रामदयाल राकेश
जगद्जननी जानकीको जन्मभूमि जनकपुर मिथिलाको प्राचीन राजधानीका रूपमा विश्वविख्यात छ । राजर्षि जनकले यसलाई आफ्नो राजधानी बन(ाएका थिए । यहाँ नै जगद्जननी जानकी र साकेत नगरीका राजकुमार रामचन्द्रको शुभविवाह सम्पन्न भएको थियो । तर, दुःखको कुरो के छ भने आज जनकपुर उपेक्षित भएको छ किनभने सीताको जन्म वैशाख शुक्ल नवमीको पावन अवसरमा भए पनि जानकी नवमी धेरै उत्साह र उमङ्गसाथ मनाइँदैन । जानकीको जन्मका बारेमा देश–विदेशमा अनेक किंवदन्ती प्रचलित छन् । तर, आज यो सर्वसम्मत भइसक्यो कि उनको जन्म जनकपुरमा नै भएको थियो । वेद, पुराण र उपनिषद्अनुसार पनि जानकीको जन्म जनकपुरमा भएको कुरो प्रमाणित भइसकेको छ ।
विष्णु पुराणका अनुसार राजर्षि जनकले आफ्नो राजधानी जनकपुरको सीमाभन्दा तीन योजन टाढा एउटा निश्चित स्थानमा यज्ञादि गरेर हलो चलाएकोे र त्यसक्रममा जानकीको जन्म हुन गएको हो । उनको जन्म हुनासाथ सम्पूर्ण मिथिलाञ्चल धनधान्यले परिपूर्ण भएको तथ्य प्रमाणित भइसकेको छ । उनको जन्म हुुनुभन्दा पहिला मिथिलाञ्चलमा ठूलो अनिकाल परेको थियो । जनता त्राहिमाम गरिरहेका थिए । अनिकालको अभिशापबाट सम्पूर्ण मिथिलाञ्चल ग्रस्त थियो । उनको जन्मले अनिकालबाट त्राण पाइयो । सम्पूर्ण मिथिलाञ्चलमा खुसीको खबर फैलियो र राजर्षि जनकसहित सम्पूर्ण राजपरिवार हर्षित भएका थिए । अनिकाल सहकालमा परिवर्तित भएको थियो । भूमिको गर्भबाट जन्म भएकाले उनको एउटा नाम अयोनिजा पनि रहेछ । हुन त जानकीका अनेक नाम छन् । जस्तो विदेही, जगद्जननी, जगदम्बा आदि । महाकवि तुलसीदासका अनुसार जगद्जननी जानकी यस सृष्टिलाई उत्पन्न गर्ने, पालन गर्ने र संहार गर्नेमात्र होइन, अपितु सबै किसिमको कल्याण गर्ने अपार शक्ति हुन् ।
अर्को मिथक के छ भने मिथिलाञ्चलमा राक्षसहरूले ऋषिहरूको हत्या गरेर उनीहरूको रगत एउटा घैँटोमा जम्मा गरेर जमिनमुनि गाडेका थिए । राजर्षि जनक जब हलो जोत्न लागेका थिए, हलोको आघातले त्यो घैँटो फुट्यो र त्यसबाट एउटी भव्य, दिव्य र अनुपम बालिकाको जन्म भयो । उनको जन्मले त्यस क्षेत्रमा खुसीको वातावरण छायो ।
पद्म पुराणमा सीताको पितालाई ‘शिरध्वज’ भनिएको छ । ‘उत्तररामचरित्र’ मा महाकवि भवभूतिले ‘शिरध्वज’ शब्दको प्रयोग जनकको पर्यायवाची शब्दका रूपमा गरेका छन् । यसबाट के प्रस्टिन्छ भने त्यसबखतसम्ममा सीता जनकपुत्रीका रूपमा विख्यात भइसकेकी थिइन् । महाकवि कालीदासले आफ्नो ‘रघुवंश’ महाकाव्यमा पनि सीतालाई दैवी रूपमा प्रतिष्ठापित गरेका छन् । ‘अध्यात्म रामायणमा सीतालाई मूलप्रकृतिको संज्ञाबाट विभूषित गरिएको छ । ‘स्कन्द पुराण’ मा ब्रह्मविद्याको साक्षात अवतार सीतालाई भनिएको छ । संस्कृत काव्यमा सीताको चरित्रका अनेक विशेषता उल्लेख भएको पाइन्छ । महाकवि कालीदासले आफ्नो महाकाव्य ‘रघुवंश’मा सीतालाई रामचन्द्रकी आदर्श पत्नीका रूपमा रुपायित गरेका छन् । कालीदासले उनलाई अयोनिजा त भनेकै छन् । आठौँ शताब्दीमा रचित ‘कुमार दास’ र ‘जानकी हरण’ काव्यमा सर्वप्रथम उनको जीवनको कारुणिक पक्षको उद्घाटन गरिएको पाइन्छ । अभिनव गु्प्तकृत ‘रामचरित’ दोमेन्द्रकृत ‘रामायण मञ्जरी’ आदि काव्यहरूमा सीताको चरित्रलाई पौराणिक परम्पराअनुसार नै अभिव्यक्त गरिएको पाइन्छ । सत्रौँ शताब्दीमा रचित ‘जानकी परिणय’मा उनलाई अत्यन्त रूपवती महालक्ष्मी स्वरूपमा चित्रित गरिएको छ । भासकृत ‘प्रतिमा’ ‘अभिषेक’ नाटकहरूमा सीतालाई साक्षात लक्ष्मीका रूपमा चित्रित गरिएको छ । अग्निपरीक्षाको समयमा स्वयम् अग्निदेवता प्रकट भएर सीतालाई ‘इमां भगवती लक्ष्मी’ भनेर सम्बोधन गरेका थिए । सीताको कारुणिक जीवनको सबैभन्दा प्रभावशाली चित्र भवभूतिले ‘उत्तर रामचरित’मा बनाएका छन् । ‘हनुमन्नाटक’मा सीता स्वयम्वर ‘रामसीता विवाह’ र ‘सीताहरण’ मा सीताको अप्रतिम र अलौकिक सौन्दर्यको वर्णन पाइन्छ । महाकवि तुलसीदासले आफ्नो ‘रामचरित मानस’ महाकाव्यमा सीतालाई आदर्श पत्नीका रूपमा चित्रित गरेका छन् । तुलसीदास त सीताको रूप वर्णन गर्दै उनलाई माता, अम्बा र जगद्जननीका रूपमा वर्णन गरेका छन् ।
नारददेखि आदिकवि वाल्मीकि, व्यास, पराशर, भवभूति, कालीदास, भट्टकवि आदि अनेक कविले सीताको कथालाई लिपिबद्ध गरेका छन् । जैन साहित्य र बौद्ध साहित्यमा पनि सीताको आविर्भावको कथा लेखिएको पाइन्छ । प्राकृत भाषाको महाकाव्य ‘पउमचरिअ’मा पनि सीताको कथा लेखिएको पाइन्छ । भारत र नेपालमा मात्र होइन, चीन, वर्मा, श्याम (थाइल्यान्ड), सिंहल (श्रीलङ्का) आदि देशमा पनि सीताको विभिन्न कथाहरू लेखिएका पाइन्छन् ।
कम्बोडियाको पुस्तक ‘रआमकेर’ (रामकीर्ति) मा सीता राजर्षि जनकले हलो चलाउने बेलामा होइन, यमुना नदीमा डुङ्गा चलाउने बेलामा प्राप्त भएको उल्लेख छ । प्राप्त बालिकाको श्वेत रङ भएका कारणले उनलाई श्वेता भनियो । प्राकृत भाषाको महाकाव्य ‘पउमचरिअ’मा सीताको उत्पत्ति जनककी पत्नी विदेहबाट भएको पाइन्छ । यसका लेखक हुन्– विमल सुरी । कालिका पुराणमा पनि जनककी एक पुत्रीको वर्णन पाइन्छ । ‘आनन्द पुराण’ मा सीता अग्निकुण्डबाट उत्पन्न भएको भनेर वर्णन छ । जगद्जननी जानकी सत्ययुगमा ब्रह्मर्षि कुशध्वजकी पुत्रीका रूपमा प्रकट भएको पाइन्छ भने त्रेतायुगमा दुराचारी र अत्याचारी रावणको हत्या गर्नका लागि मिथिलेश ‘शिरध्वज’ जनकको घरमा सीताका रूपमा आविर्भाव भइन् । मैथिली भाषाका महाकवि चन्दा झाले मिथिला भाषाको रामायणमा भूमि शुद्ध गर्नका लागि राजर्षि जनकले स्वयम् हलो जोत्ने बेलामा सीताको अवतरण भएको उल्लेख छ ।
मैथिली संस्कृतिमा आज पनि सीताको जीवनचरित्र अनुकरणीय, वन्दनीय, स्मरणीय र पुजनीय मानिन्छ । सम्पूर्ण मिथिलाञ्चलका महिलाहरू उनको अनुशरण गरेर आपूmलाई धन्य–धन्य ठान्छन् । जीवनलाई कृत्य–कृत्य सम्झन्छन् । भनिन्छ– सीताले लोककल्याणका लागि आफ्नो जीवनको आहुति आनन्दपूर्वक दिएकी थिइन् ।
सतीशिरोमणि सीता वैशाख शुक्ल नवमी तिथिमा यस वसुन्धारामा आविर्भाव भएकी थिइन् । अतः यस पुण्य तिथिलाई, जानकी नवमी पनि भनिन्छ । यो सुखद स्वर्गीय संयोग नै भन्न सकिन्छ कि मर्यादा पुरुषोत्तम रामचन्द्रको आविर्भाव चैत्र शुक्ल नवमी तिथिमा भएको थियो । यस तिथिलाई पनि मिथिलावासी धेरै महŒवपूर्ण ठान्छन् । यस पावन अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा मात्र होइन, रामजानकीका सम्पूर्ण मठ–मन्दिरमा मानिसको घुइँचो लाग्छ ।