देवराज खरेल
घामछाया हेटौँडाको हेटौँडाको हावापानी
यसैलाई पिएर म भएको छु अभिमानी
एक चिम्टी माटोमाथि परिचय खुलेपछि
मात लाग्छ कलेजोमा सयपत्री फुलेपछि
धरा यही गरा यही खेतीपाती सबै यही
बसेको छु रमाएर दुःखसुख सबै सही
दिन उही रात उही जून उही घाम उही
फुलाउँदै बसेको छु हृदयमा जाईजुही
उदाएर छातीभित्र प्रकाशको न्यानो घाम
यै माटोमा रमा भन्छ बनाएर उच्च धाम
गरूँ खेती अक्षरको अक्षरको बालीनाली
फस्टाएको हेर्न पाऊँ शिल्प शैली शक्तिशाली
जपिरहूँ तिमीलाई गाइरहूँ तिमीलाई
छाम्दा आफ्नै मुटुभित्र पाइरहूँ तिमीलाई
पिइरहूँ प्रेम धारा तिम्रो निर्झरी शक्तिमा
बिताऊँ जिन्दगी बाँकी तिम्रै उर्वर मट्टीमा ।