logo
२०८१ मंसिर ८ शनिवार



कार्टुनको सँगालो

शनिवार |
कला |


कार्टुनको सँगालो


बर्सेनि सयौँैको सङ्ख्यामा पुस्तक प्रकाशित भइरहँदा कला र कलाकारका बारेमा लेखिएका पुस्तक भने नेपालमा विरलै पाइन्छन् । कला विषयका लेखक र प्रकाशक कमी रहेको बेला कार्टुनिस्ट अविन श्रेष्ठका कार्टुनको सँगालो प्रकाशित भएकोे छ । नियमित रूपमा दैनिक पत्रिकाका लागि बनाइएका सम्पादकीय कार्टुनहरूको यो सँगालो इतिहासका पाना खोतल्न चाहनेका लागि सङ्ग्रहणीय बनेको छ ।
विगत साढे दुई दशकदेखि कार्टुन विधामा सक्रिय अविनको यो ‘बेस्ट अफ अविन’ भाग २ हो । यसअघि उहाँको कार्टुन सङ्ग्रहको पहिलो भाग २०६१ सालमा प्रकाशित भएको थियो । भाग २ मा कार्टुनिस्टले २०६२÷६३ को जनआन्दोलनपछिका आफ्ना सिर्जनालाई समावेश गर्नुभएको छ । यसको प्रकाशक बुक आर्ट नेपाल रहेको छ ।
राजनीतिक कार्टुनका लागि परिचित अविनको यस सँगालोमा पनि विशेषगरी राजनीतिक विषयवस्तुमा आधारित कार्टुन नै छन् । सँगालो २०६३ साल वैशाख महिनामा समय साप्ताहिकमा प्रकाशित ‘चेक–मेट’ कार्टुनबाट सुरु हुन्छ । जनआन्दोलन र दरबारबीचको तत्कालीन शक्ति सङ्घर्षलाई यो कार्टुनले उठाएको छ । त्यसपछि आठ दलको घोडालाई समावेश गरिएको छ । आठ दलको बैठकमा सबै आ–आफ्ना धुनमा बसेर कानेखुसी गरिरहेको न्युजफ्रन्टको कार्टुनले त्यस समयको दलीय छलफल र राजनीतिक अस्तिरतालाई देखाउँछ । समय साप्ताहिकमा छापिएको एकता शीर्षकको गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको एकता र अडानलाई कार्टुनिस्टले साह्रै मोहक ढङ्गले प्रस्तुत गर्नुभएको छ । प्रचण्डको प्रथम राष्ट्रपति बन्ने चाहनासहितको अर्को कार्टुन पनि समय साप्ताहिकमा प्रकाशित भएको थियो । यो कार्टुनले २०६४ सालभरि चर्चा बटुलेको थियो । न्युजफ्रन्टको २०६५ मा प्रकाशित कार्टुनमा मोहन वैद्य र प्रचण्ड बीचको टकरावलाई देखाइएको छ भने नागरिक दैनिकमा प्रकाशित सेनापति र प्रचण्डबीच द्वन्द्व प्रकरणबारेको कार्टुन पनि पुस्तकमा समेटिएको छ । मधेसी जनाधिकार फोरममा रहेको चरम गुटबन्दी र तत्कालीन समयमा एक गुट माओवादी पक्षमा अर्को गुट एमालेको पक्षमा रहेको कार्टुनले फोरमको अस्थिर राजनीतिप्रति व्यङ्ग्य गरेको छ । नेपालको अस्थिर राजनीतिका कारण छिटोछिटो बदलिने सरकारबारे २०७३ सालको कान्तिपुरको कार्टुनले दर्शाउँछ । प्रचण्ड प्रधानमन्त्री बनेर नयाँ तस्बिर प्रधानमन्त्रीको लहरमा झुण्ड्याउन नपाउँदै देउवाले ‘यो पनि झुण्ड्याइ राखम्... नौ महिनापछिको मिति राखेर !’ भनेको कार्टुनले तत्कालीन नेपाली राजनीतिको यथार्थ बोलेको छ ।
अविनले समय साप्ताहिक, न्युजफ्रन्ट साप्ताहिक, नागरिक÷रिपब्लिका दैनिक, कान्तिपुर÷द काठमाण्डु पोष्ट दैनिकमा प्रकाशित कार्टुनहरू पुस्तकमा समावेश गर्नुभएको छ । यसका साथै उहाँको नियमित ‘गजब छ बा’ स्तम्भका पकेट कार्टुनहरू पनि सङ्ग्रहमा छन् । गोरखापत्र दैनिकबाट कार्टुन छाप्न सुरु गर्नुभएका अविनले दर्जनौँ दैनिक साप्ताहिकमा आफ्ना कार्टुन प्रकाशन गर्नुभएको छ ।
२०६२÷६३ पछि नेपालको राजनीतिमा विशेष प्रभाव पार्ने सबैजसो पात्रले यहाँका कार्टुनमा स्थान पाए पनि सबैभन्दा बढी प्रचण्डलाई पाउन सकिन्छ । २०६ पृष्ठको यो सङ्ग्रहमा प्रचण्डलाई जनाउने ७२ कार्टुन समावेश छन् भने गिरिजाप्रसाद कोइरालाका १८ वटा क्यारिकेचर सहितका कार्टुन छन् । माओवादी पार्टी संसदीय अभ्यासमा आएपछिका कार्टुनको सङ्ग्रह भएकोले र त्यसपछिका राजनीतिक घटनामा माओवादी पार्टीको महŒवपूर्ण भूमिका रहेकोले प्रचण्डका क्यारिकेचर धेरै रहन गएको हो । सुरुका कार्टुनमा कोइराला र प्रचण्डका क्यारिकेचर हाबी छन् भने प्रचण्डका क्यारिकेचरयुक्त कार्टुनहरू पुस्तकका पुछारसम्म पाउन सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीका ११ वटा, माधवकुमार नेपालका १४ वटा, शेरबहादुर देउवाका १४ क्यारिकेचर सहितका कार्टुनले सङ्ग्रह भरिएको छ । यसबाहेक बाबुराम भट्टराई, उपेन्द्र यादव, पूर्वराजा ज्ञानेन्द्र शाह, सुशीलकुमार कोइराला, मोहन वैद्य आदिका क्यारिकेचरयुक्त कार्टुनले पनि पुस्तकमा राम्रै स्थान पाएका छन् । सङ्ग्रहमा २०७५ सालसम्मका कार्टुनलाई समावेश गरिएको कुरा यहाँ स्मरणीय हुन जान्छ ।
अविन युवा पुस्ताका चर्चित कार्टुनिस्ट त हुनुहुन्छ नै उहाँको कार्टुन शैली पनि अन्य कार्टुनिस्टको भन्दा बेग्लै छ । उहाँको कार्टुनमा पाइने विशेष कुरा भनेकोे कला पक्ष र शैली हो । नेपालमा इलुस्ट्रेसन शैलीमा कार्टुन बनाउनेको सङ्ख्या धेरै छ तर अविनका कार्टुनहरूले सही मानेमा कार्टुनको स्वाद पस्कने गर्छ । यो सङ्ग्रह आम मानिसका साथै कलामा रुचि भएका र कार्टुनिस्ट बन्न चाहनेका लागि राम्रो खुराक बन्न सक्छ । क्यारिकेचर विधामा अविनको शैलीलाई युवा पुस्ताले पछ्याउन पनि थालेका छन् ।
कार्टुन कला त हुँदै हो, पत्रकारिता पनि हो । यो कला नेपाली पत्रकारितामा २०१४ सालबाट सुरु भएको हो । यो कला सौन्दर्यका लागि नभई चेतना र विकृति विसङ्गतिबारे जनमानसलाई चेतनशील÷जागृत बनाउन महŒवपूर्ण माध्यम हो । पाठकको पहिलो रोजाइमा परेको पत्रकारिताको एक विधा कार्टुनले तत्काल मानिसलाई हास्यरसका साथ सचेत त बनाउँछ नै समयलाई खोतल्दै इतिहासका पानालाई पनि कोट्याउन निकै सहज बनाउँछ ।
सङ्ग्रहका कार्टुनले २०६२÷६३ पछिको नेपालको आर्थिक, राजनीतिक, सामाजिक अवस्थालाई स्पष्ट देखाउँछ । यो सँगालो कलाकारका लागि मात्र नभई राजनीतिकर्मी, इतिहास खोज्न चाहनेका लागि समेत महŒवपूर्ण हुन सक्छ । पुस्तक रङ्गीन क्लेवरमा सजिएको छ ।

 केशवराज खनाल 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?