मुनीन्द्ररत्न बज्राचार्य
नेपालको बौद्ध धर्म र संस्कृतिको आफ्नै विशेषता छ । यहाँका बौद्ध देवदेवी, पूजाविधि, कर्मकाण्ड, चाडबाड, रहन–सहन र स्तोत्रपाठ, बाजागाजा र विविध संस्कृतिले विश्वसामु मौलिक पहिचान पस्केको छ । बौद्ध धर्ममा बज्रयान धर्मको पनि विशिष्ट स्थान छ । विशेषतः नेवार बौद्धहरूले बज्रयानका आधारमा दैनिक जीवनलाई अगाडि बढाउँदै लगेका छन् । तर, समय र परिस्थितिले गर्दा वर्तमान समयमा बौद्ध धर्म, संस्कृति बिस्तारै लोप हुने स्थितिमा छ । त्यसैले समस्त बौद्धहरू सचेत भई देशको संस्कृति रक्षामा लाग्न अति आवश्यक छ ।
नेपाल बौद्ध धर्मको केन्द्रबिन्दु हो । शाक्यमुनि गौतमबुद्धको जन्म भएको पवित्र भूमि पनि होे । परापूर्वकालदेखि नै यहाँ बौद्ध धर्मको विकास हुँदै आएको छ । विशेषतः बौद्ध धर्मका दुई प्रमुख यानहरू महायान (महासाङ्घिक) र हिनयान स्थविरवादको यहाँ उत्तिकै महŒव छ । तर, महायानको स्थान विशिष्ट छ । महायानअन्तर्गत बज्रयानको स्थान अझ महŒवपूर्ण छ ।
बज्रयान दर्शनअनुसार सांसारिक भोग नगरीकन वास्तविक जीवनको अनुभव हुँदैन । वास्तविक भोगविना ज्ञानवान पनि हुन सकिँदैन । ज्ञानवान नभई वैराग्य उत्पत्ति हुँदैन । बौद्ध धर्मको बोधिचित्त पाउन सकिँदैन । महासुखको अनुभूति गर्न सकिँदैन । महासुख नै शून्यता हो । शून्यताको प्रतीक बज्र हो । यही बज्रले अन्धकाररूपी अशिक्षा, अज्ञानतालाई समाप्त गरी निर्वाण प्राप्त गर्छ । बज्रयान धर्मअनुसार निर्वाणका मूल रूपमा तीन तŒव छन् । ती हुन्– शून्य, विज्ञान र महासुख । समष्टि रूपमा बज्रयानअन्तर्गत यो संसार शून्यबाहेक अरू केही होइन । यस मूल ताŒिवक कुरोलाई बोधिचित्तले बुझनु नै यसलाई विज्ञान भनिन्छ । यसरी यसभित्रको मूलकुरो बुझ्दा आउने आनन्द नै महासुख या सच्चिदानन्द, परमानन्द र वीरमानन्द यी तीन तŒवको मूलतŒव नै बज्रयान हो । बज्रयानको प्रादुर्भाव यसैबाट हुन गएको हो ।
बज्रयानको उत्पत्तिसम्बन्धमा पण्डित बलदेवद्वारा लिखित पुस्तक ‘बौद्ध मीमांसा’मा शून्यता, महासुख र ज्ञानको कल्पना नै बज्रयान हो भनिएको छ । बज्र भन्नाले अभेद्य, अच्छेद्य, अपरिवर्तनशील वस्तु हो । यो शून्यतामा लीन हुन सक्ने बज्रसत्व हो । बज्रयानसम्बन्धी रत्नमालामा परिभाषित गरिएअनुसार बज्र त्यो हो, जुन सदा स्थिर, सार्थक एवम् शुद्ध हुन्छ । यो तोडेर तोडिन्न, यो त सधैँ शून्य आकाशजस्तै अक्षय र अविनाशी छ । यो स्वयम् आगोको ज्वाला हो, बोधिज्ञान हो, कसैले यसलाई छुन सक्दैन । यस संसारको सृष्टिको मूल आधार यस प्रक्रियालाई मानिछ ।
बुद्धले आफ्नो जीवनकालमा तीनपटक धर्मचक्र प्रवर्तन गरेका थिए । बुद्धत्व प्राप्त गरिसकेपछिको आषाढ पूर्णिमाका दिन पहिलो धर्मचक्र प्रवर्तन, ऋषिपतन मृगदावनमा पञ्चवर्गीय भिक्षुहरू कोण्डन्य, वप्प, भद्दीय, महानाम र अस्सजीलाई धर्मदेशना गर्नुभयो । यसबेलासम्म श्रावकयानको अभ्यास हुन गयो । दोस्रो बाह्रौँ वर्षावासकालमा राजगृह नगरको गृहकुट पर्वतमा रहेका शिष्यहरूलाई महायान अर्थात् बोधिसत्व चर्या र पारमिता चर्या गरी बुद्धत्व लाभ गर्ने शिक्षाको धर्मचक्र प्रवर्तन गर्नुभयो । त्यसपछि पुनः बाह्रौँ वर्षावासकालमा दक्षिण भारतको गुन्तुर जिल्लाको धान्यकटक पर्वतमा विराजमान हुँदा विशिष्ट प्रकारका शिष्यहरूलाई बज्रयान अभ्यासअन्तर्गत मन्त्र, तन्त्र, योग, प्रणायाम आदिको अभ्यास गराई बोधिसत्व चर्यापूर्ण गरी बुद्धत्व प्राप्त हुन सक्ने शिक्षा उपदेश दिनुभयो । यसलाई तेस्रो धर्मचक्र प्रवर्तनका रूपमा मानिन्छ । यसैबाट महायान र बज्रयानको विकास हुन गएको मान्न सकिन्छ । पाँचौँ शताब्दीतिर जम्बुद्वीपको उत्तरतर्फबाट महायानको विकास हुँदै दक्षिणतिर मन्त्रयानको विकास हुन गएको थियो । यसैबेला गुह्यसमाजतन्त्र लेखियो, जुन बज्रयानको प्रमुख ग्रन्थका रूपमा चिनिन्छ । गुह्यसमाजतन्त्रभित्र बौद्धतन्त्रयानीहरूले माध्यमिकहरूको शून्यवादलाई साध्य र विज्ञानवादी योगाचारीहरूको योग साधनालाई पनि अङ्गीकार गरे । यही विचारले बज्रयानको विकास हुन पुग्यो । बज्रयान महायान सम्प्रदायभित्र तन्त्रयानको माध्यमले उपसम्प्रदायका रूपमा विकसित हुन पुग्यो । यही बज्रयान तन्त्रयानमा केन्द्रित हुन गई चार तहमा विभाजित हुन पुग्यो । त्यो हो, क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तरयोग तन्त्र । बज्रयान भक्तिप्रधान विचार हो । त्यसैले बुद्धमूर्ति बनाउन थालियो । गृहस्थी भएर पनि बुद्धभक्तिद्वारा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने भावनाले यसमा केही मानिस अभिप्रेरित हुन गए ।
बौद्ध स्तूप, चैत्य, मन्दिरहरू रहेकाले नेपालको बौद्ध धर्मको इतिहास निकै पुरानो मानिन्छ । नेपालको तराई भागको कपिलवस्तुमा बुद्ध जन्मेकाले बौद्ध धर्मको केन्द्रस्थल पनि हो यो । त्यसमाथि नेपाल उपत्यका सृष्टिकालदेखि नै बौद्ध धर्मसँग सम्बन्धित छ । स्वयम्भू पुराणअनुसार नेपालमा पहिलोपल्ट महामञ्जुश्री आई उनले नागहरूको वास भएको दहमा चन्द्रहास खड्गले काटी पानीलाई विस्थापित गरी मनुष्य बस्न योग्य बनाई धर्माकरलाई राजा बनाई नेपाल मण्डलको स्थापना गरे । नेपाल मण्डलको स्थापनापछि यस पुण्यभूमिमा स्वयम्भू धर्मधातु ज्योतिरूप उत्पत्ति भएपछि विभिन्न बुद्धहरूको आगमन भयो । नेपालमा प्रवेश गर्ने विभिन्न बुद्धमा दीपङ्कर, विपस्वी, विश्वभू, क्रकुछन्द, शिखी, कनकमुनि, काश्यप आदि हुन् । यस्तै यहाँस्थित ध्यानी पञ्चबुद्धहरू वैरोचन, अक्ष्योभ, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि परिकल्पना गरियो । त्यसपछि लुम्बिनी कपिलवस्तुमा जन्मेका शाक्यमुनि सिद्धार्थ बुद्ध भएपछि नेपालमा बौद्ध धर्मको महिमा निकै बढ्न थाल्यो ।
नेपाल मण्डलभित्र बौद्ध धर्मको महŒव बढ्दै गएको अवस्थामा बङ्गाल गौड देशका प्रतापी राजा प्रचण्डदेव काश्यप बुद्धको धर्म देशनाबाट प्रभावित भई नेपाल मण्डल आई मञ्जुदेवाचार्यको शिष्य गुणाकराचार्यबाट भिक्षुत्व ग्रहण गरी आचार्याभिषेक प्राप्त गरी शान्तिकराचार्य भए । त्यसपछि स्वयम्भू महाचैत्यको प्रतिस्थापन भई शान्तिपुरमा आगमको पनि स्थापना हुन गयो । यसरी नेपालमा बज्रयानको संस्कारअन्तर्गत बौद्ध धर्मको विकास हुन पुग्यो । यसपछि किरातकालमा पनि बौद्ध धर्मको विकास हुन गएको पाइन्छ । किराती राजा स्थुङ्कोको पालामा मगध सम्राट अशोकले नेपालको भ्रमण गरी ललितपुरमा चारवटा विशाल स्थूरहरू (स्तूप) स्थापना गर्न लगाए । यस्तै उनले आफ्नी छोरी चारुमतीको विवाह नेपालका राजकुमार देवपालसँग गराई चाबहिललाई देवपतन नगरको नामकरण गरी धन्दो चैत्यको निर्माण गर्न लगाए ।
यसैबाट प्रभावित भई यहाँ गुँ विहार, बही, चैत्य, स्तूप मन्दिर आदिकोे धमाधम स्थापना हुन गयो । साँखुको गुँ विहार र बज्रयोगिनी मूर्ति बज्रयान परम्पराअनुसार निर्माण भएको हो । यस्तै लिच्छविकालमा पनि बौद्ध धर्मको स्थान महŒवपूर्ण रहेको छ । अंशुबर्माको शासनकाल (नेपाल संवत् ५३४, इसं ६१४) को गोकर्णको चैत्यमा बज्रयान शब्द उल्लेख भएको पाइन्छ । राजा वृषदेव बौद्ध धर्ममा निकै आस्था राख्ने भएकाले उनलाई सुगत पक्षपाती भनी शिलालेखमा उल्लेख छ । काठमाडौँको ध्वाकाबहालमा पाइएको पद्मपाणि लोकेश्वर लिच्छविकालीन सातौँ शताब्दीको चैत्यका रूपमा मानिएको छ । यसमा बौद्ध मन्त्र ‘ये धर्मा हेतु प्रभा’ उल्लेख छ । पूर्वमध्यकालमा पनि नेपालमण्डलमा बौद्ध महायान–बज्रयान स्वर्णयुगको रूपमा रह्यो । यो समयमा नेपालको बाटो भई अनेकन भारतीय बौद्ध विशिष्ट विद्वान्हरू अतिश, श्रीज्ञान, वागिश्वरकीर्ति, वाणरत्न नेपाल आई तिब्बत प्रस्थान गरेका थिए । यस्तै तिब्बतका गुरु धर्मस्वामी, मार्पाजस्ता पण्डित नेपाल आउने गर्थे । उनीहरूले प्रशस्त ग्रन्थहरू लेखेका छन् । नालन्दा र विक्रमशिला विश्वविद्यालयका बौद्ध विद्वान्हरू मुसलमानको आक्रमणबाट बच्न नेपाल आई उनीहरूले यहाँ बज्रयान, तन्त्रयान, मन्त्रयानको प्रचार–प्रसार गरे । यसले पनि नेपालमा बज्रयानको महŒव बढ्न गयो । तर, पछि नेपालमा बौद्ध धर्मको विनाश गर्न अनेकन प्रयास पनि भयो । नेसं ४३० तिर बङ्गालका सुल्तान समसुद्दिनले इस्लाम धर्मको प्रचार–प्रसार गर्नेक्रममा नेपाल मण्डलमा आक्रमण गरी धेरै बौद्ध ग्रन्थहरू जलाउने, चैत्य, स्तूपहरू र मन्दिरहरू भत्काउने काम भयो । यस्तै बौद्ध धर्मको उत्थान हुँदै गएको अवस्थामा शङ्कराचार्य नेपाल मण्डलमा आई साँखुको बज्रयोगिनीस्थित चैत्यलाई बिगार्ने काम पनि भयो । यहाँका बौद्ध भिक्षुहरूलाई अनेकन दुःख दिई बौद्ध ग्रन्थहरू जलाइयो ।
मध्यकालमा जयस्थिति मल्लको शासनकालमा पनि बौद्ध धर्मलाई आघात पार्ने काम भयो । हिन्दु वर्ण व्यवस्थालाई जोड दिई बौद्धहरूलाई पनि हिन्दु वर्ण व्यवस्थाअन्तर्गत जातिगत सुधारको नाउँमा भिक्षुभिक्षुणीहरूलाई जबरजस्ती विवाह गराइयो । यसले गर्दा मध्यकालमा आई बज्रयानअन्तर्गत जीवनशैली व्यतीत गर्ने परम्परा समाजबाट बिस्तारै लोप हुँदै गयो । बौद्ध विहार, चैत्य निर्माणमा पनि धक्का पुग्न गयो । तर, यस्तो परिस्थितिमा पनि यहाँका बौद्ध नेवारहरूले आफ्नो धर्म, संस्कारअन्तर्गत बौद्ध क्रियाकर्म, संस्कृतिलाई नछाडी आजसम्म पनि निरन्तरता दिँदै यसको संरक्षण गर्दै आएका छन् ।
नेपालका बज्रयानी धर्म मान्नेहरू समय–समयमा व्रत बस्ने, गुँला चाडमा विहार, वही धार्मिक महŒवका स्थानमा घुम्न जाने, पूजापाठ गर्ने गर्छन् । यो धर्म लोकोपकारी भएकाले समय–समयमा पञ्चदान, सम्यक महादान पनि गर्छन् । अनि वैशाख पूर्णिमा र अन्य चाडबाडहरू बौद्ध परम्पराअनुसार मनाउँछन् । बौद्ध कर्मकाण्डअन्तर्गत पूजापाठ, क्रिया कर्म बौद्ध बज्रयानी पुरोहित बज्राचार्य गुरुजुबाट गराइन्छ । यहाँको नेवार बौद्ध समाजले बहुजन हिताय, बहुजन सुखाय र सहअस्तिŒवको सिद्धान्तअनुसार बज्रयान धर्मलाई अङ्गीकार गर्दै आएका छन् । यसलाई समयसापेक्ष केही परिशुद्ध र परिशीलन गर्दै लगेमा नेपालको मौलिक बज्रयान बौद्ध धर्म सदाकाल संरक्षण गर्न सकिन्छ ।