मोहनप्रकाश
दिनभरि हिँडेर बेलुका ताक्सिन्दो पुग्दा होटेलको ढोका बन्द भइसकेको थियो । ढोका ढक्ढकाएँ । साहुनीले ढोका खोलेर अन्कनाउँदै भनिन्, ‘कोठा छैन ।’ अञ्जान ठाउँमा रातमा कता भौँतारिने । यही डरले ज्यान घरभित्रै पुग्यो र मुखले फ्याट्ट बोल्यो, ‘कोठा नभए म यही डाइनिङमा सुतौँला हुन्न ?’ सायद मेरो समस्या बुझेर होला डाइनिङमा बसेका उनका श्रीमान्ले स्वीकारोक्ति जनाए । उनीहरूको खाना पाकिसकेको रहेछ । साहुनीले मेरा लागि मात्र खाना पकाउन आनाकानी गरिन् । मैले उनको मनोभाव बुझेर झोलाबाट एउटा चाउचाउ निकाल्दै पकाइदिन अनुरोध गरेँ । तर, उनीहरूलाई पकाएको खाना मलाई पनि पुग्यो । उपस्थित सबैले बाँडेर खायौँ । खाना खाइसकेपछि मलाई एउटा भाइले माथिल्लो तलामा पु¥यायो । उनले तीनवटा कोठामध्ये अन्तिम कोठामा पु¥याए । तला त पूरै सुनसान रहेछ । मलाई कोठामा छाडेर उनी तल झरे । रातको जाडो छिप्पिसकेको थियो । मचाहिँ सिरकभित्र गुटमुटिएँ । ‘कोठा खाली हुँदा पनि किन साहुनीले कोठा छैन भनिन् ?’ यही कुरा मनमा खेल्न थाल्यो । कहीँ कतै नेपालीले पैसा तिर्दैनन् भनेर त होइन ?
बिहानीका किरणहरूमा टल्किरहेको ताक्सिन्दो कल्पना गरेभन्दा धेरै सुन्दर रहेछ । सुविधासम्पन्न एकसे एक शानदार होटलहरू रहेछन् । म बाटोको पहिलो होटेलमा बसेको थिएँ । त्यहाँभन्दा तल पो होटेलहरूको रजगज देखियो । ‘हामी साथीकहाँ बस्छौँ,’ भन्दै बेलुका मसँग छुटेका साथीहरू कतै देखिन्छन् कि भनेर वरिपरि नियालेँ । तर, उनीहरूको कतै अत्तोपत्तो पाइनँ ।
करिब एक घण्टाको ओरालो कुदाइपछि म नुनथला पुगेँ । त्यहाँबाट केही क्षणको हिँडाइपछि म दूधकोसी नदीको झोलुङ्गेपुलमा पुगेँ । विद्यालय जीवनमै कण्ठ गरेका सप्तकोसीका शाखाहरूमध्येको एक थियो– दूधकोसी, जुन आज मेरोसामुन्ने थियोे । झोलुङ्गेपुलमा भारी बोकेका केही मानिस देखापरे । पुल पारिपट्टिको भीरमाथि काठ चिर्दै गरेको दृश्य देखियो ।
बाटोकै सामुन्ने ‘जुबिङ राई होटेल’ लेखेको एउटा बोर्ड देखियो । ‘राई’ शब्दसँग मेरो निकटस्थ सम्बन्ध थियो । राई, लिम्बूहरूकै सेरोफेरोमा हुर्किएको मान्छे म । यी दुवै जातिसँगको बसउठले पनि होला, मलाई आफ्नै पहाडघरको सम्झना दिलायो ।
‘तपाईं कहाँको राई ?’ होटेलभित्र पसेपछिको मेरो प्रश्न थियो । ‘हामी यहीँ जुबिङकै राई हम् ।’ होटल साहुले जवाफ फर्काए । कुराकानी गर्दै गएपछि पो चाल पाइयो । जुबिङ त पूरै राईहरूकै बस्ती पो रहेछ । राईहरूको पुख्र्यौली थलो नै रहेछ– जुबिङ ।
चिया पिएर म हिँड्न हतारिएको देखेर ‘होइन सर तात्तातो मासुभात खाएर हिँड्दा पो बल आउँछ,’ उनले मलाई अनुरोध गरे । छेवैमा एक बहिनी खसीको मासु काट्दै थिइन् । उनको त्यो विनम्र अनुरोधलाई मैले अस्वीकार गरेँ । भात पाकुन्जेलमा एउटा कुइनेटो काटिने लोभले म उनीसँग बिदा भएँ ।
जुबिङपछि खरखोलातिर अगाडि बढ्दै थिएँ । जुबिङको स्पर्शले केही स्फुर्ति थपे पनि कताकता शरीर भारी महसुस हुन थाल्यो । यात्रा अवधिकै पट्यार लाग्दो दिन बनेझैँ भो आजको यात्रा । बुप्साको ठाडो उकालो देखेर मेरो साहस घट्दै गएको थियो । बेसक्याम्प सपना त्यागेर लुक्लाबाटै प्लेनमा फर्कने हो कि सम्म भन्यो मनले । यस्तै दोधारे मन बनाउँदै म शरीरलाई जबरजस्त घचेट्दै थिएँ तर ‘भगवान्ले अप्ठ्यारोमा दूत पठाउँछन्’ भनेजस्तै विक थरका एकजना भाइ मेरो यात्रामा ठोक्किन आइपुगे । उनी लुक्ला जान हिँडेका रहेछन् ।
घँुडासम्मको रातो कट्टु लगाएका उनी हेर्दै हट्टाकट्टा देखिन्थे । केही क्षणकै भलाकुसारीमा उनी मसँग आत्मीय बने । एघार पढ्दै गरेका उनी विद्यालय खर्च जुटाउन लुक्लामा भारी बोक्दारहेछन् । उनको घर भने नुनथला माथिको डाँडामा पर्छ रे !
‘भात खानुभा रै’नछ, यहाँ मैले चिनेको होटेल छ । म नि त्यहाँ खाजा खान्छु अनि सँगै जाऊँ
हुन्न ?’ ढुङ्गा खोज्दा देउता मिलेझैँ उनको वचन नकार्ने कुरै भएन । नभन्दै मलाई उनले चिनेको होटेलमा पु¥याए । तर, त्यहाँ भात पकाउनुपर्ने भएकाले हामी दुवैले चाउचाउ पकाएर खाने निर्णय ग¥यौँ । विक भाइको साथमा म बुप्साको उकालो चढ्न थालेँ । उनको रसिला गफ र हिँडाइको गतिले मलाई पनि ततायो । त्यसपछि त बुप्सा काटेर पैँया पुगेको चाल नै पाइनँ । भीरको बाटोमा भारी लादिएका खच्चड र चौँरीका हुलसँग फोटो खिच्दै कैयौँ यात्रीलाई पछि पार्दै हामी पैँया पुगेका थियौँ ।
पैँयामा खाजा खाएर हामी सुर्केतिर झ¥यौँ । म सुर्के बस्ने भएँ । उनी आजै लुक्ला पुग्नेवाला थिए । उनको तारन्तारको हतारोले पनि मलाई कतै एकक्षण आराम गर्न मन लागेन । उनको गतिलाई मैले पनि छोडिनँ । माथिबाट सुर्केको दृश्य देखिनेबित्तिकै विक भाइ बोले, ‘ऊ त्यही हो पासाङल्हामु शेर्पाको घर ।’ सेतो रङले पोतिएको उनको घर हामीतिरै फर्केर हाँसिरहेझैँ लाग्यो । एक स्न्याप फोटोमा पासाङल्हामुको घरलाई कैद गरेर हामी सुर्केतिर झ¥यौँ । यहाँबाट हामी दुई छुट्टियौँ ।
विक भाइले सुझाएअनुसार यहीँ बस्ने सोचले साहुनीलाई कोठा सोधेँ । तर, साहुनीले ‘यहाँ कोठा छैन, होटेलमात्र हो’ भनिन् । मैले पुनः आग्रह गर्दा नजिकैको अर्को होटल देखाइदिइन् उनले । म ब्याग बोकेर उठेँ । उनले देखाइदिएको होटलतर्फ अगाडि बढें । तर, त्यहाँकी साहुनीले पनि त्यही कुरा दोहो¥याइन् । त्यसपछि भने मैले यथार्थ बुझेँ । विदेशीबाट महँगो सेवाशुल्क लिन पल्केकाहरू बरू होटेल खाली राख्छन्, नेपालीलाई वास दिन्नन् भन्ने कुराको पाठ मैले कुनै बेला हेलम्बुको तार्केघ्याङ पुग्दा सिकिसकेको थिएँ । त्यतिबेला पनि होटेलमा कोठा नपाएर बाहिर कतै अँध्यारोमा झोक्राएर बसिरहेको थिएँ । केही क्षणपछि मैले एउटा जुक्ति लगाउँदै भनेको थिएँ, ‘हामी टुरिस्ट गाइड हौँ । टुरिस्ट तल टिम्बुमै बसेकाले भोलिलाई यहाँ होटेल निश्चित गर्न आएको ।’ यति भनेपछि टुरिस्ट आउने भ्रममा साहुनीले फुरफुर हुँदै हामीलाई रोजिछाडी कोठा दिएकी थिइन्, भनेजस्तो मेजमान पनि गरेकी थिइन् । यहाँ पनि यस्तै जुक्ति लगाउन परेको थियो ।
बिहान झिसमिसेमै सुर्केको होटेलबाट निस्केँ । केही पाइला उक्लनेबित्तिकै काला चट्टानका पृष्ठभूमिमा तिब्बती लिपिमा चम्केका सेता अक्षरहरूले मेरा ध्यान खिचे । ठाउँ–ठाउँमा यस्तै मन्त्र छापिएका रङ्गीन लुङ्दाहरू हावाको मधुर गतिसँगै अहिंसा र शान्तिको ध्वनि फैलाइरहेका थिए ।
सानो खोल्सोमाथिको फलामेपुल तरेपछि एउटा ठूलो चट्टानमुनि ढुङ्गाहरूको गारो लगाएर बनेको गुफा देखियो । भित्र पसेर हेर्दा त्यहाँ चुलाचम्काहरूमा कोइला र बलेका दाउराका ठुटाहरू देखिए । यो गुफा पदयात्रीहरूका लागि निर्माण गरिएको पकवानगृह रहेछ । ठाउँ–ठाउँमा यस्ता मानवनिर्मित गुफाहरू भेटिइरहे ।
हाँडीखोलाको मनमोहक छाँगोले एकछिन आनन्दित तुल्यायो । खोलामाथिको झोलुङ्गेपुलमा केही क्षण अडिन बाध्य तुल्यायो । पदयात्रामा यस्तै फाट्टफुट्ट झुल्किने दृश्यहरूले आनन्द र ऊर्जा थपिरहे । स्फुर्ति भरिरहे ।
बाटो छेवैमा चौँरीहरू उग्राइरहेका दृश्यले मन तान्यो । माथि भीरमा एउटा गुम्बा देखियो, जसको आसपास सेता स्तुपहरू लाइनै उभिएका थिए । खुम्बु क्षेत्रलाई सफा राख्न बाटोका ठाउँ–ठाउँमा बनाइएका साना र चिटिक्क परेका फोहोर सङ्कलनका ‘डस्टहाउसहरू’ले सरसफाइमा विशेष ध्यान दिएको देखियो । त्यसपछि एउटा झोलुङ्गेपुलमा ठोक्किन्छु । झोलुङ्गेपुलपारि भारी लादिएका खच्चडहरू लाइनै जाँदै थिए । पछाडि रातो वस्त्र लगाएका खच्चड गोठालाले तिनलाई खेद्दै थिए । पुनः एउटा खोल्सोमाथिको फलामेपुल तरेर पुगेँ घाट भन्ने ठाउँमा, जहाँ तलको फाँटमा लहरै टेन्टहरू सजाइएको दृश्यले मेरो दृष्टि समात्यो । करिब २०÷२५ होटेलहरू भएको घाट पर्यटकहरूको वासको आकर्षक स्थान रहेछ । प्रत्येकजसो होटेलमा पर्यटकहरूको चहलपहल देखिन्छ । ठाउँ–ठाउँमा तरकारी लगाउन बनाइएका ठुल्ठूला ग्रीन हाउस पनि देखिन्छन् ।
‘प्लिज टर्न टु द माने टु प्युरिफाई योर सोल’ लेखिएका अक्षरहरू माथि ठूलो एउटा माने रहेछ । गुम्बाको पछाडिको एउटा भीरको फेदमा पहेँला, सेता र अन्य रङ्गीविरङ्गी खादाहरू लहरै झुन्ड्याइएका थिए । त्यहाँ एक÷दुईजना लामाहरूको चहलपहल देखियो । सायद ती कुनै धार्मिक अनुष्ठानको तयारी गर्दै थिए । घाटमाथिको मार्गमा चट्टानमा खोपिएका तिब्बती लिपिका कलाहरू एकपछि अर्को देखापर्दै गए ।
फाक्दिङ पुगेपछि एकजना शेर्पालाई सहयात्रीका रूपमा फेलापार्छु । तीनचोटि सगरमाथा आरोहण गरिसकेका उनी जोरसल्लेसम्म जाने रहेछन् । परिचयपछि हामी दुई गफ्फिँदै पाइला सार्न थाल्यौँ । थोरै बोल्ने तर गज्जब बोल्ने, ओठमा मधुर मुस्कान छाड्दै नछाड्ने । मैले सोचेभन्दा बढी आत्मीय बन्दै गए यिनी पनि ।
जुबिङमा पहिलोचोटि भेटिएको दूधकोसीलाई म तेस्रोचोटि तर्दै थिएँ । अर्थात् जुबिङदेखि यहाँसम्म दूधकोसी मसँग लुकामारी खेल्दै पछ्याइ रहेछ । म उसलाई मार्गदर्शक मान्दै पछ्याइरहेछु । घाम छिप्पिँदै गएकाले शेर्पाले आफ्नो ‘डाउन ज्याकेट’ फुकालेर ब्यागभित्र कोचे । भित्री ‘टी–सर्ट’ देखाए । त्यसपछि उनले मलाई एउटा होटेलभित्र लिएर गए । मैले त यात्राका दृश्य र उनको गफमा भुलेर हो कि भोक पनि बिर्सिसकेछु । हामीले खाना ‘अर्डर’ ग¥यौँ । लाक्पाले भित्रबाट एक जग छ्याङ लिएर आए ।
दूधकोसीलाई नाघ्नेक्रम जारी थियो । पुनः हामीले झोलुङ्गेपुल टेक्यौँ, जहाँबाट उत्तरतिर दूधकोसीकै किनारमा लस्करै फैलिएका होटेलका शानदार दृश्यहरू देखिए । हामी फाक्दिङ, बेँकर र मेन्जोपछि जोरसल्ले टेक्दै थियौँ । जोरसल्लेपछि पुनः पाँचौँपटक म झोलुङ्गेपुल टेक्दै थिएँ । मेरा सहयात्री शेर्पा जोरसल्लेमै छुटे । तर, उनीसँगको सहयात्रा भने मेरो छातीबाट कहिल्यै छुट्नेवाला थिएन । म खोलाकिनारैकिनार हिँडिरहेका पदयात्रीको भीडमा मिसिएँ ।
धेरै पहिले हलिउड चलचित्र ‘एभरेष्ट’ हेरेको थिएँ । त्यो चलचित्रमा देखेको दृश्य यहाँ आएर फेलाप¥यो । त्यो हो– उच्च स्थानमा दुई जुम्ल्याहा झोलुङ्गेपुल । जुन तल दूधकोसी किनारबाट हेर्दा हावामा तैरिरहेकाजस्ता देखिन्थे । एक हुल पर्यटक पनि यो दृश्यमा चम्किला आँखा फिँजाउँदै रमाइरहेका थिए । म भने यो पुल पुग्न हतारिँदै ढुङ्गेसिँढीहरू टेक्न थालें । पुलमा पुग्दा तलजस्तै यहाँ पनि भारी लादिएका खच्चडले पुल ढाकेका थिए । सायद यी खच्चडले स्वर्गको पुल तरेको अनुभूत गरे होलान् । किनकि यिनको ढाडको भारी बिसाउने अन्तिम गन्तव्य नाम्चेबजार यही पुलमाथि अवस्थित थियो । नाम्चेभन्दा माथि खच्चड जान निषेध रहेछ ।
मसँगै धेरै पर्यटक नाम्चे पुग्ने हतारमा ठाडो उकालोमा कस्सिँदै थिए । त्यसै हुलभित्रको एक पर्यटकसँग मेरा आँखा जुधे । हामी दुवैले थकानरूपी मुस्कुराहट साट्यौँ । मैले उनलाई केही क्षण पछ्याइरहेँ । कारण थियो, उनको उमेर । करिब नब्बे वर्ष नाघेजस्तो देखिने ती पर्यटकको दुवै हातमा रहेका ‘ट्रेकिङ स्टिक’ लगलग कामिरहेका थिए । कपाल सेतै थियो । उनको पछिपछि यस्तै उमेरकी अर्की वृद्धा थिइन् । ती दुईका भाव बुझ्दा श्रीमान् श्रीमती लाग्थ्यो । दुवैका आँखामा बेजोड खुसी चम्किरहेको देखिन्थ्यो । म उनीहरूलाई छाडेर धेरै माथि पुग्दा पनि दुवै बिस्तारै पाइला सारिरहेका थिए । करिब पाँ÷सात पाइला सारेपछि एकछिन उभिन्थे । ठाउँ–ठाउँमा दुवै एक–अर्काका हात समाउँथे । सायद हातका हत्केलाबाट उकालो चढ्ने ताकत एक–अर्कामा साट्दै थिए । दुवैका हातका ‘स्टिक’ कामेजस्तै तिनका गोडा पनि लगलग कामेका देखिन्थे ।
यो उमेरमा पनि तिनका गोडाका जिद्दी देखेर मैले आफ्ना हजुरबा हजुरआमालाई सम्झिएँ । समग्र नेपाली वृद्धवृद्धालाई सम्झिएँ । साठी नाघेपछि जिन्दगीदेखि हार खाएर ‘अब त बूढो भइयो’ भन्ने आफन्त इष्टमित्रहरूलाई सम्झिएँ । तर, यी दम्पती देखेर लाग्यो– उमेरले मानिस कहाँ बूढो हुँदोरहेछ र ? रुग्ण सोचाइ र विचारले पो मानिसलाई बूढो बनाउँदोरहेछ । विश्वको सर्वोच्च स्थान आफ्नै आँखाले नियाल्ने यिनको साहस कहाँ मेरा सीमित शब्दले यहाँ ओकल्न सक्छ र । कैयौँ दिन हिँडेर पुगेरै छाड्ने । देखेरै र भोगेरै यो धर्ती छाड्ने । कस्तो आत्मविश्वास हो– एक–अर्काप्रति । त्यसै कहाँ पतिपत्नीलाई जीवनसाथी, अर्धाङ्गिनी, अर्धनारीश्वर भनिएको रहेछ र ? पतिपत्नीको महŒव नबुझ्ने, एक–अर्कालाई आरोप प्रत्यारोप लगाएर सम्बन्धमा झन्झन् खोट पार्दै जानेहरूले पनि यसको महŒवमाथि खिल्ली उडाएको हुनुपर्छ । एक–अर्काको आत्माको आवाज सुन्ने, बुझ्ने र सम्मान गर्नेहरू नै सही मानेमा पतिपत्नी या प्रेमीप्रेमिका हुन् ।
उकालो समाप्तिसँगै रङ्गशालाको आकृतिमा अवस्थित नाम्चेबजारमा मेरा गोडाहरू चल्मलाउँदै थिए । दिनभरिको थकान नाम्चेबजारको सुन्दरताले बिर्साइदियो । एभरेष्ट बेसक्याम्प पुग्ने मेरो मार्गको एउटा खुड्किलो बल्ल पार गरेको थिएँ ।