लक्ष्मी उप्रेती
सानो परिवारको आशा, भरोसा र विश्वासको एउटै केन्द्र थियो– नरेश । एक्लो छोरो भएर पनि नरेश निकै नै सज्जन थियो । नरेशका बाआमाको प्राण नरेशमै बसेको थियो । ऊ पढाइलेखाइमा पनि निकै होशियार थियो । बाआमाले कति दुःखले एमएसम्म पढाएका हुन् भन्ने कुरा नरेशलाई राम्रैसँग थाहा थियो र उसलाई हेक्का पनि थियो ।
पढाइ सकिएको केही समयपछि नै उसले आफ्नै बलबुताले देशकै ठूलो लिकर कम्पनीमा काम गर्ने अवसर पायो । जागिरे जीवनको सुरुदेखि नै तलबका रूपमा नरेशको आर्जन पनि राम्रै थियो । कुनै व्यसनको अम्मली नभएको हुनाले घरमा आवश्यकीय खर्च गरेर उसले आम्दानीलाई बचतमा परिणत गर्दै लगेको थियो ।
समय बित्दै गयो । उसको बिहे गर्ने गाइँगुइँ कुरा चल्न थाल्यो । बिहे गर्ने उमेर पनि भएकै थियो । उसको स्वभाव चाल पाएर ठाउँठाउँबाट केटीका कुरा पनि आउन थाले । अन्तिममा आमाबुबाले नै रोजेको केटीसँग नरेश बिहे गर्ने निष्कर्षमा पुग्यो । केही दिनमा इन्द्रेणी नामकी पढेलेखेकी केटीसँग उसको बिहे भयो ।
त्यो घरकी बुहारी बनेर आएकी इन्द्रेणी पनि सुशील थिइन् । घरपरिवारको इज्जत गर्ने संस्कारी बुहारी भएकोमा आमाबुबा दङ्ग थिए । वर्षदिनमा नै नरेशको छोरो जन्मिएर परिवारमा अर्को एउटा खुसी थपियो । त्यसरी नै अर्को दुई वर्ष नबित्दै छोरी पनि जन्मिई । बुबाआमा, छोराबुहारी, नातिनातिनी माया र अपनत्वले भरिएको परिवारका रूपमा समाजमा नमुना नै बनेको थियो ।
आफ्नो काममा जहिले पनि संवेदनशील नरेश निकै इमानदार थियो । सहयोगी र सुशील नरेश कामका क्रममा केही समयका लागि विदेश जानुपर्ने भयो । नरेश विदेश जाने भएपछि घरमा खुसीको अर्को तला थपियो तर विधिको विडम्बना ! नियतिको खेल कसले देखेको हुन्छ र ? निर्मम दैवले त्यो सुन्दर परिवारको खुसियाली खोस्यो । नरेशको विदेशको यात्रा त्यो परिवारका लागि दुर्भाग्य बन्यो । ऊ चढेको प्लेन दुर्घटना भएर अचानक शून्यमा बिलायो ।
यो हृदयविदारक घटनाले एउटा सुन्दर र सुखी परिवारमाथि ठूलो बज्रपात प¥यो । आमाबुबा, श्रीमती र बालखा छोराछोरीमा दुःखको पहाड नै खस्यो । छरछिमेकको सान्त्वना उनीहरूका लागि मलम हुने कुरो त थिएन । तथापि सान्त्वनाका गुच्छाहरू बाँडेर थुमथुम्याउने प्रयास छिमेकीहरूले गरिरहे निकै समयसम्म ।
नरेशको अभावले घरको वातावरण नै सुनसान भयो । परिवारका सबै सदस्य भावशून्य भएभैmँ भएका थिए । यस्तो बेला उनीहरूले छटपटिँदै दिन काट्थे, पीडारूपी आँसु पिएर रात काट्थे । यही क्रम निकै दिन चलिरह्यो ।
केही समयपश्चात् विस्तारै बुहारी नित्यकर्ममा जुट्न थालिन् । घरसँगै बाहिरी व्यवहारमा पनि उनको सहभागिता बढ्दै गयो । आमाबुबाका भने आँखा ओभाएका थिएनन् । नरेशका छोराछोरीलाई हेरेर टोलाउने गर्थे ।
समयको पदचाप आफ्नै गतिमा चलिरह्यो । हरेक दिन बाहिरी व्यवहार मिलाउने भन्दै बुहारी घरबाट हिँड्थिन्, मुस्किलले मात्र बिहान–बेलुका घरमा हुन्थिन् । समयसँग हातेमालो गर्न बिर्सिएका वृद्ध आमाबुबाले बुहारीले दिएको खानु र एकअर्कालाई हेराहेर गरेर अाँसु बहाउनुबाहेक अरू सबै सबै बिर्सिसकेका थिए ।
नरेशले छाडेर गएको दुई वर्ष भइसक्यो । आमाबुबा सुकेर थला परिसकेका छन् । नातिनातिनालाई होस्टलमा राखेर बुहारी यो काम त्यो काम भनेर दिनभर बाहिर जाने । कहिलेकाहीँ उनीहरूलाई झकझक्याउन उमेर मिल्ने छिमेकीहरू आउँथे । त्यसबेला मात्र उनीहरूको आवाज निस्कन्थ्यो । नत्र शून्यता ओडेर उनीहरू कोठामा गुम्सिँदै दिनरात बिताउन थालेका थिए ।
जति जति समय बित्दै गयो त्यति त्यति ती वृद्ध दम्पतीको जीवन जटिल जटिल हुँदै गयो । उनीहरूको स्थिति झन्झन् बिग्रँदै गएको आभास छरछिमेकमा सबैले गर्न थाले । यस्तैमा एक दिन पल्लाघरका वृद्ध जोडी छिमेकी उनीहरूको घर आए । कोठाको एक छेउमा कुक्रुक्क परेर बसेका ती बूढाबूढी झ्यालतिर हेरेर टोलाइरहेका थिए । मानाँै झ्यालका सिसाबाट देखिने क्षितिजमा आँखा बिछ्याएर नरेशसँग उनीहरू मौन वार्तालाप गरिरहेछन् ।
‘के छ दाजु हालखबर ?’ खुला भएको कोठामा पस्दै छिमेकीले सोध्यो ।
आवाजबाट झस्किएर अनायासै दुवै जनाले टाउको घुमाउँदै पुलुक्क हरे । अनि भक्कानिँदै ‘दैवले किन उल्टो खेल खेलेकोे, हामी जानुपर्ने तर छोरो गयो । हाम्रो काल चैँ किन आएन भाइ ?’ अवरुद्ध भई दुवै रुन थाले । वाक्यहीन जस्तो भएर ती छिमेकी पनि उनीहरूछेउ गएर टुक्रुक्क बसे । एकातिर नरेशको अभावले बूढाबूढी गलेका थिए भने अर्कातिर बूढाबूढीका कुरा स्ुन्ने कोही पनि भएनन् । त्यसैले यिनीहरूलाई यस्तो वाक्य बोले हुन् भन्ने छिमेकीले बुझे । असह्य पीडाको बोझले थिचिएर उनीहरूले एकआपसमा निःशब्द टुलुटुलु एकोहोरो हेरिरहे ।
‘भाइ, श्रावणकुमार जस्तो हाम्रो छोरो त बितेर गयो । अब यो घर पनि हाम्रा लागि भएन ।’ बर्रर आँसु झार्दै बूढाको मुखबाट एकाएक यस्ता शब्द निस्किए । बूढी दुई हातले मुख छोपेर घुँक्कघँुक्क गर्न थालिन् ।
‘दाजु, भाउजू किन यस्तरी बैरागिनु भएको ? के गर्नु, छोरोको दिन त्यति नै रहेछ । बुहारी छिन्, नातिनातिना छन् । अब यिनैको मुख हेर्नु पर्छ नि ! छोराले बनाएको घर छाड्दा तपाईंहरूलाई झन् विरक्त लाग्न सक्छ ।’ गाँठी कुरा थाहा नपाएका छिमेकी भाइले सम्झाउन खोजे ।
‘त्यो निर्दयी बुहारीको कुरा नगर, भाइ । छोरो फेरि नफर्किने बाटोमा गयो तर उसैले पसिना बगाएर बनाएको घरमा उसको स्मृति गाँसिएको त छ नि ! हाम्रो स्मृति पनि हामीबाट खोसेर बुहारीले अब हामीलाई वृद्धाश्रम पु¥याउने तरखरमा लागेकी रहिछ । हामीलाई यो घर छाड्ने मन त कसरी हुन्छ र ? छोरोको माया गाँसिएको र छोरोको छायाँ रहेको यही घरबाट हाम्रो लास निस्कियोस् भन्ने हाम्रो त चाहना छ तर के गर्नु भाइ, अब हाम्रा हातमा केही रहेन । दैव लागेपछि यसरी खनिँदा रहेछन् हरे !’ आफ्नो भनाइसँगै बूढामान्छे रुन थाले ।
उनीहरूले यसो भनेपछि छिमेकी जोडी स्तब्ध भए । यस्तो होला भन्ने सोच्दै नसोचेको कुरा सुन्दा एकछिन त उनीहरूको नै होसै उडेजस्तो भयो । त्यस्ती संस्कारी भनिएकी बुहारीले यस्तोसम्म गर्ली भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् तर त्यही संस्कारी भनिएकी बुहारी अचानक यस्ती भएर बूढाबूढीलाई परास्त पारेकोमा उनीहरू पीर मान्दै के बोलौँ के बोलौँ भएर अक्क न बक्क भए ।
निकैबेर रोएर थाकेपछि आँसु पुछ्दै फेरि हात जोडेर आफैँ भन्न थाले, ‘बरु भाइ तिम्रो छोराले कोसिस गर्दा नरेशको अफिसबाट हाम्रा लागि केही सहयोग जुट्न सक्छ कि भनिदेऊ न ।’ अनुनय गरे ।
‘हुन्छ दाजु, आज नै म उसलाई भन्छु । नरेशले आफ्नै कार्यालयमा जागिर लगाइदिएर गरेको गुन हाम्रो छोराले तिर्न सके हामीलाई पनि सन्तोष हुने थियो ।’ नरेशले लगाएको गुनप्रति छिमेकी भाइले कृतज्ञता जनाए र एकछिनमा बाहिरिए ।
बेलुका छोरोलाई नरेशका आमाबुबाले भनेको कुरा सुनाए र उनीहरूलाई सक्दो सहयोग गर्न भने । आमाबुबाले पूरै कुरा भन्न नपाईं नरेशको नामबाट अफिसले दिने सम्पूर्ण सुविधाको रकम बुहारीले एकमुष्ट बुझिसकेको कुरा छोराले भन्यो । यो कुरा सुनेर उनीहरूलाई झड्का लाग्यो र पुर्पुरोमा हात राखे । त्यस क्षण छोरासँगको बिछोडमा रुँदारुँदा धमिलिएका आँखा लिएर दुई बूढाबूढीले एकजोडी परेवालाई लखेटिरहेको मलेवालाई नियालिरहेको सम्झेर आद्र भए ।