राजु सिलवाल
विश्वमा नै कोभिड–१९ को महामारीले प्रायः गतिविधि ठप्प भइरहेको बेला नेपालको हिमाल आरोहणले संसारको ध्यान तानेको छ । विश्वका कतिपय मुलुकले पर्यटनसम्बन्धी गतिविधिमा पूर्ण रोक लगाएको बेला नेपालमा भने हिमाल आरोहण गतिविधि सफलतापूर्वक सम्पन्न भएको छ । यही प्रसङ्गले नेपाललाई चर्चामा ल्याएको हो ।
हिमाल नै नभएको खाडी राष्ट्र बहराइनका राजकुमार शेख नासिर बिन हमाद अल खलिफासहितको टोलीले विश्वको आठौँ अग्लो हिमाल मनास्लुको सफल आरोहण गर्नुभएको छ । यो समाचारलाई विश्वका विभिन्न सञ्चारमाध्यमले प्रसारण÷प्रकाशित गरे । खाडी राष्ट्रहरूको ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका ३३ वर्षीय राजकुमार खलिफा बहराइनका राजा हमाद विन ईसा खलिफाका चौथो सन्तान हुनुहुन्छ ।
बहराइनको हिमाल आरोहणमा खास इतिहास छैन । गत वर्ष पनि बहराइनका एक जना आरोहीले हिमाल आरोहणको प्रयास गरेका थिए । यसपालि विषम परिस्थितिमा बहराइनको रोयल गार्ड टोलीलाई विशेष निर्णय गरी मनास्लु र लोबुचे हिमाल आरोहण गर्न अनुमति दिनु नेपाल सरकारको सहासिक कदम त छँदै थियो । आरोहण सुरक्षित रूपमा सफल बनाउन नेपालका कीर्तिमानी आरोहीहरूको सक्रियता पनि प्रसंशनीय रहेको थियो । यसका लागि चौबिसपटक सगरमाथा आरोहण गरिसक्नुभएका कामीरिता शेर्पा, आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमाल चढ्न सफल दक्षिण एसियाकै पहिलो आरोही मिङ्गमा शेर्पा तथा दावा शेर्पा, सानु शेर्पा र कम उमेरमा सगरमाथा आरोहणको विश्व कीर्तिमान बनाउनुभएका तासी ल्हाक्पा शेर्पा यो आरोहणमा संलग्न रहनुभएको थियो ।
नेपालमा २०७६ साल चैत ११ गते बन्दाबन्दी गरिएपछि अन्य क्षेत्र जस्तै पर्यटन क्षेत्र पनि धराशयी भयो । नेपाल पर्यटन बोर्डले यस अवधिमा ७० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ । नेपालमा सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गर्नुभएदेखि कुनै पनि वर्ष व्यावसायिक हिमाल आरोहणमा कुनै प्रकारको अवरोध भएको थिएन । हालसम्म छ हजार ५०७ जनाले नेपालको बाटो हँुदै सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
बहराइनका १५ जना तथा बहराइनको रोयल गार्डमा सम्मिलित बेलायतका तीन जना नागरिकसहितकोे पर्वतारोहण टोलीले गरेको दुईवटा हिमालको आरोहणले नेपालमा पर्यटकीय गतिविधि पुनः ब्युँताइदिएको छ । यो टोलीले पहिले लोबुचे र त्यसपछि मनास्लु हिमालको आरोहण गरेको थियो ।
वर्षकै पहिलो पाइला
विश्व पर्वतारोहण इतिहासमा २०७७ साल असोज २९ गते अर्थात् सन् २०२० को अक्टोबर १५ तारिखको दिन महìवपूर्ण साबित हुन पुग्यो । विश्वमा रहेका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये आठौँ अग्लो हिमाल मनास्लुमा यो वर्षकै पहिलो मानव पाइला पुग्न सफल भयो । राजकुमार शेख नासिरले नेतृत्व गर्नुभएको १८ सदस्यीय बहराइनको रोयल गार्ड टोलीले असोज २९ गते नेपाल, बहराइन तथा रोयल गार्डको झण्डा मनास्लुको शिखरमा फहराएको थियो । यो टोलीका आरोही तथा शेर्पा गरी कुल ५६ जना एकैदिन चुचुरोमा पुगेका थिए । टोली असोज २१ गते मनास्लु हिमालको आधार शिविरमा पुगेको थियो । हिमालमा अभ्यस्त हुन तथा आरोहण गर्नका लागि टोली आठ दिन मनास्लुमै रहेको थियो । आरोहीहरू आधार शिविरबाट १० घण्टामा चुचुरोमा पुगेका थिए । टोलीका कुनै सदस्यले पनि कृत्रिम अक्सिजन प्रयोग गरेका थिएनन् । मनास्लु हिमाल आठ हजार १६३ मिटर अग्लो छ । पश्चिम नेपालको गोरखा तथा मनाङ जिल्लामा पर्ने मनास्लु हिमाल आरोहणका लागि गोरखाको आरुघाट, जगत, सामागाउँ हुँदै मनास्लु हिमालको आधार शिविरमार्फत जाने गरिन्छ । यो हिमालमा सर्वप्रथम सन् १९५६ मा जापानी आरोही तोसियो इमानिसी र नेपाली आरोही ग्याल्जेन नोर्बुले सफल आरोहण गर्नुभएको थियो । सन् १९५६ देखि सन् २०१९ सम्मको अवधिमा दुई हजार २३० जना आरोहीले मनास्लुको आरोहण गरिसकेका छन् ।
बहराइनको टोलीले मनास्लुअघि असोज १७ गते लोबुचे हिमालको आरोहण गरेको थियो । यस टोलीका १६ जना लोबुचेको शिखरमा पुगेका थिए । टोली निर्धारित समय १० दिनमै हिमाल आरोहण गर्न पनि सफल भएको थियो । छ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल सोलुखुम्बुमा पर्छ । लोबुचेसहित विभिन्न २७ वटा साना हिमालको आरोहण अनुमतिपत्र भने नेपाल पर्वतारोहण सङ्घले दिने गर्छ । भदौ ३१ गते काठमाडौँ आइपुगेको बहराइनी टोली एक साता गोकर्णमा क्वारेन्टाइनमा बसेपछि लुक्ला हुँदै लोबुचेतर्फ प्रस्थान गरेको थियो ।
अबको लक्ष्य सगरमाथा
दुईवटा हिमालको सफल आरोहणपछि बहराइनको टोलीले अब सन् २०२१ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने लक्ष्य राखेको छ । खतरनाक हिमाल मानिएको मनास्लु हिमालको सफलतापछि अब सगरमाथा आरोहणमा टोली सफल हुने विश्वास बहराइनको सरकारले गरेको छ ।
यसपटक आरोहण टोलीको नेतृत्व गर्नुभएका बहराइनका मेजर जनरल तथा बहराइनी राजाका मानवीय सेवा तथा युवा मामिला प्रतिनिधिसमेत रहनुभएका राजकुमार शेख नासिरले मनास्लु हिमालको सफलतापछि आफ्ना सदस्यहरूको आत्मविश्वास बढ्न गएको बताउनुभयो तर सर्वोच्च शिखरको आरोहण चुनौतीपूर्ण रहेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको बहराइनको समाचार संस्थाले जनाएको छ ।
हिमालको सरसफाइ पनि
नेपालका हिमालमा फोहोरको समस्या नौलो होइन । सगरमाथामा कैयौँपटक सरसफाइ अभियान सञ्चालन गरिए पनि वर्षौंअघि फालिएका फोहोर अझै भेटिन्छन् । मनास्लु हिमाल पनि फोहोरको मामिलामा अछुतो रहेन तर यसपालि आरोहणका क्रममा पुगेका शेर्पाहरूले मनास्लुमा चार दिनसम्म सरसफाइ अभियान पनि सञ्चालन गरेका थिए । त्यसबखत अघिल्ला आरोहणका क्रममा आरोहीहरूले छाडेका फलामका डण्डी, पालमा प्रयोग भएका उपकरण तथा डोरी, टिनका बट्टा, खाना पकाउने स्टोभ, बिग्रेका ड्रम आदि गरी करिब १९ सय किलोग्राम फोहोर सङ्कलन गरिएको थियो । यसरी सङ्कलन गरिएका फोहोर स्थानीय फोहोर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो ।
न्यानो आतिथ्य
आरोहणका लागि नेपाल आउने पर्वतारोहण टोलीलाई विमानस्थलमै गएर बिदाइ गर्ने चलन विरलै हुने गर्छ । बर्सेनि नेपालमा हिमाल चढ्न धेरै टोली आउने गर्छन् । हिमालमा जस्तोसुकै कीर्तिमान कायम गरे पनि नेपालका उच्च अधिकारीले विमानस्थलमा गई बिदाइ गर्ने चलन छैन तर पर्यटन मन्त्री योगेश भट्टराई बहराइनी टोलीलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्नुभएको थियो । आफ्नै विमान चार्टर गरी आएको बहराइनी आरोहण टोलीका सदस्यलाई मायाको चिनोसहित मन्त्री भट्टराईले बिदाइ गर्नुभएको प्रसङ्गले पनि नेपाल सरकारको पर्वतारोहणसम्बन्धी प्राथमिकता स्पष्ट हुन्छ । यो टोलीलाई पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले आरोहण सफलताको प्रमाणपत्र दिनुभएको थियो भने नेपाल पर्वतारोहण सङ्घले आरोहीहरूको सम्मानमा बेग्लै स्वागत समारोह आयोजना गरेको थियो ।
आठ हजार मिटरमाथि ३७औँ पटक मनास्लु आरोहण अभियानमा वरिष्ठ पर्वतीय पथप्रदर्शक रहनुभएका विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा यसपालि मनास्लु हिमालमा तेस्रोपटक पुग्नुभएको थियो । चौबिसपटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामीरिता आठ हजार मिटरभन्दा अग्ला हिमालमा ३७ पटक पुगिसक्नुभएको छ । सोलुखुम्बुको थामे गाउँका ५० वर्षीय कामीरिता पहिलोपटक सन् १९९४ मा सगरमाथाको शिखरमा पुग्नुभएको थियो । उहाँले चोयु हिमाल आठ पटक, केटु र ल्होत्से एक÷एक पटक आरोहण गर्नुभएको छ । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ले उहाँलाई केही साताअघि मात्र आठ हजार मिटरभन्दा अग्ला हिमाल ३६ पटक आरोहण गरेबापत विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरेको थियो ।
यसैगरी आआफ्नो बेग्लाबेग्लै कीर्तिमान बनाउन सफल दाजुभाइ आरोही मिङमा शेर्पा, दावा शेर्पा र तासीलाक्पा तीन जनासँगै पहिलोपटक मनास्लुको शिखरमा पुग्नु अर्को कीर्तिमान बन्न पुग्यो । अर्को सुखद संयोग के पनि पर्न गयो भने मिङ्माले मनास्लु दोस्रोपटक आरोहण गर्नुभएको थियो । आठ हजार मिटरभन्दा अग्लो पहिलो हिमालका रूपमा बीस वर्षअघि मनास्लुमा सफलता पाउनुभएका उहाँले यसपटक दाजुभाइसँगै जाने मौका पाउनुभएको हो ।
नेपाली महिला पनि लोबुचेमा
हिमाल चढ्नेहरूले सगरमाथा आरोही वाङचु शेर्पालाई स्मरण गर्छन् । उहाँको केही वर्षअघि क्यान्सर रोगबाट निधन भएको थियो । हिमालमा मरेकाहरूका परिवारलाई राहत दिलाउन सक्रिय रहँदै आउनुभएका शेर्पाकै पहलमा सरकारले पहिलोपटक सगरमाथा आरोहीलाई लियाजो अफिसरका रूपमा पठाउन सुरु गरेको थियो । सगरमाथा आरोही सङ्घका संस्थापक अध्यक्ष वाङचु शेर्पाकी छोरी लाक्पा शेर्पालाई यसैपालि लोबुचे हिमालमा सफलता मिलेको छ । उहाँसँगै ‘राईको कम्पनी’का संस्थापक विनोदमणि राई र आरोही रिन्जी शेर्पा हुनुहुन्थ्यो । पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकको मात्र भर नपरी आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने लक्ष्य लिएर यो हिमाल आरोहण अभियान सञ्चालन गरिएको आरोही लाक्पा शेर्पाले बताउनुभयो ।
नेपालको पर्यटनलाई पुरानै स्थितिमा पु¥याउने उद्देश्यले आयोजित बरुन्त्से हिमाल आरोहणमा पनि नेपाली आरोहीलाई यही शरद ऋतुमै सफलता मिलेको छ । सगरमाथा चढिसक्नुभएका दावा स्टेफेन शेर्पाले नेतृत्व गर्नुभएको यो टोलीका सात जना सदस्य सात हजार १२९ मिटर अग्लो शिखरमा पुगेका थिए । यो आरोहणले पनि नेपाल आरोहणका लागि सुरक्षित भएको सकारात्मक सन्देश दिन सफल भएको विश्वास गरिएको छ ।
यसपटक अर्की महिला आरोहीलाई पनि सफलता मिलेको छ । नेपालको सङ्घीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको जुगल हिमशृङ्खला अन्तर्गत रहेको ग्लाल्जेन हिमालको सफल आरोहण आरोही शर्मिला स्याङतान तामाङले नेतृत्व गर्नुभएको टोलीले गरेको छ । आरोही तामाङले सगरमाथाको पनि आरोहण गरिसक्नुभएको छ । छ हजार १५१ मिटर अग्लो यो हिमाल चढ्न सात जना आरोहीको टोली गएको थियो । यसअघि २०७५ सालमा पनि सगरमाथा आरोही माया गुरुङले नेतृत्व गर्नुभएको टोलीले जुगल हिमालको पहिलोपटक आरोहण गरेको थियो ।
बहराइनका राजकुमारले दुईवटा हिमालमा सफलता प्राप्त गरेलगत्तै कतारका राजपरिवारका सदस्य मोहम्मद बिन अब्दुला अल घानी पनि हिमाल आरोहणका लागि अहिले सोलुखुम्बुमै हुनुहुन्छ । उहाँले छ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्दै हुनुहुन्छ ।
सरकारले कात्तिक १ गतेदेखि पर्यटकलाई हिमाल आरोहण र पदयात्राका लागि खुला गरेपछि हिमाली क्षेत्रमा पुनः चहलपहल हुन थालेको छ । अब अन्य आरोहण टोलीले पनि हिमाल चढ्दै छन् । बेलायत, इटाली, जोर्डनलगायत देशका आरोहीले सात हजार १२६ मिटर अग्लो हिमलुङ हिमाल आरोहणको प्रयास गर्दैछन् ।
नेपाली ट्रेकिङ कम्पनीहरूले पनि आगामी हिउँदे ऋतुमा आरोहण सञ्चालनका लागि तयारी सुरु गरिसकेका छन् । यसैक्रममा इच्छुक पर्यटकलाई सहभागी हुन आह्वान गरिएको सूचना सामाजिक सञ्जालमा देख्न सकिन्छ । यही नोभेम्बरदेखि आगामी सन् २०२१ को जनवरीसम्ममा आमादब्लमलगायत हिमाल चढ्न चाहनेका लागि आवश्यक व्यवस्था गरिने भएको छ । आगामी ऋतुहरूका लागि सगरमाथासहितको हिमाल आरोहणसम्बन्धी विज्ञापनसमेत सार्वजनिक गरिएका छन् ।
नेपालमा केही पर्यटक पदयात्रा तथा आरोहणका लागि आउनेबित्तिकै विगतकै जस्तो चहलपहल पुनः सुरु हुन्छ भन्ने आशा गर्नु हतारो हुन्छ । नेपालमा बर्सेनि घुम्न आउने गरेका तथा ‘बुकिङ’ गरेर उपयुक्त वातावरणको प्रतीक्षामा रहेकाहरूलाई अब नेपाल आउन उत्प्रेरित गर्ने काम भने अहिलेको आरोहणसम्बन्धी क्रियाकलापले पक्कै गरेको छ । बन्दाबन्दीपछि थेग्नै नसकिने अवस्थामा पुगेको नेपालको पर्यटन क्षेत्रलाई बिस्तारै क्रियाशील बनाउन यसपालिको शरद ऋतुका हिमाल आरोहण गतिविधिले सघाउने अपेक्षा गर्न सकिन्छ ।