राजेश ढुङ्गाना
पाइतालाहरू टकटक्याएर
टाप बजारेको अभिनय गर्दै
सम्भवतः ऊ
हामीलाई
कतै बाटोमा व्याख्या गर्दैछ
कतै सडकमा अर्थ लगाउँदै छ
र, हाम्रो लगाम समातेर
सम्भवतः ऊ हामीलाई
कतै मुर्दा बाँचेको बचाउन चाहिँ रहेछ
कतै आँसु हाँसेको हसाउन चाहिँ खोजिरहेछ ।
र, कतै करहरूमा अनुवाद गरेर हामीलाई
हाम्रो सम्पूर्ण आयु
एउटा रसिदको टुक्रोमा च्यातेर
मनहरूलाई
सन्त्रासको मालामा उन्दै
आउने उसका हरेक उत्सवहरू
कहिले
मालपोत बनेर सजिइन्छन्
त, कहिले धुरी कर बनेर अकाशिन्छन् ।
पाइतालाहरू टकटक्याएर
ऊ हामीलाई
सदैव तर्साउन खोजिरहेछ
ऊ हामीलाई– हामीले जितेको युद्धलाई पनि
एक पटक मात्र होइन, पटक पटक
कैयौँ पटक आजसम्म लगातार
आफूले जितेको घोषणा गरिरहेछ
पक्का हो
ऊ हामीलाई मान्छे हुनुमा पनि
हरेक पल चुनौती गरिरहेछ !
तर
उसलाई थाहा छैन
मन धेरै दिन लगाममा बाँधिन सक्तैन
र, यदि हामी पनि मान्छे नै हौँ भने
(होइनौँ भने त के नै पो गर्नु र भन्नु ? ठिकै छ ।)
मानिसको मुटुले
स्वयं आफ्नै धड्कन बाहेक
अरू कसैले बजारेको टाप
एक दिन सहला, एक वर्ष सहला
अथवा
एक दशक, एक शताब्दि र
एक युग नै सहला
तर अन्ततः
मानिसको मुटुले
स्वयं आफ्नै धड्कन बाहेक
अरू कसैले बजारेको टाप
सदैव कहिल्यै सहिरहन सक्तैन ।