रामशरण हुमागाँई
जिजीविषाका लहरहरूसँग पौडिँदै
महत्वाकाङ्क्षाका गगनचुम्बी
पहाडहरू उक्लँदै
पिठ्यूँभरि बोकेर
अधकल्चा सपनाहरूको भारी
लड्दै उठ्दै फेरि लड्दै उठ्दै
कतिचोटि लडियो
फेरि कतिचोटि उठियो
थाहै नपाई
यति टाढा पुगिसकिएछ
घरको मझेरीबाट
तातेताते गर्दै
सुरु भएको यो यात्रा
बिर्सिएर
जिन्दगी भन्नु नै
पहाडै पहाडको शृङ्खला
हो भन्ने कुरा
हरेकपल्ट
उक्लँदै गरेको पहाडको थुम्कोलाई नै
गन्तव्यको अन्तिम टुङ्गो
ठानेर हिँडिरहेँ
बादलजस्तै उडिरहेँ
पानीजस्तै बगिरहेँ
थाहा छैन कहिले र कहाँसम्म
दौडिरहनुपर्ने हो अझै
जिन्दगीको यो यात्रा ।।