घनबहादुर थापा
डाँडाभरी त्रिशूल, घण्ट, विविध रङका ध्वजापताकाको फरफरावट र सजावट । जलकुण्डको तपतप आवाज । देउरालीजस्तो निकै अग्लो (३,८४२ मिटर) टापु, नीलो आकाश छुनै लागे झैँ । वरिपरि कच्ची बारले घेरिएको लाम्चो आकारको समथर भूमि । चारैतिरको छेउबाट तलतिर नियाल्दा कहालीलाग्दो अग्लो भीर । टाढाटाढासम्म नियाल्दा देखिने मनोरम दृश्य, वर्णन कसरी गर्नु र !
पहिलोपटक वि.सं. २०७६ जेठ १५ मा दोलखाको कालिञ्चोक पुग्दा स्वर्गकै टुक्रामा टेके झैँ अनुभूति भयो । वरिपरि देखिने सुन्दर हिमशिखर र अन्य मनोरम प्राकृतिक दृश्यले मनै फुरूङ्ग पा¥यो । चारैतिर नजर डुलाउँदा देखिएका रोल्वालिङ, लाङ्टाङ, गौरीशङ्कर, जुगल, नुम्बुर, भैरव टाकुरा, लाक्पादोर्जे हिमालमा टाढैबाट भए पनि मन लुट्पुटियो ।
सदरमुकाम चरीकोटबाट करिब १५ किमी उत्तरमा अवस्थित कालिञ्चोक गाउँपालिका । पैदल हिँड्यो भने छ घण्टा लाग्छ रे सदरमुकामदेखि ! २०७४ असारमा पदमार्ग सुरु भएपछि सहजता थपिएको जानकारी पाइयो । जङ्गलबीच उकालो, कच्ची, साँघुरो र हिलाम्मे मनभरी त्रास बर्साउने सडक । त्यसमाथि हामी जाँदै गर्दा डम्म कुहिरो लाग्यो । दरर पानी दक्र्यो । कालो बादल आकाशमा मडारिँदै दिउँसै अँध्यारो भएपछि मनै कटक्क कुँडियो । त्यही बेला हामी चढेको गाडी उकालोमा अगाडि बढ्न सकेन । झ्याप्प रोकिएर पछाडि गुड्दा मनै भरङ्ग भयो । भाग्यवश चालकको सीप, साहसले काम ग¥यो र गाडी तत्काल अगाडि बढ्यो । ढुकचुक भएको मन बीचबाटोमा देखिएका नवीन दृश्य, चौँरीगाईका बथान अनि तिनका घाँटीमा झुन्डिएर टिङ्टिङ् बज्दै गरेका घण्टीको सुमधुर धुनले केही ढुक्क पारे ।
उकालो सकिएपछि अग्लो डाँडामाथि गाडी सरर कुद्यो । आकाशमा देखिने बादल डाँडाभन्दा तल पो देखियो । यस्तो दृश्यले मन बौरियो । अग्लो टाकुरो, टाकुरोमा गुडिरहेको गाडी र त्योभन्दा निकै तल बादल देख्दा त जहाजमै उडे झैँ अनभूति भयो । कुरी बजार पुगेपछि मन अझै चङ्गा हुन सक्यो । त्यहाँको मनमोहक दृश्यले साँच्चिकै मनमा फूलैफूलको सुन्दर बगैँचा ठडियो ।
मध्यजेठको मौसम, काठमाडौँबाट हिँड्दा बिहानै ५ बजे पनि गर्मीले सताएको अनुभव भएको थियो । कालिञ्चोक पुग्दा यति धेरै जाडो हुन्छ भन्ने हाम्रो मनमा कल्पनै थिएन । सिमसिम परेको पानीको कारणले होला, जाडोले थुरथुर कमायो । रिसले झोँक्किएको मान्छेले जबरजस्ती ठेले भैmँ सिरसिरे बतासको झोक्का हुत्याउने खालको थियो । पानी पर्नु र बतास चल्नु एकैपटक भएपछि हामी पुग्दा केवलकार चल्न बन्द भइसकेछ । पानी प¥यो, बिजुली चम्क्यो भने सुरक्षाको कारण केवलकार बन्द हुने रहेछ । थुरथुर काँप्दै टिकट काउन्टर अगाडि पुगेर केबलकार चलाउन अनुरोध ग¥यौँ । पानी परेको बेला चट्याङ पर्न सक्छ भन्दै व्यवस्थापनले हाम्रो आग्रह स्वीकारेन । त्यही अवस्थाले गाँज्यो हामीलाई पनि । केवलकारको यात्रा गर्ने रहर, केवल रहरमै सीमित भयो । जम्मा चार डिब्बाको केबलकारलाई समितिले व्यवस्थापन गर्ने रहेछ । प्रतिव्यक्ति पाँच सय रुपियाँमा दोहोरो यात्रा गर्न सकिने रहेछ । एकतर्फी तीन सय, विद्यार्थी तथा वृद्धवृद्धालाई जनही तीन सय ६५ रुपियाँ तथा विदेशी नागरिकलाई एक हजार रुपियाँ भाडा लाग्ने रहेछ । सामान्य गतिमा चलाउँदा पाँच मिनेटमा र पूर्ण गतिमा चलाउँदा तीन मिनेटमा टाकुरामा पुग्न सकिने केवलकारका कर्मचारीले बताए । प्रायः सामान्य गतिमै चलाउने उनको भनाइ थियो । तर, हामीलाई केवलकार यात्राको संयोग मिलेन । यात्रा गर्न नपाएपछि केवलकारको जानकारीको के काम ? केही उपाय नलागेपछि पैदलै उकालो लाग्यौँ । ठाडो उकालो चढ्नै कठिन । तैपनि पैदलै हिँड्नुको मज्जा र हतारो महसुस गर्न पाइयो ।
केही क्षणमा पानी पर्न रोकियो । दुईवटा बसमा आएका हामी सबै जना आआफ्नो समूह र व्यक्तिगत रूपमा उकालो लाग्दा निकै लामो लाइन देखियो । सबै जना हिँडेरै जान थालेपछि केवलकार व्यवस्थापनले सायद ‘व्यवसाय गुम्न नदिन’ होला तत्काल केबलकार सञ्चालन ग¥यो । तर, अलि माथि पुगिसकेको कारण फेरि तल झर्ने साहस आएन । केही साथीहरूले उपयोग गरे । पैदल लाइनमा उमेर समूहअनुसार हिँडाइको रफ्तार थियो । तल हेर्दा जिउ सिरिङ्ग हुने उचाइबाट नियाल्दा आहा भन्न मन लाग्यो । सुरक्षाका लागि छेउमा बनाइएको फलामे बारको मद्दतमा त घरीघरी भित्तोको सहारामा हाम्रो उकालो चढ्ने क्रम जारी रह्यो । करिब एक किलोमिटर ठाडो उकालो पैदलै चढ्दा सगरमाथा कसरी चढ्छन् होला मान्छेहरू भनेर चकित परियो । त्यसमाथि लेक लाग्छ कि भन्ने डर मनभित्र सलबलायो । मसिनो फलामे बारको भरमा जीउ थाम्दै उकाली ओराली कट्यो ।
जे होस् बिना व्यवधान टाकुरामा पाइला राखियो । उकालो चढ्दा करिब एक घण्टा पाँच मिनेट र ओरालो झर्दा ३५ मिनेट समय खर्चिइयो । टाकुरोमा देखिने मनोरम दृश्य त सुरुदेखि अन्त्यसम्म प्रस्ट पार्दा नि थोरै नै हुन्छ । खुला चुचुरोमा यत्रतत्र लहरै पूजास्थल देखिए । मन्दिर पनि छैन । त्यस पवित्रस्थलमा मन्दिरको संरचना बनाउन नहुने किम्बदन्ती रहेछ । तर, हरेक पूजास्थलमा सूचनाप्लेट देखिए । जसमा ‘शिवपार्वती कुण्ड’, ‘दूध कुण्ड’, ‘नौनीघ्यू धूपबत्ती फलफूल मात्र चढाउने ठाउँ’, ‘नरिवल काट्ने ठाउँ’, ‘तामा र फलामको त्रिशूल चढाउने ठाउँ’ ‘जल कुण्ड’ आदि ठाउँअनुसारको नाम लेखिएकाले दर्शनार्थीलाई निकै सजिलो बनाइदियो । जलकुण्डको जल खाएपछि इच्छासिद्धि हुन्छ, आफूले गरेको भाकल पूरा हुन्छ भन्ने मान्यता रहेछ । कुण्डको जल झिकेर छर्किन र घरमासमेत लैजान सकिने रहेछ । एकअर्काबाट नजिक रहेका भगवती, महादेव, गणेशको पूजा गर्दै हिन्दुहरूको पवित्र एवं प्रसिद्ध तीर्थस्थलको स्वाद लिनेहरूको तँछाडमछाड गर्वलायक लाग्थ्यो ।
पूजारी त थिए तर भक्तजन आआफ्नै तालमा पूजामा लिन थिए । त्रिशूल, घण्ट, डमरू चढाउन व्यस्त थिए । वलिपूजापट्टि पूजारी राखिएको देखिएन । बुझ्दा तथ्य फेला प¥यो । बलिपूजा देवीलाई होइन रे, देवीका वाहान सिंहलाई दिइएको रे ! नजिकैका पूजारीले साउती गरे, देवीले अर्काको आत्माको हत्या गरेर वलि लेऊ कहिल्यै भन्नुहुन्न । आफ्नो छोरा जन्मोस् भनेर अर्काको छोरा मार्नु हुन्न ।
पूजारीको कुरा निकै गजब लाग्यो । हो, यस्तै सुधार हाम्रो धर्मसंस्कृतिमा अझै व्यापक रूपमा हुन जरुरी छ । परम्परा जे भए पनि वर्तमान परिवेशमा असान्दर्भिक लागेका विषयमा बिस्तारै सुधार भइरहेको पूजारी एवं व्यवस्थापन वर्गको स्वीकारोक्ति छ । जे भए पनि त्यहाँको किम्बदन्तीबारे छेउछाउतिर मान्छेहरू गाइँगुइँ गर्दै थिए । यहाँ त जान्छु भनेपछि आउनै पर्छ रे ! त्रिशूल, घण्ट, डमरू आदि ल्याउँछु भन्यो भने इच्छा पूरा भएपछि ल्याएर चढाउनै पर्छ रे ! त्यही भएर होला पहिलेका राजाहरू अनि राणा प्रधानमन्त्री जङ्गबहादुरले चढाएको घण्ट यद्यपि देख्न पाइन्छ । करिब १७५ वर्ष पहिलेको शिलालेख दृष्टिगोचरकै लागि लाइनबद्ध पाइए ।
कालिञ्चोक भगवतीको सबैभन्दा ठूलो महत्त्व दशैँका बेला रहन्छ रे । फूलपातीको दिन पूजा गरी सकेपछि दोलखालीहरू फूलपाती भित्र्याउने चलन रहेछ । कालिञ्चोकबारे किम्बदन्ती बग्रेल्ती छन् । दोलखाको कालिञ्चोक भगवती, काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती, त्रिपुरासुन्दरी र बङ्गलामुखी देवढुङ्गा र अन्य गरी सात भगवती दिदीबहिनी हुन् भन्ने किम्बदन्ती छ । तीमध्ये कालिञ्चोक जेठी, भीमसेनस्थान माइली र देवढुङ्गामा रहेकी कान्छी हुन् भन्ने मान्यता रहिआएको चर्चा धार्मिक वृत्तमा छ । कालिञ्चोक भेँडागोठालाले पत्ता लगाएको भन्ने किम्बदन्ती पनि रहेछ । सो ठाउँमा कालीदेवी तपस्या गरी बसेको भन्ने छ । देवीले राक्षसहरूसँग युद्ध गर्दा राक्षसको रगत बगेर कुरी बजारसम्म पुगेर थुप्रिएकोले त्यहाँ अदुवा, लसुन र प्याजको उब्जनी हुँदैन रे ! आखिर जस्तो जसरी उत्पत्ति भए पनि अहिले कुरी बजार साँच्चीकै ‘कुरी’ होइन ‘सौन्दर्यको धुरी’ भन्दा फरक नपर्ने रहेछ ।
कालिञ्चोकप्रतिको बढ्दो धार्मिक आस्थाले पर्यटन विकासको आधार दरिलो देखियो । जनैपूर्णिमा, वडादशैँ, चैतेदशैँ, हरेक शनिबार भक्तजनको भीड थामी नसक्नु हुने स्थानीयको भनाइ छ । पूजाआजा गर्न नसके त्यहाँको भूमि टेके मात्रै पनि पुण्यआर्जन हुने विश्वासले भक्तजनको सङ्ख्यामा बढोत्तरी भएको रहस्य खुल्यो । आउनैपर्ने र बोलेको कुरा पुग्ने भन्दै विशेष दिनमा दैनिक पाँच÷छ हजार र सामान्य दिनमा दुई हजार हाराहरीको सङ्ख्यामा भक्तजन यहाँ आइपुग्छन् । जति सुन्दर ठाउँ छ, त्यहाँ पुग्न त्यति नै कठिन बाटोले मन कटक्क खान्छ । तैपनि त्यहाँ पुग्दा दर्शनसँगै मनमोहक दृश्यावलोकन, साहसिक पर्यटनका गतिविधि, हिउँ खेल्न पाइने जस्ता विशेषताले बाटोमा आउँदाको कष्ट नामेट पार्छ । भौगोलिक विकटताको कटु तितो सत्यलाई बिर्साउँछ ।
काठमाडौँको टोखा ग्रिनल्यान्डबाट बिहानै सुरु भएको हाम्रो यात्रा साँगा, धुलिखेल, पाँचखाल, रातमाटे डाँडा, तामाघाट, लामीडाँडा हुँदै पलाञ्चोक भगवतीमा पुगेर दर्शनमा परिणत भयो । आधा घण्टाको दर्शन अनि दृश्यावलोकनपछि पुनः पाँचखाल फर्केर सिम्ले, सुकुटे, सुनकोसी, बलेफी, कोथ्रे, छत्तीसखोला, खाडीचौर, ठूलोपाखर, खरिढुङ्गा, चरीकोट हुँदै कालिञ्चोक पुगियो । दिक्कलाग्दो यात्रालाई ग्रिनल्याण्डदेखि नै गाडीभित्र भजनकीर्तन र नाचगानले सहज पारेको थियो । पहाड, भीर, पाखा, जङ्गल, घुम्ती, गोरेटो बाटो, उकालो, ओरालो सडक पार गरियो । बाटोमा बाख्रा पालन, भारी बोकेका महिला, बारीमा काम गर्दै गरेका किसान, ¥याफ्टिङ, चौँरीगाईको बथान, ऐँसेलुका झाङ सबै हेर्न लायक देखिए । उच्च स्थानमै अवस्थित पलाञ्चोक भगवती दर्शनका लागि पनि व्यवस्थित लाइन, पूजा सामग्रीको व्यवस्था उत्तम रहेछ ।
जाँदाआउँदा साँघुरा सडकमा बडेमानको बस उकालो चढ्दा पोखिएको डरले अहिले पनि जिब्रो टोक्नुपर्ने अवस्था ल्याउँछ । पानी परेको कारण चिप्लो सडक र चुनौती थप्ने मौसमको कारण दिउँसै अँध्यारो भएको अवस्थामा निर्धक्कसँग सवारी चलाउने चालक दल धन्यवादका पात्र छन् । धार्मिक आस्थाका कारण चरीकोटस्थित होटल, लजमा बस्न नमिल्ने कारण जनाउँदै सहयात्रीहरू बस्न नमानेपछि रातभरी बसमा काठमाडौँ फर्किनु परेको अवस्था पक्कै पनि बिर्सन सकिन्न । अप्ठेरो सडकमा करिब २४ घण्टासम्म एउटै चालकले गाडी चलाउँदा उत्पन्न हुनसक्ने जोखिमप्रति बाध्यतावश आँखा चिम्लनुबाहेक हामीसँग अर्को विकल्प थिएन । भोलिपल्ट बिहान ५ बजे सकुशल काठमाडौँ आइपुग्दा कालिञ्चोक र पलाञ्चोक भगवतीको आशीर्वाद पाएको अनुभूति गरियो । कालिञ्चोक यात्रा धार्मिक र पर्यटकीय महत्त्व राख्न सफल भयो । आफ्नै देशभित्रको मणि खोज्नुपर्छ, हेर्नु र बुझ्नुपर्छ भन्ने पाठ यात्राले सिकायो ।