प्रेममान डङ्गोल
नेपाल तान्त्रिकहरूको देश हो । त्यसैले यहाँ जति पनि देवीदेवता छन्, चाडपर्व छन्, तीमध्ये धेरैलाई तान्त्रिक विधिविधानअनुसार मानिन्छ, पुजिन्छ । त्यही भएर होला, धेरै देवताको पूजा बलि दिएर तान्त्रिक विधिअनुसार गरिन्छ । देवीदेवताका नाच पनि तान्त्रिक विधिअनुसार नै नचाइन्छ । काठमाडौँ उपत्यकाका नेवारले मनाउँदै आएको मोहनी पनि तान्त्रिक विधिअनुसार मनाइने चाड हो । फेरि मोहनी भनेको दशैँचाहिँ होइन ।
परापूर्व कालदेखि नै उपत्यकामा मनाइँदै आएको देवताहरूको जात्रा र चाडपर्वको परम्परा आजसम्म पनि कायम छ । नेवार संस्कृति र संस्कारको मूल रहस्य नबुझी तान्त्रिक विधिअनुसार गरिँदै आएको पूजा, जात्रा, पर्व र चाडलाई कतिपयले खिसीट्युुरी पनि गर्छन् । तर उनीहरूले एउटा कुरा के बुझेका छैनन् भने यो देश, यो उपत्यका नेपालमण्डल त्यसै बनेको होइन, तान्त्रिक विधिअनुसार नै बनेको हो ।
यहाँ जुनसुकै काम गर्नु परे पनि तन्त्रमन्त्रको विधिअनुुुुुुुुसार गर्नुपर्छ । यो विधि चलिरहेको पनि छ । यही भएर नेपाल तान्त्रिकहरूको देश भनी चर्चित भएको हो । राजा गुणकामदेवले कलिगत संवत् ३८२५ मा कान्तिपुर भनी नामकरण गरेर एउटा नयाँ देश स्थापना गरे । यो देश स्थापना गर्दा तान्त्रिक हिसाबले अजिमा अर्थात् देवीको खड्ग आकारको देश स्थापना गरे । अनि यहाँ जति पनि अजिमा देवी छन्, सबै तान्त्रिक विधिअनुसार नै स्थापना भएका हुन् । राजा गुणकामदेवले कान्तिपुर देश त्यसै बनाएका होइनन्, उनले रहरले पनि बनाएका होइनन् । माता महा(लक्ष्मी देवीले उनलाई देवीको खड्ग आकार आउने गरी देश बनाउनु भनी सपनामा आदेश गरेकीले अठार हजार घर निर्माण गरी तान्त्रिक विधिअनुसार कान्तिपुर देश निर्माण गरेका हुन् ।
हुन पनि होे, कान्तिपुरमा भएका आठ अजिमा देवी अर्थात् अष्टमातृकाका स्थानलाई रेखाङ्कन गरेर हेर्ने हो भने उत्तरतर्फ चुच्चो र दक्षिण तर्फ बिँड परेको खड्ग आकारको हुन्छ । कायाष्टमी अर्थात् भाद्र शुक्ल अष्टमीका दिन पिङ्गल देवी अर्थात् अजिमा देवी परिक्रमा गर्न जाने भनी आठवटी देवीको परिक्रमा गर्न जाने मेला पनि लाग्छ । यिनै अष्टमातृका देवीको स्थान कता पर्छ भनी हेर्न रथी धनशमशेरको ‘काम कला रहस्य’ नामक पुस्तकमा पनि उल्लेख छ । अनि फेरि पुरानो पूजापाठ गरिने थ्याःसफूू नामक पुस्तकमा पनि उल्लेख छ । यी पुस्तकका अनुसार अजिमा देवी अष्टमातृका क्रमशः यसप्रकार छन्– १) तीन धारा पाठशालापछाडि रहेकी ‘पासिक्वः अजिमा’– ब्रह्मायणी २) सिंहदरबारको अगाडि रहेकी ‘लुंमरि अजिमा’– भद्रकाली, माहेश्वरी ३) सैनिक मुख्यालय परिसरभित्र रहेकी ‘फिब्वः अजिमा’– कौमारी ४) पचलीमा रहेकी
‘नै अजिमा’– वैष्णवी ५) विष्णुमती खोला छेउमा रहेकी
‘कंगः अजिमा’– कङ्केश्वरी, बाराही ६) विष्णुमतीकै किनार छेउमा रहेकी ‘लुँति अजिमा’– इन्द्रायणी ७) ठमेलका
‘थँवहि अजिमा’– चामुण्डा र ८) नारायणहिटी दरबारभित्र रहेकी ‘चन्द्र लखु अजिमा’– महालक्ष्मी हुन् ।
यसरी तान्त्रिक विधिअनुसार देश बनाएर विभिन्न किसिमका देवताको तान्त्रिक विधिअनुसार नै पूजा गरेर चाडबाड, जात्रा मनाउँदै आइरहेका यहाँका मानिसहरू कतिसम्म शक्तिशाली छन् भने उनीहरूले देवताहरूलाई नै आफ्नो वशमा राखेर आफूले भनेजस्तै गराउँछन् । आफू पनि देवतासँग नाच सिकेर देवतासँगै नाच्छन् । त्यसैले यहाँका मानिस आफू नै देवता बनी नाच्दै आएका हुन् पनि भनिन्छ ।
तान्त्रिक विधिअनुसार मनाइने मोहनी नेवारको ठूलो चाड हो । मोहनी चाडमा नेवारले फूलपाती भिœयाउनु पर्दैन । फूलपाती भिœयाउने चलन पृथ्वीनारायण शाहले नेपाल देश विजय गरेपछि चलेको हो । बडादशैँ भन्ने चलन पनि यही बेलादेखि नेवार समुदायमा चलेको हो । यही बेलादेखि गोरखाबाट फूलपाती ल्याएर पूmलपाती भिœयाएर दशैँ मनाउने चलन चल्यो । फेरि त्यो बेलासम्म नेवारको फूलपाती भिœयाउने चलन नभएकाले गोरखादेखि फूलपाती ल्याउनु परेको पनि हो ।
नेवारहरूले शक्ति प्राप्त गर्न मोहनी चाडमा तान्त्रिक विधिअनुसार आआफ्ना घरका आगम (पूजा) कोठामा शक्तिमाता देवीको पूजा गर्दै आएका छन् । माकः (बाँदर)को आकृति भएको माटोको भाँडामा मोहनी टीका, गाजल तयार पारेर देवीकै प्रतीक खड््ग पनि देवीको मूर्तिसँगै राखी पूजा गरिन्छ । शत्रु संहार गर्ने उद्देश्यले अनि भविष्यमा आउनसक्ने विभिन्न किसिमका भय आदिबाट मुक्त भएर देवीबाट खड्ग सिद्धि प्राप्त गर्नु नै मोहनीमा गरिने पूजाको मूल उद्देश्य हो ।
मोहनीमा आगम कोठामा माकःचामा मोहनी टीका, गाजल तयार पार्दा पनि तान्त्रिक विधिअनुसार नै गर्नुपर्ने र अजिमा देवीको खड्ग पनि तान्त्रिक विधिबाटै जगाएर स्थापना गर्नुपर्छ । आश्विन शुक्लपक्षको प्रतिपदा घटस्थापनाका दिन घरघरको आगम कोठामा जमरा राखेर दिनहुँ पूजा गरिन्छ भने अष्टमीका दिन खड्ग स्थापना गरेर मोहनीको पूजा गरेर दशमीका दिन देवीलाई चढाएका पूmल, अक्षता र नैवेद्य झिकेर घरका थक(ाली (मूली)ले आगम कोठास्थित देवताको तन्त्रसाधना गरी राखेको खड्ग जहान परिवारका सबैलाई हातमा राखिदिँदै खड्ग सिद्धि प्रदान गरिन्छ । खड्ग सिद्धि लिइसकेपछि त्यही तन्त्रशक्ति भएको खड्ग समाएर पायाः (देउता चढेको मानिस) निस्किन्छ । खड्ग सिद्धि लिँदा दैवी शक्ति प्राप्त भएर शत्रुमाथि विजय गर्न सकिने र हाम्रो जीवनमा आइरहने दानव रूपको भय हटाई आत्मरक्षा हुने विश्वास गरिन्छ । खड्ग सिद्धि दिँदा पनि खड्ग हातमा राखिदिँदै ‘खड्ग सिद्धिरस्तु’ भनी आशिष दिने चलन छ । यसरी आशिष दिँदा र लिँदा शत्रुहरूले केही गर्न नसक्ने गरी अजिमा देवीले रक्षा गरिरहने विश्वास गरिन्छ । यसरी पायाः निकाल्ने भनेकै शत्रु संहार गरेर लोककल्याण गर्नु नै हो । मोहनीको मोहनी टीका लगाई, फूल सिउरेर, रातो क्वखा, रातो कपडाको माला, देवीको प्रसाद ग्रहण गरेर तान्त्रिक विधिअनुसार आआफ्ना शरीरमा देवी र देवता जगाएर काम्दैकाम्दै खड्ग समाएर हेर्दै डरलाग्दोसँग बाहिर आएका पायाःहरूले एकएकजना शत्रु छउन्जेल खोज्दै खोज्दै चटक्कै काट्छु भन्दै महिषासुर दैत्यको प्रतीक कुभिण्डोलाई काट्ने चलन छ । कान्तिपुर, ललितपुर र भक्तपुरका दरबारिया पायाः, त्यस्तै टेबहाल, वटु, महाबौद्ध, यट्खा, कोहिटी, ठमेल, असन, कीर्तिपुर र विभिन्न ठाउँका विभिन्न पायाःहरू पनि निस्किरहेका हुन्छन् । नेपालका राजाले पनि बाह्र वर्षमा एक पटक मखन टोलको सिंह दोबाटोमा भद्रकाली देवीको खड्गसँग आफ्नो खड्ग साट्ने गर्थेे । त्यसैगरी १२ वर्षमा एक पटक मरुसत्तलअगाडि पचली भैरवको खड्गसँग आफ्नो खड्ग साटी खड्ग सिद्धि लिने चलन थियो । अनि त्यसकै शक्तिले देश र जनताको रक्षा गरिराख्छ भन्ने जनविश्वास थियो । पहिला मल्ल राजाहरूले पनि खड्ग समाएर दरबारबाट पायाः आउने गथ्र्यो । पछि राजाको प्रतिनिधिका रूपमा दरबारिया पायाःको सामने राजाको खड्ग राखेर मनाइने गरिएको हो भनिन्छ ।
मोहनीमा पायाः निकाल्न पनि जीव बलि भोगको प्रतीक अन्डाको सगुन दिनुपर्छ । देवीले महिषासुर दैत्यलाई वध गर्न पनि कटौरामा मद पिएर अन्डाको सगुन लिएर मात्र मारिदिएकी हुन् । देवी भागवतमा पनि यो कुरा यसरी उल्लेख गरिएको पाइन्छ, ‘ततः क्रुद्धा जगत्माता चण्डिका पान मुक्तमम् । पपौ पुनः पुनश्चैव जहा सारुण लोचा ।’ यसको अर्थ हो क्रोधित भइरहेकी जगत्माता चण्डिका देवीले बारम्बार मदिराको कटौरा पिएर आँखा रातो पारी हाँसिन् । देवीले महिषासुरलाई मारेको दिन आश्विन शुक्लदशमी भनी देवी भागवतमा भनिएको छ । त्यसैले यस दिनलाई विजयोत्सवका रूपमा विजयादशमी पनि भनिएको हो ।
मोहनीमा नौ दिनसम्म आगम कोठामा पूजा गर्नु त छँदै छ । नवरथ जाने भनी धिमेका साथमा अन्य बाजा बजाएर विभिन्न तीर्थमा गई स्नान गरेर देवताको दर्शन गर्ने चलन पनि छ । नवरथ जाने सन्दर्भमा प्रतिपदादेखि नवमीसम्म भक्तजनहरूले क्रमैसँग शङ्खमूलको शंकर तीर्थ– देवता श्रीमहालक्ष्मी, भचाखुसीको निर्मल तीर्थ– देवता दोला अजिमा, पचलीको पञ्चजाली तीर्थ– देवता पचली भैरव, टोखाको मनोरथ तीर्थ– देवता बछलादेवी, टेकु दोभानको चिन्ता मार्ग तीर्थ– देवता सिकाली अजिमा, कंकेश्वरीको भवानी तीर्थ– देवता कङ्केश्वरी र तलेजु भवानी, गुह्येश्वरीको शान्त तीर्थ– देवता गुह्येश्वरी । यी नौवटै तीर्थमा गएर नुहाई देवीदेवताका दर्शन गरिन्छ । यसरी विभिन्न तीर्थमा जाने सन्दर्भमा नागराजको दर्शन गरिन्छ । यी नागराजमध्ये शङ्खपाल, अपलाल, तक्षक, भद्रपाल, सुन्दर, वरणपाल, वासुकी, वरुण, नन्द, अपनन्द र सोमसिकी मुख्य हुन् । यो बेला दाफा भजन पनि गाइन्छ । मालश्री गीत गाउने र धुन बजाउने पनि गरिन्छ । दुर्गा भवानीका विभिन्न रूपलाई पूजा गर्ने सन्दर्भमा नवरात्रिको नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
यसरी नौ दिनसम्म पूजा गर्दा मुख्य पूजा तीन दिन गरिन्छ । अष्टमीका दिन देवीको विशेष पूजा गरेर ‘कुछि भ्वय्’ खाने, नवमीका दिन ‘स्याक्व त्याक्व’ भन्दै देवीदेवतालाई जीव बलि दिनुका साथै खसीबोकालाई मार हान्ने गरिन्छ । अनि आगम कोठा र देवीदेवताका मन्दिरमा बलि दिएका पशुको टाउको ‘सी’ लिएर ‘सीकाःभू’ (टाउकोका विभिन्न अङ्ग परिवारका सदस्यहरूमा बाँड्ने) गर्छन् । अनि दशमीका दिन टाढाटाढा गएका परिवारका सदस्य घर आई साथै बसी मोहनी पूजा गरेर घरपरिवारका थकालीले सबैलाई देवीको प्रसाद टीका र जमरा लगाई खड्ग सिद्धि पनि प्रदान गर्ने चलन छ । यस्तो तान्त्रिक विधि विधानले भरिपूर्ण नेपालको संस्कृतिलाई अन्धविश्वास भन्दै खिसीट्युुरी गर्नु हुँदैन ।