भेषराज बेल्बासे
नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक बमबहादुर मिश्रको ‘साइक्लिङ’ विगत तीन वर्षदेखि जारी छ । सबेर उठ्यो र डाँडाकाँडामा साइकल चलायो । बिहानको तालिका सुनाउँदै विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुखसमेत रहनुभएका मिश्र भन्नुहुन्छ, ‘तराईमा साइकल चढेरै हुर्केको हुँ । त्यसैले मेरा लागि नौलो कुरा त रहेन तर साइकल चढेर प्राप्त हुने फाइदाबारे भने ‘अपडेट’ भएको छु ।’ आफ्नो साइकल मोहलाई थप व्याख्या गर्दै उहाँले सुझाव दिनुभयो, ‘मर्निङ वाक’को सट्टा साइकल चढेर हेर्नुस् । ‘इस्टामिना’ वृद्धि हुन्छ, खाना रुच्छ, निद्रा लाग्छ, ‘एन्जाइटी’ हुँदैन । भोक र निद्रा लागेपछि सबै कुरा पुग्यो नि ।’
आठ महिनाअगाडि नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट सेवा निवृत्त हुनुभएका महेश्वरलाल श्रेष्ठले पनि साइकल चलाएको आठ वर्ष पूरा भयो । कर्णाली, नेपालगञ्ज, पोखरालगायत राजधानी बाहिरका दर्जनौँ ठाउँको के कुरा विदेश पुग्दा पनि उहाँ समूह मिलाएर ‘साइक्लिङ’ गर्न भ्याउनुहुन्छ । यो अवधिमा उहाँको साइकल मोहलाई पछ्याउनेको सङ्ख्या सयौँ पुग्यो होला ।
‘साइक्लिङ’ मोहबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो, मेरो स्वास्थ्यको पाटो एउटा हो । अर्को काठमाडौँ वरिपरिका डाँडाकाँडा, दर्शनीयस्थलको भ्रमण साइकल नै चलाएर गरेँ । साइकलको ठाउँमा अन्य सवारी साधन प्रयोग गरेको भए सयौँ लिटर पेट्रोल÷डिजेल खपत भइसक्थ्यो होला ।’
यसैगरी दुई वर्षदेखि जिम छाडेर ‘साइक्लिङ’ छान्नुभएका आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तवादे श्रेष्ठले भने शरीरका लागि चाहिने कसरत पुग्नुका साथै शरीर फुर्तिलो राख्न यसले सघाएको अनुभव सुनाउनुभयो । साइकल चलाएपछि उहाँको बढेको सुगर पनि सामान्य अवस्थामा आयो । युगेश भन्नुहुन्छ, साइकलका फाइदा कसरी व्याख्या गरौँ । यो त अनुभूति गर्ने कुरा हो । दैनिक ‘साइक्लिङ’ गर्नेलाई झट्टै रोगले छुँदैन । यो चाहिँ पक्का हो ।’
वातावरणका साथै स्वास्थ्यका दृष्टिले ‘साइक्लिङ’को महŒव धेरै छ । कोभिड सुरु भएयता ‘हेल्थ क्लब’ र ‘जिम सेन्टर’ ठप्पै भएपछि त ‘साइक्लिङ’ गर्नेको सङ्ख्या पनि बढ्दो छ तर दैनिक कामकाजका लागि साइकलमै हुइँकिन भने उपत्याकाभित्रका सडकले साथ दिँदैन ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष सीएन पाण्डेलाई बन्दाबन्दीले जुराइदियो ‘साइक्लिङ’ । २५ वर्षअगाडि पोखरामा ‘साइक्लिङ’ गरेको स्मरण गर्दै पाण्डे भन्नुहुन्छ, ‘पर्यटन क्षेत्रमै लागेका २५ जनाको ‘साइक्लिङ’ समूह छ । दैनिक ३० देखि ४० किलोमिटरको हाराहारीमा ‘साइक्लिङ’ गर्छौं भने बिदाको दिनमा ८५ किलोमिटरसम्म पनि गर्ने गर्छौं ।’ पाण्डेको साइकलमोह यसरी बढ्यो कि अब फेरि ‘हेल्थ क्लब’ खुले पनि ‘साइक्लिङ’ छाड्ने मन छैन । काठमाडौँमा साढे दुई दशकदेखि बसोबास गर्दै आए पनि उपत्यका वरिपरिको सौन्दर्य नियाल्ने मौका भने साइकलले दिएको बताउने पाण्डेले ‘साइक्लिङ’लाई आन्तरिक पर्यटनसँग जोडेर केही काम गर्ने योजना पनि बनाएको सुनाउनुभयो ।
वातावरण र स्वास्थ्यका लागि राम्रो हुँदाहुँदै पनि अहिले साइकल चढ्नका लागि राजधानीका सडक उपयुक्त छैनन् । मोटरसाइकलदेखि माइक्रोबस लगायतका सवारी साधनको हेपाहा प्रवृत्तिका कारण राजधानीका सडक साइकलमैत्री नभएको साइकलप्रेमीहरूको गुनासो छ ।
महानगरपालिकाले सडकमा साइकलका लागि छुट्टै ट्र्याक तयार गरिदिने हो भने साइकल चढ्नेको सङ्ख्या ह्वात्तै बढ्ने सरोकारवालाको भनाइ छ । राजधानीमा बढ्दो प्रदूषणको कारण खुम्चिएका बन्दाबन्दीले गर्दा फेरिएको वातावरणमा जुर्मुराएका छन् । अभियानकर्ता, व्यवसायी, उच्चपदस्त कर्मचारीलगायत ठूलो सङ्ख्याले आफ्नो साइकल मोहलाई फेरि बढाएका छन् तर राजधानीका सडकको जटिल अवस्थाले साइकल डाँडाकाँडामा कुदाउन साइकलप्रेमी बाध्य छन् ।
पछिल्लो समय वातावरण संरक्षणको सवाल होस् या व्यक्तिगत स्वास्थ्यका लागि होस् साइकलमोह बढेको छ तर राजधानीका सडकमा साइकल चढ्नेहरूलाई अन्य सवारी साधन चढ्नेले गर्ने व्यवहारमा सुधार ल्याउन जरुरी छ । यो सुधार नभएकोले होला धेरै साइकलप्रेमी खुम्चन बाध्य छन् तर साइकल यात्रालाई अभियानकै रूपमा विकास गर्दै लैजान सके सरकारलाई पनि ‘साइकल लेन’ निर्माणमा दबाब पुग्ने भनाइ वातावरणविद् भूूषण तुलाधरको छ । सुन्दा अनौठो लाग्ने भए पनि वातावरणविद् तुलाधर साइकलमै हुइँकिन थालेको तीन दशक भइसक्यो । उहाँ हरेक दिन साइकलबाटै आवतजावत गर्नुहुन्छ । अभैm पनि उहाँको साइकल मोह थोरै पनि घटेको छैन । बरु साइकल चलाउँदा वातावरण प्रदूषणको भागीदार बन्नु नपर्ने भएकाले यसको प्रयोग बढाउन उहाँले जोड दिनुभयो ।
नेपालमा जति पनि सवारी साधन दर्ता भएका छन्, ती अधिकांश बागमतीमा छन् । तीमध्ये ९० प्रतिशत काठमाडौँ उपत्याकाभित्र गुड्छन् । देशकै राजधानी र ठूलो सहर भएकोले पनि यहाँ सवारी साधन प्रयोग गर्नेको सङ्ख्या अधीक छ । विविध कारणले हुने ट्राफिक जामको अत्यासलाग्दो अवस्थामा साइकलको विकल्प नभएको साइकलप्रेमीहरूको दाबी छ ।
भाडामा लिने छैनन्, किन्ने चाहिँ बढे
‘कोरोना सङ्क्रमणपछि विदेशी पर्यटकको मुख देख्नै पाइएन, साइकल भाडामा लिएर चलाउने पर्यटकसँगै नेपाली पनि हराए’, ग्राहकले रोजेका साइकल भाडामा दिँदै आउनुभएका काठमाडौँस्थित क्षेत्रपाटीका बिके माउन्टेन बाइकका सञ्चालक सुनील श्रेष्ठले भन्नुभयो । दिनको पाँच सय रुपियाँमा भाडा लिएर साइकल चलाउन दिने उहाँको व्यवसाय कोरोनाअगाडि राम्रै थियो तर जब बन्दाबन्दी सुरु भयो उहाँको व्यवसायमा पनि बन्दाबन्दी भयो ।
जुन उठ्न सकेको छैन तर असन कमलाक्षीमा विगत ८० वर्षदेखि आफ्ना बुबाले सुरु गरेको कमलचक्र साइकल स्टोरका वीरेन्द्रबहादुर ताम्राकारको अनुभवमा कोरोना सुरु भएपछि साइकलको बिक्री ह्वात्तै बढेको छ । भूकम्पलगत्तै भएको नाकाबन्दीका समयमा भएको व्यापार सम्झँदै उहाँ भन्नुहुन्छ,
‘नाकाबन्दीमा धेरै नै चल्यो, त्यो बेला साइकल पु¥याउन हम्मेहम्मे भयो । अहिले पनि माग बढेको छ ।’
‘साइकल भएपछि जोरबिजोर लागू भएन । एकतर्फी बाटोमा पनि उन्मुक्ति पाइयो । मोटरसाइकलको जस्तो दुई÷तीन लाख रुपियाँ लगानी गर्नु परेन । फेरि पेट्रोल र सर्भिसिङ पनि गर्नु परेन’, फेहरिस्त सुनाउँदै उहाँ भन्नुहुन्छ, ‘साइकललाई दैनिक आवश्यकता, स्वास्थ्य, वातावरण र सोखसँग जोड्नेहरूले अन्ततः साइकलकै बजार बढाइरहेका छन् ।’ सामान्य गियर भएका साइकल १० हजार रुपियाँदेखि तीन लाख रुपियाँसम्म पर्ने बताउँदै उहाँले भारत र चाइनाबाट साइकल आयात गर्ने गरेको जानकारी दिनुभयो ।
व्यवसायी ताम्राकारका अनुसार धेरै पहिला भारतबाट मात्रै साइकल आयात गर्ने गरिएकोमा अहिले चीनलगायत धेरै मुलुकबाट साइकल आयात हुन्छ । भारतीय ब्रान्डमा एभन, एटलस, हिरो, रोडमास्टरलगायत छन् । चाइनिज ब्रान्ड र नाम धेरै छन् । तुलनात्मक रूपमा भारतबाट आउने साइकल बलिया र सस्ता हुन्छन् भने चीनलगायत अन्य मुलुकबाट आउने साइकल हेर्दा आकर्षक देखिन्छन् । महँगा पनि हुन्छन् । उपभोक्ताको रोजाइमा पनि यस्तै साइकल पर्ने गरेका छन् ।
ट्रेक, जाइन्ट, भिटेक, क्युब, पाथ फाइन्डर, कङ्स, केटीएम, जीटीए, रोड रोबर, एभर्सन, पोलिगन, एपेक, सन्तोषा, फिनिक्स, रोटेक्सलगायत ब्रान्डका साइकल नेपाली बजारमा उपलब्ध छन् ।
कुनै समय थियो, साइकल पसलमा साइकल सडकसम्मै सजाइएका हुन्थे । व्यापार पनि सदाबहार हुन्थ्यो । कोरोना, बन्दाबन्दी र नाकाबन्दी कुर्नु पर्दैनथ्यो तर जब फाइनान्स र मोटरसाइकल कम्पनीहरूको होडबाजीसँगै थपिएका विभिन्न ‘अफर’ योजनाले मोटरसाइकलको व्यापार दिन दुईगुना र रात चौगुना बढ्यो अनि यसको बजार भने खुम्चँदै गयो ।
पछिल्लो समय साइकलप्रति मान्छेको चेतनास्तर बढेको अनुभव गर्नुहुन्छ राष्ट्र बैङ्कका निर्देशक मिश्र । यसलाई अझै बढाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । स्वास्थ्यसँगै दैनिक कामकाजमा पनि साइकललाई प्रवेश गराउन सके इन्धन बचतदेखि समय र वातावरणको संरक्षणमा योगदान पुग्ने भन्दै उहाँले भन्नुभयो, ‘मलाई दौरासुरुवाल लगाउनु परेन भने साइकल चढेरै जान्छु नि । मानौँ एक लाख जनाले साइकल चढे भने कति पेट्रोलियम पदार्थको बचत हुन्छ होला ।’ कार्यालयले उपलब्ध गराएको सवारी कार्यालय समयमा प्रयोग गर्ने बाहेक अरू काममा साइकल नै चढ्ने गर्नुहुन्थ्यो राष्ट्र बैङ्कबाट निवृत्त महेश्वरलाल पनि । साइकलका लागि उपयुक्त सडक मात्रै भइदिए साइकलको साथ नछुट्ने उहाँ बताउनुहुन्छ ।
क्षमताभन्दा धेरै सवारी साधन
राजधानीका सडकमा सडकको क्षमताभन्दा धेरै सवारी साधन छन् । यस्तो अवस्थामा यिनै सडकमा साइकल गुडाउनु भनेको फलामको चिउरा चपाउनुजस्तैै हो । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादव भन्नुहुन्छ, ‘सवारीको सङ्ख्या बढेको बढ्यै छन् । त्यसमाथि देशकै केन्द्र हो यो । ७७ वटै जिल्लाबाट पनि सवारी साधान आउने जाने हुन्छ । काम विशेषले आएका हुन्छन् । कुन सवारी साधन कति दिन बस्छ कुनै तथ्याङ्क हुँदैन । यसै पनि राजधानीमै सवारीको चाप धेरै छ ।’ कोरोना सङ्क्रमणपछि सडकमा साइकलको सङ्ख्या बढेको उहाँको पनि अनुभव छ । जोरबिजोर छल्नेदेखि सार्वजनिक यातायात प्रयोग गर्न डराउनेहरूको रोजाइमा साइकल परे पनि साइकल चढ्नेहरू बढी मात्रामा मुख्य सडकभन्दा ‘अफरोड’मा बढी रहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ वरिपरि यति धेरै ठाउँ छन्, जहाँ ‘साइक्लिङ’का लागि जाँदा ‘मुड फ्रेस’ नहुने कुरै छैन । लाँकुरी भञ्ज्याङ, डोलेश्वर, सूर्यभञ्ज्याङ, गोदावारी, सुन्दरीजल, शिवपुरी, ककनी, चोभार, चिसापानी, कुलेखानी, नुवाकोट, बनेपा, चन्द्रागिरि, चाँगुनारायण, सेतो गुम्बा, रानीवन, नागार्जुन लगायातका धेरै यस्ता ठाउँ छन्, जहाँ पुगेर ‘साइक्लिङ’को अनुभव लिन सकिन्छ ।
फाइदै फाइदा
योग तथा प्राकृतिक चिकित्सक बद्रीप्रसाद लामिछाने योग, ध्यान र व्यायाम तीनवटै कुराको फाइदा साइकल चढ्दा मिल्ने बताउनुहुन्छ । युरिक एसिडको समस्या, मुटुरोग, मधुमेह, क्यान्सर, जोर्नीसम्बन्धी रोग, बाथ, पार्किन्सन, सुगरलगायतको उपचार के हो भन्दा सहज उत्तर छ उहाँको ‘साइक्लिङ’ । ध्यान र कसरत एकैपटक गर्ने माध्यम ‘साइक्लिङ’ भएको पनि उहाँले जानकारी दिनुभयो । हुन पनि हो, साइकल किन चढेको भनेर सोध्ने हो भने अहिले अधिकांशको उत्तर हुन्छ– स्वास्थ्यका लागि ।
शरीरको तौल बढ्न नदिने, मोटोपनामा कमी ल्याउने, शारीरिक र मानसिक थकान हटाउने र अरू धेरै शारीरिक फाइदा पुग्नुका साथै साइकल चलाउँदा हृदय रोगको जोखिम कम गर्न सहयोग पु¥याउने पनि चिकित्सक लामिछानेको भनाइ छ । दैनिक ३० मिनेट साइकल चलाउन सुझाव दिँदै उहाँले साइकल चलाउँदा स्मरण शक्ति पनि अन्य व्यक्तिको तुलनामा १५ प्रतिशतसम्म बढ्ने तथा तनाव, चिन्ता, उदासीनता जस्ता समस्या पनि कम हुने बताउनुभयो ।
महेश्वरलालकै उदाहरण हेर्दा पनि हुन्छ, उहाँलाई घुँडा दुखाइदेखि धेरै समस्या थियो । दुई वर्षसम्म लगातार फिजियोथेरापी र अकुपञ्चर गर्नुभयो । उहाँमा अहिले स्वास्थ्यको कुनै पनि समस्या छैन । त्यसो त आफ्नो सुगरलाई सन्तुलनमा राख्नुभएका युुगेश स्वास्थ्यका दृष्टिले साइकल अचुक औषधि नै ठान्नुहुन्छ ।
‘साइक्लिङ’लाई प्रोत्साहन
ग्रिन डे, साइकल डे, माउन्टेन बाइक ¥याली, साइकल ¥याली, बाइक फ्राइडे लगायतका विभिन्ने कार्यक्रममार्फत बैङ्क तथा वित्तीय संस्थाले ‘साइक्लिङ’लाई प्रवद्र्धन र प्रोत्साहन गर्दै आएका छन् । बैङ्कहरूले साइकल खरिद गर्न खोज्नेका लागि शून्य प्रतिशत ब्याजदरमा नै ऋण दिने व्यवस्था मिलाएका छन् । एक महिनाअगाडि नबिल बैैङ्क र मेगा बैङ्कले ग्राहकलाई मन परेको साइकल किन्नका लागि योजना नै सार्वजनिक गरे । योजनाअनुसार मेगा बैङ्कले साइकल पारखी ग्राहकले बैङ्कको क्रेडिट कार्डमार्फत साइकल किन्न सक्ने जनाएको छ । शून्य प्रतिशत ब्याजदर रहेको योजनाअन्तर्गत बैङ्कले ग्राहकलाई १२ महिनादेखि १८ महिनासम्मको सरल मासिक भुक्तानीमा साइकल किन्ने सुविधा प्रदान गरेको छ । अहिलेको परिस्थितिमा साइकल यात्रा स्वास्थ्यका लागि राम्रो र वातावरणमैत्री पनि भएको भन्दै योजना ल्याइएको बैङ्कले जनाएको छ ।
यस्तै नबिल बैङ्कले पनि शून्य प्रतिशत ब्याजदरमा साइकल ऋण योजना अगाडि सारेको छ । पछिल्लो समय व्यायाम हलहरू बन्द भएको र मान्छेहरू चेतनशील भएका कारण यस्तो योजना ल्याएको बैङ्कले जनाएको छ । ग्राहकलाई दुई लाखसम्मका साइकल खरिद गर्न डाउन पेमेन्ट गर्न नपर्ने बैङ्कले जनाएको छ । यसका लागि बैङ्कले विभिन्न साइकल बिक्रेता कम्पनीसँग सम्झौता पनि गरिसकेको छ ।