logo
२०८१ मंसिर १० सोमवार



सुङ्रकोट

शनिवार |


सुङ्रकोट



शीतल गिरी


सुदूर पश्चिममा पर्ने बैतडीको सुरम्य बस्ती सुनार्यागाडको तटवर्ती दक्षिणोपरि स्थानमा अत्यन्त सुन्दर सुङ्रकोट राज्य थियो उहिल्यै । योगी नरहरिनाथको कथनानुसार पश्चिमतिरका बाइसी राज्यको नेतृत्व डोटी राज्यले गरेको हुँदा सुङ्रकोट राज्य डोटी राज्यअन्तर्गत एउटा सानो उपराज्यको रूपमा स्थापना भएको कुरा स्वीकारिन्छ । डोटी राज्यमा शासन गर्ने डोटेली राजा निरयपालले आफ्नो पश्चिमी सीमा महाकाली नदीसम्म विस्तारित गरेको हुँदा यस क्षेत्र अन्तर्गतका ससाना बोट्टे राजारजौटाहरू डोटी राज्यकै मातहतमा रहेको कुरा ज्ञात गर्न सकिन्छ । ज्ञात गर्नु नै पूर्णता भए अज्ञात अपूर्णताको दैलो पनि त हुन सक्छ । भग्नावशेषकै रूपमा भए पनि प्राप्त कोट विगत समय र घटनाको सम्बन्धमा बुझ्न सकिने तथ्य हो । मानिसहरू भग्नावशेषको अवलोकन र लोकगाथाको परिधिभित्र स्वतन्त्र भएर सोधिरहन्छन्, आजको समय विगतबारे सोध खोज गर्ने नै हो– भग्नावशेष अवलोकनको वातावरण, शान्त अपनत्वको वातावरणमा अनुसन्धानकर्ताले लोकगाथा केलाएर सत्यको नजिक पुग्न सक्छ भन्ने स्पष्ट हुन्छ । यसरी खोज्नुपर्ने कुरा धेरै बाँकी छ । म आफ्नो मनको बह यसरी पोखेर शान्ति प्राप्त गर्छु, यसकारण शून्यतामा हराउन तत्पर भई रहन्छु ।
बाइसी राज्यको नेतृत्व जुम्ला राज्यले गरेको परिप्रेक्ष्यमा डोटी राज्यको सीमा पश्चिमका कुमाउँ र गढवालसम्म फैलिएको थियो । जुम्ला राज्य कमजोर परिवेशमा त्यस अन्तर्गतका सम्पूर्ण बाइसी राज्यको नेतृत्व डोटी राज्यले नै गरेको कुरालाई इतिहासकारहरूले स्वीकारेका छन् । कर्णाली प्रदेशमा तत्कालीन सिञ्जाली राज्य निकै बलियो रहेको कुरालाई पनि इतिहासकारहरूले उल्लेख गरेका छन् । कर्णालीवारि सेती–महाकालीमा भने डोटी राज्यले नै आफ्नो आधिपत्य जमाएको थियो र कुमाउँ राज्य र डोटी राज्यबीच कैयौँ पटक युद्ध भएको र यो युद्धमा डोटी राज्यले नै विजयपताका फहराएकाले डोटी राज्यले गढवालसम्म समेत आफ्नो पश्चिमी सीमाना कायम गरेको कुरालाई पनि इतिहासकारले उल्लेख गरेको पाइन्छ । डोटी राज्य, सुङ्रकोट राज्य, जुम्ला राज्य एकै प्रकारले समकालीन थिए, डोटी राज्यको जस्तो विशालता सुङ्रकोटमा पाइन्न । अनि जुम्लाको वीरताले कोरेको इतिहास पनि यो सानो राज्यमा देखिन्न । सुङ्रकोटको विगतझैँ नेपालभर कतिपय ससाना राज्यहरूको कथाव्यथा छटपटाई रहेको अनुभूति हुन्छ तर मलाई सुङ्रकोटको शून्यताको तथ्य जान्न छट्पटी लागिरहेको छ । सुङ्रकोट राज्यको निर्माण किन ? यसलाई अन्य साना तत्कालीन राज्यभन्दा पृथक् देखाउने कारण के हो ? अथवा यसको आफ्नै खास विशेषता थियो ? प्रमाणित कसरी गर्ने– भग्नावशेषले त केही बोल्दैन । हो लोकगाथाको गहन अध्ययन अन्वेषण यस्तैका लागि हो ।
नेपालको एकीकरण गरिने सन्दर्भमा पश्चिमका बाइसी, चौबीसे राज्यहरूका साथै कुमाउँ र गढवालसमेत नेपाल राज्यअन्तर्गत समाहित हुन पुगेको कुरा पनि इतिहासबाट सुस्पष्ट हुन आउँछ । सुगौली सन्धि हुनुभन्दा अघि नेपालको पूर्वी सीमान टिष्टा नदी र पश्चिमी सीमाना सतलज नदीसम्म रहेको थियो । नेपालको एकीकरण हुनुभन्दा अघि पश्चिमी बाइसी राज्य र सो राज्यअन्तर्गतका उपराज्यहरू डोटी राज्यको मातहतमा रहेकाले डोटी राज्यकै परिधिको परिवेशमा पाटन सुङ्रकोट उपराज्य स्थापना भएको कुरा स्वीकारिन्छ । तथ्य भन्ने कुरा न ‘आत्मन’ हो न ‘अनात्मन’ । तथ्य ‘शून्य’ हो । तथ्यको आधारमा सत्यवाद या अस्तित्ववादद्वारा विगत कोट्याउँछौँ ।
डोटी राज्यअन्तर्गतको उपराज्यका रूपमा पाटन सुङ्रकोटमा तत्कालीन राजा उदयदेवले राज्य स्थापना गरी सञ्चालन गरेको कुरा जनमानसमा व्याप्त छ । तर यसको प्रमाणित अभिलेख भने फेला परेको छैन । खासगरी सुङ्रकोटमा तत्कालीन राजा खिपचनले सुङ्रकोट उपराज्यको किल्ला निर्माण गरी राज्य सञ्चालन गरेको कुरा निकै व्यापक छ । पाटन सुङ्रकोट उपराज्यको किल्ला निर्माण गरी राज्य सञ्चालन गर्ने राजा खिपचन हुन् । कतिपय जनमानसमा व्याप्त श्रुति परम्पराअनुसार खिपचन उदयदेवकै सन्तान हुन् भन्ने कुराको उल्लेख रहे पनि यसको कुनै अभिलेख उपलब्ध नभएकाले यसको पुष्टि गर्न सकिँदैन । खिपचनले पाटन खर्गेनी पीपलको पूर्वोत्तरीय सानो पर्वतीयाकारको परिवेशमा आफ्नो दरबार निर्माण गरी मजबुत किल्ला बनाएका थिए ।
खिपचनले धेरै वर्षसम्म त्यहाँ शासन सञ्चालन गरेका थिए । भिरालो दमस्याइलो चट्टानजस्तो बलियो दरबारसहितको किल्ला उनले निर्माण गर्न लगाए । यो किल्ला अझै पनि जीवन्त रूपमा ठडिएर रहेको छ । यस दरबारिया किल्लाका वरिपरि सुरक्षित घेराको पर्खाल पनि निर्माण गरिएको छ । किल्लाको दरबारिया भवन केही फराकिलो र अलि साँगुरो शिवलिङ्गाकारका रूपमा रहेको छ । यसका भित्री सतहमा अनेकौँ कोठा रहेका र ती कोठामा बैठककोठा, सभाकक्ष, न्यायकक्ष, भोजनालय, शयनकक्ष, विश्रामकक्षका साथै सैन्यकक्ष र सेनापति एवं राजाका सल्लाहकार, भारदार, अमात्य र राजकर्मचारीका आवास पनि दरबारिया किल्लाभित्रै तहमा अलगअलग रूपमा निर्मित छन् । शत्रुपक्षको आक्रमणको प्रत्याक्रमण गरी सुरक्षा प्रदान गर्ने अनेकौँ अग्ला पर्खाल पनि बनाइएका देखिन्छन् । मजबुत दरबारको भित्रैबाट सुनार्यागाड नदीमा आवतजावत गर्न बनाइएको मार्गबाट राजा र राजपरिवार जलक्रिया स्नान गर्न नदीमा जाने आउने गर्थे । त्यस दरबारिया कोटको किल्ला बाहिरबाट आवतजावत गर्दा शत्रुपक्षको आक्रमणको भय हुने हुँदा उक्त किल्ला भित्रैबाट सबै क्रियाकलाप गर्ने व्यवस्था मिलाइएको थियो । एक दिन राजा खिपचन सुनार्यागाडको मनोहर तलाउमा पौडी खेल्दै स्नान गरिरहँदा उनको शरीरमा करिब पाँच हात जति लामो केश बेरिएछ । यस्तो सुनौलो लामो केश भएकी युवती को होलिन्, कति सुन्दरी होलिन् ? तिनलाई आफ्नी बनाई दरबार किल्लाभित्र सहचारीका रूपमा राखी रतिराग गर्न पाए हुन्थ्यो भन्ने चिन्ताले राजा निकै उद्विग्न हुन थाले ।
खिपचन राजाले आफ्ना सैनिकहरूलाई उक्त ‘लामो केश भएकी सुन्दरी पत्तालगाई तुरुन्तै म समक्ष उपस्थित गराऊ’ भन्ने आदेश दिए । सिपाहीहरूले खोज्दै जाँदा युवती कोट दरबारको पूर्वी इलाकाकी रहिछिन् । राज्याज्ञानुसार सिपाहीहरूले ती लामो केश भएकी युवतीलाई राजा खिपचनसमक्ष उपस्थित गराएपछि तिनको परिचय खुल्न जाँदा ती युवती भण्डारीकी छोरी, कठायतकी पत्नी रहिछिन् । ती विवाहिता नारीको असहमति रहँदा रहँदै पनि राजा खिपचनले सतित्व अपहरण गरेछन् । ती नारीले आफ्नो पवित्र पतिव्रता धर्म भ्रष्ट गरिएपछि आत्महत्या गरिन्, तब त्यहाँका जनताले थाहा पाएर अर्काकी नारी अपहरण गरी सतित्व भङ्ग गर्ने दुराचारी राजाको विरोध स्वराड पाटन क्षेत्रमा निकै व्यापक भयो । पाटन स्वराडका सम्पूर्ण जनता राजतन्त्र समाप्त पारी गणतन्त्र स्थापना गर्न आन्दोलनमा सक्रिय रूपले सहभागी भए । अर्काकी नारी सुन्दरी र राम्री हुँदैमा राजाले अपहरण गर्ने हो भने आज एकको अपहरण ग¥यो, भोलि अर्काको अपहरण गर्ला भन्ने आशङ्का गरी यस्ता दुराचारी अन्यायी राजाको दमन गर्नुपर्ने आवश्यकता यहाँका चौरठ्या (विष्ट, भण्डारी, कठायत, ऐरी) हरूले ठह¥याए । यी सबै मिलेर खिपचनको किल्ला दरबारमा आक्रमण गरी राजासहित राजपरिवारको हत्या गरियो ।
तत्कालीन बोट्टे राजा रजौटाहरूले धेरै विवाह गर्थे । भोग बिलासी राजा खिपचनकी पनि एउटी रानी कामको सिलसिलामा बाहिर गएकी रहिछिन् । ती गर्भिणी अवस्थामा रहेकी रानीले राजपरिवारको हत्या भएको कुरा थाहा पाएकाले प्राण जोगाउन भाग्दाभाग्दै तल्लो स्वराड रोडीदेवल पुग्दा तिनबाट छोरा जन्मेको हुँदा त्यहाँका बासिन्दाले तिनको संरक्षण गरेछन् । रोडा भन्ने ठाउँमा रोडियाको रूखमुनि बालक जन्मेकाले उसको नाम रोड्याल राखियो । उसको सन्तानहरूलाई रोड्याल भन्ने गरियो । तत्कालीन परिवेशमा पाटन स्वराड सुङ्रकोट राज्यमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना गरी विष्ट, भण्डारी, कठायत, ऐरी पालैपालो डोटी राज्यको निर्देशनमा राजप्रतिनिधि भई राज्य सञ्चालन गरेको कुरा यहाँ जनमानसमा व्याप्त छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?