logo
२०८१ मंसिर १० सोमवार



सपनाको रहस्य

शनिवार |


सपनाको रहस्य


रमेश खनाल

सपना, निद्राको एक मानसिक जीवन हो । जागृत अवस्थामा झैँ सपनामा घटना घटेका देखिन्छन् तर सपना जति धेरै देखिन्छ, त्यति नै धेरै बिर्सिइन्छ पनि । त्यसैले सपनालाई बुझ्न गाह्रो हुन्छ ।
सपनाको सम्बन्धमा प्राचीन दर्शनशास्त्रीहरू भन्थे, यो एक व्यक्तिको यताउता हिँड्ने आत्मा हो । त्यस आत्माले जब कुनै अनुभव गर्दछ, तब त्यो सपना भनिन्छ । हिपोक्रेप्स, ल्युकिटिअस र अरिस्टोटल जस्ता दार्शनिकले पनि सपनालाई आत्माको अलौलिक शक्ति ठान्दै त्यसको अनुभूतिलाई सपना हो भने । यही सत्यलाई ध्यानमा राख्दै, आजकाल पनि सुतेको व्यक्तिलाई एकाएक उठाउनु हुँदैन भनिन्छ । सुतेको अवस्थामा जब व्यक्तिले सपना देख्दछ, तब उसको आत्मा सपनामयी कार्यमा व्यस्त रहने हुँदा सुतेको व्यक्तिलाई विस्तारै उठाउँदा उसको आत्मा स्वस्थानमा फर्किन्छ र सुतेको व्यक्तिलाई खतरा हुन्न । फेरि कुनै कुनै दार्शनिकले सपनालाई दैवी शक्तिको प्रतिफल मानेका पनि छन् । उनीहरूका अनुसार जब ईश्वर प्रसन्न हुन्छन्, तब राम्रो सपना देखिन्छ र जब ईश्वर रिसाउँछन्, तब खराब सपना देखिन्छ । यस्ता विचार मान्नेहरू दैवी शक्तिको भविष्य बोधक घटना सङ्केत गर्दछन् तर शरीरशास्त्रीहरूको सपनासम्बन्धी विचार फेरि बेग्लै छ । उनीहरू भन्छन्, सपना कुनै मानसिक क्रिया होइन । यो त शारीरिक उत्तेजनाहरूको सशक्त अभिव्यक्ति हो, जसलाई निदाएको अवस्थामा बाहिरी उत्तेजनाको प्रभावबाट उत्पन्न स्नायु प्रवाहका कारण बन्दछ । निद्रा अवस्थामा त उच्च स्नायु केन्द्र निष्क्रिय हुन्छ । त्यसैले गर्दा स्नायु प्रवाहको वास्तविक अर्थ स्पष्ट हुँदैन । तर पनि सपना देखिन्छ तर मनोविज्ञहरू चाहिँ सपनालाई लगातार चलिरहने एक मानसिक प्रक्रिया हो भन्छन् । सपना यस्तै लगातार चलिरहने एक मानसिक प्रक्रियाको विशेष अवस्था हो । फिसर पनि त्यसै भन्छन् । ब्राउन चाहिँ सपनालाई विभ्रम ठान्छन् । जसको कारणले प्रत्यक राति विभ्रमिक स्वरूप स्पष्ट देखिन्छ ।
सपनाको अर्थ सम्झिने, बुझ्ने प्रयास आदिकालदेखि नै भइरहेको छ । कोही कोही व्यक्ति त सपनालाई व्यर्थ ठान्छन् तर आधुनिक मनोविज्ञहरू सपनालाई सार्थक र महìवपूर्ण ठान्छन् । मनोविज्ञहरूले सपनालाई तथाकथित अनेक अर्थ पनि निकाल्ने गरेका छन् । उनीहरूका अनुसार सपनाका केही विशेषता छन् ।
सपना विभ्रम हुन्छ । जब सपना देखिन्छ, तब यस्तो लाग्छ कि साँच्चै सबै घटना घटिरहेका हुन्छन् । एकदमै वास्तविक, यथार्थपरक हुन् जस्तो लाग्छ । कुनै पनि मानिसको जीवनको अनुभवसँग र समस्यासँग सपना सन्निकट रहेको हुन्छ । मानिसले भोगेका र भोग्न चाहेका कुरा सपनामा देखिन्छन् । सपना त्यतिखेर सार्थक हुन्छ, जब मानिससँग तादाम्य हुन्छ । सपनालाई फ्रायडले धेरै ठूलो अध्ययन गरेका छन् । कृष्ण भगवान्ले पनि सपनाको प्रतिकात्मक महìव माथि प्रकाश पार्नुभएको छ । सपनालाई दमित इच्छाहरू पूरा गर्ने थलो ठानिएको पनि छ । सपना एक अचेतन मानसिक कार्यद्वारा देखिन्छ । फ्रायडले सपनालाई अचेतनको राजकीय मार्ग भनेका छन् । सपनाको गुण रहस्य उद्घाटन गर्ने सामवेद अन्तर्गतको बन्वशाखा खण्डमा उल्लेख भएका ‘स्वप्नाध्याय’ भगवान् श्रीकृष्णले गर्नुभएको वर्णन हामीलाई धेरै लाभदायक हुन सक्छन् ।

स्वप्नुस्तु प्रथमे यामे संवन्त्सर फलप्रदः ।
द्वितीये चाष्टभिमोसैस्त्रि भिमासैस्तृतीयके ।।
भगवान भन्नुहुन्छ, जुन सपना रात्रिको पहिलो प्रहरमा देखिन्छ, त्यो वर्ष दिनमा फल दिने हुन्छ । दोस्रो प्रहरको आठ महिनामा फल दिने हुन्छ । तेस्रो प्रहरको तीन महिनामा फल दिने हुन्छ । चौथो प्रहरमा देखेको सपना पन्ध्र दिनमा फल दिने हुन्छ । अरुणोदय बेलामा देखेको सपना दस दिनमा फल दिने र प्रातः कालमा सपना देखेर जागा भयो भने तुरुन्तै लाभदायक हुन्छ ।
जडो मत्रपुरीषेण पीडितात भयाकुलः ।
दिगम्बरो मुक्तकेशो त लभेत् स्वप्नजं फलम् ।।
बेहोश भएको, साह्रै डराएका, नाङ्गै सुतेको, केश फुकाई सुतेको, यस्ताले देखेको सपना निष्फल हुन्छ भनिन्छ । भगवान् भन्नुहुन्छ–

हष्ट्र स्वप्नं च निन्दालु यदि निन्द्रा प्रयाति च ।
बिमूढो वक्ति चेन्द्रत्रौ न लभेत् स्वप्नज फलम् ।।
जुन व्यक्तिले राम्रो सपना देखेर पनि फेरि सुत्छ अथवा रातमा नै कसैलाई सुनाउँछ त्यस्तो मूर्ख व्यक्तिले त्यस राम्रो सपनाको फल पाउँदैन ।
हे, नन्दजी सपनामा गाई, हात्ती, घोडा, देवल, दरबार, पर्वत, रुख चढेको, वीणा हातमा लिएको देख्यो भने उसलाई धन प्राप्त हुनेछ । त्यसैगरी सपनामा वाणले घाउ लाग्यो भने अथवा कीरा प¥यो भने, अथवा रगत देखियो भने पनि धन प्राप्त हुन्छ । सपनामा हात्ती, राजा, सुन, गाई, गोरु, बत्ती, अन्न फलफूल, छाता, रथ, ध्वजा आदि देख्यो भने परिवारजन बढ्नेछन् । कीर्ति हुनेछ ।
यसैगरी, सिगमण्ड फ्रायडले आफ्नो प्रसिद्ध पुस्तक ‘द इन्टरप्रिटेसन अफ ड्रिम’ मा सपनाको अर्थ उल्लेख गरेका छन् । यस पुस्तकमा लेखिएको छ, ‘यदि कुनै व्यक्तिले सपनामा ईश्वर, राजा या अन्य कुनै महान् व्यक्ति देख्छ भने त्यो आमाबुबाको प्रतीक हुन्छ ।’ आँप, स्याउ, नासपाती, भकुण्डो या अन्य कुनै मुलायम वस्तु देख्यो भने स्तनको प्रतीक हो भनी जान्नु पर्दछ । यसैगरी, यात्रा गर्नु, चढ्नु, ओर्लिनु, नाच्नु अनि पौडिने जस्ता सपना रतिक्रियाका प्रतीक हुन् । बन्दुक, सर्प, रुख, हतियार, खम्बा, छाता, डण्डा अनि कुनै लामो आकारको वस्तु सपनामा देखियो भने त्यो पुरुष लिङ्गको प्रतीक हो । अनि कुनै लामो बोतल, नाउ, जहाज, बक्सा, डिब्बाहरू, गुफा र मुख चाहिँ स्त्री लिङ्गका प्रतीक हुन् ।
फ्रायड, यङ्ग र एडलरले आ–आफ्नो दृष्टिकोणबाट सपनाको अर्थ लगाएका छन् । जसअनुसार फ्रायडले सपनालाई इच्छापूर्तिको साधन हो भनेका छन् । जब कुनै व्यक्तिले इच्छाहरू चेतन प्रतिबन्धकका कारण पूरा हुँदैनन्, ती इच्छा अचेतन स्तरमा पुगेर दमित हुन्छन् । जब कुनै व्यक्तिको जति पनि इच्छा दमित भएका छन्, ती दमित इच्छा प्रकट हुन सक्रिय रहन्छन् । अतः ती दमित इच्छा अचेतन मार्ग हुँदै सपनामा देखिन्छन् । फ्रायडले सपनालाई अझ ‘अव्यक्त या गुप्त’ र ‘व्यक्त विषय’ गरी दुई भागमा बाँडेका छन् । जब मानिसले सपनामा देखेका कुरा सविस्तार वर्णन गर्दछ, तब त्यो अव्यक्त ठानिन्छ । अनि सपनालाई जब प्रतिकात्मक रूपमा हेरिन्छ, तब त्यो व्यक्त विषय हुन्छ भनेका छन् । फ्रायडले आफ्ना विचारलाई अझ स्पष्ट बनाउने उद्देश्यले सपनाको कार्यलाई समेत चर्चा गरेका छन् । जस अनुसार सपनाको अव्यक्त विषय, व्यक्त विषयका रूपमा परिवर्तन हुन्छ । यी कार्य चाहिँ मनोरचनाहरू व्यक्त विषका रूपमा परिवर्तन हुन्छन् र यी कार्यचाहिँ मनोरचनाद्वारा हुन्छ । जस्तै सघनन्, प्रतिकीकरण, विस्थापन, नाटकीकरण र पश्चात् विस्तारण ।
तर युङ्गको विचार फ्रायडको भन्दा अलिक भिन्न छ । फ्रायड सपना सिद्धान्तलाई स्वतः प्रतिकात्मक सिद्धान्त ठान्छन् । उनका अनुसार मानिसको सबभन्दा ठूलो इच्छा भनेको बाँच्ने नै हो । मानिसका सबै कार्य बाँच्ने इच्छामा समाहित भएका हुन्छन् । अतः सपनामा केवल कामुक इच्छा मात्र हुँदैनन्, अरू इच्छा पनि प्रकट हुन्छन् । युङ्गले अचेतनलाई व्यक्तिगत अनि सामूहिक अचेतन भनी वर्गीकरण गरेका छन् । उनले सपनाको सम्बन्धलाई चाहिँ वर्तमान, भविष्य र विगतसँग हुन्छ भने । यसैगरी उनले पनि सपनालाई प्रतिकात्मक हुन्छ भने । तर सार्वजनिक होइन, यो नितान्त व्यक्तिगत मात्र हो ।
प्रसिद्ध मनोविज्ञ एडलरले पनि फ्रायडका विचारप्रति असहमत प्रकट गर्दै केही आफ्ना विचार थपे । उनले पनि सपनामा मानसिक सङ्घर्ष र दमनको महìवलाई स्वीकारे तर उनले कामुक इच्छाको महìवलाई भने अस्वीकार गरे । उनका अनुसार सपना सिर्फ कामुक इच्छालाई पूर्ति गर्ने माध्यम मात्र होइन । यसले त अधिपत्यको भावनालाई तृप्त गर्ने माध्यमका रूपमा काम गर्दछ । अर्थात् सपनाद्वारा ती समस्याको समाधान हुन्छ, जुन अधिपत्यको भावना अथवा श्रेष्ठताको भावना र हीनताको भावनाको सङ्घर्षको कारणद्वारा उत्पन्न हुन्छ । एडलरले सपनाको सम्बन्धलाई विगत, वर्तमान र भविष्यसँग पनि हुन्छ भनेका छन् ।
सपनाको सम्बन्धमा, उपरोक्त मनोविज्ञहरूको सिद्धान्त पढ्दाखेरी कुन चाहिँ ठीक हो र कुन चाहिँ बेठीक हो, त्यो कुरा ठम्याउनै सकिँदैन । अतः यो चाहिँ सत्य हो कि सपना सार्थक हुन्छ, सपना महìवपूर्ण हुन्छ र सपनाद्वारा मानिसका अचेतन मनका इच्छा पूरा हुन्छन् । अनि सपनाद्वारा मानिसको वर्तमान, भूत र भविष्य रूपी जीवनको महìवपूर्ण कुरा जान्न सकिने हुनाले यसको मनोवैज्ञानिक महìव ठूलो छ ।
 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?