मञ्जु भट्ट
केही वर्षअघि फजुल खर्च जोगाउने भन्दै काठमाडौँको एक मन्दिरबाट एक जना सँगिनीको बिहे भयो । गाउँबाट काठमाडौँसम्म आइपुग्न चार दिन लाग्ने भएकाले आफन्त थोरै थिए । अहिले पनि उनका आफन्त धेरै गाउँमै छन् । बिहेभन्दा अघि ती सँगिनी धेरै वर्ष घरबाट टाढै बसी । महिला छात्राबासमा वार्डेनका रूपमा काम गर्ने हुँदा पढाइ र अनुशासनसम्बन्धी थुप्रै नियम पनि बनाई तर बिहेपछि चाहिँ के–कस्ता नियम पालना गर्नुपर्छ उसलाई खासै थाहा थिएन । बिहे भएको भोलिपल्ट ‘बिहानै नुहाएर साडी लगाउनुपर्छ है’ भन्ने एक जना आफन्तले भनेको सम्झेर जसोतसो दिनभरि साडी लगाएर काम गरेको अनुभव सुनाउँदै उसले भनेकी थिई– पहिलोचोटि प्यान्ट, सर्ट र कुर्ता सुरुवाल फालेर साडी लगाउँदा कम्ती सकस भएन । समाजको नियम अनुसार रातो साडीसँगै सिउँदो रङ्गाएर भर्खरै बिहे भएको जनाउ दिनु पनि कर्तव्य थियो ।
छात्राबासमा रहँदा स्वतन्त्र वातावरणमा जिउने बानी लागेको थियो । बिहे भएपछि थोरै गाह्रो भयो । नाक, कान, घाँटी खाली राख्न नहुने, हातमा चुरा, सिउँदोमा सिन्दूर लगाउनै पर्ने भयो । चौबिसै घण्टा लगाएर काम गर्न पनि साह्रै गाह्रो । तर परिवार, समाजमा बसेपछि परिवार र समाजले बनाएको नियम पनि पालन गर्नै पर्ने । बिहे भएको दुई दिनमै चुरा, पोते फालेर बस्न पनि असहज । पछि परिवारभन्दा टाढा श्रीमान्सँग बस्दा खासै अफ्ठ्यारो भएन । आफूलाई मन लागेको र सजिलो सिँगार गर्न केही गाह्रो थिएन । तर जब घरबाट बेलाबेलामा आफन्तहरू आउँथे, अनि मलाई फसाद पथ्र्यो । टीका, चुरा, पोते, सिन्दूर खोजेर राख्नुपर्ने र सम्झेर लाउनैपर्ने । उनलाई एकचोटि एक जना आफन्तले हाकाहाकी सीधै सोध्नुभएको थियो रे– ‘खै त बिहे भए पनि हातमा एउटा चुरा, घाँटीमा पोतेसम्म छैन । सिन्दूर, टीका त झन् कहिल्यै देख्दिनँ । बिहेको प्रमाण के छ ?’ यस्तो प्रश्न सुनेर उनी अनुत्तरित भएकी थिइन् रे ।
‘एउटा पोते चाहिँ लगाउ है, श्रीमान्ले बिहेमा लगाइदिएको पोते कहिल्यै फाल्नु हुँदैन । पोतेले बिहे भएको रहेछ भन्ने पनि थाहा हुन्छ ।’ ती आफन्तको यो सुझाव नभई उर्दी नै रहेको कुरा पनि बेलाबेला ऊ गर्थी । अनि भन्थी, महिलालाई मात्रै किन बिहेको प्रमाण सोधिन्छ होला ? कतिपय लोग्नेमान्छेले त अहिले जनै लगाउनै छोडिसके । उनीहरूले व्रतबन्ध, बिहे गरेको प्रमाण खै त ? कसैले सोध्दैन । अर्काको जीवनमा किन धेरै चासो दिने ? तैपनि आफन्तले भनेको कुराले खासै नराम्रो लागेन । बरु महिलाले एकचोटि बिहेको बन्धनमा बाँधिएपछि समाजले बन(ाएका, परम्परादेखि चल्दै आएका रीतिरिवाजलाई आफ्नो दायित्व सम्झेर जसरी पनि पूरा गर्ने कोसिस गरेका हुन्छन् र अरूले पनि त्यही गरोस् भन्ने चाहन्छन् । अफ्ठ्यारो हुँदाहँदै पनि श्रीमान्ले बिहेमा लगाइदिएको भन्दै यस्ता कुरा जीवनभर लगाएर बस्छन् । यसमा महिलाको श्रीमान्प्रतिको आदरभाव, मायाप्रेम वा समर्पण वा बाध्यता जे पनि पनि हुनसक्छ भनेर तर्क पनि उसले गर्थी ।
जनैले अप्ठ्यारो भयो भन्दै फुकालेर फाल्ने पुरुषलाई पक्कै थाहा होला चुरापोते लगाएर सुत्दा कम सकस हुँदैन भनेर । चुराले हात सिरानीमुनि हालेर सुत्दा घोचेर हैरान बनाउँछ भने पोतेको दानाले घाँटीमा त्यस्तै घोच्छ । सुत्दाखेरि कुनै दिन बिर्सियो भने राति घोचेपछि थाहा हुन्छ । अनि निद्रामै कता फालिन्छ थाहै हुँदैन । अर्को दिन घरको कामको लर्को सकेर चुरा, पोते नलगाइकन काममा पुग्यो भने साथीहरूका आँखा गढिहाल्छन् घाँटीमा । ‘चुरा, पोते बिर्संनै हुँदैन । खाली हात कस्तो कस्तो देखिएको छ, लाऊ यो चुरा लगाऊ’ भन्दै दिने पनि धेरै भेटिने उसले सुनाइ ।
यही अप्ठ्यारोबाट बच्न कहिलेकाहीँ थप पोते झोलामा राख्दै हिँड्ने गरेको कुरा पनि उसले कहिलेकाहीँ गर्थी । यस्तैमा उसले एउटा घटना सम्झी– एकचोटि सँगैको सहकर्मीसँग पौडी खेल्ने अवसर जुर्यो । स्वीमिङ पुलमा पस्दा हातमा लगाएको सिसाको चुरा खोल्नुपर्ने रहेछ । मैले पोते पनि खोेलेर झोलामा राखेँ । ‘साथीले पोते खोल्नु हँुदैन, यो त सुहागको निशानी हो’ भन्दै खोल्न मान्नुभएन । मलाई पनि एकछिनका लागि कहीँ मैले पोते खोलेपछि श्रीमान्लाई नराम्रो पो हुन्छ कि भन्ने लाग्यो । महिलाहरू आफँै बिहेको बन्धनमा बाँधिएका छन् र त्यसमै रमाउन चाहन्छन् । एकचोटि बिहे भइसकेपछि महिलाको प्रत्येक सास श्रीमान्को हुन्छ । श्रीमान्ले भनेको कुरा काट्ने हिम्मत विरलै गर्छन् । तन, मन, वचन तथा कर्मले विवाहमण्डपमा गरेका वाचालाई मृत्युपर्यन्त निर्वाह गर्ने कोसिसमा लागिपरेका हुन्छन् । श्रीमान्कै नामको सिन्दूर, पोते, चुरा, मेहेन्दी लगाएर खुसीसाथ जीवन बिताउन तत्पर हुन्छन् । पानी पनि नखाई उनकै लागि भन्दै छठ, तीजको कठिन व्रत बसेका हुन्छन् । घैंटोले नै पानी खाने तिर्खा लागे पनि खाँदैनन् । खाइहाल्यो भने मेरो व्रत पूर्ण हुँदैन कि भनेर एक जना दिदीले आफूलाई भनेको देख्दा मनमनै धन्न हो तिम्रो विश्वास नारी भनेकी थिएँ ।
सँगिनीको कुरो सुनेर मलाई पनि लाग्थ्यो– श्रीमतीले कैयौँ रात मेरै प्रतीक्षामा बिताएका हुन्छन् भन्ने कतिपय श्रीमान्लाई थाहा हुँदैन वा थाहा नभएको जस्तो गर्छन् । यता श्रीमतीले न नाम न त दाम नै पाउने बरु घर, खेतको कामसँगै तीज, पञ्चमी, गौराको कठिन व्रत बसेर श्रीमान् कहिले घर आइपुग्नुहुन्छ भनेर कुर्छन् । यो बेला कतिपय श्रीमान् भने अरू नै महिलासँग मस्ती गरिरहेका समेत भेटिन्छन् । जब घर फर्किन्छन्, श्रीमतीलाई परदेशबाट कोसेलीका रूपमा एचआईभी एड्स बोकेर ल्याउने पनि हुन्छन् । अझै उनीहरूको साहस भन्नुपर्छ, आफूलाई रोग लागेको थाहा भए पनि श्रीमतीलाई आफ्नो निजी सामान जस्तै ठानेर रोगको बारेमा थाहा नदिई आफ्नो स्वार्थपूर्ति गर्छन् । अनि एचआईभी एड्स सार्न हिच्किचाउँदैनन् । पश्चिमका धेरैजसो जिल्लालगायत देशभरिका महिला तथा तिनका सन्तान एचआईभी एडस् पीडित हुनुको एउटै कारण हो, श्रीमान्ले विदेशबाट फर्किंदा श्रीमतीका लागि ल्याइदिने ज्यानमारा मायाको कोसेली एचआईभी एड्स । गाउँका धेरैजसो युवा पहिलेदेखि नै पैसा कमाउन भारतलगायत अन्य मुलुकमा जाने र फर्किंदा एड्स सारेर ल्याउँदा पश्चिमका धेरै जिल्लामा यस्ता रोगीको सङ्ख्या विकराल बन्दै गएको छ । मेरो एक जना भाउजूलगायत उनका दुईवटा सन्तान एचआईभी पीडित छन् । औषधि सकिएर सिकिस्त भएपछि बैतडीबाट करिब दस घण्टाको बसयात्रा गरेर धनगढीबाट औषधि लिएर जानु उनका श्रीमान् आफू मरेर गए पनि परिवारलाई दिएर गएको उपहारले उत्पन्न गरेको बाध्यता हो ।
अघिल्लो वर्ष भएको एउटा अनुसन्धान अनुसार नेपालमा पचास हजार दुई सय जना एचआईभी एड्स पीडित छन् । जसमा पाँच जनामध्ये चार जनामा एचआईभी एड्स हुने कारण शारीरिक सम्पर्क भएको देखिएको छ । त्यसपछिको दोस्रो मुख्य कारण लागूपदार्थ लिनका लागि लगाइने सुई रहेको छ । सन् २०१५ को सर्वेक्षण अनुसार प्रत्येक वर्ष ०.२ प्रतिशतका दरले १५ देखि ४९ वर्षका मानिसमा एचआईभी एड्स देखिँदै आएको छ । काठमाडौँमा रहेका करिब २८ हजार महिला यौनकर्मीमध्ये ४.२ प्रतिशतमा एचआईभी पोजिटिभ देखिएको बताइन्छ । सुरक्षित यौनसम्पर्क नभएमा महिलाबाट पुरुषमा पनि यो रोग सजिलै सर्छ । यसरी एचआईभी पोजिटिभ महिलासँग सम्पर्क गर्ने पुरुषले आफू पनि रोगको सिकार हुने र घरमा श्रीमतीलाई पनि रोग सार्छन् । जसरी एक जना महिला श्रीमान्को नाममा सारा जीवन व्यतित गर्न तयार हुिन्छन्, त्यसैरी नै श्रीमान्ले पनि श्रीमतीलाई धोका नदिई किन बाँच्न सक्दैनन् ? जोशमा होश गुमाउने श्रीमान्ले घरमा एक्लै श्रीमती उनको पर्खाइमा भएको कुरा किन बिर्सन्छन् ?
आफूले कुनै गल्ती नै नगरी श्रीमान्बाट धोका खाएका यस्ता महिला न केही बोल्न सक्छन् न त समाजले पनि यसरी पीडित हुनेहरूप्रति सहानुभूति राखेको पाइन्छ । बरु उल्टै आफ्नो श्रीमान्लाई कज्याउन नसक्ने, अवगुणी, यसकै कारणले अन्तै लागेको हुनुपर्छ आदि भन्दै महिलामाथि नै दोष थोपर्ने काम हाम्रै समाजले गरेको पाइन्छ । पुरुषले महिलामाथि गर्ने यस्ता जघन्य अपराधलाई सामान्य ठान्छ हाम्रो समाजले । अशिक्षित तथा अन्धविश्वासमा फसेका कैयौँ महिलालाई चुरा, पाउजुको आवाजमा जञ्जिरले बाँधेर हरेक क्रियाकलापमा बैधानिक तरिकाले अदृश्य नियन्त्रण राखेको जस्तो लाग्छ । चुरा, पोते लगाएर बिहे भएको जनाउँ दिँदैमा न त हत्या, हिंसा, बलात्कार जस्ता घटनामा कमी आएको देखिन्छ न त श्रीमान्को आयु लामो भएर विधुवा हुनु नपरेको नै छ । गहना वा सिन्दूर कसैको करले नभई स्वेच्छाले आफूलाई सजिलो हुने गरी लगाउँदा राम्रो हुन्छ । व्रत बस्ने, मन्दिर जाने पनि देखावटी र करले नभई अन्तर हृदयबाट गर्दा सबैको भलाइ हुन्छ । श्रीमान्–श्रीमती दुवैले एक अर्काप्रति अगाध विश्वास र भरोसामा बाँच्न सके साँचो अर्थमा त्यही नै भगवान्प्रतिको पूजा ठहरिएला कि !