नगेन्द्रराज रेग्मी
राजा राजेन्द्र विक्रम शाह छाउनी पुगेर केही अह्राइ, सिकाइ गरिरहेका थिए । यत्तिकैमा प्राइममिनिष्टर माथवरसिंह थापाले झोक्किएर ‘ई’ भन्दै बाहिरबाट आफ्नो गुप्ताङ्गमा हात लगी देखाउँदै सबै भाइभारदार र उच्चपदस्थ व्यक्तिहरूकै अगाडि राजाको अपमान गरे । एउटा प्रधानमन्त्री जस्तो गरिमामय पद धारण गरेको व्यक्तिले त्योभन्दा पनि माथिल्लो, उँचो र सम्मानित पदमा आसिन अर्काे व्यक्तिका उपर यस्तो अशिष्ट व्यवहार दर्साउनुलाई केको संज्ञा दिने ? अभद्रताको अर्थ के हो ? तर त्यतिखेर पनि यस्ता व्यवहार कहीँ कतै हुँदा रहेछन् भन्ने कुरा यस घटनाबाट थाहा पाउन सकिन्छ ।
यही उपक्रम हेटौँडामा पनि उनै माथवरसिंहले राजा राजेन्द्रमाथि नै दोहो¥याउन पुगेका छन् । कुरा के भएको रहेछ भने गगनसिंह खवास, अभिमान राना, दलमर्दन थापा आदिको इसारामा नानी महाराजको विरोध गर्दै विद्रोहमा सामेल भए भनेर केही व्यक्तिलाई माथवरसिंहले कुटाउन पुगेछन् । यो स्थितिलाई साम्य पार्ने क्रममा राजा राजेन्द्रले उक्त कार्य रोक्न खोज्दा पनि ‘ई’ भनी सन्नी देखाएर (वा मुख लोप्य्राएर हो) सबैको सामू आफ्ना राजाको अपमान गरेको कुरा इतिहासविद् ज्ञानमणि नेपालले आफ्नो पुस्तक ‘नेपालको महाभारत’ (पृ.१८३) मा उल्लेख गर्नुभएको छ ।
यो त निकै पुरानो घटना भयो, पछिल्ला चरणकै कुरा गर्नु पर्दा नेपालको राजनीतिमा राजासँग आँखा जुधाएर निर्भिक हुँदै बोल्न सक्ने एकमात्र प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला थिए भन्दा त्यति अत्युक्ति नहोला । उनले राजा महेन्द्रसँग धेरै पटक र धेरै सन्दर्भहरूमा वादविवाद र प्रतिवाद गरेको कुरा पढ्न पाउँछाँै । राजा वीरेन्द्रसँग पनि यस्ता कुरा गर्न बीपी कहिल्यै पछि परेनन् । ‘अब मैले पाउनुपर्ने योभन्दा ठूलो अरू कुनै पद प्रतिष्ठा छैन, त्यो मलाई जनताले दिइसके । त्यसैले सरकारलाई मन पर्ने मात्र कुरा गरेर खुसी पार्दै कुनै पदीय लाभ लिनु छैन । त्यसैले म गलत र नभएका कुरा मात्र सरकारसँग बोल्न सक्दिनँ’ भन्दै राजासँग उनी स्पष्ट र खुलस्त कुरा राख्दथे । ‘सरकार म त प्रधानमन्त्रीबाट हटेँ भने आफ्नै घरखेत विराटनगरमा छ त्यहीँ गएर जीविका चलाउँला तर सरकार कहाँ जाने ?’ यस्ता गम्भीर कूटनीतिक सवाल–जवाफ आपसमा हुने गर्थे । यसरी शिष्ट भाषामा सचेत गराउँदै राजालाई बोलाउन सक्ने सामथ्र्य उनमा रहेको देखिन्छ ।
राजा ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच पनि केही झोकाझोकका संवाद सुन्नमा आएका छन् । माओवादी द्वन्द्वकालताका रोल्पाको ‘होलेरी काण्ड’ निकै चर्चित मानिन्छ । भनिन्छ– यसैलाई लिएर स्वयं गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनु परेको थियो । होलेरीमा माओवादीविरुद्ध लड्न पठाइएको सेना उसैसँग सम्झौता गरेर फर्कियो भनेर प्रधानमन्त्रीले राजासँगको एक भेटमा चर्काचर्की कुरा गरे । तर राजाले गिरिजालाई असान्दर्भिक आरोप लगाए– ‘पिएम, तपाईंलाई त जनताले भ्रष्टाचारी पो भन्दा रहेछन् ?’ झनक्क रिसाउँदै कोइरालाले जवाफ फर्काए– ‘सरकार, मेरो बारेमा मात्र के ? राजदरबार हत्याकाण्डका बारेमा जनताले सरकारलाई के भन्छन्, म भन्दै हिडूँ ? धेरै मानिसले मसँग भनेका छन् दरबार हत्याकाण्डमा सरकारको हात छ ।’ २०४६ सालको जनआन्दोलन सफल भइसकेपछिको संसदीय निर्वाचनताका वामपन्थी नेता मदन भण्डारीले राजालाई श्रीपेच फुकालेर निर्वाचनमा आफूसँग सहभागी हुन खुला चुनौती दिएको प्रसङ्ग पनि निकै चर्चित बन्यो । बोलीका यस्ता रोचक र घोचक प्रसड्गहरू नेपाली राजनीतिमा थुप्रै सुन्न पाइन्छन् । वाणी अर्थात् वचन एउटा यस्तो अस्त्र हो, जसलाई सही ठाउँमा प्रयोग गर्न सकिएन भने परम मित्र पनि शत्रु बन्न सक्छ र शत्रुलाई पनि वशमा पारेर मित्र बनाउन सकिन्छ । यो नियम सर्वसाधारण जनताका लागि पनि लागू हुन्छ भने राजनीति गर्ने नेतृत्ववर्गका हकमा त झन् संंवेदनशील विषय हुने नै भयो । शायद त्यसैले भनिएको होला– ‘मुख छ त मुलुक छ ।’
‘....गणेशमानजी एकदम भयानकसँग जाग्नु भयो । माने गाली गलौजको भाषामा मसँग कुरा गर्नुभयो । उहाँले के भन्नुभयो भने मख्खन लगाउनु होस् केमा भनेर ! त्यही शब्दै प्रयोग गरेर भन्नुभयो । अनि मैले भने पनि, यसरी यस्तो भाषा बेलेर त भएन, बरु भन्नुस् न, यसको फाइदा के छ, बेफाइदा के छ भनेर...।’ बीपी कोइरालासँग गणेशमानजीको यस्तोसम्म संवाद भएछ एकताका र पनि उनीहरू एकअर्कालाई अति स्नेह र सम्मान गर्न कहिल्यै चुकेनन् । कस्तो मित्रता ! फेरि एक ठाउँमा उनैले उनैलाई भनेका छन् ‘....गणेशमाजीले त गाली नगरी उनीहरूको बारेमा बोल्नु भएकै छैन । अलिकति ऊ पनि मानव हो भन्ने कुरा उहाँले गर्नु भएको छैन । केही व्यक्तिगत कुरा भन्न हुन्छ कि हुँदैन तर रेकर्डमा त... छाप्न हुँदैन ।’ सुन्दरीजलको कठोर बन्दीगृहभित्र बस्दा बडो तनावका बीचमा भएका यी संवाद थिए उहाँहरूका । बीपीको आत्मवृत्तान्तमा यी कुरा सविस्तार बताइएका छन् ।
कृष्णप्रसाद भट्टराईका बारेमा पनि धेरै किस्साहरू अद्यापि हामीहरू सुन्ने गर्छाैं । प्रधानमन्त्री भएकै बखत पनि उहाँले फलानोलाई यस्तो फोहरी गाली दिनु भन्नुभयो, उसो भन्नुभयो भनेर उहाँसँगका टिकाटिप्पणहरू सुनिएकै हुन् । एक ठाउँमा उहाँले मजाक मजाकमै ‘म रक्सी खान सांसद बन्न चाहान्छु’ भनिदिनु भयो । सांसदहरूप्रति कटाक्ष गरिएको त्यो वाक्य प्रेसमा वर्षाैंसम्म उहाँलाई होच्याउन चाहनेहरूका निम्ति एउटा हतियार बन्यो । प्रचार गर्नेहरूले पनि सोचेनन् भट्टराईलाई रक्सी मात्र खान सांसद बन्नु पर्ला त ? वरिष्ठ पत्रकार विजयकुमार पाण्डे यिनै पुराना कुरा सम्झँदै भन्नुहुन्छ– किसुनजीमा कैयौँ कमजोरीहरू पनि छन् । तर हाम्रो समाजको एउटा हिस्साले हमेसा किसुनजीलाई एउटा मजाकिया विदूषकका रूपमा मात्र प्रस्तुत गर्ने चेष्टा वर्षांैसम्म ग¥यो । मजाकपन किसुनजीको आवरण हो, सार होइन । एक दुईपटक मैले उहाँलाई भनेँ पनि– ‘किसुनजी, तपार्इंको ‘सेन्स अफ ह्युमर’ (हास्यरसलाई स्वाद लिने बानी) लाई बुझ्ने, पचाउने क्षमतामा समाज अहिले छैन । त्यस्ता वाक्य र व्यवहार नगर्नुस् ।’ सुनेर गम्भीर हुुँदै किसुनजीले भन्नुभयो– ‘बिजयबाबु तपाईंले मेरो बोक्रो मात्र देख्नुभयो, गुदी देख्नुभएन भने समस्या मेरो होइन, तपाईंको हो । फेरि ‘सेन्स अफ ह्युमर’मा खराबी के छ ? यो त उत्तम मानवीय गुण हो । मानिस गम्भीर हुनुपर्छ तर आफ्नो कर्तव्यमा मात्र । मुहारमा नक्कली गम्भीरता अनि काममा वचकनापन ? यसको अर्थ छ ?’ सुनेर अवाक् भएँ । विजयकुमार भन्नुहुन्छ– ‘एकपटक तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीसँग नयाँ दिल्लीमा भेट हुँदा उहाँले भन्नुभयो– ‘महामहिम, म पनि तपार्इंजस्तै सक्कली अविवाहित र तपाईंजस्तै नक्कली कुमार हुँ ।’ सुनेर अटलजी मस्त हाँसेका थिए । त्यस तहको भारतीय नेतासँग त्यसरी खुलेर कुरा गर्न सक्ने सम्भवतः उहाँ एक्लो नेपाली हुनुहुन्छ ।’ त्यसो त उहाँले म अविवाहित हुँ कुमार होइन भनिदिएर राम्ररी नै विवादित हुनु भयो । उहाँलाई चारित्रिक रूपमा पनि आक्षेपहरू लगाउन थालियो । त्यतिखेर उहाँको प्रतिक्रिया थियो– ‘म राम्ररी हिँड्न त सक्दिनँ, सेक्स कसरी गरुँला ?’
किसुनजीका पछिल्ला चरणमा भएका यी प्रसङ्गहरू हुन् । जेल जीवनका कतिपय अवस्थामा पनि उहाँका बोलीका कारण विवादहरू आएको कुरा थाहा हुन्छ । ‘....किसुनजी कहिलेकाहीँ उत्तेजनामा आउनुहुन्थ्यो । धेरैजसो के हुन्थ्यो भने किनमेलका कुरा उनीहरू गरिदिन्थे । किसुनजीले एकपटक जुत्ता मगाउनु भयो । उहाँले भने बमोजिमको पाइएन छ । आफू जेलमा बसिएको छ, बजारमा आफू जान पाइँदैन । उसले भन्यो– ‘तपाईंको जुत्ता त खोइ ल्याउन सकिने रहेनछ ।’ त्यसपछि सुनेको नसुनेकै गरिदियो । खाने बखतमा मेजर आउँथ्यो । उहाँले सोध्नुभयो– ‘खोई, मेरो जुत्ता त आएन ?’ उहाँले अलि फोहर किसिमको ...गाली गरिदिनु भयो । उसले भन्यो ‘यो त अलि राम्रो भएन ।’ ‘मैले तिमीलाई भनेको होइन, तिम्रा मालिकलाई भनेको’ भनेर भन्नुभयो । उसले भन्यो– ‘उसलाई भए पनि यो त राम्रो भएन ।’ त्यसले त्यति मात्रै विरोध जनायो, बहस गरेन फर्केर गयो । त्यसको भोलि वा पर्सिपल्ट, फेरि उहाँले कुरा उठाउनु भयो । ...खाना आएपछि बस्नुहुन्थ्यो खान । अनि, त्यही बखतमा, खाएर बाहिर आउँदा बाझाबाझ भएछ । के बाझाबाझ हुँदैछ भनेर हेर्न म बाहिर आउँदा त उहाँले खाएको जुठो पानी मेजरको मुखमा हुत्याई दिनुभएको रहेछ । मेजरसँग सुवेदार थियो, उसले पिस्टलमा हात हालिहाल्यो । तर मेजरले उसलाई रोक्यो । मेजरले रुमालले आफ्नो मुख पुछ्यो । ‘यो तपाईंले राम्रो काम गर्नु भएन भन्यो र ल जाउँ भनेर गयो ।’ ...तर आर्मीको एउटा अनुशासन उनीहरूले देखाए । उहाँको एउटा विशेषता छ, उहाँ आफ्नो गल्ती पनि स्वीकार गर्नुहुन्छ । त्यसदिन धेरै कुरा गर्नु भएन । तर उहाँले स्वीकार गर्नुभयो र भन्नुभयो– ‘उसका हाथ पड गया मूँठ मेँ । मुझे तो वडा फिकर पड गया था (आत्मवृत्तान्त पृ.२९८)।’
वचनमा मिठास, व्यवहारमा समानता र कर्ममा निष्पक्षता नै राजनीतिकर्मीका आदर्श हुन् । तर उनीहरूले गर्ने कर्म, बोल्ने भाषा र देखाउने व्यवहारले यी सबै कुरा हात्तीको देखाउने दाँत मात्र पो रहेछन् कि भन्ने अनुमान गर्न पनि सकिन्छ । डिल्लीरमण रेग्मीसँगका कुरा पनि अलिकति यहाँ देखाइएका छन् । ‘...मैले डिल्लीरमण रेग्मीसँग कुरा गरेँ । उनको व्यवहार साथीहरूसँग वन्धुत्वपूर्ण हुँदैनथ्यो । ...उनको व्यवहार कस्तो हुन्थ्यो भने, नोकरलाई गरे सरह । उनी बनारसमा बस्दथे, म गएँ उनीकहाँ । गणेशमानजी पनि हुनुहुन्थ्यो त्यहाँ । ‘गणेशमान’ भन्थे गणेशमाजीलाई । गणेशमानजीलाई गणेशमानजी अथवा तपाईं भन्ने कुरै छैन । ‘विश्वेश्वर बाबु आउनु भयो । ल, चिया लिएर आ ।’ गणेशमानजीको ठूलो गुण के छ भने जसलाई नेता मान्नुहुन्छ, उसलाई हरकिसिमको सहयोग दिनुहुन्छ, हरकिसिमको । जस्तो ठूलोदाजुलाई नेता मानेपछि उहाँको लुगा धुनु भएको छ । गणेशमानजीलाई त म अदव गर्थे, हाम्रो एकदम अनमोल साथी भनेर । रेग्मीले अह्राए पछि गणेशमानजीले केट्ली उठाउनु भयो र तल गएर चिया लिएर आउनु भयो । तँ र तिमी बाहेक उनी कसैलाई अरू कुनै सम्बोधन नगर्ने । त्यस किसिमको उनको बरताव थियो (ऐ.पृ.६९)।’
नेपालका राजनीतिकर्मीहरू यसरी एकापासमा बाझाबाझ, हिलोछ्पाछ्याप र आक्षेपहरूमा केन्द्रित भए पनि त्यो केवल एकछिनको भावावेश, आक्रोश र उत्तेजनामा आएर गरिएको हुन्थ्यो किनभने त्यतिखेर उनीहरु कठोर बन्दीगृहमा थिए । साथीभाइ, घरपरिवार, आफन्त र छोराछोरीहरू सबैसँग नितान्त टाढा भएर बसिरहनु परेको छ । पुलिस मिलिट्रिहरूको कडा पहरा, पीडा र यातना त हुने नै भयो । त्यसमाथि कहिले मार्ने हो, त्यो पनि यसै भन्न सकिने स्थिति थिएन । नेपालीहरूको एउटा सांस्कृतिक परम्पराले पनि हुन सक्छ झैझगडा, बाझाबाझ् भइसकेपछि फेरि आफैँ पश्चाताप गर्दछन् । त्यसपछि गएर क्षमा माग्ने कि त आफैँ प्रायश्चित गर्ने । यस किसिमका घटना जेल जीवनमा साथीभाइबीच भएका थुप्रै उदाहरण छन् ।
मातृकाप्रसाद कोइराला, तुलसी गिरी, परशुनारायण चौधरी, विश्ववन्धु थापा, श्रीभद्र शर्मा आदिलाई अवसरवादी नेताको पगरी पनि एकताका निकै जोडतोडले गुथाइएको थियो । डा.केशरजंग रायमाझी, कमलराज रेग्मी, डिपी अधिकारी, मोहनविक्रम सिंहहरूलाई यस्तै आरोपहरू नलागेका होइनन् । पुष्पलाललाई त गद्दार भनेर किताब नै प्रकाशन भयो । अरू त अरू मनमोहन अधिकारीहरूलाई पनि बिसर्जनवादी, समर्पणवादीजस्ता बिल्ला भिराइएको थियो । निर्मल लामा र मोहनविक्रम सिंहका बीचमा पनि एकताका तँ–तँ र म–म भएको थियो भनिन्छ । बीपीलाई सदैव भारतले खेदिरह्यो र भारतीय बिस्तारवादी भनिरहियो । सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह श्रेष्ठ, कमल थापा, राधाकृष्ण मैनालीहरूलाई पनि दक्षिणपन्थी वा पश्चगामी आदि आरोपहरू आए । मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लवहरूलाई जडसूत्रवादी भनिरहिएकै छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड हुन् या बाबुराम र प्रचण्ड अथवा देउवा र पौडेल नै किन नहुन्, आफ्नै पार्टीभित्र होस् वा प्रतिपक्षमा बस्ने सबैले, सबैलाई एकएकवटा आरोप प्रत्यारोपहरूबाट विभूषित गराइएकै छन् । यो विगतदेखि वर्तमानसम्म राजनीतिक वृत्तमा चलिरहेको एउटा विरासतजस्तै बनिरहेको छ ।
विश्व इतिहासमाथि केही दृष्टिपात गर्ने हो भने चलायमान पार्टी र राजनीतिमा यस्ता आरोप प्रत्यारोपहरू भइरहने विषय रहेछन् । यस्ता आरोप सदैव खराब हुँदैनन् र सदैव झूठा पनि हुँदैनन् । यसले गर्दा नेताहरू सच्चिने मौका पनि पाउने गर्दछन्, सही गाली र आलोचनाबाट ।
अरूका गुण दोषका कुरा गर्ने बीपीले आफ्नै झगडाका कुरा पनि गरेका छन् । यसमा मेरो आफ्नै दोष हो भनेर स्वीकारेका पनि छन्, यो ठूलो गुण हो । युगलप्रसाद शर्मा, जगजीवनराम, सत्यनारायण सिन्हा, रामवृक्ष बेनीपुरीहरूसँगै भारतको जेलमा बीपी पनि बसेका थिए । जेलमा अरुको चुल्हो सामूहिक भए पनि बीपीको भने छुट्टै रहेछ । उनले नुहाउनका लागि एउटा भाँडामा पानी तताउन बसाएका रहेछन् । अब के कारणले हो रामवृक्ष बेनीपुरी आएर उनको भाँडो निकालेर आफ्नो बसालेछन् । बीपी आएर हेर्छन् त आफ्नो भाँडो निकालेर अरू कसैको भाँडो आफ्नो चुल्होमा बसाइएको छ । त्यो देखेर उनको रिसको पारो चढिहाल्यो । बेनीपुरीको हो भन्ने कुरा पत्ता लगाएपछि उनले त्यो भाँडोलाई लात्ताले हानेर हुत्याइदिए । ‘यसै भनेको भए पनि त हुन्थ्यो, लात्तीले किन हुत्याएको’ भनेर उनी पनि रिसाउन थाले । त्यसले एउटा उत्तेजना सिर्जना ग¥यो । ‘मैले जे भने पनि मान्ने र मारपिट गर्न तयार हुने खालका युवक थिए, तर एकजना पुनम बाबुले मेलमिलाप गर्नुपर्छ भनेर दबाब दिए । उनले हामी दुवैजनालाई सम्झाएर मेलमिलाप गराए । बीपी पनि जेलभित्र यस्ता किसिमका उत्तेजनामा भएको कुरा थाहा हुन्छ ।
नेपालका राजनीतिकर्मीहरूको एकापासको मिलन, उठबस र आपसी सौहार्दता देखेर भारतका प्रधानमन्त्री चन्द्रशेखर प्रभावित भएका रहेछन् । शायद त्यसैले उनले बीपीलाई भनेका हुन्– ‘यस्तो राम्रो टीम छ तिमीहरूको’ भनेर । उनले आफ्नो देशमा नेताहरूको अवस्थालाई दृष्टिगत गरेर यो कुरा शायद भनेको हुनसक्छ । किनभने त्यतिखेर भारतमा एकार्कालाई देखी नसहने, बाझाबाझ, गालीगलौजजस्ता कुरा निकै चरमोत्कर्षमा पुगेको परिस्थिति थियो । हुन पनि जवाहरलाल नेहरू जस्तो भारतको उँचो राजनीतिक व्यक्तिले महात्मा गान्धीजस्तो अर्काे शान्त अहिंस्रक नेतालाई पनि गाली गर्न चुकेनन् । ‘यो बूढोको दिमागै छैन र यसमा आत्मसम्मान पनि छैन...’ आदि आदि भनेर उनले गाली गरेको कुरा पढ्न पाइन्छ । बीपीले सम्झिएका छन्– जवाहरलाल नेहरू अढाइवर्ष पनि लगातार जेलमा बसेनन् क्यारे अहमदावाद फोर्ट जेलमा । त्यसमा उनीहरूको बीचमा तनाव हुने, बोलचाल बन्द हुने स्थिति थियो । त्यसवखत उनले लेखेका चिठी, डायरीहरू एस.गोपालले छपाएका छन् । त्यसमा नेहरूले गान्धीलाई गाली गरेका छन्, यो सन् १९४३÷४४ तिरको कुरा हो । जतिखेर गान्धी जेलबाट छुटेर बाहिर बसेका छन् । नेहरू र पटेलको त अझ तँ–तँ र म–म भनेर बोलचाल नै बन्द भएको परिस्थिति छ । नेहरूले भनेका छन्– ‘मेरो अलिकति मिल्छ भने मौलाना आजादसँग मिल्छ किनभने उनी एउटा संस्कार भएका मानिस थिए’ भनिएको छ । अनि राजाजीका बारेमा पनि त्यस्तै कडा आक्षेप । यस परिस्थितिलाई आँकलन गरेर बीपीले भनेका छन्– ‘तिनीहरूभन्दा त हामी ज्यादा संयम र ज्यादा घनिष्ठताका साथ बस्यौँ । बहसमा चर्काचर्की पथ्र्याे तर त्यस किसिमबाट नबोल्ने हुँदैनथ्यो । एउटा खास स्नेहको भावना हुन्थ्यो । भारतीय नेताहरूसँग त हामीहरुको तुलना हुनै सक्तैनथ्यो किनभने उनीहरूको करिब ६० वर्षको सङ्घर्षको परम्परा थियो । तर हामीहरूको र हामीभन्दा पछिको पिँढीको नेतृत्वलाई तुलना गर्ने हो भने नैतिक स्तरमा हामी कम छौँ जस्तो लाग्दैन । यो मेरो आफ्नो धारणा हो । अहिले पनि मेरो टीम छ नि जुन युवा टीम छ, भारतको कुनै पनि पार्टीमा त्यति राम्रो टीम छैन (आत्मवृत्तान्त पृ.३०८)।’
राजनीतिमा वैचारिक छिनाझपटी एकदमै स्वभाविक कुरा हो । एउटा सामान्य घर चलाउँदा त परिवारसँग झैझगडा हुन्छ । देश चलाउन त अझ धेरै थरीका समस्या, घटना–परिघटनाहरू आउनुलाई असामान्य रूपमा हेरिनु हुन्न । राजनीतिकर्मीहरूबीचको यो भनाभन पनि एक किसिमले त्यस्तै हो कि जस्तो पनि हामीलाई नलाग्ने होइन । भनिन्छ नि– ‘राजनीतिमा कोही स्थायी शत्रु पनि हुन्न र मित्र पनि हुन्न ।’ यसो भनिए पनि सामाजिक मर्यादा र शिष्टतालाई सदैव कायम राखिनु अनिवार्य हुन्छ । गलत मनसाय राखेर चरित्र हत्या र शाब्दिक हिंसा कसैले कसैको गर्नु हुन्न । त्यसले उग्र रूप लिन थाल्यो भने त्यो शाब्दिक हिंसामा मात्र सीमित हुन्न । जब त्यसले शारीरिक हिंसाको रूप लिन पुग्छ, त्यो भनेकोे राजनीतिको विकृत रूप हो । यस कुरालाई सबै राजनीतिज्ञले मनन गरी सो अनुसारको व्यवहार गर्न सक्नु सर्वाधिक महìवपूर्ण कुरा हुन आउँछ ।