महेश प्रसाईं
सधैँ सधैँ
सताइरहन्छ र हैरान पारिरहन्छ
बस्न टिक्न दिँदैन
उसकै मर्जी
स्वतन्त्र हुनै दिँदैन
यन्त्र जस्तै आफू खुसी चलाउँछ
मेरो पेट मलाई ।
कहिले दरबान बनाउँछ
मुङ्लानतिर,
कहिले भाडाको सिपाही बनाएर
बदनाम गराउँछ छिमेकतिर,
त्यतिले नपुगेर आजभोलि
मरुभूमिको तातो भुङ्ग्रोमा
गोठालो गर्न पठाउँछ खाडीतिर,
कठ्याङ्ग्रिने हिउँको चिसोमा
चोँचेको गोबर सोत्तर गर्न पठाउँछ कोरियातिर,
गधा जस्तै बोझा बोक्न पठाउँछ अरू धेरैतिर,
र केही सीप नलागेपछि
नाम्ला जिउरा बोकाएर
भरिया बन्न पठाउँछ काला पहाडतिर
मेरो पेट मलाई ।
त्यति मात्र कहाँ हो र
मेरो विवशतामा ऊ
मेरै किड्नी पनि बेचाउँछ,
मेरो बाध्यतामा ऊ
मेरै स्वाभिमान पनि गिराउँछ,
मान्छेको सिँडीबाट तल घिसारेर ऊ
सडक पेटीमा र गल्ली गल्लीमा हात पसार्दै
भुस्याहा कुकुरसँग सुत्न लगाउँछ,
भोक प्यास मेटाउन ऊ
फोहोरका डङ्गुरहरू उधिन्न लगाउँछ
चौपायाले जस्तै
अचाक्ली गरिरहेछ
मेरो पेट मलाई ।