logo
२०८१ मंसिर १० सोमवार



टोड्के बाघ

शनिवार |


टोड्के बाघ


विशालप्रसाद न्यौपाने

सिमरास्थित त्रिभुवन राजपथनेर चटपटे तयार हुँदैछ । ठेलामा भुजा घोलेको घर्षण र सानो पुन्टे रेडियोको आवाज मिश्रित हुँदै मेरो कानमा आइरहेको छ । आलम दाइको चटपटे निकै प्रख्यात छ यस क्षेत्रमा । एकचोटि खाएपछि जिब्रो आफै पड्कन थाल्छ । चटपटे पसल नजिकै एक वृद्धले माछाको कत्ला छिलेर धारिलो चुलेसीले पिसपिस पार्दैछन् । मानिसको चहलपहल पनि बाक्लै छ । साइकल, मोटरसाइकल पनि कुदिरहेका छन् । म पनि त्यतैतिरको दृश्य हेर्दैछु । अचानक मानिसहरूको चहलपहल भएको ठाउँबाट बिरालोले बाटो काट्यो ।
साइकल हुइँक्याउँदै आएको एउटा अधबैँसे पुरुष एक्कासि रोकियो । एकछिन पछि हातमा सामान झुन्ड्याउँदै आएकी महिलाले त्यो बाटो पार गरिन् । त्यसपछि बल्ल त्यो अधबैँसे पुरुषले पनि दुई चोटि थु..थु.. गर्दै बाटो पार ग¥यो । चटपटे बेच्ने दाइले कागती निचोर्दै त्यसको रस मसालेदार भुजामा हाले । यो देखेर कागतीको रस भुजामा भन्दा पनि मुखमा आयो । बिरालो हेर्न यहाँ कतिलाई सौभाग्य मिल्दैन । तर हामी बिरालो देख्दा आफ्नो कर्मलाई धिक्कार्छौं । सामाजिक शिक्षामा सरले अन्धविश्वासबारे पढाउँदा यसबारेमा त्यति धेरै मतलब त राखिएन । तर अहिले यसको महìव ठम्याउँदै छु ।
फेरि तपाईंहरूलाई लाग्ला बिरालो हेर्न पनि सौभाग्य चाहिन्छ र ? हाम्रो घर वरपर त पुच्छर हल्लाउँदै जति पनि बिरोलो हिँडेको देखिन्छ त भन्नुहोला । पक्कै पनि यो प्रश्न उठ्नु स्वाभाभिक हो तर नेपालमा पनि त्यस्ता प्रजातिका बिरालो छन्, जसलाई हेर्न सौभाग्य नै चाहिन्छ । तपाईंले त्यस्तो बिरालो कहिल्यै देख्नुभएको छ, जसको रङ बादलको ध्वाँसो जस्तो छ ? यस्तो बिरालोको बारेमा आफ्नो हजुरबा हजुरआमाबाट सुन्नु भएको छ, जसले बाँदरलाई पनि रूखबाट लखेटेर आफ्नो आहारा बनाउँछ ? हो, यहाँ यस्तो बिरालोको बारेमा केही चर्चा गर्न लागिएको हो । फेरि डर लाग्यो नभन्नु होला ।
नेपालमा करिब १२ प्रजातिका बिराला पाइन्छन् । त्यसमध्ये ध्वाँसे चितुवा पनि एक हो । यसले आफ्नो नाम आफ्नो छालामा भएको ध्वाँसे रङको बुट्टाबाट पाएको छ । यो एउटा मध्यम आकारको बिरालो हो । यसको शरीर र पुच्छरको लम्बाइ बराबर हुन्छ । यो जीव जङ्गलमा एक्लो बस्न रुचाउँछ । यो ठूला रूखमा पनि सजिलैसँग चढ्न सक्छ । रूख चढ्न, कलाबाजी देखाउन बाँदरलाई पनि यसले जित्न सक्छ । उस्तै परे बाँदरलाई हराएर आफ्नो सितन पनि बनाउँछ । यहीँनेर हजुरबाले भन्नुभएको कुरा याद आयो । हजुरबाले भन्नुभएको थियो– हाम्रो पालामा हामी र बाघ आम्नेसाम्ने हुन्थ्यौँ र बाघलाई लखेट्थ्यौँ । यो कथा मात्रै होइन, तपाईंहरूलाई पनि तपाईंका हजुरबाले सुनाउनु भएको होला । हाम्रा हजुरबाहरू निडर हुन् कि बाघ डरछेरुवा ? यस कुरामा म आजसम्म पनि दुविधामै छु । यो रूखको टोड्कोमा बस्ने भएकाले यसलाई टोड्के बाघ पनि भनिन्छ । यो जीव रातिमा निकै सक्रिय हुन्छ र बिरालो प्रजातिमध्ये सबैभन्दा छिटो रूख चढ्न सक्छ । अझै चाखलाग्दो कुरा के भने यस जीवलाई ताइवानका रुकाई समुदायका मानिसले आफ्नो पु्र्खाको आत्मा भनेर निकै श्रद्धा, सत्कार र सम्मान प्रकट गर्छन् । यो जीव समुद्री सतहबाट तीन हजार पाँच सय मिटरसम्म भेटिएको छ । जहाँ बादल पनि भेटिन्छ । यो त्यही बादलको ध्वाँसोमा छलावरण गरेर हराउँछ । हो, थाहा पाउनु भो त मैले बिरालो देख्न पनि सौभाग्य चाहिन्छ भनेर किन भनेको ?
आयूसीएनले ध्वाँसे चितुवालाई जोखिमयुक्त प्राणीको सूचीमा सूचीकृृृत गरेको छ । यसकोे प्रमुख आहारा भनेको बाँदर, लोखर्के, मृग, कालिज आदि हुन् । यसलाई सन् १८४० मा नेपालमा पहिलो पटक अभिलेख गरियो । तर अभिलेख गरिएपछि यो जीव धेरै वर्ष नेपालमा देखिएन । अनि यो जीवलाई नेपालबाट विलुप्त भएको भनेर धेरै वैज्ञानिकले अनुमान गरे । तर सन् १९८८ मा बुटवलमा यो जीव देखियो । त्यतिबेला बुटवलका स्थानीयवासीले यसलाई समातेका थिए । यसपछि यसलाई रेडियो कोलार जडान गरेर छाडियो । रेडियो कोलार जडान गरेको एक हप्तासम्म त्यसले जानकारी पठायो तर त्यसपछि आएन । ध्वाँसे चितुवा पनि हरायो । फेरि यो जीव नेपालमा देखिएको छैन तर आशा गरौँ, यो अचम्मको जीव नेपालको कुनै जङ्गल चाहार्दै होला । अथवा यो जीव नदेखिनुको कारण चोरीसिकारी पनि होला ।
जनघनत्व बढेको कारण यसको बासस्थान पनि मासिएको हुनसक्छ । यो जीवलाई हेर्न मन छ भने यसलाई दुःख दिन छाडौँ । यदि तपाईंहरूले यो जीव देखे आफूलाई भाग्यमानी ठान्नु होला किनकि यस्तो जीव देख्न ललाटमा लेखेर आएको हुनुपर्छ । चटपटे पनि मीठो भयो । ध्वाँसे चितुवालाई पनि सम्झने मौका मिल्यो । साथै अन्धविश्वासी हुनुहुँदैन भन्ने कुरा पनि जानियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?