logo
२०८१ मंसिर १० सोमवार



‘म्ह’ पूजा

शनिवार |


‘म्ह’ पूजा


 

नेवारहरूले मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये ‘म्ह पूजा’ अर्थात् आत्म पूजा पनि एक हो । यो चाड स्वन्ति (तिहार) को चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ । यस दिन म्ह पूजाका साथै नयाँ वर्षको पनि सुरुवात हुन्छ । यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ । शरीर भन्नासाथ यसमा पञ्चतìवको संयोजन हुन्छ । पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चतìव नै हाम्रो शरीरको अस्तित्व हो । यसरी पञ्चतìवको संयोजन भएको हाम्रो शरीरलाई बर्सेनि आइपर्ने विभिन्न बाधाहरू, आपतविपत, दुःख, सुख एवं विभिन्न रोग र घटनाबाट मुक्त भएर सफलतापूर्वक जीवन चलाउन अवसर मिलोस् भनेर आत्म पूजा अर्थात देह पूजा गरिँदै आएको छ ।
आध्यात्मिक ज्ञाताहरूका भनाइ अनुसार हाम्रो शरीर स्थूल देह, सूक्ष्म देह र कारण देहको संयुक्त स्वरूप हो । स्थूल देहमा पृथ्वी, जल, तेज, वायु, र आकाश पञ्च महाभूत छन् । पञ्च ज्ञानेन्द्रिय कान, नाक, छाला, आँखा, जिब्रो छन् । पञ्च कर्मेन्द्रीय वाक् (मुख), पाणि (हात), पाद (खुट्टा), उपस्थ (लिङ्ग), गुद (मलद्वार) छन् । शब्द, स्पर्श, रूप, रस, गन्धलाई पञ्च तन्मात्रा भनिन्छ । मन, बुद्धि, अहङ्कार, मूल, प्रकृतिलाई प्राकृतिक तìवका रूपमा व्याख्या गरिएको छ । सूक्ष्म देहमा माया, कला, काल, राग, नियति पुरुष अविद्या हुन्छन् । कारण देहमा भने शिव शक्ति पुरुष, स्त्री, सदाशिव, ईश्वर, शुद्ध विद्याको पञ्चतìव संयुक्त रूपमा रहेको हुन्छ ।
म्ह पूजा गर्दा लेखिने मण्डपमा आठवटा पात भएको कमलको फूल बनाइन्छ । यसको अर्थ हो, अष्ट ऐश्वर्य । कमलको फूलको यी आठवटा पातलाई अष्ट चिरञ्जीवीको प्रतीकका रूपमा पनि लिइन्छ । त्यसैले यी आठवटा पातको अत्यन्तै ठूलो महìव छ । यी आठवटा पातलाई महेश्वरी (महादेवको शक्ति), वैष्णवी (विष्णुको शक्ति), कौमारी (स्कन्द कुमारको शक्ति), बाराही (बराह अवतारको शक्ति), इन्द्रायणी (इन्द्रको शक्ति), ब्राह्मी (ब्रह्माको शक्ति), चामुण्डा (भगवतीको शक्ति) र महालक्ष्मी अष्टमातृकाको प्रतीकका रूपमा पनि मानिँंदै आएको छ । यसरी लेखिएको मण्डपमा पूजा गर्दा अष्टमातृकाले रक्षा गर्छन् भन्ने जनविश्वास रही आएको छ । यसरी नै म्ह पूजाको मण्डपमा प्रयोग गरिने धानले गन्ध, अक्षताले रस, फूलले शब्द, जजङका (एक प्रकारको धागो)ले स्पर्श, खेलुइताः (मण्डपमा बालिने लामो मोटो बत्ती) ले रूपको प्रतिनिधित्व गर्छ । त्यसैले भुइँमा लेखिने मण्डपको भूमिलाई धर्मस्कन्दले जीवित प्राणीका रूपमा लिएको छ । हाम्रो देह बन्नलाई पनि जीव र जगत्को मण्डप मिलेको हुनुपर्छ भन्ने मण्डपशास्त्रले किटानी साथ बताएको छ ।
मौलिकताले भरिएको म्ह पूजाको दिन नेवारहरूले आफ्नो देहलाई देवता सम्झेर पूजा गर्दा आफ्नो शरीरमा नराम्रा, नकारात्मक तìव भित्रिन नसकोस्, दीनदशा नलागोस्, कसैसँग पनि ऋण लिन नपरोस्, दिनदिनै गरेका काममा सफलता मिलोस्, सु–स्वास्थ्य एवं दीर्घायु होस् भनी विभिन्न किसिमका आशीर्वाद थापेर सगुन लिएर फूल, टीका लगाउँछन् । सगुन सर्वगुण सम्पन्न खाद्य पदार्थ हो । पञ्च महाभूतले बनेको हाम्रो शरीरको पाँचवटै तìव बलिया होऊन, शरीर स्वस्थ भइरहोस् भनेर दिइने सगुनको ठूलो महìव छ । सगुनमा उसिनेको अण्डा (आकाश तìव), बारा (बायुतìव), मासु (पृथ्वी तत्व), माछा (जलतìव) र रक्सी (तेज तìव) हुन्छन् । यसरी पञ्च तìवका रूपमा दिइने सगुन नेवार संस्कारमा मात्र छ । यसलाई पद्म पुराणमा यसरी वर्णन गरिएको पाइन्छ, ‘मत्स्य, मांस, सुरा, लैह्य, चौषय भक्षय हारकै ।’
घरपरिवारका सबैलाई र पास्नी गरिसकेका बच्चालाई पनि समान रूपमा म्ह पूजा गर्ने नेवारी संस्कार छ । म्ह पूजा गर्न पूर्वतर्फ फर्काएर मण्डप बनाइन्छ । सबैभन्दा पहिले पानीले मण्डप लेखेर पानी मण्डपभित्र चामलको पिठो र अबिरले आठवटा कमलका पात फूल आकार आउने गरी लेखेर यसभित्र सबभन्दा छेउको घेरामा लाबा, त्यसभित्र भटमास, मासको गेडा, अक्षता र बीचको केन्द्रविन्दुमा तेलको मण्डप बनाइन्छ । यसरी मण्डपमा राखिने लाबालाई स्वर्गको फूल, भटमासलाई शनिश्चर, मासलाई सङ्कटा, अक्षतालाई करुणामय र तेललाई आत्माका रूपमा लिइन्छ । मण्डपलाई आफ्नो देह सम्झेर तान्त्रिकविधि अनुसार शक्ति साधना गरेर पूजा गरिन्छ । परिवारका सबै सदस्यलाई पुग्ने गरी मण्डप बनाएर सबैभन्दा माथि गणेशको रूपमा सुकुन्दा, कुमारका रूपमा खल, ब्रह्माको रूपमा कुचो भित्तामा ठड्याइन्छ । महादेवको रूपमा नाङ्लो भित्तामा अड्याई पवित्रताका प्रतीक कलश र देवतालाई पनि मण्डप बनाएर पूजा गरिन्छ । मण्डपको सिरानमा धर्मदूत र सबैभन्दा तल कर्मदूतका लागि पनि मण्डप बनाएर पूजा गरिन्छ ।
मण्डपका अगाडि क्रमैसँग परिवारका मुली वा थकालीदेखि सबैजना बसिसकेपछि घरमुली महिलाले हातमा कोतः (विशेष प्रकारको परम्परागत पूजा थाली) लिएर सबैलाई पालैपालो पूजा गरेर रातो अक्षताको टीका लगाई दिन्छिन् । त्यसपछि एक पाथी अट्ने सिंफल (परम्परागत पाथी) मा राखेका फलफूलका टुक्रा, अक्षता, फूल, टीका, गोलो सुपारी र चानचुन पैसा राखेर पालैपालो एक–एक जनालाई टाउकोमा तीन–तीन पटक खन्याएर अभिषेक गरिदिन्छिन् । मुलीले नै सबैलाई मण्डप अगाडि राखिएको बिमिरा, ओखर, कटुस, सुन्तला, भोगटे, केरा, स्याउ, हलुवाबेद, अम्बा, नास्पाती, अमला, सत्बयर, फलफूल, रोटी, मसलाको पोको, मखमली फूलको माला र कोखा (धागोको माला) भएको थाली हातमा राखिदिन्छन् । यसरी मुलीले दिएको थाली लिएर ढोगेपछि त्यसमा भएको कोखा र माला महिला मुलीले नै लगाई दिन्छिन् । खेलुइताः बालेर झलमल्ल पारेर मण्डपको अगाडि परिवारका सबै लस्करै बस्छन् ।
सबै सदस्यलाई सगुन दिने मुलीले दाहिने हातमा उसिनेको अण्डा, तारेको माछा र देब्रे हातमा रक्सीले भरिएको प्याला राखी दिन्छिन् । अण्डाको सगुन दिनुअघि दहीको सगुन दिने क्रममा दहीको कतारो देखाई त्यसमा भएको अलिकति दही बुढीऔँलाले लिएर पुरुषको दाहिने कन्चटमा र स्त्रीको देब्रे कन्चटमा दहीको टीका लगाइदिन्छिन् । यसरी सगुन दिइसकेपछि भोजको भाग पस्केर सबैलाई भोज खुवाउने गरिन्छ । यो दिन राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ११४० वर्षअघि देशका जनतालाई ऋणबाट मुक्त पारेर चलाएको नेपाल संवत् पनि फेरिन्छ । नयाँ वर्ष लागेको उपलक्ष्यमा देशभर र विदेशमा पनि नेवार र नेपाली समुदायले नयाँ वर्षको शुभकामना ‘न्हूदँया भिंतुना’ भन्दै हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?