logo
२०८१ मंसिर १० सोमवार



नारी उत्पीडनविरुद्ध आवाज

शनिवार |


नारी उत्पीडनविरुद्ध आवाज


बिहेको केही समयपछि नै सुजाताको सपनाको राजकुमारको बानी–व्यवहार बदलिन थाल्यो । सम्पत्तिवालाले कम सम्पत्ति दिएको भन्दै माइतीमाथि विभिन्न दबाब र माग बढ्दै जान थाल्यो ।’
शोभा ज्ञवालीद्वारा लिखित ‘नलेखिने प्रेम’ कथाको अंश हो यो । यी वाक्यले नेपाली समाजमा अहिले पनि दाइजो एक कुसंस्कारका रूपमा जीवित रहेको प्रष्ट्याउँछ । हुन त एकै घरमा केटा र केटी पक्ष हुन्छन् । तिनले आफ्नी छोरी विवाह गरेर पठाउँदा पनि उही पीडा भोगेका हुन सक्छन् । त्यस अर्थमा दाइजोप्रथा आधुनिक र गणतान्त्रिक युगमा पनि मेटिन नसकेको एक सामाजिक घाउ हो । तराई–मधेसमा अहिले पनि यो घाउले ठूलै पीडा दिइरहेको छ । वास्तवमा यसरी दाइजोसँग विवाह दाँज्न खोज्ने राजकुमारहरू जति नै धनी वा सुन्दर भए पनि तिनको दिमाग कुरूप सोचले भरिएको मान्न सकिन्छ ।
कथाकार ज्ञवालीको नवीनतम् कृति ‘सम्पूर्ण आकाश’ ले समाजका विकृतिलाई उजागर र तिनको निदानका लागि सोचान्तरणको एक माध्यमको काम गरेको छ । कृतिमा सामाजिक विकृतिमाथि प्रहार गरिएको छ र तल्लो तथा मध्यम वर्गका महिलाका साझा आवाजलाई कलात्मकरूपमा उनिएको छ । नारी उत्पीडनविरुद्ध एक सशक्त लेखनीका रूपमा ‘सम्पूर्ण आकाश’ उपस्थित भएको छ । नारीलाई आधा आकाश भन्ने गरिएकामा त्यो पूर्ण नहुने भएकाले ‘सम्पूर्ण आकाश’ का रूपमा लिनुपर्छ भन्ने प्रगतिशील व्याख्यान छ । यसलाई कथाकारले ग्रहण गर्नुका साथै त्यसलाई कृतिको शीर्षकमै स्थान दिनुले कथाकारको नारी पात्र र पीडाप्रतिको समर्पणभाव झल्काउँछ । कृतिमा नारी उत्थानका क्रममा आक्रामक प्रस्तुति भने छैन । समाजलाई क्रमशः सचेत तुल्याउँदै विकृत संस्कार र प्रवृत्तिलाई चिर्ने साहस र सन्देश पाइन्छ । जुन शान्तिप्रिय नेपाली अनुकूल देखिन्छ । नारी अधिकारका नाममा बदलावको भावबाट कानुन आफ्नै हातमा लिएर उल्टो अपराध गर्न प्रेरित गर्ने पक्षलाई यी कथाले प्रश्रय दिएका छैनन् ।
कथा छोटा (लघु) छन् । युवायुवतीको प्रेम, उमेरगत चञ्चलता, सन्तानको माया, पारिवारिक र सामाजिक जिम्मेवारी, सम्बन्धका उतारचढाव, सम्बन्ध विच्छेद, मनोविश्लेषणात्मक पक्ष, कर्मको फल, पश्चाताप आदि विषयमा कथा लेखिएका छन् । कथामा मनोविश्लेषण, यथार्थ र कल्पनाको तलाउ हुन्छ । त्यही तलाउमा पाठकलाई विचरण गराउने लेखकको क्षमता हुन्छ । कथाकार ज्ञवालीमा पनि त्यो क्षमता देखिन्छ । ‘त्याग’ शीर्षक कथाको यो अनुच्छेद हेरौँ– ‘आखिर मान्छेको जात न हो, शङ्कालु हुने नै भयो । मलाई पनि आफ्नै भाग्यप्रति डर लाग्थ्यो कहिलेकाहीँ, कतै मेरो सुख, मेरा खुसी मबाट टाढा त हुँदैन ?’
पात्रका मनभित्रका उच्छ्वासहरूलाई कथावस्तुको सन्दर्भमा मिलाएर उन्न सक्ने क्षमता कथाकार ज्ञवालीमा रहेको कृतिबाट बुझ्न सकिन्छ । यो शैली ‘सम्पूर्ण आकाश’ का अधिकांश कथामा प्रकट भएको छ । मञ्जरी पब्लिकेसन्सको प्रकाशन रघुनाथ लामिछानेको सम्पादन रहेको ‘सम्पूर्ण आकाश’ का कतिपय कथा भने सामान्य गफगाफ र संवादकै बीचमा सकिएका पनि छन् । तिनको कुनै अर्थ (महìव) हुँदैन भन्न त सकिँदैन तर गम्भीर पाठकलाई त्यतिले नपुग्न सक्छ । अधिकांश ‘म’ पात्रमा प्रस्तुत कथाकारको अर्काे विशेषता वा कमजोरी भनेको प्रायः कथालाई ‘म झसङ्ग भएँ...’ वा ‘निदाएछु...’ वा ‘आँखाबाट आँशु झरिरहे...’ जस्ता वाक्यांशमा कथालाई बिट मार्नु । यो शैली आफँैमा भिन्न देखिए पनि सबैजसो कथामा उही शैलीले पाठकलाई विविधता नदिन सक्छ । साथै नारी उत्पीडनविरुद्ध लेखकको अभियानमा सशक्त हतियार सावित नहुन सक्छ ।
पीडा वा समस्यालाई केवल भाग्यको फल अथवा ईश्वरीय लीलाका रूपमा बुझेर वा बुझाउन खोजेर समाज रूपान्तरण अभियान सार्थक हुँदैन । साहित्यको उठान, बिसौनी वा मूल सन्देशले आँसु झारिरहनुपर्ने अवस्थाको अन्त्य वा सामाजिक रूपान्तरणका लागि एक कदम अगाडि बढ्न सक्ने सोच राख्नुपर्छ । प्रतिस्पर्धी, असल र सकारात्मक सोचले सफलता हासिल गर्न सकिने मान्यता भने कथाले राखेका छन् । कथाकार आफैँले यस कृतिलाई सिकारु लेखकको उपहार भनेकोले उहाँका आगामी कृतिमा पक्कै पनि अझै सशक्त सन्देशसहितका रचना आउने अपेक्षा गर्न सकिन्छ ।

प्रकाश सिलवाल
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?