रत्न प्रजापति
भित्ताको कुनोमा माकुराको जालो थियो । ऊ त्यही माकुराको जालो र जालोको बीचमा सुस्तरी चलमलाइरहेकोे बूढो माकुरोलाई नियालिरहेको थियो । उसलाई आफू त्यो बूढो माकुरोजस्तै लागिरहेको थियो ।
उसका छोराछोरी सहरमा छन् । ऊ र उसकी बूढी गाउँको घर कुरेर बसेका छन् । त्यो बूढो माकुरोले जालो कुरेजस्तै ।
एकदिन सहरबाट उसको कान्छो छोराले फोन ग¥यो । भन्यो,
‘बा, तपाईंहरू सहर आउनूस् । हामीसँगै बस्नूस् । हामी सहरमा हुँदाहुँदै तपाईंहरू गाउँमा किन बस्नुहुन्छ ? सहरमा जस्तो सुविधा गाउँमा कहाँ हुन्छ ? हिँडडुल गर्न, औषधि उपचार गर्न सहरमा सजिलो हुन्छ ।’
उसले कान्छाको कुरा सुनी मात्रै रह्यो । केही बोलेन । बरु एक्लै फिस्स हाँस्यो ।
‘किन एक्लै हाँस्नुभयो ?’ उसकी बूढीले मनको खुल्दुली पोखिन् ।
‘केही होइन । यत्तिकै । कान्छाको कुरा सुनेर हाँस्न मन लाग्यो । सहरमा बस्न बोलाका’ छन् । तँ जान्छेस् ?’ उसले भन्यो ।
उसकी बूढी बोलिनन् । चूप लागिरहिन् । उनलाई सहरमा गएर छोराहरूसँगै बस्न मन छ । तर बूढा नमानिरहेकाले उनले आफ्नो इच्छालाई पनि दबाएकी छिन् ।
‘एकपटक छोराबुहारीको मन पनि राखिदिने हो कि ?’ उनले डराई–डराई भनिन् ।‘तँलाई मन भए जा । मचाहिँ जान्न ।’ उसले एकछिन सोचेर भन्यो । उनी चूप लागिन् । उसका आँखा वरिपरि अतीत र वर्तमान चलचित्रको पर्दामा झैं घुम्न थाले । ऊ अतीतमा हराउन थाल्यो ।
उसको घर, जग्गाजमिन केही थिएन । गाउँको जमिनदारकहाँ बस्थ्यो । त्यहीँ काम गथ्र्यो । उसको मिहिनेत र इमानदारीबाट प्रभावित भएर जमिनदारले उसलाई ‘लौ गरी खा’ भनेर दुई कठ्ठा जग्गा दियो । उसले त्यसैमा पसिना बगायो । अलिअलि कमायो । दुःखले एउटा सानो घर पनि बनायो । जमिनदारले नै केटी खोजेर बिहे पनि गरिदियो । भाग्यमानी नै थियो ऊ । सबै जमिनदार यस्तो उदार र दयालु हुँदैनन् ।
लोग्ने–स्वास्नी मिलेर झन् बढी मिहिनेत गरे । केही कमाए । खाए–लाए गरेर बाँकी केही जोगाए । घर बनाउँदाको ऋण तिरे । फेरि कमाए । जग्गाजमिन जोडे । उनीहरू व्यावहारिक भए । समाजमा राम्रोसँग चिनिए । छोराछोरी पाए । हुर्काए । बढाए । पढाए । आफूले दुःख गरी गरी छोराहरूलाई सहरमा पठाए । सहरमै पढाए । लायक बनाए । यति गर्न उसलाई अर्थात् उनीहरूलाई झन्डै तीस वर्ष लाग्यो ।
छोराछोरीले सहरमै घरजम गरे । सहरमै बसे । घरजम गर्दासम्म पनि बाबुआमालाई सम्झने आवश्यकता ठानेनन् । यही कुरामा उसलाई चित्त दुखेको थियो । गाउँमै धुमधामले छोराछोरीको बिहे गरिदिऊँला भन्ने उसको सपना थियो । त्यो सपना पूरा गर्न पाएन उसले । भित्रभित्र उसको मन कुँडियो । सहरको आधुनिक शिक्षा र सभ्यतामा रमेका छोराबुहारीले गाउँलाई त्यत्ति सम्झिँदैनन् । वर्षमा एकपटक दशैंमा बाहेक अरूबेला बाआमालाई सम्झेर गाउँ फर्कने आवश्यकता पनि ठान्दैनन् । दशैंमा घर आउनु औपचारिकता मात्रै हो । सहर फर्कने हतार गाउँ पसेको भोलिपल्टैदेखि हुनथाल्छ सबैलाई ।
ऊ राजनीतिमा पनि लाग्यो । जमिनदारकहाँ काम गर्न बस्दा त्यहाँ भेला हुने गाउँले नेताका कुराबाट उसले पनि अलिअलि गाउँले राजनीति सिकेको थियो । त्यो सिकाइ उसलाई पछि काम लाग्यो । राजनीतिले उसलाई मान, सम्मान, इज्जत र अलिअलि धनदौलत पनि दियो । राजनीतिमा लाग्दै उसले अलिअलि छलछाम र धोकाधडी पनि सिक्यो । छलछाम, धोकाधडी र घात–प्रतिघात त राजनीतिको राष्ट्रिय विशेषता नै हो नि ।
राजनीतिमा लागेर उसले सहने बानी पनि सिक्यो । त्यो बानीले अहिले उसलाई सजिलो भएको छ । छोराबुहारीको अप्रत्यक्ष उपेक्षालाई उसले सहन सकेको छ । नत्र ‘छोराबुहारी सहरमा ऐशआरामले बसेका छन् । तिमी किन गाउँमै रमाएर बस्छौ ?’ भन्ने व्यंग्यवाणलाई पचाउन उसलाई गाह्रो हुन्थ्यो होला ।
एकदिन उसले देख्यो – जालोमा त्यो बूढो माकुरो थिएन । जालोमात्रै थियो । जालोमा धुलो पनि जम्न थालिसकेको थियो । उसले मनमनै सोच्यो – एक्लै बस्दाबस्दा विरक्त लागेर गयो होला कतै ।
त्यो बूढो माकुरोलाई जालोमा नदेखेर उसको पनि अलिकति मन परिवर्तन भयो । अनि उसले सहरमा बस्ने छोराबुहारी र नातिनातिनीलाई सम्झ्यो । बेलुकी भात खाँदै गर्दा उसले कुरा निकाल्यो, ‘बूढी, जान्छेस् त सहर ?’उनले अचम्म मानेर बूढालाई हेरिन् । बूढाले आफ्नो मन जाँच्न मात्रै यस्तो भनेको होला भन्ने सोचेर उनले केही जबाफ दिइनन् ।
संसारभरि कोरोना भाइरसको आतङ्क मच्चियो । त्यो आतङ्कले सहरका मानिसलाई तितरबितर बनायो । सहरमा बाँच्नै नसकिने परिस्थिति सिर्जना भयो । जिजीविषाले मानिसलाई आफ्नै गाउँघर डो¥याउन थाल्यो । सहरमा बसेका मान्छेहरूले आफ्नै गाउँठाउँलाई हेप्थे । तर दुःखमा काम लाग्ने र सम्झने त आफ्नै गाउँठाउँलाई नै रहेछ । सहरमा रमाएर बसेका र वर्षौंदेखि गाउँ नफर्केर सहरमा हैकम जमाएर बसेका मानिसहरू गाउँ फर्किन थाले । गाउँ फर्किनेको लर्कनले गाउँ नै रङ्गीन देखिन थाल्यो । जन्तीबाख्रो हिँडेजस्तो ।
उसका पनि दुवै छोराबुहारी र नातिनातिना गाउँ आए । उसको घर अबचाहिँ साँच्चैको घरजस्तो देखियो ।
‘अरूबेला नसम्झे पनि कम्तीमा अप्ठयारो बेलामा त घर सम्झेर आयौ ।’ उसको मनमा यस्तो कुरा आएको थियो । तर उसले भनेन यो कुरा । छोराबुहारी घर आउँदा पनि ऊ खुसी भने थिएन । मनको पुरानो घाउ दुखिरहेकै थियो सायद । तैपनि उसले खुसी भएको नाटक गरिरह्यो । छोराबुहारी यसै पनि आतङ्कमुक्त भएझैं खुसी थिए ।
वर्षौंपछि धेरै दिन बस्नेगरी छोराबुहारी र नातिनातिना घर आएका थिए । त्यसैले उसको घरमा मीठो–मसिनो पाक्थ्यो । छोराबुहारी खुसी थिए । त्योभन्दा बढी खुसी उसकी बूढी थिइन् किनभने उनी सहर जानु सट्टा छोराबुहारी नै गाउँ आएका थिए । तर ऊ भने यसरी खुसी हुन सकेन । अर्थात् उसलाई खुसी हुनै आएन ।
तर त्यो खुसी पनि धेरै दिन रहेन । कोरोनाको आतङ्क सकिएसँगै छोराबुहारी फेरि सहर फर्किने भए । उनीहरूले बाआमालाई पनि सहर जान कर होइन आग्रह गरे । कान्छाले भन्यो, ‘बा, आमा, अब त हामीसँगै सहरमै गएर बसे हुँदैन र ? कत्ति बस्नु यो केही नभएको गाउँमा ?’
‘तिमीहरूका लागि केही नभए पनि हाम्रा लागि त सबैथोक यही गाउँमा छ ।’ उसले मनमनै भन्यो ।
‘उहाँ साथीभाइले हामीलाई बूढा बाआमालाई गाउँमा राखे भन्छन् । आफूहरू सहरको सुखसयलमा बसेर बूढा बाआमालाई चाहिँ गाउँमा दुःखमा पिल्साएर राखे भन्छन् । साथीभाइका अगाडि हामीलाई लाज भइसक्यो ।’ ‘लाज त हामी गाउँमा बसेर होइन, हामी सहरमा आयौं भनेचाहिँ हुन्छ तिमीहरूलाई ।’ उसले फेरि मनमनै यस्तो भन्यो । तर मुखै फोडेर चाहिँ भन्न सकेन अर्थात् भन्न चाहेन ।
‘हजुरआमा, हजुरहरू पनि हामीसँगै सहरमा जाऔँ न । हजुरहरूसँग बस्दा कस्तो रमाइलो हुन्छ । हजुरले सुनाएका कथा कस्तो रमाइलो लाग्छ । बाबा–ममीलाई त यस्तो कथा सुनाउनै आउँदैन ।’ यसपटक नातिनीले भनी ।
नातिनीको आग्रहले चाहिँ हजुरआमाको मुटुमै छोयो । हर्ष र विष्मात दुवैको मिश्रणले उनको आँखाबाट आँसु बग्न थाले । यतिखेर भने उसको पनि आँखा रसाए । तर आँसु बगाएर भावनामा बग्न चाहेन उसले । बरु एकपटक गहिरिएर सोच्यो र सम्झ्यो आफ्नै गाउँले परिवेशलाई । अनि आफैँले आर्जन गरेको घर, सम्पत्ति र जग्गाजमिन । नातासम्बन्ध । आफन्त । साथीभाइ । छरछिमेकी । राजनीतिक दल । दलका नेता । दलका कार्यकर्ता । इज्जत । मानप्रतिष्ठा र हैसियतलाई । सबैभन्दा धेरै उसले गाउँमा भएको आफ्नो पहिचानलाई सम्झ्यो । यी सबै सम्झेर ऊ गाउँप्रति अझ बढी भावुक बन्यो । अबचाहिँ उसका पनि आँखा रसाउन थाले । तर सहर जाऊँला भनेर होइन, गाउँ छोड्नुपर्ला भनेर ।
उसले आँसु भरिएर टिलपिलाएका आँखाले भित्ताको कुनोतिर हे¥यो । त्यो बूढो माकुरो फेरि जालोमै बसिरहेको रहेछ । कुन बेला आएछ, उसले पत्तै पाएन । बूढो माकुरो जालोमै फर्केको देखेर उसलाई कताकता मनमा ढाडस मिलेजस्तो भयो । उसको मन फर्केर फेरि जहाँको तहीँ आएर बस्यो । उसले सहर गएर छोराबुहारीसँगै बस्ने सोच त्यागिदियो । बरु मनमनै सोच्यो, एउटा माकुरो त आफूले बनाएको घर सम्झेर फर्केर आयो । म आफूले बनाएको घर छोडेर सहर जान सक्दिनँ ।
उसले दुवै छोराहरूलाई सम्बोधन गरेर भन्यो, ‘मैले तिमीहरूको अनुरोधलाई लत्याउन खोजेको होइन । तर आफैंले सङ्घर्ष गरी प्राप्त गरेको पहिचान र वैभवलाई चटक्क छोडेर म सहर भासिन सक्दिनँ । तेरी आमालाई रहर छ भने म रोक्दिनँ ।’
उनले रसाएका आँखाले हेरिन् । उसले आँखा जुधाएर हेर्न सकेन । अर्कोपट्टि फर्कियो । ‘तपाइँलाई यहाँ एक्लै छोडेर ममात्रै कसरी जानसक्छु सहर !’ उनले भावुक हुँदै भनिन् ।
अब फेरि बोल्ने पालो उसैको थियो । उसले झ्वाट्ट सझ्यो त्यो बूढो माकुरो । अनि ऊ निकै भावुक भएर बोल्न थाल्यो, ‘म यो घर, यो गाउँ छोडेर सहर जान सक्दिनँ । म माकुरो हुँ । म आफैंले बनाएको जालोभित्र जेलिएको छु । म यहाँबाट सजिलै निस्कन सक्दिनँ । म यो जालोबाट मुक्त हुन सक्दिनँ । म जालोबाट मुक्त हुन पनि चाहन्नँ । मलाई यो जालोको अधिक माया लाग्छ । किनभने मैले यो सामाजिक सम्बन्ध र वैभवको जालो बुन्न धेरै दुःख खेपेको छु । मैले सुखको असीम अनुभूति पनि यही जालोभित्रै बसेर गरेको छु । सुरक्षाको अनुभूति पनि यही जालोभित्रै बसेर गरेको छु । अनि मान, सम्मान, इज्जत र प्रतिष्ठा पनि यही जालोभित्रै बसेर प्राप्त गरेको छु । अब म यही जालोभित्रै मर्छु ।’ उसका छोराहरूले आफूहरू पनि त्यही जालोबाट निक्लिएको क्षण सम्झन थाले ।
अरू लाखापाखा लागे पनि अन्त्यमा एक्लो बूढो माकुरोचाहिँ त्यही जालो कुरिरहेको दृश्य उसका आँखा वरिपरि घुम्न थाले । उसले आफूलाई त्यही बूढो माकुरो सम्झ्यो । बिस्तारै उसका आँखा चिसिन थाले । मुटु गाँठो पर्न थाल्यो ।
अझै पनि त्यो बूढो माकुरो जालोको बीचमा एक्लै बसिरहेको छ ।