि जनमानसमा पस्कने काम भयो । खासगरी उहाँको पहिलो कविताको प्रकाशन काल र शीर्षक तथा उहाँको लेखनवृत्त सत्ताको वरिपरि केन्द्रित रहेको भन्नेबारे विवाद देखिएका हुन् । यहाँ राजनीति प्रकृतिको पछिल्लो विवादभन्दा पनि पहिलो कविता र प्रकाशन समयबारे निक्र्योल गर्ने प्रयास गरिएको छ ।

फरक फरक तथ्य
१९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मनु भएका माधव घिमिरे बाल्यकालदेखि नै सिर्जनामा लागेको पाइन्छ । उहाँको पहिलो कविता गोरखापत्र साप्ताहिक (हालको दैनिक त्यसैको निरन्तरता हो) मा प्रकाशन भएकोमा विवाद देखिँदैन तथापि कविताको शीर्षक र प्रकाशन वर्षबारे भने गोरखापत्रमा नै भिन्नाभिन्नै समाचार र विचार आएको पाइन्छ ।
निधन भएको समाचार (कालजयी स्रष्टाको महाप्रस्थान, शेषकान्त पण्डित र दीपक श्रेष्ठ) दिएको २०७७ भदौ ३ गतेको गोरखापत्र (पृष्ठ १ र २) मा उहाँको पहिलो प्रकाशित कविता ‘ज्ञानपुष्प’ रहेको र त्यो वि.सं. १९९२ मा प्रकाशित भएको उल्लेख भएको पाइन्छ ।
त्यसको तीन दिनपछि प्रकाशित गोरखापत्रकै शनिवार परिशिष्टाङ्कको ‘क’ पृष्ठ (‘ज्ञानपुष्प’देखि ‘ऋतम्भरा’सम्म, उदय पोखरेल) मा पहिलो कविता ‘ज्ञानपुष्प’ नै रहेको तर प्रकाशन वर्ष भने वि.सं. १९९० रहेको उल्लेख भएको पाइन्छ ।
त्यसको अर्को साता २०७७ भदौ १३ गतेको शनिवारको पृष्ठ ‘ग’ (आफ्नै बलबुतामा ‘राष्ट्रकवि’, तुलसीहरि कोइराला) मा माधव घिमिरेको पहिलो प्रकाशित कविता ‘वैराग्य पुष्प’ रहेको र त्यो १४ वर्षको उमेरमा वि.सं. १९९० मा प्रकाशित भएको उल्लेख पाइन्छ ।
यसरी प्रकाशित तीनवटा सामग्रीमा बेग्लाबेग्लै शीर्षक र प्रकाशन वर्ष उल्लेख भएकोमा पहिला दुईले सामान्य जानकारी मात्र दिएका छन् तर पछिल्लो सामग्रीले भने तथ्य स्थापना गर्न केही सन्दर्भ स्रोतको पनि उल्लेख गरेको देखिन्छ ।
प्रकाशित लेखमा भनिएको छ, “राष्ट्रकवि घिमिरेको पहिलो प्रकाशित कविताको सन्दर्भलाई लिएर थोरै उल्लेख गर्नैपर्छ । उहाँको ‘वैराग्य पुष्प’ शीर्षकको कविता वि.सं. १९९० मा १४ वर्षको उमेरमा गोरखापत्रमा प्रकाशित भएको उहाँ स्वयंले बताउनुभएको थियो । यदाकदा पत्रपत्रिकामा उहाँको पहिलो कविताको सन्दर्भलाई लिएर टिप्पणीहरू आउने गरेका छन् । उहाँले मौखिक रूपमा बताउनुभएकै कुराको पुष्टि ‘रूपरेखा’का सम्पादक÷प्रकाशक उत्तम कुँवरद्वारा लिखित ‘स्रष्टा र साहित्य’ (मदन पुरस्कार प्राप्त, २०२३) कृति र समालोचक तथा साहित्यिक अन्वेषक घटराज भट्टराईको कृति ‘प्रतिभै प्रतिभा र नेपाली साहित्य’ (प्रकाशन–२०४०) मा पनि उल्लेख छ ।”
यहाँ प्रथम प्रकाशित कविताको सन्दर्भलाई लिएर टिप्पणी आउने गरेको प्रसङ्ग उठान गर्दै त्यसलाई विवादको विषय बनाइएको सङ्केत गर्न खोजेको देखिन्छ । त्यसको निरूपणका लागि निकै खोज र अनुसन्धान गर्दै दुई साहित्य साधकका कृतिको
सहारा लिइएको देखिन्छ । त्यस क्रममा मदन पुरस्कार प्राप्त कृति भनेर थप आधिकारिकता पनि दिन खोजिएको पाइन्छ ।
यति मात्र नभई स्वयं माधव घिमिरेले नै हस्ताक्षरसहित दिएको सामग्रीलाई पनि पुष्टिको तथ्यका रूपमा प्रस्तुत गरिएको छ । लेखिएको छ –
“यी त भए अरूद्वारा लेखिएका कुरा, उहाँ स्वयंको हस्ताक्षरमा उल्लेख भएको साहित्यिक पत्रकार मोहन दुवालद्वारा सङ्कलित÷सम्पादित र जनमत प्रकाशनद्वारा प्रकाशित ‘अक्षरभित्र स्रष्टाहरू’ (प्रकाशन–२०६७) मा पनि स्पष्ट विवरण सार्वजनिक भएको छ । वि.सं. २०५५ कात्तिक २२ गतेको मितिमा घिमिरेद्वारा लिखित विवरणमा पहिलो कविता ‘वैराग्य पुष्प’ शीर्षकमा गोरखापत्रमा प्रकाशित भएको उल्लेख छ । यी सबै विवरणलाई हेर्दा कुनै पनि द्विविधा हुनुपर्ने अवस्था देखिँदैन ।”

शर्मा कि घिमिरे ?
माधव घिमिरेको हस्ताक्षर रहेको भनिएको र यस थप विवरणका आधारमा विवाद निरूपण भएको जस्तो लागे पनि कसैले कतै पनि त्यसको आधिकारिकता पुष्टिका लागि एक मात्र तथ्यको खोजी गरेको भने देखिएन, त्यो हो गोरखापत्रका पाना पल्टाएर के
शीर्षकमा ? र कहिले ? प्रकाशित भएको थियो भन्ने ।
प्रामाणिकताका लागि गोरखापत्रमा प्रकाशित माधवप्रसाद घिमिरेको पहिलो कविता र प्रकाशन मितिको खोजी गर्ने क्रममा माथि उल्लेख भएका वि.सं. १९९० देखि १९९२ सम्मका गोरखापत्र साप्ताहिकका अङ्क पल्टाइएको थियो । वि.सं. १९९० वैशाख ५ गतेको गोरखापत्रमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको ५९औँ वर्ष प्रवेशको उपलक्ष्यमा ‘अभिनन्दन पुष्पाञ्जली’ शीर्षकमा कविता छापिएको छ र त्यसमा रचनाकारको नाम उल्लेख छैन । त्यसबाहेक वि.सं. १९९० मा कुनै कविता प्रकाशित भएको पाइँदैन । प्रसङ्गवश उल्लेख गर्न सकिने कुरा के छ भने वि.सं. १९८९ वैशाख २० गते भीमशमशेरको ८८औँ जन्मोत्सवमा चढाइएको अभिनन्दनपत्र र उनको निधनमा गरी दुईपटक कविता छापिएको बाहेक त्यस वर्ष पनि अन्य कसैको कविता छापिएको थिएन ।
त्यस क्रममा माधवप्रसाद शर्माको नामबाट वि.सं. १९९२ भाद्र १४ गते ‘ज्ञान–पुष्प’ शीर्षकमा प्रथम पृष्ठमा नै कविता छापिएको पाइयो (हेर्नुहोस् चित्र १ मा) । तर त्यसले फेरि अर्को दुविधा सिर्जना गरिदिएको छ थरबाट । कविको थरमा घिमिरे नभएर शर्मा छ । त्यसैले प्रकाशित उक्त कविता माधवप्रसाद घिमिरेको पहिलो प्रकाशित कविता नै हो भन्ने निर्विवाद तथ्य स्थापित गर्दैन ।
त्यसको निधो गर्न फेरि त्यसअघि र त्यसपछिका गोरखापत्रका अङ्कहरूमा खोजी गर्नुपर्ने हुन्थ्यो । त्यसो गर्दा पहिले न माधवप्रसाद घिमिरेका नामबाट न त माधवप्रसाद शर्मा, कसैका नामका कविता फेला परेनन् । बरु पछाडिका विभिन्न मितिमा भने माधवप्रसाद शर्मा (विद्यार्थी) का नामबाट वि.सं. १९९२ कात्तिक ९ गते ‘नीति ज्ञान’, वि.सं. १९९२ पौष ५ गते माधवप्रसाद शर्माका नामबाट ‘प्रेम’, वि.सं. १९९२ चैत्र ८ गते माधवप्रसाद नेपालका नामबाट ‘प्रभु–प्रार्थना’ र माधवप्रसादका नामबाट ‘अब’ तथा वि.सं. १९९२ चैत्र १५ गते माधवप्रसादका नामबाट ‘वैराग्यको लहर’ शीर्षकमा कविता प्रकाशित भएका पाइन्छन् ।
यसरी वि.सं. १९९२ मा प्रकाशित ‘ज्ञान–पुष्प’ (वि.सं. १९९२ भाद्र १४ गते) बाहेक अरूले तथ्यको स्थापना गर्न सहयोग गर्दैनन् ।

पुस्तुनको परिचय
त्यसपछि वि.सं. १९९३ का गोरखापत्रका अङ्कहरूमा पनि माधव नामक कविका केही कविता फेला पर्छन् । तिनमा वि.सं. १९९३ वैशाख ५ गते माधवप्रसाद शर्माका नामबाट तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको जयगान छापिएको पाइन्छ भने वैशाख १९ गते पं. माधवप्रसाद शर्मा, पाल्प(ाका नामबाट ‘श्री ३ को जन्मोत्सवोपलक्षमा वासन्तिक–गुणगान’ शीर्षकमा कविता छापिएको पाइन्छ । पं. माधवप्रसाद शर्मा वा पं. माधवप्रसाद उपाध्यायका नामबाट वि.सं. १९९० अघि पनि कविता छापिएको पाइन्छ तर तिनमा ठेगाना पाल्पा तानसेन भनेर उल्लेख गरिएको छ । वि.सं. १९९० पछि पनि माधवप्रसादका नामबाट छापिएका कवितामा
‘पं. र पाल्पा’ उल्लेख गरिएको पाइन्छ । यसबाट दुवै माधवप्रसाद शर्मा फरक व्यक्ति हुन् भन्ने पुष्टि हुन्छ । त्यसपछि वि.सं. १९९३ कात्तिक २८ गते माधवप्रसाद र ठेगाना प. ३ नं. लम्जुङ् पुस्तुनबाट ‘गोरखापत्र’ शीर्षकमा कविता छापिएको पाइन्छ (हेर्नुहोस् चित्र २ मा) ।
यस वर्षका यी कवितामध्ये वि.सं. १९९३ कात्तिक २८ गतेको ‘गोरखापत्र’ शीर्षकको कवितामा माधवप्रसाद कविको ठेगाना लम्जुङ् पुस्तुन भएबाट हामीले खोजेका कवि यिनै माधवप्रसाद रहेको पाइन्छ तर अझै पनि थरबारे अन्योल नै देखिन्छ ।
त्यसको पनि पुष्टि हुने कुनै आधार पाइन्छ कि भनेर गोरखापत्रका अरू पाना केलाउँदा फेरि माधवप्रसादका थप कविता फेला पर्दछन् । तिनमा वि.सं. १९९४ ज्येष्ठ १ गते माधवप्रसाद शर्मा र ठेगाना लंजुं.बाट ‘प्रेमी रोदन’ शीर्षकमा कविता छापिएको पाइन्छ । त्यसैगरी वि.सं. १९९४ आषाढ ५ गते माधवप्रसाद शर्मा घिमिरेको नाम र लंजुं. ठेगानाबाट ‘स्वदेश–भक्ति’ शीर्षकमा कविता प्रकाशित भएको पाइन्छ ।
यहाँ आएर भने वि.सं. १९९४ आषाढ ५ गते प्रकाशित कविताका कविको नाम, थर र ठेगानाका आधारमा भने हामीले खोजेका कवि फेला पर्दछन् । यसबाट के पत्ता लाग्दछ भने सुरुआती चरणमा माधवप्रसाद घिमिरेले थरको साटो शर्मा लेख्ने गर्दथे । तत्कालीन समयमा ब्राह्मणले थरमा थरसँगै पनि शर्मा लेख्ने गरेका अरू पनि उदाहरणहरू पाइन्छन् ।

हस्ताक्षरको खोजी
यस आधारमा हामीले खोजेको माधवप्रसाद शर्मा अर्थात् घिमिरेको गोरखापत्रमा प्रकाशित पहिलो कविता वि.सं. १९९२ भाद्र १४ गते प्रकाशित ‘ज्ञानपुष्प’ रहेको भन्न सकिने बलियो आधार तयार भएको छ । तर माधव घिमिरे स्वयंले हस्ताक्षर गरेको अभिलेखमा प्रकाशित पहिलो कविता ‘वैराग्य पुष्प’ रहेको भन्ने कुराले पूर्ण रूपमा निक्र्योल गरिहाल्न भने सकिँदैन ।
त्यसका लागि अरू कतै हस्ताक्षर भएका सामग्री पाइन्छन् कि भनेर खोजी गर्दा वि.सं. २०६१ मा गरिएको एउटा अनुसन्धानमा त्यस्तो हस्ताक्षरसहितको राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तर्वार्ता फेला पर्दछ ।
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयमा विद्यावारिधि (पीएचडी) उपाधिका लागि कृष्णराज डीसीले गर्नुभएको “राष्ट्रकवि माधवप्रसाद घिमिरेका फुटकर कविताहरूको समीक्षात्मक अध्ययन” शीर्षकको शोधप्रबन्धमा परिशिष्टका रूपमा राखिएको अन्तर्वार्तामा माधव घिमिरेले स्पष्ट उत्तर दिएको पाइन्छ –
“शोधार्थी ः यहाँको पहिलो फुटकर कविता कुन हो ?”
“कवि घिमिरे ः मेरो पहिलो कविता ‘ज्ञानपुष्प’ हो । यो कवितामा मेरा स्वरहरूभन्दा प्रेमप्रसाद भट्टराईद्वारा लिखित विरक्त पुष्पाञ्जलीका स्वर र पुराणवाचक पण्डितहरूका स्वरहरू बढी रहेका छन् ।”
माधवप्रसाद घिमिरे स्वयंले हस्ताक्षरसहित दिएको तीन पानाको यस अन्तर्वार्तामा दिइएको
शीर्षक गोरखापत्रको वि.सं. १९९२ भाद्र १४ गते माधवप्रसाद शर्माका नामबाट प्रकाशित कविताको शीर्षकसँग मिल्ने पाइन्छ ।

क्षमायाचना
डीसीलाई दिएको अन्तर्वार्तामा राष्ट्रकविले पहिलो कविताबारे मात्र जानकारी दिनुभएको छैन बरु उहाँका आफ्ना कविताको वाद, शैली र कालगत समीक्षा पनि गर्नुभएको छ । त्यस क्रममा उहाँले आफूलाई सौन्दर्यवादी (परिष्कारवादी) बताउँदै पछिल्ला कविताहरूमा क्रमशः परिष्कार गरिएको उल्लेख गर्नुभएको छ । ‘दुलही हिमाल कञ्चनजङ्घा’लाई आफ्नो सर्वोत्कृष्ट कविता बताउँदै बाइस वर्षमा त्यसले पूर्णता पाएको बत(ाउनुभएको छ । यसरी कवितामा परिष्कार गर्दै जाँदा कविले आफ्ना प्रारम्भिक कवितालाई कविता नमानेको र अरूले पनि उल्लेख नगरिदिए हुन्थ्यो भन्नुभएको छ ।
उहाँकै शब्दमा “‘गौरीकाल’भन्दा पहिलेका केही कवितालाई छाडेर अरूलाई म उति महŒव दिन्नँ । ‘नवमञ्जरीकाल’का कवितालाई त चर्चा नगरिदिए हुन्थ्यो भन्ने मलाई लाग्छ ।” स्मरणीय के छ भने ‘नवमञ्जरी’ वि.सं. १९९४ र ‘गौरी’ वि.सं. २००४ ताकाका रचना हुन् ।
तर दुर्भाग्यवश यस आलेखमा माधवप्रसाद घिमिरेको इच्छाविपरीत उहाँले उल्लेख नै नगरिदिए हुन्थ्यो भनेका कविता केलाइएको छ । यसप्रति हामी क्षमायाचना गर्दछौँ । तर यो उहाँका कृतिको जगको उत्खनन गर्दै साँचो इतिहास निर्माणका लागि असल मनसायले प्रेरित रहेको विनय गर्दछौँ । माफ गर्नोस् राष्ट्रकवि ! तपाईँको इच्छाविपरीतका नै कविता खोजी गर्नै प¥यो ।

निष्कर्ष
यस आधारमा वि.सं. १९९२ भदौ १४ गतेको गोरखापत्र साप्ताहिकको प्रथम पृष्ठमा माधवप्रसाद शर्माका नामबाट प्रकाशित ‘ज्ञानपुष्प’ कविता नै माधवप्रसाद घिमिरेको पहिलो प्रकाशित कविता रहेको देखिन्छ । साथै, माथि सन्दर्भका रूपमा प्रस्तुत गरिएका विभिन्न अध्ययनहरू मूल स्रोत (यस सन्दर्भमा गोरखापत्र) सम्म प्रवेश नगरी गरिएका पत्ता लाग्दछन् ।
त्यस क्रममा स्वयं माधवप्रसाद घिमिरे पनि अन्योलमा रहेको र भिन्न शीर्षकको कविता भनी जानकारी दिने गरेको देखिन्छ । तर लेख र अध्ययनका नाममा मूल स्रोतसम्म नपुगी गरिने अध्ययन सामग्री समस्या हुने देखिन्छन् । अनि त्यस्तै सामग्री पुरस्कृत पनि हुने र पुरस्कृत भएकै आधारमा थप प्रामाणिक मान्ने गरिएको पनि देखिन्छ । त्यस्ता अध्ययन, निष्कर्ष र पुरस्कारले पछिल्लो पुस्ताका अध्येतालाई गुमराहमा राख्ने काम गर्दछ र गलत इतिहास लेखनलाई दुरुत्साहन गर्दछ ।

(माधवप्रसाद घिमिरेको पहिलो प्रकाशित कविता र गोरखापत्रमा प्रकाशन वर्षका बारेमा गोरखापत्रमा थप टिप्पणी प्रकाशित हुनेछैन ।– प्रधानसम्पादक)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?