logo
२०८१ मंसिर १० सोमवार



सत्य असत्य

शनिवार |


सत्य असत्य


गायत्री श्रेष्ठ

तिमीसँग मनका धेरै कुरा पोख्न मन थियो तर कुन्नी केले हो जहिले पनि तिमीलाई फोन गर्छु, समय मिलाउँछु भन्दाभन्दै त्यसै बिर्सिन्थेँ । भोलि त पक्कै गर्छु भन्थेँ फेरि पनि त्यस्तै । कहिलेकाहीँ त लाग्थ्यो तिमीसँग मनका कुरा पोख्न र सुन्न लेखेकै रहेनछ क्यार ! त्यसैले सधैँ यस्तै यस्तै भइरहेको तर मनले त तिमीसँग धेरै कुरा गथ्र्यो र आफूलाई हल्का अनुभव पनि गर्थें । त्यत्तिकै मात्र त कहाँ सन्तुष्ट हुने रहेछ र प्रत्यक्ष कुराकानीको मजा नै बेग्लै । तिमीसँग मेरो परिचय पनि धेरै पुरानो होइन । आजभन्दा तीन÷चार वर्ष पहिला मात्र हाम्रो परिचय भएको थियो । त्यो पनि एउटा कार्यक्रममा । त्यतिबेला नै मैले तिमी बिरामी भएको कुरा थाहा पाएको हुँ तर स्वस्थ पनि भइसकेकी थियौ । किनकिन पहिलो परिचयमा नै मैले तिमीलाई अपनत्वको अनुभव गरकी थिएँ । मलाई थाहा छैन, तिमीले मप्रति के सोचेकी थियौ । त्यही कार्यक्रममा थाहा पाएँ तिमी त क्यान्सर पीडित भएर पनि क्यान्सरमाथि विजय हासिल गरेकी रहिछ्यौ । तिम्रो सम्मान भयो, तिम्रो आत्मबलको प्रशंसा, तिम्रो स्वास्थ्यप्रतिको योगदान थुप्रैथुप्रै कुराका लागि । मलाई असाध्यै खुसी लाग्यो । अलिकति दुःख यस मानेमा लाग्यो कि तिमी भर्खरकै उमेरमा यो रोगद्वारा पीडित भइछ्यौ । जीवन बाँच्न भरखरै सुरु भइरहेका बेला, समाजलाई धेरै कुरा दिनुपर्ने बेलामा तर तिमी स्वस्थ भइसकिछ्यौ । अनि फेरि आश पलायो ।
म तिमीसँग घनिष्ट पनि थिइनँ तर पनि तिमीमा मैले मेरो आफ्नो छोरीको रूप देखेकी थिएँ । तिमीलाई मैले भरखरको निक्कै फुर्तिली, आत्मविश्वासी देखेँ । यो हुनुपर्ने नै थियो । त्यस्तो दृढता, आत्मविश्वास, इच्छाशक्ति नभएको भए क्यान्सरमाथि विजय प्राप्त गर्न नै सकिँदैनथ्यो । मैले सुनेकी थिएँ, तिमी त किमो लिएर तुरुन्तै फेरि अरूको सेवामा संलग्न भइहाल्थ्यौ रे । म झनै प्रभावित भएकी थिएँ ।
म पनि तिमी जस्तै क्यान्सर पीडित थिएँ । मैले पनि सबैका भनाइ अनुसार क्यान्सरमाथि विजय प्राप्त गरेकी छु रे । तिमी जस्तै म पनि सम्मानित भएकी थिएँ । सबैले भन्ने गर्छन्, ‘तपाईं त हाम्रा लागि उदाहरण हुनुहुन्छ, प्रेरणाको स्रोत हुनुहुन्छ, तपाईंले त पुनर्जीवन पाउनुभएको हो’ आदि आदि । यी सबै कुरा सुन्दा म झसङ्ग हुन्छु अझै पनि । किनकि ‘म त्यस्तो साह्रो बिरामी भएकी थिएँ र ?’ भन्ने जस्तो लाग्छ । जे होस् बिरामी भएकै रहेछु । पछि बायप्सी गर्दा त क्यान्सर नै देखिएछ र मलाई डाक्टरहरूकै सल्लाह अनुसार दिल्ली राजीवगान्धी हस्पिटलमा उपचार गरियो । यहाँ सीएमसीमा शल्यक्रिया गरेको २० दिन मात्र पुगेको थियो । फेरि शल्यक्रिया नै गर्नुपर्छ भने डाक्टरले तर म मानिनँ । त्यसो भए किमो त लिनैपर्छ भनेपछि म पनि तयार भएँ यद्यपि किमोबारे म पूर्णतः अनभिज्ञ थिएँ । तर किमोको पीडा आफूले लिएपछि थाहा पाएँ । म त किमो लिएपछि तिमी जसरी काम गर्नु त परै जावस् एक हप्तासम्म त दुःखेर रोएर बस्थेँ । छवटा किमो लिउञ्जेल दुःखाईका लागि एक हप्ता भनेर मानसिक
रूपमा तयार बस्न थालेँ । छैटौँ किमोले त झन्डै झन्डै लगेको थियो । लगे पनि मलाई पीर थिएन किनकि मैले त मेरो जीवन पूर्ण
रूपमा भोगिरहेकी थिएँ । अहिले फेरि पनि आनन्दको जीवन भोगिरहेकी छु । मलाई सबैभन्दा दुःख यस अर्थमा लाग्यो कि तिमी आफँै जिउनु पथ्र्यो । समाजलाई, राष्ट्रलाई तिम्रो खाँचो थियो । तिमीले त जीवन जिउनै पाएकी थिएनौँ । यस्तो बेलामा मलाई भन्न मन लाग्छ दैव कति निष्ठुरी ! यहाँ कसको कति आवश्यकता छ भन्ने कुरै नबुझीकन टपक्क टिपेर लग्ने । मैले सुनेँ जीवनको अन्तिम केही समय तिमीलाई असाध्यै पीडा भयो अरे । तिम्राबारे यी सब कुरा सुन्दा मलाई असाध्यै पीडा भयो । यद्यपि नाताले तिमी मेरो कोही थिएनौँ, तिम्रो र मेरो रगतको नाताको त कुरै भएन ।
मैले थाहा पाएँ तिमीले कोसिस त बेस्सरी गरेकी थियौ रे तर निष्ठुरी दैवलाई तिम्रै आवश्यकता परेछ । तिमी त्यसरी अस्पतालमा छौ भन्ने थाहासम्म पाएकी भए पनि म भेट्न आउने थिएँ अफसोस ! एकैचोट त्यो दुःखद खबर फेसबुकबाट थाहा पाएँ । त्यो रात म सुत्न सकिनँ, मन बेचैन भयो, आफैँ डाक्टर भएर पनि के हुँदो रहेछ र ! डा. उपेन्द्र देवकोटा जस्तो हस्तीले त मृत्युको अगाडि घुँडा टेक्नु प¥यो भने अरूको के कुरा ? प्रारम्भमा जे लेखेको छ त्यो नभोगी सुख छैन भन्ने कुरा ध्रुव सत्य रहेछ । मेरा मनमा अनेकौँ अन्टसन्ट कुरा खेल्न थाले । केही सीप नलागेर मैले तिम्रो आफन्तलाई फोन गरेँ । तिम्रोबारे सबै थाहा पाएपछि मलाई झनै पीडा भयो । मैले आँसु थाम्न सकिनँ । किनकि जीवनको अन्तिम समयमा मैले पनि त्यही पीडालाई सहनु पर्नेछ । त्यसका लागि आफूलाई मानसिक रूपमा तयारी बनाउनु छ । म तिमी जस्तो दह्रो हुन सक्तिन किनकि मलाई मेरो उमेरले त्यति साथ दिन नसक्ला भन्ठान्छु तर दह्रो हुने कोसिस म अवश्य गर्नेछु । मलाई मृत्युसँग डर छैन तर पीडासँग डर लाग्न थालेको छ । मेरा छैटौँ किमोको पीडासँग पनि म डराएकी थिएँ । त्यसलाई मैले
जसोतसो पार गरेँ । अब भने मलाई त्यति दह्रो आँट आएको छैन । हुन त पूर्वजन्मको कमाइ कस्तो छ थाहा छैन तर पनि मेरो मन डराएको छ । जे होस् तिमी त ईश्वरकी प्यारी भयौ, तिम्रो आत्माले शान्ति पाओस्, ईश्वरसँग तिम्रा लागि यही प्रार्थना गर्दै यिनै शब्द सुमनद्वारा तिमीलाई श्रद्धाञ्जलि अर्पण गर्दछु ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?