ग्रिन टावेल
कथाकार शान्ति शर्माको दोस्रो कथासङ्ग्रह हो– ‘ग्रिन टावेल’ । यसअघि २०६८ सालमा उहाँको ‘पहिलो प्रेमिका’ कथासङ्ग्रह सार्वजनिक भएको थियो । ‘ग्रिन टावेल’ सङ्ग्रहभित्र सामाजिक विषयवस्तुका १५ वटा कथा छन् । जसले जीवनका विविध सन्दर्भ उजागर गर्न सफल भएको छ । स्नातकोत्तरमा ‘समकालीन नेपाली द्वन्द्व कथा’ विषयमा शोधपत्र गर्नुभएकी कथाकार शर्माले साहित्यमा पनि कथालाई नै मुख्य विधाका रूपमा रोज्नुभएको छ ।
सङ्ग्रहभित्रको ‘ग्रिन टावेल’ कथामा आफ्नै शिक्षकसँग छात्राको प्रेमसम्बन्धलाई रोचक किसिमले देखाइएको छ । वर्षौंपछि आफ्नै गुरुलाई भेट्न गएकी ‘म’ पात्रले गुरुप्रति देखाएको अव्यक्त प्रेम गुरु–शिष्यबीचको नभई प्रेमीप्रेमिका बीचको भइदिन्छ । कथामा भनिएको छ– ‘गुरु, गुरु मात्रै रहनु भएन । अब उहाँ त प्रेमी पनि..... तर उहाँले नै अघि दिएको गुलाबको फूल जस्तै अप्राकृतिक । वा भनूँ बेमौसमी । आश्चर्यलाग्यो । कतै मैले कमलको फूलमा काँडा देखिरहेकी त छैन ?’
‘प्रेमभन्दा शक्तिशाली चिज कुनै नहुँदो रहेछ । मेरो मनमा पनि नजाँनिदो तरिकाले गुरुप्रतिको प्रेमभाव उब्जियो । विशुद्ध प्रेम, जसमा कुनै विकार तत्वको मिसावट नहोस् आखिर मनै त हो कसले बात लगाउन सक्छ र चाहेर पनि...’ (पृ.५९)
यसैगरी ‘आखिर ऊ पनि गई’ कथा छोरा नै खोजेर महिलालाई पटकपटक गर्भपतन गराउन बाध्य पार्ने समाजको प्रतिनिधि घटना हो । ‘कोख’ कथामा सन्तान जन्माउन नसक्नुमा महिलालाई नै दोषी देखाइन्छ भन्ने समाजको मनोविज्ञान दर्शाइएको छ भने ‘कोभिड १९’ कथामा पारिवारिक सम्बन्धमा कोरोनाले उब्जाएको मनोविज्ञान र मृत्युमा पनि कोभिड नहँुदा देखिएको त्रास वा पीडाभित्रको खुसी कथाको बलियो पक्ष बनेको छ ।
यस्तै ‘प्रतिशोध’ कथा पुरुष सत्तावादी कथा हो भने ‘भत्किएको संसार’ कथा वैदेशिक रोजगारीमा विदेश गएका श्रीमान्हरूका श्रीमतीहरूको यौन मनोविज्ञानमा केन्द्रित कथा हो । पत्नी पीडित पतिहरूको कथा हो ‘पीडक पत्नी’ कथा भने ‘मोह’ कथा अन्तरजातीय प्रेम सम्बन्धले उत्पन्न परिस्थितिमा जन्मिएको कथा हो । ‘प्रेमातङ्क’ कथा प्रेमिकाको मनोभाव बुझ्न नसक्ने पुरुषको कथा हो । ‘सम्बन्ध सूत्र’,
‘पर्खाल’, ‘दोस्रो लोग्ने’, ‘मनकली’ जस्ता कथाले सिङ्गो समाज बोलेको छ ।
कथासङ्ग्रहमा भूमिका लेख्दै समालोचक प्रा.डा. एकनारायण पौडेलले भन्नुभएको छ, ‘सामाजिक, मनोवैज्ञानिक, पारिवारिक र आर्थिक क्षेत्रका विविध पक्षलाई कथासङ्ग्रहले बलियोसँग उठाएको छ ।’
वरिष्ठ साहित्यकार तथा लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथामा जीवन उतार्नु, जीवनमा प्रेम, संवेग, यौन मनोविज्ञानलाई दर्शाउनु कथाकार शर्माको विशेषता भएको बताउनुभएको छ । नारीमाथि हुने विभेद मात्रै होइन, नारी स्वयम्ले पुरुषमाथि गर्ने गलत कार्यको पनि यस कथासङ्ग्रहले केलाएको छ । साहित्यकार श्रेष्ठ भन्नुहुन्छ, ‘कोमलता, समर्पण, सहनशीलता नारीको विशेषता भए पनि नारी भित्रका क्रूरता, बदमासी र बेइमानीलाई कथामा केलाउन कथाकार सक्षम हुनु नारी–पुरुष समानताका लागि उनको वकालत हो ।’
शिखा बुक्सले प्रकाशन गरेको यस सङ्ग्रहको नाम ‘ग्रिन टावेल’ छनोट हुनु चाहिँ अङ्ग्रेजीको मोह देखिन्छ । साथै कतिपय कथाहरू कतैबाट प्रभावित भएर लेखिएको पो हो कि भन्ने पनि देखिन्छ । उदाहरणका लागि थारू जीवनसँग जोडिएको ‘मनकली’ कथामा बोक्सी भन्ने हँुदैन, गलत हो भन्ने सन्देश दिन खोजिएको छ, यो राम्रो पक्ष मान्न सकिएला तर यो कथा ‘अग्नि दहन’ उपन्यासमा पनि रहेको छ । यद्यपि नारीवाद, मनोविज्ञान र आञ्चलिकताका दृष्टिले पाठकको मन तान्न यो कथासङ्ग्रह सफल हुनेछ । सरल भाषाशैलीका कारण सर्वसाधारण पाठकले पनि सहज बुझ्न सक्ने कृतिको रूपमा यो कथासङ्ग्रह रहेको छ ।
वसन्त पराजुली