चाँदनी हमाल
यस वर्ष मदन पुरस्कार प्राप्त गर्न सफल चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासबारे एकै वाक्यमा भन्नुपर्दा महारानी बन्नबाट वञ्चित एक राजकुमारीको कथा हो यो । एउटी यस्ती वीराङ्गना जो कहिल्यै पर्वत राज्यकी भौतिक महारानी भइनन् । तर, उनले त्यस राज्यको निमित्त आफ्नो प्रेम, विवाह र सम्पूर्ण जीवन कसरी समर्पण गरिदिइन् भन्ने आञ्चलिक कथा नै ‘महारानी’ उपन्यासको सार हो ।
“हेर्दा मनमोहक धातु सुन खान भने सकिँदैन, हेरिकन मात्र नयनसुख लिइन्छ । मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु होइस्यो । हेर्न मिलन्या तर उपभोग गर्न नपाइन्या ।” राजकुमारी विश्वप्रभाको यो उद्गार उनको बलिदानको दरिलो प्रमाण हो ।
लेखककै भनाइ सापटी लिँदा इतिहास र कल्पनाको मिलनबिन्दु नै ‘महारानी’को जन्म हो । यसर्थ इतिहास अनुसार तथ्य यो थियो र उपन्यासमा यो छैन भन्ने बाटो लेखकले चलाख बनेर पाठकका लागि बन्द गरिदिनुभएको छ । तथापि धेरै इतिहासविद्ले चर्को आलोचना गरे झैँ इतिहासका विषयमा कल्पना गर्न पाइने कि नपाइने भन्ने प्रश्न उपन्यासले खडा गरेको छ किनभने इतिहास विगतमा भएका सत्य घटनाको विवरण हो । त्यही लेखिन्छ । कल्पना गरेर इतिहास कोर्नु भनेको इतिहासकै सत्य तोडमोड गर्नु हो ।
केही इतिहासकारले टिप्पणी गरेजस्तै जुम्लाका राजा पृथ्वीपति र राजा घनश्यामको समय एउटै थिएन भन्ने कथन छ । जुम्लाकी राजकुमारी जयन्ती जो राजा घनश्यामले विवाह गरेका थिए, उनी पनि पृथ्वीपतिकी छोरी थिइनन् भन्ने बुझाइ सर्वसाधारणमा छ । यसरी आधार नै गलत भएपछि इतिहासलाई आधार बनाएर लेखिएको उपन्यास सही छ भन्ने पूरै छुट नरहेको प्रस्ट हुन्छ । राजकुमार भद्रीको हत्यापछि उनकी रानी र एक सुसारेले आत्महत्या गरेको लोकोक्ति त्यस भेगमा अझै सुन्न पाइन्छ । यस हिसाबले भन्नुपर्दा उपन्यासको अन्तिम पल इतिहाससँग बाझिएको छ । बाइसे चौबिसे राज्य, पर्वत राज्यमा उतिबेला भएको भागबण्डा, दरबार र राज्यबीच भएका झाँगलझुँगल भने धेरै हदसम्म मेल खान्छ ।
मगर राजाले जनै लगाएर अरू क्षत्रीयसरह भएर ठकुरी जातको राजा भएको विषय उकास्न खोजिए पनि प्रस्ट भेटिँदैन । तर, महारानी देवी अर्थात् राजकुमारी ‘विश्वप्रभा’ यथार्थमै थिइन् भन्ने भान पाठकका मनमा उब्जाउन लेखक सफल हुनुभएको छ । यसर्थ धेरै दरबारका अनगिन्ती महारानीका विशिष्ट योगदान राजाको बहादुरीपन देखाउनकै लागि इतिहासको गर्भमै लुके । पर्वतको हुनै नसकेकी महारानीको इतिहास र योगदान महारानी उपन्यासले उजागर गरेको छ । दरबारमा रानी, राजकुमारीजस्ता महिला वर्गको हैसियत कुनै वलिको बोकोभन्दा कम थिएन । जो राजा र युवराजका लागि आइपर्दा सधँै अगाडि रहन्थे ।
स्थानीयताको भावनालाई लेखकले चटक्क छाड्नुभएको छैन । लेखकीय दाबीअनुसार सत्रौँ शताब्दीतिरको पहाडी देश मलेबम प्रदेश भनेर चिनिने १६ हजार पर्वत राज्यको भूगोल, समाज र दरबारका तानाबाना उपन्यासमा चाखलाग्दो गरी उनिएको छ । कालीगण्डकी र म्याग्दी नदीको सङ्गममा रहेको बेनीबजारको पश्चिमस्थित कुरिला–खर्क उपन्यासको मुख्य आधारभूमि हो । त्यही खर्कमा स्थापित महारानी–स्थान (थान) नै महारानी उपन्यासको बीउभूमि हो । त्यो थानमा पूजिने महारानी देवी कुनै धार्मिक कालखण्ड वा पुराणमा उल्लेख नभई एक मानव थिइन् भन्ने छनक लेखकले पहिल्यै दिनुभएको छ ।
त्रीपन्न अध्यायमा विभाजित उपन्यासको सुरुवातमै प्रमुख पात्र महारानीको भान नपाउँदा पाठकलाई थोरै खल्लो लाग्छ । केही अध्यायमा मुख्य झैँ देखिने पात्र सुमन्त बानियाँकै वरिपरि कथा घुम्छ । लेखकसँग थर मिलेका कारण आफ्नै पितापुर्खाको ऐतिहासिक बखान उपन्यासमा गरिएको जस्तो पनि लाग्छ । राजा घनश्याम र रानी गुलबदनसँगै भाइभारदारको सल्लाहमा युवराजको बिहेका लागि कसको डोली भित्र्याउने भन्ने चर्चासँगै बाइसे चौबिसे राज्यको इतिहास निखनिएको छ । त्यसका लागि सुमन्तको कथा वाचन कलाको भरपुर प्रयोग गरिएको छ ।
पर्वतका युवराज मलेबमका लागि देउपुरकी राजकुमारी विश्वप्रभा र खाँचीकी राजकुमारी महल बसन्ताको डोली पर्वत दरबारमा भित्रिएपछि त्यो संशय टर्छ । यिनको आगमनपश्चात् महारानी बन्न भएको खिचातानीको कल्पना पाठकले गर्न भ्याउँछन् । वँैशालु प्रेम, आशक्ति, मौनता, अपनत्व जस्ता मानवीय संवेदनाका उथलपुथलले मन चोर्न खोज्छ । युवराज र राजकुमारीको विवाहोत्तर प्रेमको रोमाञ्चकताले पाठक केहीबेर कुतकुतिन्छन् । यही सेरोफेरामा त्यस भेगको मनोरम भौगोलिक विवरणले आम पाठकलाई पर्वत पुगेर तत्तत् स्थानसँग मीत लगाउन आतुर गराउँछ । यहाँसम्म आइपुग्दा उपन्यास कुनै चलचित्रको मध्यान्तर अघिको सुखद कथाजस्तै लाग्छ । अघि अग्रपङ्क्तिमा देखिएका सुमन्त बानियाँ भने बिस्तारै ओझेल पर्छन् ।
मावली जुम्लाबाट पर्वतका अर्का राजकुमार भद्रीबमको आगमनसँगै उपन्यासमा पाठक झस्काउने मोड आइपुग्छ । गर्भले जेठो भद्री र सात महिनामै जन्मेका मलेबममध्येको जेठो भन्ने प्रश्नको उत्तर खोज्दै गर्दा पाठकमा अब के होला भन्ने ठूलै कौतुहलता जाग्छ । जुम्लाको उक्साहटमा भद्रीबमले आफू जेठो भएकाले राजा बन्ने अठोट छाड्दैनन् । आम जनमानसमा जसले पहिले धर्ती टेक्छ, उही जेठो मानिन्छ । राजदरबारका हकमा पनि उही उत्तराधिकारी हुने भारदारको सोझो निर्णय सामान्य लाग्छ । जागिरको अंशमा चित्त बुझाउन राजी भएका भद्रीलाई पदको लोभी मित डिल्ली भुजेलले राजकुमारी विश्वप्रभा माग्ने अर्को पासा फ्याँक्न लगाउँछन् ।
राज्य जोगाउने नाममा प्रेमविह्वल मलेबम र विश्वप्रभा छुट्टयाउने खेल रचिन्छ । पर्वतकी महारानी बन्न आएकी राजकुमारी डोली फर्काउँदै भद्रीको पत्नी बन्न बाध्य हुन्छिन् । आफ्नै जालमा फसेका भद्री भाइफुटे गँवार लुटे भन्ने अर्थ पत्ता लाउन नसकी जुम्ला र आसपासका रजौटाका गोटी बन्न पुग्छन् ।
पर्वतको अखण्डताका लागि भद्री इमान्दार रहेसम्म उसको साथ रहने कसम छुट्नु अघि विश्वप्रभाले मलेबमसँग खान्छिन् । भद्रीलाई पर्वतको राजा बनाउनखातिर आक्रमणको योजना बुनिएको भेउ पाएपछि राजकुमारी फेरि एक पटक पर्वतकै पक्षमा उभिन्छिन् ।
भद्री मारिन्छन् । उनकै सिउँदो उजाडेर विश्वप्रभालाई राजमाता र महारानीको सम्मान दरबारले दिन्छ । “पर्वतले मबाट सारा कुरा खोस्यो । रहर खोस्यो, प्रेम खोस्यो, परिवार खोस्यो, लोग्ने खोस्यो, सिन्दुर खोस्यो । सम्पूर्ण रूपमा रित्तो, निख्लो र निस्सार बनायापछि सम्मानको भारी बोकाउनु लोकाचार मात्र होइन र ?” दोस्रोपटक वलिको वेदीमा परेकी राजकुमारीले त्यो सम्मान ग्रहण गर्दिनन् । मलेबमको वचन राख्न प्राण त्याग गर्न सक्दिनन् । बरु थाहै नदिइ कतै विलुप हुन्छिन् । उनी साँच्चिकै फकिर बनेर वृन्दावन वा हरिद्वार पुगिन्, वा बाटैमा उनको देह सकियो । यो भने उपन्यासको गर्भमै लुक्छ । अचानक दुई शताब्दीपछि उनैको स्मरणमा महारानी पूज्ने वुद्धि कसरी कसलाई पलायो भन्ने ठेट जवाफ उपन्यासले दिन सकेको छैन ।
केही पात्रहरूको सुरुवाती प्रवेश दमदार लाग्छन् । बिस्तारै तिनीहरू अन्य पात्रको छायाँमा हराउँदा नमिठो लाग्छ । रानी गुलबदन, राजकुमारी महलबसन्ता, राजकुमारी नलिनीलगायतका केही पात्र नाम मात्रका छन् । विश्वप्रभालाई उँचो देखाउनका लागि महलबसन्तालाई मौन बनाएको हो जस्तो देखिन्छ । कमल जैसी, कालु थापा, डिल्ली भुजेलजस्ता पदभोगीका कुटिलताको जालो भने पाठकका लागि रहस्य छर्ने चस्मा बनेको छ । परिवार कि राज्य भन्ने सवालमा राजा घनश्याम कमजोर देखिन्छन् । राजामा भारदारबिना सोझो निर्णय गर्नसक्ने क्षमता भेटिँदैन । तथापि देश र प्रजाप्रेम राजा र काजी, भाइभारदारमा प्रस्ट छचल्किन्छ ।
उपन्यासमा कथानक रोमाञ्चकता सलल बगेको छ । भाषा र भेषको तत्कालीन सामाजिक चालचलन र संस्कृति खुट्याउने कोसिस पात्रमार्फत लेखकले गर्नुभएको छ । पृथ्वीनारायण शाहकै कालखण्डमा बोलिने खस भाषा मिश्रित जनबोलीले वास्तविक पर्वते, जुम्ली वा मगर भाष्यको छन्द भने दिँदैन । मगर जातीयताको सांस्कृतिक र सामाजिक झलक बुन्न लेखकले कन्जुस्याइँ गर्नुभएको छ । लामा लामा वाक्यांशले पाठकलाई कहिलेकाहीँ बोझिलो बनाउँछ । भाषा र व्याकरणगत शुद्धाशुद्धितर्फका केही त्रुटि पछिल्ला संस्करणमा सच्चिएलान् भन्ने आशा गर्न सकिन्छ । सारमा इतिहासको पगरीमा गुथेर बनेको कल्पनातीत रानीकथा बनेको छ महारानी उपन्यास । तसर्थ आख्यान र इतिहासको अध्ययनमा रुचि राख्ने पाठकका लागि यो उपन्यास सानो डोरेटो पक्कै बन्न सक्छ ।