निर्मला रेग्मी
बिछोडको वेदनाले मुटु जलाउँछ
‘मिलन’को सम्झनाले आँतै गलाउँछ
तस्बिर मात्र बाँकी रह्यो हृदयमा अब
माया उस्तै बाँचिरह्यो सम्झनामा अब ।
यी आँसुका धारा मैले कसो गरी रोक्ने ?
मनभित्रको ठूलो भेल कहाँ गई पोख्ने ?
त्यसैले त जल्छ मुटु झरिराख्छ आँसु
रोई रोई विरहमा कति दिन बाँचूँ ?
अभागीको इच्छा न हो किन हुन्थ्यो पूरा ?
सधैँभरि खेलिराख्छ मनमा यही कुरा
कति दिन बाँच्नुपर्ला दुःखैदुःख खपी ?
भिजाउला के सिङ्गो धर्ती आँसुधारा पोखी ?
बाँच्नै पर्ने हुँदो रै’छ मन बुझाएर
हाँस्नै पर्ने हुँदो रै’छ मनै जलाएर
संसार हो जन्ममृत्यु हाँसो अनि आँसु
उनी हाँसुन् स्वर्ग गई म धर्तीमा बाँचूँ ?
(कवि तथा प्राज्ञ शम्भुकुमार मिलनको सम्झनामा ।)