प्रेममान डङ्गोल
यःमरि भनेकै मनपर्ने रोटी । मनपर्ने रोटी भनेर नामकरणचाहिँ कसरी भयो ? कहिलेदेखि यःमरि खाने चलन चल्यो ? यःमरिको विशेषता के कति छन् ? यसतर्फ यःमरि खाँदै रमाइरहेका आजका पुस्ताको ध्यान गएको छ त ? यःमरि नामकरण धनधान्यका देवता कुवेरले गरेका हुन् । यस कुरालाई एउटा धार्मिक कथाले पनि पुष्टि गरेको छ ।
यःमरि बनाई दान गर्ने र खाने चलन कहिलेदेखि सुरु भयो त ? यसको उत्तर खोज्दै जाँदा बनाउने चलन पनौतीबाट सुरु भएको भनिन्छ । लिच्छविकालीन समयमा उपत्यकाका मानिस तराई जानुप¥यो भने पनौती भएर जानुपर्ने रहेछ । उक्त समयमा पनौती देश विकसित भइसकेको रहेछ । पनौतीमा एकजना सुचन्द्र नामका व्यक्ति गरेका व्यक्ति रहेछन् । सुचन्द्रको आँखाले नभ्याउने खेत रहेछ । उनलाई महाजन भनिँदोरहेछ । यही महाजन अपभं्रश भएर महर्जन हुन गएको हो पनि भनिन्छ । धेरै धन–सम्पति भए पनि महाजन सुचन्द्र र उनकी श्रीमती सुशीलाको ठूलो हुनु नपर्ने, सबैलाई सहयोग गरेर धर्मकर्म गनुपर्ने स्वभाव रहेछ । सुचन्द्र दम्पती विष्णु भगवान्को भक्तिभाव गरी रहने र दिनदिनै दान पनि दिने गर्दारहेछन । सुचन्द्रले जसले जे माग्यो त्यही दान दिने गरेका रहेछन् । त्यसैले सुचन्द्रकहाँ दान माग्न आउनेहरू दिनदिनै बढ्दै गए । टाढाटाढाबाट पनि दान माग्न आउन थालेछन् । यसरी दिनहुँ दान दिँदा सुचन्द्रको नाम चारैतिर फैलिन थालेछ । यो कुरा धनधान्यका देवता कुवेरले थाहा पाए । अनि सुचन्द्रको परीक्षा लिन उनी मत्र्यमण्डलमा आए । एउटा गरिब माग्नेको रूप लिएर ठाउँठाउँमा च्यातिएको झुत्रो लुगा लगाएर सुचन्द्रकहाँ दान माग्न कुवेर गए । सबैभन्दा पछाडि उभिएका माग्नेरूपी कुवेरलाई देखेर सुचन्द्रका दम्पती आफ्नो घरमा नयाँ माग्ने आयो भन्दै हर्षित भए । माग्नेलाई स्वागत सत्कार गरी घरभित्र लगेर उसका झुत्रा लुगा फुकालेर स्नान गराए । नयाँ लुगा लगाइदिएर सफासुग्घर पारी आफ्नो आसनमा विराजमान गराए । सुचन्द्रले तात्तातो यःमरि खुवाए । उनीहरूले खेतबाट आएको अन्नबाटै विभिन्न किसिमका रोटी बनाई देवतालाई चढाई आफूले पनि खाने र अरूलाई पनि देवताको प्रसादको रूपमा बाँड्ने गर्दारहेछन् । यसरी रोटी बनाउँदा विभिन्न किसिमका आकार–प्रकार आउनेगरी विष्णु भगवान्, लक्ष्मी, कुवेर, गणेशका मूर्ति पनि बनाउँदारहेछन् । अनि नयाँ धान राखेको भकारीमा राखेर पूजा पनि गर्दारहेछन् ।
तात्तातो यःमरि खान पाएपछि माग्नेरूपी कुवेर अत्यन्तै हर्षित भए । अनि आफ्नो वास्तविक रूपको दर्शन दिँदै सुचन्द्रलाई वरदान माग भने । सुचन्द्रले पनि आफ्नो भकारीमा कहिल्यै पनि धान कम नहोस् भनी वर मागे । दान माग्न आउनेलाई दान दिइरहन पाइयोस् भन्ने उद्देश्यले सुचन्द्रले यस्तो वरदान मागेका थिए । यो कुरो चाल पाएपछि कुवेरले यो रोटी भकारीमा राखेर पूजा गर्नु भकारीमा कहिल्यै धान खाली हुँदैन भनी वरदान दिए । फेरि कुवेरले आफूलाई खुवाएको रोटी मन परेकाले त्यो रोटीको नाम यःमरि भनी नामकरण पनि गरिदिए । यसरी यःमरिको नाम रहन गएको हो भनिन्छ ।
मार्ग शुक्ल पूर्णिमाका दिन परेकाले यस दिनलाई ‘यःमरि पुन्ही’ पनि भनिन्छ । यही दिन यःमरि बनाई देवतालाई चढाई आफू पनि खाने र अरूलाई पनि खुवाउने चलन छ । उही बेलादेखि यःमरि खाने दिन केटाकेटीले घरैपिच्छे गीत गाउँदै देउसी–भैलो जस्तै यःमरि माग्न जाने चलन पनि थियो । यःमरि माग्न जाँदा केटाकेटीले गाउने गीत यस प्रकार छ ः
‘त्यःछिं त्यः, बकछिं त्यः । लाता पाता कुलिंचा, जुसीं त्यः ।।
यःमरि च्वामु, उकि दुने हामु । ब्युम्ह ल्यासे, मब्युम्ह बुरी कुती ।।’
अर्थात् चार माना देऊ वा दुई माना भए पनि देऊ, यःमरि चुच्चो छ, त्यसभित्र कालो छ, त्यो दिने तरुनी, नदिने बूढीबूढी । मार्ग शुक्ल पूर्णिमाका दिन कुवेर, शुभद्रा, गणेशको पूजा गरेर धान्य पर्वत दान गर्नुपर्छ भनी कुल कल्पतन्त्रान्तरमा वर्णन गरिएको छ । पुराणमा भनिएझैँ नेवारहरूमा भगवती, गणेश, कुमारको आकारमा यःमरि बनाई विभिन्न देवदेवीलाई सम्झी नयाँ धानको भकारीमा राखी चार दिनसम्म पूजा गरेपछि चेलीबेटीलाई नखत्या बोलाई प्रसाद खुवाउने चलन छ । यसरी भकारीलाई पूजा गर्दा धान्य लक्ष्मीका रूपमा पूजा गरिन्छ । महामाया भगवतीलाई दसैँमा महाकाली, तिहारमा धन लक्ष्मीका रूपमा र धान्य पूर्णिमाका दिन धान्य लक्ष्मीका रूपमा पूजा गरिँदै आएको छ । यःमरिको गर्भमा रहेको तिल र चाकुलाई महामाया भगवतीको प्रतीकका रूपमा लिइन्छ । त्यस्तै मासु भएको यःमरिलाई गणेशका रूपमा लिइन्छ भने मास भएको यःमरिलाई कुमारको प्रतीकका रूपमा लिइन्छ । महादेव मन्दिरमा रातभर अखण्ड दीप बाली जाग्राम बसी भोलिपल्ट पूजा गरेमा मनका सम्पूर्ण इच्छा आकाङ्क्षा पूरा हुनेछ र चिरञ्जीवी होइन्छ भनेर हिमवत् खण्डमा उल्लेख गरिएको छ । बनेपाका धनेश्वर महादेवको पनि यही दिन रात्रिको समयमा जात्रा पनि गरिन्छ । यसै दिन कतिपय नेवारहरूले देवाली पूजा गर्छन् भने अन्य कतिपयले घरमा गैडुपूजा, गोठ पूजा गर्ने चलन पनि छ ।
यःमरि बनाउँदा ल्वहंचामरि पनि बनाइन्छ । ल्वहंचामरि भनेको चेप्टो र गोलो आकारको रोटी हो । पीठोको स–साना डल्लोलाई चेप्टो पार्ने मात्र हो । ल्वहंचा मरि र स–साना यःमरि बनाई देवतालाई पूजा गर्दा चढाउने गरिन्छ । उपत्यकाका विभिन्न देवताका रथयात्रा र खटयात्रा गर्दा पनि ल्वहंचामरि, चटामरि र यःमरि घरका झ्याल–झ्यालबाट छरेर देवतालाई अभिषेक गर्ने चलन छ । त्यसरी छरेका यःमरि जसले हात पार्न सक्यो उसलाई पुत्रलाभ हुन्छ भन्ने जनविश्वास पनि छ । बालकहरूको २, ४, ८ र १२ वर्षको जन्मोत्सवमा पनि यःमरिको माला बनाई पहि¥याइदिने चलन छ । बालक जति वर्ष पुगेको हो त्यति नै ओटा यःमरिको माला बनाई पहि¥याइन्छ । १२ वर्ष पुग्दा पहि¥याउने १२ वटै यःमरिमा चाकु राखिएको हुन्छ भने २, ४ र ८ ओटा यःमरि पहि¥याइदिँदा उक्त यःमरिभित्र पाँच गेडा अछेतामात्र राख्ने चलन छ । यसरी पाँच गेडा अछेता राख्नुको अर्थ पञ्चतŒव वा पञ्चबुद्धको प्रतीक हो ।
यःमरिलाई पनि पञ्चतŒवकै रूपमा लिइएको पाइन्छ । यःमरिमा प्रयोग हुने चामलको पीठोलाई धर्ती, चाकुलाई अग्नि, पानीलाई जल, खाली स्थानलाई आकाश र तिललाई वायुका रूपमा लिइन्छ । आयुर्वेदिक मान्यताअनुसार यःमरि धेरै नै पौष्टिक तŒवले भरिएको खाद्य पदार्थ हो । एउटा किंवदन्तीअनुसार स्वयम्भू महाचैत्य निर्माण गर्नुअघि एउटा नमुना बनाइएको रहेछ । सो नमुना यःमरिको आकारबाट लिइएको हो भनिन्छ । स्वयम्भू महाचैत्यको तल गुम्बज आकारको राखेर माथि चुच्चो परेका १३ भुवनसहितको चक्रवाल हो भनिन्छ । यो चैत्यको गर्भभित्र पञ्चबुद्ध रहेको छ ।