रामचन्द्र वाग्ले
हात्ती जमिनमा बस्ने स्तनधारी जीवमध्ये सबैभन्दा विशाल जनावर हो । हात्तीहरूमा अफ्रिकाली हात्ती सबैभन्दा ठूलो हुन्छ । अफ्रिका र एसियामा मात्रै हात्ती पाइन्छ । एसियाली हात्ती र अफ्रिकाली हात्ती गरी यसका प्रमुख दुई प्रजाति छन् । अफ्रिकाली हात्तीको सभाना र जङ्गली गरी दुई उपप्रजाति छन् । त्यस्तै एसियाली हात्तीको श्रीलङ्काली, भारतीय र इन्डोनेसियाली गरी तीन उपप्रजाति छन् । एसियाली हात्तीको वैज्ञानिक नाम ‘इलिफस म्याक्सिमस’ हो । यो पानीको स्रोत नजिकै बस्न रुचाउँछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार एसियाली हात्ती विश्वका १४ देशमा पाइन्छ । नेपालको तराई भेगमा पाइने हात्ती एसियाली हात्ती हो । नेपालका करिब २२ जिल्लामा हात्ती पाइन्छ । विशेषगरी बर्दिया, चितवन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा हात्ती पाइन्छन् । नेपालमा करिब २५५ देखि २६५ वटा जङ्गली र १५० वटा घरपालुवा हात्ती रहेका छन् । त्यस्तै हाल विश्वमा चार लाख ५० हजारदेखि सात लाख अफ्रिकाली हात्ती र करिब चालिस हजारदेखि पचास हजार वयस्क एसियाली हात्ती रहेको अनुमान गरिएको छ ।
हात्ती बुद्धिमान जीव हो । हात्तीको सबैभन्दा संवेदनशील अङ्ग यसको सँुड हो । जुन करिब एक लाख पचास हजार मांसपेशी एकाइले बनेको हुन्छ । यसको सहायताले यसले विभिन्न काम गर्न सक्छ । यसले आफ्नो सँुड विभिन्न वस्तु उचाल्न, चेतावनी दिन, अभिवादन गर्न, पानी पिउन र नुहाउन प्रयोग गर्छ । एसियाली भाले हात्तीको मात्रै दाह्रा हुन्छ, पोथीको हँुदैन वा भए पनि साह्रै सानो हुन्छ तर अफ्रिकाली हात्तीको सन्दर्भमा भन्नुपर्दा भाले र पोथी दुवैको दाह्रा हुन्छ । सँुडले जस्तै हात्तीले आफ्नो दाह्राको सहायताले थुप्रै कार्य गर्छ । यसले आफ्नो दाह्रा सँुडको रक्षा गर्न, विभिन्न वस्तु सार्न, खानेकुरा जम्मा गर्न, रूखको बोक्रा निकाल्न र आफ्नो रक्षा गर्न उपयोग गर्छ । यसका साथै खडेरीको समयमा पानी प्राप्त गर्नका लागि जमिनमा प्वाल बनाउन पनि दाह्राको प्रयोग गर्छ ।
वयस्क भाले हात्ती एक्लै बस्छ भने पोथी समूहमा बस्छ । समूहको नाइके सबैभन्दा बूढी हात्ती हुन्छे । हात्ती १८ वर्षमा वयस्क हुन्छ । यसको आयु ६० देखि ७० वर्ष हुन्छ । यो ४० देखि ४३ कि.मी. प्रतिघण्टाको दरले दौडन सक्छ । एसियाली हात्ती औसतमा नौ फिट अग्लो हुन्छ । विश्व वन्यजन्तु कोषका अनुसार हात्ती १८ देखि २४ फिट लामो र चारदेखि छ टन तौलसम्मको हुन्छ ।
हात्तीको श्रवण शक्ति र सँुघ्ने शक्ति राम्रो हुन्छ । यसले सानो तरङ्गको ध्वनि पनि सुन्न सक्छ । तर देख्न सक्ने शक्ति भने कमजोर हुन्छ । यसले चर्को उज्यालोमा थोरै तर मधुरो उज्यालोमा राम्ररी देख्न सक्छ । हात्तीको गर्भधारण अवधि करिब २२ महिना हुन्छ र प्रायः वर्षायाममा बच्चा जन्माउँछ । भर्खरै जन्मेको अफ्रिकाली हात्तीको छावा करिब १२० किलोग्राम हुन्छ । छावा जन्मेको २० मिनेटभित्र उठ्न सक्छ र एक घण्टाभित्र हिँड्न पनि सक्छ । छावा जन्मेको करिब दुई वर्षपछि मात्र हस्तिहाड देखा पर्छ ।
हात्तीको छाला शरीरका धेरै स्थानमा अढाइ सेन्टिमिटर बाक्लो हुन्छ । यसको मोडिएको र खुम्चिएका छालाले फराकिलो छालाको तुलनामा १० गुणा बढी पानी शरीरमा सञ्चय गर्न मद्दत गर्छ । शारीरिक क्रियाकलाप, स्पर्श, आवाज, सिस्मिक इशारा आदिबाट यसले सूचना आदानप्रदान गर्छ । सिस्मिक इशारा भन्नाले जमिनमा कम्पन उत्पन्न गरेर दिइनेलाई बुझिन्छ । जुन इशारा हात्तीले खुट्टाको हाडको सहायताले टाढा रहेको हात्तीसम्म पठाउँछ र टाढा रहेको हात्तीले सूचना प्राप्त गर्छ ।
यसले एकदिनमा १५० देखि २५० किलोग्राम बराबरको वनस्पति र त्यसका उत्पादन उपभोग गर्छ । प्रजनन गर्ने समयमा भाले हात्तीको कानबाट कालो लेदो निस्किन्छ । यस्तो समयमा हात्ती बढी आक्रामक र उन्मत्त हुन्छ । यस्तो बेलामा जङ्गली हात्ती मात्र नभएर घरपालुवा हात्तीले पनि उपद्रो मच्चाउन सक्छ ।
प्राचीनकालदेखि अहिलेसम्म पनि हात्तीलाई तालिम दिएर काममा लगाउने क्रम जारी छ । बाघ, गैँडा आदि जस्ता ठूला जीवलाई बाढी, पहिरोले बगााएर अन्त लग्यो भने फिर्ता ल्याउन पनि हात्तीको सहयोग लिइन्छ । बितेको सय वर्षमा अफ्रिकाली हात्ती करिब ९० प्रतिशतले र एसियाली हात्ती बितेको ६०–७० वर्षमा ५० प्रतिशतले घटेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार हात्तीलाई संरक्षित जीवको सूचीमा राखिएको छ । विश्व प्रकृति संरक्षण सङ्घ र साइटिसले हात्तीलाई लोपोन्मुख जीवको सूचीमा सूचीकृत गरेको छ ।
हात्तीमा पनि मानिसमा जस्तै भावनात्मक सम्बन्ध हुन्छ । मानिसमा जस्तै हात्तीमा पनि जन्मिँदा खुसी हुने र मर्दा वा वियोग हुँदा दुःखी हुने बानी हुन्छ । रोचक कुरा भनेको यसको पुच्छरको रौँ हो । पुच्छरमा भएको एउटा रौँबाट हामीले यसले खाने खाना, अवस्था, उमेर र अन्य जानकारी प्राप्त गर्न सक्छौँ ।
हात्तीको संरक्षण हुँदा यसको वरपर पाइने वन, पारिस्थितिक प्रणाली, वनस्पति र जनावर सबैको रक्षा हुन्छ । घना जङ्गलमा यो हिंड्ने बाटोमा अन्य जीवलाई हिंड्न सहज हुन्छ । यसको चरण चिह्नले सूक्ष्म पारिस्थितिक प्रणालीको सिर्जना गरिरहेको हुन्छ । उक्त स्थानमा पानी भरिएको समयमा चेपागाँडा तथा अन्य स–साना जीव बस्न र हुर्किन सक्छन् ।
हात्ती हाम्रो साथी हो । प्राचीनकालदेखि अहिलेसम्म नियालेर हेर्दा हात्ती र मानिसको सम्बन्ध साथीको जस्तै छ । पहिले पहिले युद्ध गर्दा राजाहरू हात्तीमा नै सवार भएर युद्ध लड्न जान्थे । स्वर्गका राजा इन्द्रले युद्धमा प्रयोग गरेको ऐरावत हात्ती हो । अहिले पनि हात्तीलाई विभिन्न चलचित्रमा प्रयोग गर्ने गरिएको छ । हात्ती साथीजस्तै भएर त होला यसलाई पाल्ने क्रम अझै चलिरहेकै छ ।
हात्तीले रुखका हाँगा भाँचेर खाँदा स–साना बोटबिरुवाले प्रकाश पाउँछन् । फलस्वरूप ती बिरुवा राम्ररी हुर्कन्छन् । जङ्गलमा यसले छानी छानी बिरुवा खाने भएकाले नयाँ बिरुवा उम्रिन र हुर्किन पाउँछन् । हात्तीले बिरुवा र झाडी सफा गरेर नयाँ बिरुवा हुर्कनका लागि सुहाउँदो वातावरण पनि तयार पारिदिन्छ । सुक्खायाममा आफ्नो दाह्राको सहायताले जमिन खनेर पानी निकाल्छ । उक्त पानी हात्ती बाहेक अन्य जीवले पनि प्रयोग गर्छन् । हात्तीले खाएको आधा खानेकुरा राम्ररी पचाएको हँुदैन । त्यसैले यसको गोबरमा विभिन्न प्रजातिका वनस्पतिको बीउ सुरक्षित हुन्छ । यस्ता बीउ उम्रिएर पारिस्थितिक प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसरी यसले बीउ वितरण कार्यमा र परागसेचन क्रियामा मद्दत पु¥याउँछ । यसले माटोको उर्वराशक्ति बढाउन पनि मद्दत गर्छ ।
हावापानी परिवर्तन न्यूनीकरणमा यसले मद्दत गर्छ । घरपालुवा हात्तीले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ । मानिसले गर्न नसक्ने थुप्रै गाह्रो काम गर्न सहज बनाउँछ । पर्यटकलाई आकर्षित गर्छ । स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुँदा आर्थिक उन्नतिमा मद्दत पुग्छ । हात्तीपोलो र हात्तीसफारीले पनि आयआर्जन गराएकै छ । हामीले हात्ती पर्यटनको विकास गर्न सक्यौँ भने रोजगारी र व्यापार, व्यवसाय गर्न पाउँछौँ ।
यो जीव खतरामा पर्नुका मुख्य कारण वासस्थान विनाश, वासस्थान विभाजन, गैरकानुनी हस्तिहाड बेचबिखन, हात्तीको कोरिडोर विनाश, चोरीसिकारी, मानिस र हात्तीबीचको द्वन्द्व, हात्तीलाई लाग्ने रोग जस्तै क्षयरोग आदि हुन् । यसका साथै हात्तीको वासस्थान संरक्षण क्षेत्रभन्दा बाहिर सीमित भएकाले पनि यसको संरक्षण गर्न गाह्रो भएको हो । त्यस्तै अन्य कारणमा हात्तीको ओहोरदोहोरमा समस्या र यसले मन पराउने लहरा प्रजाति लोप हुनु पनि हो । एक अध्ययन अनुसार एसियाली हात्तीभन्दा अफ्रिकाली हात्तीको चोरीसिकारी बढी हुने गरेको पाइएको छ ।
मानव र हात्तीबीचको द्वन्द्वले धनजनको क्षति गर्नुका साथै समुदायस्तरमा हात्ती संरक्षणको रुचि पनि घटाएको छ । एक अध्ययन अनुसार सन् २००५ देखि २०१९ सम्ममा (१५ वर्षको अवधिमा) हात्तीको आक्रमणबाट १९९ जनाले ज्यान गुमाएका छन् । निकुञ्ज र आरक्षभन्दा बाहिर रहेका जिल्लामा हात्तीको आक्रमणबाट मर्नेको सङ्ख्या अधिक रहेको अध्ययनले देखाएको छ ।
हात्ती समभmदार र दयालु स्वभावको हुने र यसले प्रायः मानिसलाई आक्रमण नगर्ने विज्ञहरू बताउँछन् तर विशाल शरीर भएकाले खानाको खोजीमा भाँैतारिँदा किसानका खेतबारीमा छिर्न पुग्छन् । किसान आफ्नो बालीनाली खाएको देखेर हात्तीविरुद्ध खनिन्छन् । यसरी मानिसले आक्रमण गर्न थालेपछि हात्तीलाई रिस उठ्छ र उसले पनि आक्रमण गर्न सुरु गर्छ । हात्तीको स्मरणशक्ति बलियो हुने भएकाले आक्रमण गरेको मानिसलाई यसले चिन्छ । नेपालमा प्रायः यस्तै कारणले गर्दा मानिस मर्ने गरेको पाइएको छ ।
एक अध्ययन अनुसार अफ्रिकामा प्रत्येक १५ मिनेटमा हस्तिहाडका लागि एउटा हात्ती मारिने गरेको पाइएको छ । अहिलेकै दरमा हात्तीको सिकार हुँदै जाने र संरक्षणका उपाय नअपनाउने हो भने अबको १२ वर्षपछि हात्ती विश्वबाट लोप हुने यही अध्ययनको निष्कर्ष छ ।
- भाले अफ्रिकाली हात्ती ३५ देखि ४० वर्षको उमेरमा (करिब आधा उमेरमा) नै पूर्ण रूपमा विकसित हुन्छन् । यिनीहरू करिब ६० देखि ७० वर्षसम्म बाँच्छन् ।
- अफ्रिकाली हात्तीको बच्चा जन्मिँदै ठूलो हुन्छ । भर्खरै जन्मिएको छावा एक सय २० किलोग्रामको हुन्छ ।
- हामीले हात्तीको कान हेरेर नै एसियाली हात्ती हो कि अफ्रिकाली हात्ती हो भनेर छुट्याउन सक्छौँ । अफ्रिकाली हात्तीको कान एसियाली हात्तीको भन्दा ठूलो हुन्छ । यसका अलावा अफ्रिकाली हात्तीको सुँडको टुप्पामा दुईवटा औंला जस्तो लामा छाला हुन्छन् तर एसियाली हात्तीको एउटा मात्र औंला जस्तो लामो छाला हुन्छ ।
- छावा जन्मेको २० मिनेटभित्र उभिन सक्छ, एक घण्टाभित्र हिंड्न सक्छ र दुई दिनपछि समूहमा हिँड्न सक्छ ।
- हात्तीको मस्तिष्कमा हुने ‘टेम्पोरल लोब’ मानिसको भन्दा ठूलो र बाक्लो हुन्छ । यही कारणले हात्तीले लामो समयपछि बसाइसराइ गर्दा पनि आफू हिँडेको बाटो, पानीको स्रोत कहिल्यै बिर्सिंदैन ।
बितेको सय वर्षको अवधिमा करिब ९० प्रतिशत अफ्रिकाली हात्ती लोप भएर गए । - हात्तीले मौरीलाई घृणा गर्छ र मौरीसँग डराउँछ पनि । त्यसैले विभिन्न ठाउँका किसानले आफ्नो बालीनाली हात्तीबाट बचाउनका लागि मौरीपालन गर्छन् ।
- हात्ती विशाल जीव भए पनि करिब २५ माइल प्रतिघण्टाका दरले कुद्न सक्छ ।
- हात्ती सबैभन्दा लामो समय (२२ महिना) गर्भधारण गर्ने स्तनधारी जनावर हो ।यसले ५० वर्ष पुग्दासम्म बच्चा जन्माउन सक्छ ।
- मानिसले जस्तै हात्तीले पनि आफूले माया गरेको हात्तीको मृत्युमा शोक मनाउने गर्छ । कैयांँ वर्ष भइसक्दा पनि शोक परेको ठाउँमा गएर मौनधारण गर्ने र रुने गर्छ ।
- हात्तीको बच्चा (छावा) जन्मिँदा अन्धो हुन्छ ।
- ‘लिङ वाङ’ नामक हात्ती ८६ वर्षसम्म बाँचेको थियो ।
- हात्तीले आफ्नो आफ्नो सुँड एकापसमा जोडेर एक अर्कालाई ‘हेल्लो’ भन्ने गर्छन् ।
- यिनीहरूको परेला सबै जीवभन्दा लामो हुन्छ ।
- हात्तीको सबैभन्दा नजिकको जिउँदो इष्टमित्र ‘हाइ¥याक्स’ (एक प्रकारको सानो खरायो) हो । यिनीहरू दुवैका पुर्खा एउटै थिए ।
- यो उफ्रिन नसक्ने एक मात्र स्तनधारी जीव हो । यो दौड्दा पनि कम्तीमा एउटा खुट्टाले भुइँमा टेकिरहेको हुन्छ ।
- हात्तीको सँुडमा करिब आठ लिटरसम्म पानी अटाउँछ ।