logo
२०८१ मंसिर १० सोमवार



हिमालपारिको गाउँ

शनिवार |


हिमालपारिको गाउँ


राजन रावत


हिमालपारिको गाउँ भनेर चिनिएको र चारैतिर हिमालले घेरिएको सानो हिमाली उपत्यका हो– लिमी । यहाँ पुग्न सहज भने छैन । लिमी प्रवेशका लागि दुइटा नाका छन् । पश्चिमतर्फ नाम्खा गाउँपालिकाको वडा नम्बर ५ स्थित चार हजार छ सय मिटर अग्लो नारा लेक हुँदै हिल्साबाट र अर्को पूर्वतर्फको पाँच हजार मिटर अग्लो न्यालु लेकबाट । यी दुवै लेकबाट लिमी जान तयारी राम्रै गर्नुपर्छ । हिल्सादेखि सिमकोटसम्म र हेक्पा खोला हुँदै लेकढिँगाबाट लिमी लाप्चासम्मको अधिकांश भागमा सडक बनिसकेका कारण जताबाट गए पनि गाडीमा यात्रा गर्न सकिन्छ । कच्ची सडक भएका कारण यात्रा भने महँगो पर्छ । बाटोमा अनेकन प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न भने राम्रै पाइन्छ ।
हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्ने लिमीको तीनगाउँ जाङ, हाल्जी र तील समुद्री सतहदेखि झन्डै तीन हजार पाँच सयदेखि चार हजार मिटरको उचाइमा पर्छ । यी गाउँ जिल्लाको सदरमुकाम सिमकोटदेखि झन्डै सत्तरी किलोमिटर टाढा उत्तरपश्चिम दिशामा पर्छ । उपत्यका वरिपरि हिमालले घेरिएको हुनाले जिल्लाका अन्य गाउँबस्तीबाट भौगोलिक रूपमा लिमी अलग वा विमुख छ । हाल लिमीका तीन गाउँमा बासोबास गर्ने घरधुरी सङ्ख्या १८० र जनसङ्ख्या एक हजार १७७ जना छन् । यहाँको शैक्षिक स्थिति हेर्दा विद्यालय शिक्षा पढेका भन्दा परम्परागत बौद्ध गुम्बा शिक्षा हासिल गरेकाको सङ्ख्या धेरै छ । गुम्बा शिक्षा (भोटलामा भाषा) पनि प्राप्त गरेको सङ्ख्यालाई साक्षर मान्दा करिब ८५ प्रतिशत जनसङ्ख्या साक्षर छन् । झन्डै चार दशकअघि स्थापना भएको प्राथमिक तहको सरकारी वा सामुदायिक विद्यालयबाट विद्यालय तह पार गर्ने व्यक्ति मुस्किलले एक÷दुई जना मात्रै भेटिन्छन् । तीन गाउँमा तीनवटा सामुदायिक विद्यालय भए पनि हाल तील गाउँको विद्यालय बन्द छ । विद्यार्थी नभएपछि यहाँको विद्यालय बन्द भएको हो । हल्जी गाउँको सुनखानी र जाङ गाउँको भृकुटी प्रावि भने सञ्चालित छन् । एउटा अनौठो पक्ष के छ भने लिमीका ती दुवै विद्यालयमा कोरोना कहर हँुदा पनि पठनपाठन भने जारी छ ।

ताक्लाकोटमा आश्रित
परापूर्व कालदेखि चीनको ताक्लाकोटमा लिमी आश्रित छ । सुनदेखि ऊनसम्म सबै उतैबाट आयात हुन्छ । खेतीयोग्य जमिन कम भएका कारण लिमीका बासिन्दालाई आफ्नै उत्पादनले तीन महिना धान्न पनि मुस्किल पर्छ । हल्जी गाउँका फुन्जोक तामाङका अनुसार यहाँका मानिस वर्षको छ महिना ताक्लाकोटमै काम गर्ने र मङ्सिरमा एक वर्षका लागि आवश्यक पर्ने सामानको जोहो गरी गाउँ फर्कनु सामान्य हो । दक्ष नभएका कारण काम भने मजदुरी नै गर्ने हो । गत वर्ष काम गर्न गएका असीभन्दा बढी लिमीका बासिन्दा पहिले हिमपातले र पछि कोरोना सङ्क्रमणका कारण नाका बन्द भएपछि अहिले पनि ताक्लाकोटमै छन् । काम उतै, आवश्यक सामान उतै भएपछि यहाँका बासिन्दा चीनको ताक्लाकोटमा आश्रित हुनु परेको हो । यो उनीहरूको रहर नभएर बाध्यता हो ।
काम गर्न सक्नेले ताक्लाकोट पुगेर कमाइ गर्छन् । नसक्नेका लागि कात्तिक र मङ्सिरमा चिनियाँ पक्षले टिप्परमा लाप्चा क्षेत्रसम्म आवश्यक सामान ल्य(ाइदिन्छ । अहिले सडक बनेपछि लिमीवासीका टिप्परमा सामान ढुवानी गरेर ल्याइन्छ । सडक नहुँदा चौँरी, झोपा (याक बच्चा) र घोडामा सामान बोकाएर ल्याइने गरिन्थ्यो । केही दिनअघि मात्र लाप्चा क्षेत्रमा चिनियाँ पक्षले चामल, मैदा, नुुन र तेल ल्याएर लिमीवासीलाई निःशुल्क उपलब्ध गराएको थियो ।

भेषभूषा र रहनसहन
लिमीवासीले लगाउने भेषभूषा चिनियाँ खाम्पा र छोवा समुदायको परम्परागत भेषभूषासँग मिल्न जान्छ । उनीहरूसँग काम गर्नुपर्ने र व्यापार गर्नुपर्ने भएपछि देखासिकीमै धेरै कुरा भित्रिएको हुनसक्ने स्थानीयवासीको भनाइ छ । खाम्पा र छोवा समुदाय आधुनिकतातर्फ लागे पनि लिमीमा यो भेषभूषा अहिले पनि देख्न पाइन्छ । स्थानीय लाक्पा तामाङका अनुसार कसरी र कहाँबाट लिमीवासीका पुर्खा यहाँ बस्न आइपुगेको भन्नेबारे खासै जानकारी दिने व्यक्ति भेटिएका छैनन् । तर यहाँको भेषभूषा र रहनसहन भने तिब्बतीसँग मिल्दोजुल्दो छ । लिमीमै उत्पादन हुने बक्खु, राडी, पाखी, च्यालाक (लगाउने कपडा), सुम्वा (महिलाले लगाउनु जुत्ता), दोचा हुन् । योबाहेक अन्य लत्ताकपडा र भाँडाकँुडा सबै तिब्बतबाटै आउने गर्छ । वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीवासीका सबै कुरा तिब्बतीसँग मिल्छ । लिमीको आफ्नो छुट्टै पहिचान भन्ने केही नभएको उहाँको तर्क छ ।

वैवाहिक सम्बन्ध
एउटा अनौठो पक्ष नै भन्नुपर्छ, लिमीको धेरै कुरा तिब्बतीसँग मिले पनि वैवाहिक सम्बन्ध भने हुने गरेको छैन । लिमीका तीन केटीले ताक्लाकोटवासीसँग उतै काम गरी बस्ने क्रममा विवाह गरे पनि हालसम्म तिब्बती केटीलाई लिमीका कुनै पनि युवाले विवाह गरेको पाइएको छैन । यसो हुनुको कारण लिमीमा बहुपति प्रथा भएकाले होला भन्ने स्थानीयवासीको भनाइ छ । बहुपति भएका कारण युवतीको सङ्ख्या धेरै छ । लिमीकै युवतीले केटा मान्छेको अभावमा विवाह नगरी बस्नुपर्ने बाध्यता छ । वैवाहिक सम्बन्ध नभए पनि लिमी र ताक्लाकोटका अन्य सबै सम्बन्ध भने प्रगाढ छ । हुम्लाकै अन्य समुदायभन्दा लिमीका बासिन्दालाई चिनियाँ पक्षले गर्ने व्यवहार पनि फरक छ ।

सामाजिक मान्यता
राजाको ऐनभन्दा खोलाको चैन ठूलो भन्ने भनाइ लिमीमा अहिले पनि विद्यमान छ । सङ्घीयता कार्यान्वयनपछि साविकको गाउँ विकास समिति अहिले गाउँपालिकाको वडामा परिणत भएको छ । गाउँलेले वडा अध्यक्ष र सदस्य निर्वाचित गरेका छन् । दलित नभएका कारण उक्त कोटाको सदस्य पद खाली छ । तर यहाँका तीनवटै गाउँमा गाउँपिच्छे अर्का अध्यक्ष पनि छन् । केही कुरा गर्नु प¥यो भने तिनै अध्यक्षले गरेको निर्णय अन्तिम हुन्छ । नयाँ कुरा गर्नु प¥यो भने पनि तिनै अध्यक्षको नेतृत्वमा गाउँको सहमतिमा हुने गर्छ । सङ्घीयताअघि गाउँमा आन्तरिक रूपमा निर्वाचन गरेर अध्यक्ष चुन्ने गाउँ पनि हो लिमी । गाउँलेले गरेको सामूहिक निर्णयअनुसार वर्षको एक पटक हुने भेलामा कुनै घरधुरीको उपस्थिति हुन सकेन वा जानकारीबिनै भएन भने बीस हजार रुपियाँ जरिवाना लाग्ने गर्छ । लिमीको अनौठो र रोचक अर्को पक्ष के छ भने १५ वर्ष उमेर नकाटुन्जेल र साठी वर्ष कटेपछि गाउँमा हुने सार्वजनिक काममा लगाउन पाइँदैन । यो नियम सबैले मान्नै पर्छ । बौद्ध धर्मावलम्बी भएका कारण र लिमीको आफ्नै नियम भएकाले जङ्गली जनावर र पक्षी मारकाटमा पनि पूर्ण रोक लगाइएको छ । यही नियमले हो कि, नाउरका बथान गाउँको नजिक पनि देख्न पाइन्छ ।

गाउँ छाड्ने बढ्दै
लिमीका जाङ र तिल गाउँका बासिन्दा काठमाडौँ जाने क्रम बढ्दोे छ । जाङ गाउँका ३३ र तिल गाउँका १२ घरधुरीले गाउँ छाडिसकेका छन् । विकट गाउँमा आउजाउ गर्न र काम गर्न कठिन भएपछि हुनेखानेले गाउँ छाड्दै गएका हुन् । यसरी गाउँ छोड्नेका घरमा ताला लाग्ने र जग्गा भने गाउँले मिलेर खेती गरेर खाने गरेका छन् । छोडेर जानेले जिन्सी सामान भने सँगै लिएर जान्छन् । लिमी छोडेर जाने सङ्ख्या बढ्न थालेपछि लिमीका बासिन्दाका लागि बाटो, बिजुली र सञ्चारको पहुँच बढाएर बस्ने वातावरण तयार पार्नुपर्ने तर्क कर्णाली प्रदेश सभा प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीको छ ।
हल्जी गाउँको रिङछेलिङ गुम्बा एक हजार दुई सय वर्ष पुरानो हो । यो गुम्बाकै कारण हल्जी गाउँका कसैले पनि गाउँ छोड्न नपाउने नियम छ । कसैले आपूmखुसी गाउँ छोडेमा नराम्रो हुने धार्मिक मान्यता छ । यही कारण कसैले पनि गाउँ छोड्न सकेका छैनन् । विकट ठाउँ भए पनि चीनसँगको व्यापार र छ महिनाको उतै बसाइले समाज आधुनिकतातर्फ ढल्कँदै छ । युवकयुवतीको तिब्बती आधुनिक सङ्गीतमा रुचि बढेको छ । यस पटकको लिमी यात्रामा तीन गाउँको बसाइपछि यी सबै कुरा अनुभूति गर्न पाइयो । मोबाइल र इन्टरनेट पहँुच भने यहाँ सहज छैन ।

नागरिकता र सीमा पास मात्रै
नेपाली नागरिक भएका कारण नेपालबाट नागरिकता र सीमा पास मात्रै लिमीका बासिन्दाले लिने गरेका छन् । त्यो पनि आवश्यक नभएको भए सायद लिने थिएनन् होला । अहिले पनि लिमीका तीन गाउँमा चिनियाँ ढिके नुन प्रयोग हुन्छ । जिल्लामा आएको ढुवानी अनुदानको आयो नुन लिमीमा पुग्दैन । स्थानीय बासिन्दाका अनुसार हालसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न तीन पटक लिमीका बासिन्दाले पाएका छन् । यद्यपि यतिखेर चीनबाट खाद्यान्न नआएपछि चार सय साठी क्विन्टल खाद्यान्न लिन सदरमुकाम सिमकोटको लिमिटेड शाखा आइपुगेका छन् केही लिमीवासी । पछिल्लो समय केही विकास निर्माणका काम पनि यहाँ हुन थालेका छन् । अनुदानलगायत अन्य कार्य जिल्लाका अरू गाउँबस्तीमा पुग्ने भए पनि लिमी यो सुविधाबाट वञ्चित रहँदै आएको थियो । पछिल्लो चार पाँच वर्षयता प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नागरिकता र सीमा पास वितरणका लागि घुम्ती शिविर सञ्चालन हुन थालेपछि लिमीवासीलाई सहज भएको छ ।

न्येलु प्रथा
अविवाहित महिलाबाट जन्म भएको सन्तानलाई यहाँको भाषामा न्येलु (ठिमाहा) र विवाहित सन्तानलाई रङलु (आफ्नो सन्तान) भनिन्छ । अन्य समाजमा अवैध मान्ने चलन भए पनि लिमीको तीन गाउँमा न्येलु राख्ने चलनलाई वैधानिक प्रथाका रूपमा लिइन्छ । न्येलुलाई दोस्रो दर्जाको सन्तानका रूपमा स्वीकार गरी बाबुले सामाजिक परम्पराअनुसार आफ्नो क्षमता र रखौटी श्रीमतीसँगको आपसी समाझदारीका आधारमा अंश दिने चलन छ । यो यहाँको एक अनौठो चलन हो । परापूर्वकालबाट यो प्रथा चल्दै आएको उनीहरूको विश्वास छ । यो प्रथाको विकास किन र कसरी भयो भन्नेबारे बुझ्दा यसको प्रत्यक्ष सम्बन्ध विवाह प्रथासँग जोडिएर आएको हो भन्ने स्थानीयवासीको भनाइ छ । यहाँ बहुपति प्रथाको चलन रहेको र यसले सबै भाइको साझा श्रीमती हुने तथा पुरुष महिलाको सङ्ख्या सन्तुलित नहँुदा न्येलु प्रथा विकल्पका रूपमा विकास भएको तर्क राख्नेहरू धेरै छन् ।

छ महिना प्राकृतिक बन्दाबन्दी
विश्वमै कोरोना त्रासले बन्दाबन्दीदेखि निषेधाज्ञासम्म गर्नु प¥यो । तर लिमी उपत्यकामा छ महिना प्रकृतिले नै बन्दाबन्दी गर्छ । मङ्सिरपछि हुने हिमपातले गर्दा लिमी जाने दुईवटै नाका बन्द हुन्छ र लिमी बन्दाबन्दीमा पुग्छ । कोही बिरामी प¥यो वा अन्य अत्यावश्यक काम प¥यो भने महँगो हेलिकप्टर भाडा तिर्नुको विकल्प हुँदैन । जेठ वा असार महिनापछि हिउँ पग्लिएमा लिमी जाने बाटो खुल्छ । गत वर्ष हिमपात धेरै भएका कारण जेठ अन्तिममा पनि न्यालु लेकको हिउँ छिचोलेर वडाध्यक्ष तामाङको टोली सदरमुकाम सिमकोट आइपुगेको थियो ।

सीमाबारे अनभिज्ञ
लिमीको लाप्चाबाट करिब एक किलोमिटर पर लोलुङजोङ पर्छ । यहाँ लिमीवासीले खर्क राख्ने र वस्तु विनिमय गर्ने गरेको स्थानीयवासीको भनाइ छ । नक्सामा के छ त्यसबारे अनभिज्ञता जनाउँदै स्थानीयवासी फुन्जोक तामाङले उक्त क्षेत्र नेपालीले उपभोग गर्ने गरेको बताउनुभयो । नेपाल र चीनबीच सीमाबारे कुनै विवाद हुनु हुँदैन भन्दै उहाँले बरु लोलुङजोङमा चिनियाँ पक्षले पशु चराएबापत लिमीका बासिन्दालाई शुल्क दिने गरेको जानकारी दिनुभयो । सीमाबारे समस्या भए नेपाल सरकारले विज्ञ टोली खटाएर चाँडो सल्टाउनपर्ने स्थानीयवासीको सुझाव छ । सीमा समस्या भयो भने आफ्नो रोजीरोटी खोसिने र दैनिक आवश्यक पर्ने सामग्री नआउने हो कि भन्ने चिन्ता पनि उनीहरूमा छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?