कमल रिजाल
‘ऋषिवर ! मेरो जाने बेला भयो । लिनुस् तपाईंको नासो ।’ नवजात शिशु विश्वामित्रको हातमा दिँदै मेनकाले भनिन् ।
‘होइन देवी ! के भनेकी त्यस्तो ? हामी दुई पतिपत्नी हौँ । पतिपत्नीको सम्बन्ध अटुट हुन्छ, भवितव्य बाहेक जीवनभर चल्छ, चल्नुपर्छ । यही हो हाम्रो वैदिक सनातन मर्यादा । एउटा सन्तान हुने बित्तिकै छाड्दै हिँड्ने हो भने संसार नै चल्दैन । तिमी यी नानीको आमा मात्र होइनौ । मेरी प्राण पनि हौ । तिमी बिना न यी कन्या बाँच्न सक्छिन् न मैले नै बाँच्न सक्छु ।’ सुन्दर कन्यालाई हातमा लिँदै विश्वामित्रले अनुनय गरे । ‘ऋषिवर ! तपाईंको कुरा पनि ठीकै होला । तपाईंजस्ता उपल्ला स्तरका महर्षिबाट अन्यथा कुरो हुनै सक्दैन तर मेरो कुरा पनि बेठीक होइन । सामान्य अवस्थामा तपाईंले भनेजस्तै हो तर अहिलेको अवस्था साधारण होइन, असाधारण हो । यसै कामका लागि नै आएकी थिएँ । मेरो काम तपाईंको साथमा रहेर एउटा सन्तान जन्माउनु थियो । काम पूरा भएकाले जान दिनुस्, जिद्दीको औचित्य छैन । यसले हामी दुवैको समय बर्बादबाहेक केही गर्दैन । आफ्नो र यी नानीको हेरविचार गर्नुहोला । मनमा चिन्ता नलिनुहोला । तपाईं जस्ता महर्षिलाई मायाको कुरा के गरौँ । सूर्यका अगाडि बत्ती । तथापि मनमा लागेको कुरा गरेकी हुँ । संसार यसैबाट चलेको छ तर पनि माया माया नै हो । सत्य हुँदैन । पानीमा उठेका फोका जस्तै । कतिबेला उठ्छ कतिबेला फुट्छ, कसले भन्न सक्छ र ? जिद्दी नगर्नुस्, ऋषिवर ! अनावश्यक जिद्दी गर्दा चित्रकेतु राजाले कसैले नपाएको दुःख पाएका थिए । आत्मदेव ब्राह्मणको अवस्था त्यस्तै भएको थियो, जुन कुरा तपाईंलाई पनि थाहै हुनुपर्छ । तपाईंहरूजस्तै महर्षिबाट सुनेकी हुँ । त्यसैले भन्दैछु ऋषिवर ! जान दिनुस् ।’ मेनकाले थप तर्क गर्दै भनिन् ।
‘प्रिये तिमीले के भन्न खोजेकी हौ, पटक्कै बुझ्न सकेको छैन । माया त संसार नै माया हो तर पनि त्यसको पछि नलागी व्यवहार चल्दैन । म त यसै पनि संसारबाट विरक्तिएर तपस्यामा बसेको थिएँ । तिमीले नै व्यावहारिक प्रपञ्चमा ल्याएकी हौ । आखिर छाडेर जानु नै थियो भने मलाई किन मायाजालमा फसाउने काम ग¥यौ ? यतिबेला यति ठूलो वेदान्तको कुरा गर्ने मानिसको बुद्धि त्यतिबेला कहाँ गएको थियो ? के त्यतिबेला यस्तो बुद्धि थिएन ? थिएन भने अहिले कहाँबाट आयो ? थियो भने मलाई भवसागरमा किन फसायौ ? मैले के त्यस्तो कसुर गरेको थिएँ र यति ठूलो सजाय दिन खोज्दैछ्यौ ? लौ मानौँ मेरो त माया भएन रे । कम्तीमा नवजात शिशुको त ख्याल गर । यिनले कुन त्यस्तो अपराध गरेकी छिन् र, जन्मनासाथ मातृवियोगको पीडा भोग्नुपर्ने ?’ विश्वामित्रले कड्किँदै भने ।
‘होसमा आउनुस् ऋषिवर ! क्रोधको कुनै अर्थ छैन । माफी चाहन्छु सानो मुख ठूलो कुरा गर्नुपरेकोमा तर पनि के गर्ने परेपछि गर्र्नैपर्दो रहेछ । कसको पत्नी
को ? पति को ? कसको बाबु
को ? आमा को ? कसको सन्तान को हो । दुई दिन झुक्किएर सम्बन्ध भयो भन्दैमा तपाईं जस्तो त्रिकालदर्शी महर्षिलाई यस्तो कुरा गर्न सुहाउँदैन ऋषिवर ! मेरो स्वार्थले म आएकी थिएँ । तपाईंको स्वार्थले तपाईं आउनुभएको थियो । संसारमा न पतिले पत्नीका लागि प्रेम गरेका हुन्छन् । न पत्नीले पतिका निम्ति प्रेम गरेका हुन्छन् । न बाबुआमाले सन्तानका निम्ति प्रेम गरेका हुन्छन् । न सन्तानले बाबुआमका निम्ति प्रेम गरेका हुन्छन् । अपितु सबैले आफ्नै निम्ति प्रेम गरेका हुन्छन् । पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, नाति, नातिनी, धन, सम्पत्ति, बस्तुभाउ सबै निमित्त मात्र हुन् । वस्तुतः सबैले चाहेका तिनीहरू मार्फत् आफ्नै सुख र आनन्द हो । सुखको कारण पनि आफै हो, दुःखको कारण पनि आफै हो । मानौँ एकछिनलाई मेरो कारणले सांसारिक प्रपञ्चमा फस्नु भयो रे । त्यसै हो भने पनि तपाईं जस्ता महर्षिले पहिले नै सोच्नुपथ्र्यो यस्ता कुरा । भवसागरमा कति बढी दुःख पाइन्छ भन्ने तपाईंलाई थाहा थिएन ? त्यति बेला तपाईंको चाहिँ बुद्धि कहाँ गएको थियो नि ? मेरो मायाजालमा फस्न तपार्ईं आउनु भएको हो, म गएको होइन । म त निमित्त मात्र हुँ । उपादान कारण त तपाईं नै हो ।’ मेनकाले पनि कड्किँदै जबाफ फर्काइन् ।
‘लौ माने यसमा तिमी निमित्त कारण मात्र हौ, उपादान कारण मै हुँ । तैपनि घरजम बसाउने ढिपी त तिमीले नै गरेकी हौ नि होइन ? तिम्रै खुसीका लागि सन्तान दिएको हुँ । त्यतिबेला कुनै पनि हालतमा मलाई सन्तान चाहिन्छ भन्यौ । ढिपी ग¥यौ । साँझ, बिहान, रात अबेर सबेर भन्न दिएनौ । मातृसुख बिना नारीको जीवन पूर्ण हुँदैन भन्ने तिमी नै
होइनौ ? आखिर जानु नै थियो भने सन्तान खातिर त्यति ठूलो जिद्दी किन ग¥यौ ?’ विश्वामित्र थप जङ्गिए ।
‘निकै माथिल्लो स्तरको महर्षि ठानेकी थिएँ तर तपाईं त बालक नै हुनुहुँदो रहेछ । बालक भनौँ भने ....सँग सुत्छन् । तन्नेरी भनौँ भने ओछ्यानमा ....छन् भनेको यही हो । यही त हो वासना भनेको ? वासनामा फस्न हुन्न भनेर तपाईंहरू आफैँ भन्नुहुन्छ । अनि आफैँ आफू खुसी फस्न आउनु हुन्छ भने के भन्ने ? यही हो अव्यावहारिक उपदेशको नतिजा । सही उपदेश त्यही हो, जुन दिने मानिसमा पहिला लागू भएको छ । अन्यथा जतिसुकै राम्रा कुरा गरे पनि फोस्रो आदर्श बाहेक केही हुँदैन । वासनाको पछि लाग्दा उर्वशीले पुरुरवा जस्ता चक्रवर्ती राजालाई वर्ष दिनसम्म नाङ्गै घुमाएकी थिइन् । आश्चर्य त के भने राजाले वर्ष दिनसम्म पनि नाङ्गै छु भन्ने थाहा पाएका थिएनन् । होसमा आउनुस् ऋषिवर ! तपाईंको अवस्था पनि त्यस्तै होला ।’ हल्का व्यङ्ग्य मिश्रित स्वरमा मेनकाले भनिन् ।
‘बुभेmँ सुन्दरी बुभेmँ बुभेmँ । तिमीलाई पनि बुझेँ, तिम्रो उद्देश्यलाई पनि बुझेँ । एउटी कामाशक्त सुन्दरी मात्र ठानेको थिएँ तर तिमी मभन्दा पनि माथिल्लो स्तरकी रहिछ्यौ । बरु भन तिम्रो उद्देश्य के हो ? लाग्दैछ तिमी आफू खुसी आएकी होइनौ । पक्कै यसको पछाडि ठूलै कारण हुनुपर्छ ।’ विश्वामित्रले लामो सास फेर्दै भने । ‘थियो ऋषिवर ! थियो, ठूलै कारण थियो । तपाईंको तपस्याबाट देवराज इन्द्रको आसन हल्लिन थालेको थियो । तपस्या भङ्ग गर्न हरसम्भव प्रयास गर्दा पनि केही नलागेपछि मलाई प्रयोग गरेका हुन् । इन्द्रका सारा प्रयास विफल पार्नुभएको भए पनि मलाई भने हराउन सक्नुभएन । यही हो कामशक्तिको जादु । कामदेवको अगाडि ब्रह्मा, विष्णु, महेश्वर मात्र होइन देवर्षि नारद जस्तासमेत हारेका छन् । मेरो उद्देश्य तपाईंलाई व्यावहारिक प्रपञ्चमा ल्याएर तपस्या भङ्ग गर्नु थियो । यसमा सफल भएँ । अथवा यसलाई यसरी पनि भनौँ तपाईंले आफू हारेर पनि मलाई जिताउनुभयो । साधुवाद छ । धेरै गन्थन के गरौँ, देवराज इन्द्र पर्खिबसेका छन् । विलम्ब गर्दा रिसाउन सक्छन् र पुनः यस्तै अर्को प्रपञ्च खडा गर्न सक्छन् । त्यसैले माफ गर्नुहोला । मेरा विवशता बुझिसक्नुभयो होला भन्ने ठान्छु ।’ यति भनेर मेनका अलप भइन् । विश्वामित्र किंकर्तव्यविमूढ भए ।
लामो सयमसम्म बोल्नै सकेनन् । के गर्ने के गर्ने ठम्याउन नसकेर टोलाइरहे । केही बेरको मौनतापछि नवजात कन्यालाई सोही आश्रममा छाडेर घोर तपस्या गर्न लागे । अन्ततः सोही तपोमार्गबाट रजर्षिबाट महर्षि र ब्रह्मर्षि हुँदै सप्तर्षि पदमा आसीन हुन पुगे । उता ती कन्यालाई भने निर्जन वनमा रोइरहेकी अवस्थामा कण्व ऋषिका शिष्यहरूले फेला पारी आफ्नो आश्रममा लिएर गए । महर्षि कण्वले कन्याको नाम शकुन्तला राखे । उनले ऋषिकै आश्रममा शिक्षादीक्षा प्राप्त गरिन् । पछि उनलाई राजर्षि दुष्यन्तले विवाह गरी भरतलाई जन्म दिएक थिए । यी भरत तिनै भरत हुन्, जसले महाभारतको जग बसाउने काम गरेका थिए ।