logo
२०८१ बैशाख २० बिहीवार



चलचित्रमा तिहार

शनिवार |


चलचित्रमा तिहार


 

चलचित्र ‘स्वर्ग’मा नायिका गौरी मल्लले ‘तिहारै आयो लौ झिलिमिली’ गीतमा गरेको नृत्यलाई नेपाली चलचित्रमा देखिएको तिहारको एउटा स्मरणीय दृश्यका रूपमा लिन सकिन्छ । यस चलचित्रमा गौरी मल्लले अर्जुन श्रेष्ठकी दिदीको भूमिका निर्वाह गर्नुभएको छ ।

झिलिमिली बत्ती बालेर भव्य रूपमा मनाइने तिहारले नेपाली चलचित्रमा पनि विशेष स्थान पाउँदै आएको छ । विशेष गरी लक्ष्मी पूजा गरिरहेको दृश्य, देउसी वा भैलीका दृश्य र भाइटीकाको दृश्य चलचित्रमा देखिइरहने दृश्य हुन् ।
निर्देशक नारायण रायमाझीको ‘परदेशी’मा दशैँ र तिहार दुवैको चित्रण गरिएको छ । यो चलचित्रको एक दृश्यमा नायक प्रशान्त तामाङ दशैँको टीका थापेर वैदेशिक रोजगारका लागि घरबाट हिँड्नुभएको छ । निधारमा दशैँको टीका र जमरासहित गाउँले पिङ खेलिरहेका हुन्छन् । तिहारको दृश्यमा चाहिँ देउसी–भैली खेल्ने टोली विदेशमा परिबन्दमा परी मृत्युदण्ड पर्खेर बसेको नायकको दुःखी परिवारकहाँ देउसी–भैली खेल्न जाँदैन । भाइटीकाको दिन पनि नायककी दिदीले नायकको तस्बिरमा भाइटीका लगाएर ओखर फोर्दै शत्रु र विघ्नबाधा हटेर जाओस् भनी कामना गरेको हृदयस्पर्शी दृश्य छ ।
धेरैजसो चलचित्रमा दीपावलीका दृश्यलाई उल्लासकै रूपमा प्रस्तुत गरिएको हुन्छ । तर कुनै कुनै चलचित्रमा तिहारकै बेला पनि सङ्कट देखाइने गरिएको छ । निर्देशक तुलसी घिमिरेको सर्वाधिक सफल चलचित्र ‘चिनो’ मा तिहार मनाइरहेकै बेला चलचित्रका खलपात्र राते काइँला (सुनिल थापा) ले नायकको परिवारमाथि हमला गर्नुभएको छ । हमलामा नायकका बुबाको हत्या हुन्छ । ज्यान जोगाउन भाग्ने क्रममा नायकको परिवारका सबै सदस्य एक अर्काबाट छुट्टिएर अलग्गिन पुग्छन् । निर्देशक शम्भु प्रधानको ‘सम्झना’ चलचित्रमा रोगले थला परेकी नायिकाको घरमा भैलिनी आउने दृश्य राखिएको छ । यो दृश्य अत्यन्तै मार्मिक दृश्यका रूपमा अहिलेसम्म पनि दर्शकको मानसपटलमा बसिरहेकै छ । त्यस्तै नायक विश्व बस्नेत र भारतीय नायिका मीरा माधुरीद्वारा अभिनीत ‘अन्याय’ चलचित्रमा पनि नायिकाले तिहारमा लक्ष्मी पूजा गरेर झिलिमिली बत्ती बालेर गीत गाई नृत्यमा मस्त भइरहँदा मन्दिरमा मूर्तिको चोरी गरेको दृश्य देखाइएको छ ।
निर्देशक शम्भु प्रधानकै अर्को चलचित्र ‘स्वर्ग’मा नायिका गौरी मल्लले ‘तिहारै आयो लौ झिलिमिली’ गीतमा गरेको नृत्य नेपाली चलचित्रमा देखिएको तिहारको एउटा स्मरणीय दृश्यका रूपमा लिन सकिन्छ । यस चलचित्रमा गौरी मल्लले अर्जुन श्रेष्ठकी दिदीको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा यो सम्बन्धलाई ठूलै आकर्षणको रूपमा प्रस्तुत गर्ने चलन छ । कतिपय चलचित्रको शीर्षकबाटै यो सम्बन्धको महŒव झल्काइएको हुन्छ भने कुनै कुनै चलचित्रमा भाइटीकाकै दृश्य पनि राखिएको हुन्छ ।
दिदीभाइ, भाइटीका, दिदी, प्यारी बहिनी, निखिल दाइ केही त्यस्ता चलचित्र हुन्; जुन चलचित्रको शीर्षकबाटै दाजुबहिनी वा दिदीभाइबीचको सम्बन्ध झल्काउने खालका चलचित्र हुन् भन्ने बुझिन्छ । यस्तै गरी कृष्टि मैनालीले दोहोरो भूमिका निर्वाह गर्नुभएको ‘लक्ष्मी पूजा’ पनि तिहारको एउटा महŒवपूर्ण दिन लक्ष्मी पूजाको नाममा राखिएको शीर्षक हो । यो चलचित्रमा लक्ष्मी पूजाको दिन जन्मिएका दुई दिदीबहिनीका रूपमा कृष्टि मैनालीले दोहोरो भूमिका निर्वाह गर्नुभएको छ । यहाँ उल्लेख गरिएका चलचिमध्ये ‘दिदीभाइ’ शीर्षकको चलचित्र भने अहिलेसम्म प्रदर्शनमा आएको छैन । यस चलचित्रमा अभिनेत्री तृप्ति नाडकरले दिदीको प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । भाइहरूका रूपमा अर्जुन कार्की र सुशील क्षेत्री रहनुभएको छ । यो चलचित्र सार्वजनिक नभएसम्म यसभित्र दिदीभाइबीचको सम्बन्ध कस्तो देखाउन खोजिएको छ भन्ने कुरा चाल पाउने कुरै भएन । तर विगतमा प्रदर्शित भइसकेका चलचित्रमाथि दृष्टि दिने हो भने यो सम्बन्धलाई बडो संवेदनशील रूपमा प्रयोग गरी दर्शकको (विशेष गरी नारी वर्गको) भावनामाथि आधिपत्य जमाउन खोजेका उदाहरण भेटिन्छन् ।
‘एक्सन स्टार’ निखिल उप्रेतीले रेखा थापाको सौतेनी दाजुको भूमिका निर्वाह गर्नुभएको ‘निखिलदाइ’ मा दाजुको अपहेलना गर्ने बहिनीमाथि सङ्कट आइपर्दा सौतेनी दाजुले नै उद्धार गर्ने कथा बुनिएको छ । यसमा दाजुको बहिनीप्रतिको साँचो माया उजागर गर्ने प्रयत्न गरिएको छ । यसरी दाजु र बहिनीबीचको सम्बन्ध दर्शाउने अन्य चलचित्रमा ‘प्यारी बहिनी’ र ‘चट्टान’ पनि पर्न आउँछ । ‘प्यारी बहिनी’मा सुमिना श्रेष्ठले उत्तम प्रधानकी बहिनीको भूमिका निर्वाह गर्नुभएको छ भने ‘चट्टान’मा सञ्चिता लुइँटेलले राजेश हमालकी बहिनीको रूपमा अभिनय गर्नुभएको छ । चलचित्र ‘धर्म’मा अपराधको दुनियाँमा फँसेका भाइ सरोज खनालको पछि लाग्ने प्रहरी निरीक्षक दिदीको रूपमा कृष्टि मैनालीले अभिनय गर्नुभएको छ । यसरी अपराधी र प्रहरीको विषयलाई चलचित्र ‘विजय पराजय’मा पनि प्रस्तुत गरिएको छ । एउटा अपराधी र अर्को प्रहरीबीचको द्वन्द्वलाई दिदीभाइबीचको संवेदनशील नातामा गाँसेर बनाइएको चलचित्र ‘धर्म’मा जस्तै ‘विजय पराजय’ चलचित्रमा रूपा राना बहिनी बन्नुभएको छ । रूपाका दुई दाजु भुवन केसी र कृष्ण मल्लमध्ये एक अपराधी र अर्को प्रहरी अधिकृत बन्ने प्रसङ्गलाई प्रस्तुत गरिएको छ । भाइटीकाको दिन दुवै दाजुबहिनीको हातबाट टीका थाप्न आउने प्रसङ्गलाई बडो रोचकसँग प्रस्तुत गरिएको छ ।
चलचित्र ‘विजय पराजय’को यही भाइटीकाको दृश्यमा प्रयोग गरिएको ‘निधारैमा सप्तरङ्गी टीका लगाई’ गीतले भाइटीकाको विधि र महŒवबारे वर्णन गरेको छ । ‘भाइटीका’ शीर्षकको एउटा चलचित्रमा दिदी बन्नुभएकी झरना वज्राचार्यलाई घमण्डी नारीका रूपमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा भाइ बन्(नुभएका प्रफुल्ल राजभण्डारीका कारण दिदीको हृदय परिवर्तन भएको देखाइएको छ । ‘दिदी’ चलचित्रमा मिथिला शर्माले आफ्ना भाइबहिनीको पालनपोषणमा जीन्(दगी नै समर्पण गर्नुभएको छ । यस चलचित्रमा मिथिला शर्माले गर्नुभएको भावुक अभिनय हेरेर नरसाएका आँखा थिएनन् ।
यसरी दाजुबहिनी वा दिदीभाइबीचको सम्बन्धले नेपाली चलचित्रमा ठूलै महŒव राख्दै आएको छ । यस्ता अन्य चलचित्रमा ‘यो मायाको सागर’मा करिश्मा मानन्धरको दाजु बन्नुभएका शूरवीर पण्डित भाइटीकाको दिन पुलिससँगको मुठभेडमा मारिने दृश्य राखिएको छ । शिव श्रेष्ठ र गौरी मल्लले बहिनी र दाजुको भूमिका निर्वाह गर्नुभएको ‘मामाघर’ अनि अर्जुन श्रेष्ठले गौरी मल्लको भाइको भूमिका निर्वाह गर्नुभएको ‘स्वर्ग’ पनि उल्लेखनीय चलचित्र हुन् । रगतकै नातामा केन्द्रित यी चलचित्रबाहेक कतिपय चलचित्रमा भावनात्मक साइनो गाँसेर दिदीभाइ वा दाजुबहिनी बनेका प्रसङ्ग उल्लेख गरेका दृश्य पनि हेर्न पाइन्छ । यस्ता दृश्य धेरै चलचित्रमा छन् । यस्ता प्रसङ्गमध्ये ‘पछ्यौरी’ चलचित्रमा अभिनेता सुनिल थापाले नायिका कृष्टि मैनालीलाई बहिनी मानेको कुरा थाहा नपाउँदा सुनिल थापाको दाम्पत्य जीवनमा कलह निम्तिएको कथालाई यसतर्फको महŒवपूर्ण उदाहरणका रूपमा लिनुपर्छ । यो चलचित्रमा श्रीमतीको शङ्का निवारण गर्न सुनिल थापाले आफ्नो श्रीमतीकै अगाडि कृष्टि मैनालीबाट भाइटीका थापेको दृश्य छ । यस्तै भाइटीकाको दृश्य चलचित्र ‘पिँजरा’मा पनि राखिएको छ । यसरी नेपाली चलचित्रमा तिहारका विविध पक्ष दर्शाउने प्रसङ्ग र दृश्यले राम्रै प्रभाव छाड्न सफल भएका उदाहरण धेरै नै छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?